मनोरञ्जन

गायक नीलमणि : घरको कोदो चोरेर बेचेपछि खुलेको कलायात्रा !

By संगम ढकाल

August 30, 2024

काठमाडौं- २०४० सालमा भोजपुरको दिङ्ला बडहरे गाउँका भण्डारी दम्पतीको दोस्रो सन्तान छोरा भयो । जन्मदा सकुशल जन्मिएको छोरा सात महिना भएपछि बिरामी भयो ।

ग्रामीण भेगका कृषक भण्डारी दम्पतीले आफ्नो क्षमताले भ्याएसम्म धामी-झाँक्री गराए, छोरा ठीक भएन ।

छोराको खुट्टा पलेँटीमारे जस्तै कसिन थालेपछि भण्डारी दम्पतीले ऋण गरेर उपचारका लागि काठमाडौं ल्याए । छोराको उपचार गर्न भएको जग्गा जमिन सबै बेचेर सुकुमबासी बने ।

छोराको ज्यान बाँच्यो तर देब्रे हात र दुई खुट्टा चलेन । बिस्तारै छोराको उमेर बढ्यो, उसलाई गायक बन्न मन भयो । आफ्नै जिद्दीले घर छाडेको छोरा ०५८ सालमा काठमाडौं आयो ।

शारीरिकरुपमा अशक्त र घस्रदै घर छोड्दा सो किशोरको साथका सुका पैसा थिएन । तर ‘बाउ खाए, छोरो हेर्ने’ काठमाडौं सहरमा संघर्ष गरेर त्यो अशक्त किशोर अहिलको चर्चित लोक दोहोरी गायक बनेको छ ।

ती व्यक्ति हुन्– गायक नीलमणि भण्डारी । बडहरेबाट सपनाको सहर छिर्दा उनले देखेको काठमाडौं यस्तो छ :

बुवाको माया

नीलमणि जन्मदा सकुशल नै भएपनि उनी चेत पलाउने बेलासम्म बिमारमा परिसकेका थिए । जन्मेको ७ महिनामै पोलियो रोगले भेटेपछि उनले शारीरिक तन्दुरुस्ती गुमाए ।

दुर्गम गाउँ बडहरेमा पोलियोको सुइ लगाउने चलन थिएन वा भएर पनि बुवाआमाले थाहा पाएनन्, यसबारे उनी स्पष्ट छैनन् । जे कारणले भए पनि उनी पोलियोको शिकार बन्न पुगे ।

रोगले च्यापेपछि उनलाई बुवाले उपचार गर्न नखोजेका होइनन् । बल-बुताले भ्याएसम्म धामी, झाँक्रीकहाँ धाएर धेरै पटक कुखुरा-बोका भोग दिएको उनलाई सम्झना छ ।

भन्छन्, ‘मेरा बुवा कम आय भएको ग्रामीण कृषक भए पनि उहाँले सक्ने चाहिँ गर्नुभएको हो । तर अन्धविश्वासी उपचारमा केन्द्रित हुनुभयो । उहाँको दोष होइन ।’

नीलमणिलाई थाहा भएअनुसार पाँच वर्षको हुँदा उनलाई रोगले बेस्सरी च्याप्यो । ऋण-धन गरेरै उनलाई बुवाले राजधानीमा उपचार गर्न ल्याए ।

उनको सम्झनाअनुसार त्यसबेला उनको शरीरभरि नास्पातीका दाना जत्रा पानी फोका र खुट्टा पलेँटीमारे जसरी कसिएका थिए । काठमाडौंको खगेन्द्र नवजीवन केन्द्रमा उपचार गरेपछि उनको ज्यान बच्यो ।

‘उपचारले पानीका फोका सुक्न थाले, मेरो कसिएको खुट्टा अप्रेसन गरेर खुलाइयो । त्यसको खत अझै पनि छन्,’ खत देखाउँदै उनी भन्छन्, ‘त्यही बेलादेखि मेरो खुट्टा र देब्रे हात नचलेको हो ।’

उपचारले उनी केही तङ्ग्रिए तर परिवार आर्थिकरुपमा थला पर्‍यो । बुवामा ऋणको बोझ थपियो । उनी भन्छन्, ‘बुवाले मेरो उपचार खर्चका लागि भएको जग्गा जमिनै बेच्नुपर्‍यो । हामी सुकुम्बासी भएर गाउँबाट उठ्यौं ।’

रोगले च्याप्दा उनको सुरुवाती बालापन फिक्का बनेको उनलाई महसुस हुन्छ । बुवाको छोराप्रतिको माया बाहेक सम्झन लायक त्यसबेलाका प्रिय घटना उनीसँग छैनन् ।

‘काठमाडौंमा उपचारका दौरान गरेका अप्रेसनका घाउहरु ठीक हुन झन्डै चार वर्ष लाग्यो,’ उनी प्रश्न गर्छन्, ‘साथीभाइहरु खेल्थे, स्कुल जान्थे म बिरामी भएर थला परेको थिएँ । के रमाइलो हुनु बाल्यकाल ?’

बढहरेबाट उनको परिवार कात्तिकेघाट बसाइँ सर्‍यो । अशक्त छोरालाई शिक्षा दिन बुवाले स्कुल नजिकै बसाइँ जाने निर्णय गरेको उनको बुझाइ छ । तर, त्यहाँ पनि बुवा ऋणले थलिएपछि १ वर्षमात्रै स्कुल पढ्न पाएको उनी सुनाउँछन् ।

भन्छन्, ‘बसाइ सर्दा लिएको ऋण तिर्न नसकेपछि हामी फेरि सतीघाटमा अरुको जग्गामा बस्न गयौं, त्यहाँ स्कुल थिएनँ ।’

सत्तिघाटको बसाइ झन् उनलाई फिका भयो । आफ्नै उमेरका साथी ठमठम हिँडेर स्कुल जाँदा आफू घरमा रुँदै बसेको क्षण सम्झदाँ उनलाई आज पनि विरक्त लाग्छ ।

भन्छन्, ‘पढ्नभन्दा पनि खेल्न मन लाग्ने । मेरो शरीरकै कारण साथीहरु भएनन् । म घस्रिएर हिँड्दा जिस्काउँथे ।’

केउरिनीपानीले खोल्यो पढाइको तगारो

०५२ सालमा केउरिनीपानीमा बुबाले जग्गा जमिन जोडेपछि नीलमणिले स्कुल पढ्न पाए । १ कक्षा पास उनी त्यहाँको सुबद्रा पञ्चकन्या माविमा ३ मा भर्ना भए ।

स्कुलमा पुग्दा उनीमा गीतप्रतिको चाख बढिसकेको थियो । विभिन्न ठाउँ बसाइँ सर्दा रेडियो सुन्न पाएका कारण संगीतमा मोह पसेको उनलाई स्पष्ट याद छ ।

‘सबैको घरमा रेडियो हुँदैन थियो । १५-२० टाढा रेडियो भएको घरमा गीत सुन्न जान्थेँ,’ उनी भन्छन्, ‘कुनै ठाउँमा छिमेकीले ठूलो आवाजमा रेडियो बजाउँथे, म त्यही सुन्थेँ ।’

गीत सुन्ने मात्रै होइन उनी आफू पनि गुनगुनाउँथे । उनलाई आफ्नो गायन क्षमता देखाउने अवसर स्कुलमा मिलेको थियो । केही निम्न विद्यालयस्तरको अन्तरविद्यालय प्रतियोगितामा प्रथम भएको उनी सुनाउँछन् ।

‘शिक्षकहरुले मलाई बोकाएरै प्रतियोगितामा पठाउनुहुन्थ्यो, म सधैँ प्रथम नै भएँ,’ उनी भन्छन् ।

सुबद्रा स्कुलमा ५ कक्षा पास भएपछि उनी निम्न माध्यमिक तह पढ्न पाएनन् । सुब्रदा विद्यालयमा पाँचमाथि पढाइ थिएन ।

‘मलाई आँगन प्रदेश थियो । ६ कक्षा पढ्न हात खुट्टा ठीक हुनेका लागि २ घण्टा पैदल दूरीमा थियो । कसरी पढ्नु ?’ उनी प्रश्न गर्छन् ।

यद्यपि आफ्नो क्षमता चिनेर ती प्रतियोगितामा पठाउने सुबद्रा स्कुलका शिक्षकहरु प्रति उनी कृतज्ञ छन् ।

काठमाडौंको तिर्खा

१५ वर्षको हुँदा ०५५ सालमा नीलमणिले ५ कक्षा सके । त्यसमाथि उनले शिक्षा लिने अवसर पाएनन् ।

उनलाई बुवाले त्यसमाथि पढाउने कोशिस नगरेका होइनन् । अशक्त बच्चाहरु राख्ने दिङ्लास्थित षडानन्द छात्रवासमा बा कैयन् पटक धाएको उनको स्मरणमा ताजै छ ।

‘छात्रवास धाउने काम मेरा गरिब बाका लागि चप्पल फटाउने मात्रै काम भयो । मलाई छात्रवास राख्न उहाँको पहुँच पुगेन,’ उनी सम्झन्छन् ।

स्कुलबाट वञ्चित भएपछि उनका दिनचर्या घरमै सीमित भयो । शारीरिक क्षमताअनुसार घस्रदै घर लिप्ने, खाना पकाउने, भाँडा माझ्ने जस्ता काम गरी पारिवारिक जिम्मेवारी निर्वाह गरे पनि त्यो समय उनको जीवनको नरमाइला क्षण मध्यको एक हो ।

‘स्कुल हिँडेका साथीहरुलाई हेर्दै रुनुबाहेकको विकल्प मेरो थिएनँ,’ उनी भन्छन्, ‘मलाई त स्कुल जानभन्दा पनि खेल्न मन थियो नि । तर सक्दैन थिएँ ।’

यद्यपि स्कुलपछिका दुई वर्षमा गायन अभ्यास चाहिँ ठीकठाक भएको उनलाई महसुस हुन्छ ।

‘रेडियोमा गीत सुन्न छिमेकमा जाने, घर आएर जगको माइक, थालको मादल बजाएर गीत गाउँथेँ,’ उनी भन्छन्, ‘त्यो समयमा मेरो हर्कत देखेर यो पागल भएछ भनेको पनि सुन्थेँ । कुन जुनीको साहु रहेछ यो भडारीको छोरो भन्थे । निकै तीतो वचन मैले त्यो बेला सुन्न पर्‍यो ।’

यस्तै कुराले बैराग्य बढेपछि घर छोडेर काठमाडौं आउने सोच पलाएको उनी बताउँछन् । उनलाई काठमाडौं आउन मन लाग्नुको कारण थियो– गायक बन्ने सपना ।

अशक्त छोरालाई बुवा-आमाले काठमाडौं पठाउन नमान्दा कोदो बेचेर काठमाडौं आउने योजना समेत असफल भएको उनी सुनाउँछन् ।

‘मैले घरको भकारीमा राखेको ५ मुरी कोदो बुवा-आमा मेला गएको मौका पारी उहाँहरुलाई थाहा नदिइ छिमेकीलाई बेचेँ,’ उनी भन्छन्, ‘आमाले बेलुका घर फर्केपछि कोदाका दाना छरिएकाले थाहा पाउनुभयो । त्यसबेला केही भन्नुभएन बिहान त समाज बोलाउनुभएछ ।’

समाजले कोदो किन्ने छिमेकीलाई सिन्नुपानी लगाउने निर्णय गरेपछि अन्तिममा आफूले पनि भेटेको उनी बताउँछन् । यही कोदो विषय उनले घर छाड्नु प्रमुख कारण बन्यो ।

‘मलाई आमाले यही विषयमा वचन लगाउनुभयो । सधैको वचन सुन्न नसकेर म घर छाड्ने निर्णयमा पुगेँ,’ उनी भन्छन्, ‘घरबाट निस्कँदा मैले एक सुका पैसा बोकेको थिइनँ ।’

आमाबाट ती वचन निस्कनुको पछाडिका कारण उनलाई आफूले भोगेका संसारले थाहा दिएको छ । भन्छन्, ‘मलाई आमाले नराम्रो चाहिँ भनेको होइन रहेछ ।’

मनकामनाको बास

नीलमणिलाई गायक बन्न घर छोड्न त मन थियौ नै, कोदो बेचेको विषयले त्यसमा झन् मलजल गर्‍यो ।

०५७ सालको अन्तिम उनी घर छोडेर हिँडे । घरमा थाहै नदिइ एकाबिहानै निस्किएका उनी साँझ संखुवासभाको मनकामना धाम पुगेको बताउँछन् ।

भन्छन्, ‘मेरो घरबाट मनकामनाको दूरी हिँड्न सक्नेलाई २ घण्टा हो । म घस्रेर हिड्दा १२ घण्टा बढी लाग्यो ।’

शारीरिक अवस्थाका त्यहाँका माताहरुबाट दया पाएपछि मनकामनाको बसाइ सहज भएको उनलाई महसुस हुन्छ ।

‘म भजन–किर्तनहरु गाउँथेँ । त्यसकारण म उहाँहरुको प्रिय भएँ । त्यहाको बसाइ मेरा लागि रमाइलो नै भयो । आमा लिन आउँदा पनि गइनँ,’ उनी भन्छन् ।

माताहरुलाई सबै शारीरिक मानसिक पीडा बिसाए तर कोदो चोरेको कुरा भने सुनाउन लाज लाग्यो ।

त्यहाँ बर्सिने ठूलो एकादशीको मेलाले लाग्थ्यो । केन्द्रीय कलाकारहरु प्रस्तुतिका लागि जान्थे । सोही मञ्चमा कविता वाचन गर्ने अवसरले आफ्नो जीवन यात्रामा परिवर्तन ल्याएको उनी सुनाउँछन् ।

‘मैले कविता वाचन गरेँ । मेरो कविता र शारीरिक अवस्था देखेर त्यहाँ उपस्थित महानुभावहरुले पैसा दिनुभयो,’ उनी भन्छन्, ‘६ हजार पैसा जम्मा भएको थियो । ०५८ सालमा यो ठूलो रकम हो ।’

नीलमणिलाई गायक बन्ने दृढ इच्छा थियो । मनकामना बसाइमा भजन किर्तन गाउँदा गायक बन्न सक्छु भन्ने उनीमा आत्मविश्वास बढेको थियो ।

पैसा नभएरै उनी मनकामनामा थन्किएका थिए । अन्ततः पैसा जोहो भयो । त्यही पैसाले शारीरिक कमजोरी भए पनि काठमाडौं आउन हिम्मत दिएको उनी बताउँछन् ।

भन्छन्, ‘बोक्ने मान्छेलाई खोजेर घर फर्किएँ, नागरिकता बनाउन ३ दिन सदरमुकाम बसेँ, धनकुटाबाट काठमाडौं गाडी चढेर आएँ । काठमाडौंको पुरानो बसपार्कमा ओर्लंदा मसँग ५ हजारभन्दा बढी पैसा थियो ।’

सोही कारण कविता वाचन गर्न अवसर मिलाउन आयोजकलाई दबाव दिने तत्कालीन जिल्ला विकास समिति सदस्य नर्मदा घिमिरेलाई उनी ‘कर्म आमा’ मान्छन् ।

भन्छन्, ‘उहाँ नभएको भए सायदै म काठमाडौं आउने थिएँ ।’

काठमाडौंको ठक्कर

काठमाडौं आउँदा नीलमणिसँग साथी नेत्र माझीसँगै थिए । नेत्रसँग उनको चिनजान मनकामनामा भएको हो । गायक बन्ने सपना दुवैको थियो । तर कहाँ जाने, के गर्ने ? दुवैलाई थाहा थिएन ।

केही हप्ताको होटल बसाइपछि नीलमणिको अन्दाजी ५५ वर्षका धादिङ घर बताउने धनबहादुर अधिकारीसँग चिनजान भयो ।

अधिकारी अन्दाजी १८ वर्षको युवतीसँग सोही होटलमा बस्ने हुँदा चिनजान भएको उनी बताउँछन् । केही दिनको चिनजानमा आफ्नो गायक बन्ने सपना अधिकारीलाई सुनाउन भ्याएको उनी स्मरण गर्छन् ।

‘उनले पनि ममाथि शरीर यस्तो रहेछ भनेर दया देखाए । आफू रेडियो नेपालको कर्मचारी भएको पनि बताए । गीत रेकर्ड दर्ता गर्न चार हजार लाग्छ भनेर लिएर गए’ उनी बताउँछन् ।

चार हजार लिएर गएपछि अधिकारी होटल नै फर्किएनन् । धेरै दिन बाटो हेर्दा अधिकारी नफर्किएपछि रेडियो नेपालको कार्यालय पुग्दा उनी कर्मचारी नै नभएको थाहा पाएपछि आफ्नो जमिन भासिएको महसुस भएको नीलमणि बताउँछन् ।

उनी भन्छन्, ‘ती व्यक्तिले मलाई ठगेर भागेछन् भन्ने थाहा पाएपछि मेरो मनमा कति पीडा पसेको थियो । त्यहो अहिले शब्दमा भन्न सक्दिनँ ।’

यद्यपि अधिकारी खोज्न गएको पहिलो दिन नै आर्मीका क्पाप्टेन दीपेन्द्र विष्टको भेटले भने उनलाई राहत मिल्यो । उनले विष्टसँग आफ्ना पीडा पोख्ने अवसर पाए ।

‘उहाँले सबै कुरा सुनेपछि मलाई रेडियो नेपालका कर्मचारीसँग भेटाउनुभयो । गीत रेकर्ड गराउनेसम्मको मेसो मिलाइदिनुभयो,’ उनी भन्छन् ।

यसबेलासम्म नीलमणि काठमाडौं आएर पैसा खर्च भइसकेको थियो । बसर्पाकको होटलमा बसेको बिल पनि तिर्ने रत्नपार्कमा मादल बजाउने काम गरेको उनी सम्झन्छन् ।

‘साथी नेत्र त्यही होटलमा भाडा माझ्न लाग्यो । म रत्नपार्कमा मादल बजाउन लागेँ । बसपार्कबाट घस्रिएर दिनैपिच्छे रत्नपार्क पुग्थें । त्यसरी होटलको पैसा तिरेँ मैले,’ उनी भन्छन् ।

त्यसबेला त मलाई साह्रै बेचैन र पीडा भएको थियो । अहिले ती अधिकारीलाई भेट्न पाएँ चार हजारको तीन गुणा १२ हजार दिन्थेँ । साथमा रहनेछ भने पनि ऋणै खोजेर नि दिन्थेँ ।

ह्वीलचियरको प्राप्तिले दिएको खुसी

गीतका रकेर्ड गर्न रेडियो नेपाल धाउने क्रममा नीलमणिको मातृ नेपाल अपाङ्ग संघका कर्मचारी नरबहादुर राउतसंग भेट भयो ।

उनले सो संस्थामा बस्ने व्यस्था मिलाए । सोही संस्थाकै पहमा पहिलो ह्वीलचियर पाएको उनी बताउँछन् ।

यता ०५८ सालमै गीत पनि रेकर्ड भयो । गीतको शीर्षक हो- विरहले लै लै रुन पो मन लाग्यो ।

बस्नका लागि संस्था पनि पाए । तर खानाका लागि संस्थाका साथीहरुसँग मिलेर घर-घर माग्न जानुपर्ने बाध्यता आइलागेको उनी बताउँछन् ।

‘त्यो संस्थाका लागि दाता रहेनछन् । माग्नुको विकल्प रहेनछ,’ उनी भन्छन् ।

तर त्यो संस्थामा उनको बसाइ लामो भएन । एकदिन माग्न जाँदा केही नपाएर खाली हात फर्कदा संस्थाका व्यक्तिले अभद्र व्यवहार गरेपछि त्यहाँबाट निस्किएको उनी बताउँछन् ।

‘थालको झट्टी हानेर नमिठो वचन लगाए । मलाई ती मान्छेको नाम अहिले पनि लिन मन लाग्दैन,’ उनी भन्छन् ।

त्यहाँबाट माली गाउँमा कोठा सर्न कालिञ्चोक क्यासेट सेन्टरको मालिक लगाएको गुन उनले सायदै भुल्छन् ।

‘मैले गीत गाएपछि विमोचन पत्रिकामा समाचार छापिएको थियो । त्यहीँका पत्रकारबाट मैले उहाँलाई चिनेको हो । उहाँले नै मेरो कोठाका लागि चाहिने सामान किन्न सहयोग गर्नुभएको हो,’ उनी भन्छन् ।

दोहोरीको जागिर

मालीगाउँमा डेरा भएपछि आर्थिक दबाब बढ्दै गयो । खर्च जोहो गर्न कामको आवश्यक थियो । जागिर गर्न शरीरले साथ दिएको थिएन ।

पहिलो पटक जागिरका लागि बालाजुस्थित दोहोरीमा जागिर नपाएको स्मृति उनमा अझै ताजै छ ।

भन्छन्, ‘म एकोहोरो गीत गाउथेँ । दोहोरीको ज्ञान थिएन, कसरी जागिर दिन्थे ?’

दोस्रो दोहोरीमा जाँदा भने गायक राजु परियारलाई भेटेको उनी बताउँछन् । उनकै दयाका कारण ठमेलको एक दोहोरीमा जीवनको पहिलो जागिर पाएको उनी सम्झन्छन् ।

‘राजु दाइले शरीर यस्तो रहेछ । दोहोरी सिक्दै जानुपर्छ, जानेर कोही आएको हुँदैन । म मञ्चमा चढाउने व्यस्था गर्छु भन्नुभयो,’ उनी भन्छन्, ‘मालिकले पनि राजुले कर गरेको छ । काममा आउनु भन्नुभएको थियो ।’

पहिलो जागिर पनि उनको एक महिनामै छुट्यो । दोहोरीमा ज्ञान नभएकाले जागिर छुटेको हुनुपर्ने उनको बुझाइ छ ।

एक महिनाको तलब १२ सय दिएर सौहार्दपूर्ण वातावरणमा बिदा गरेकाले उनलाई त्यो दोहोरीको साहुप्रति गुनासो छैन ।

सुन्धाराको जागिरले दिएको सहजता

पहिलो जागिरको तलबका कारण नीलमणिलाई जागिर खोज्न समस्या भएन । जागिर नै नपाए पनि केही महिना पुग्ने पैसा उनीसँग मौज्दात थियो ।

तर केही दिनमा सुन्धाराको एक दोहोरीमा काम पाए । दोहोरीमा एक महिनाको अभ्यास र इच्छाशक्ति भएकाले त्यहाँको काम भने केही सहज भएको उनी सुनाउँछन् ।

‘सुरु ताल मिल्दैन थियो होला तर फर्काउन सक्ने भएँ । विस्तारै अभ्यास हुँदै गयो । त्यहाँको जागिर सहज नभए पनि पहिला जस्तो कठिन भएन,’ उनी भन्छन् ।

उनी जागिरमा मात्रै सीमित भएनन् । बाँकी अवसरहरु पनि खोज्ने क्रम जारी थियो । त्यही क्रममा विभिन्न प्रतियोगितामा सहभागी भएको उनी बताउँछन् ।

‘विभिन्न रक्सी कम्पनीले दोहोरी प्रतियोगिता गर्थेँ, खुला स्थानमा प्रतियोगिता हुन्थ्यो,’ उनी भन्छन्, ‘केही प्रतियोगिता जित्थेँ । नजितेको प्रतियोगितामा पनि शरीरिक अवस्था देखेर त्यहाँ आउनेले पैसा दिन्थेँ ।’

तिनै प्रतियोगिताबाट अहिलेका चर्चित गायक-गायिकाहरु पशुपति शर्मा, युवराज आचार्य, देवी घर्ती, राजु ढकालहरुसँग चिनजान भएको उनी बताउँछन् । भन्छन्, ‘उहाँहरु प्रतिस्पर्धी साथीहरु हो ।’

दोहोरीले खुलाएको अवसर

दोहोरीको कामले आर्थिका पाटोमात्र नभएर विभिन्न अवसर खुल्दै गएको नीलमणि बताउँछन् ।

भन्छन्, ‘चिनजान भयो । त्यसले कामहरु पाउन लागेँ । आर्थिक पाटो सहज भयो । यही क्षेत्रमा लागेर जीवन गुजारा गर्नसक्छु भन्ने हिम्मत आयो ।’

त्यसबेलादेखि उनी गायन क्षेत्रमा क्रियाशील छन् । ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् ।

गायकसँगै उनले आफ्ना क्षमताले भ्याउने विभिन्न व्यापारसमेत गरे । अहिले उनी विवाहित हुन् । भन्छन्, ‘श्रीमतीको कपडा व्यापार छ । अहिले असन्तुष्ट हुनुपर्ने कारण छैन ।’

पछिल्लो समय उनी लाइभ दोहोरीमा व्यस्त छन् । युट्युबमा चर्चित दोहोरी गायकमध्येका उनी एक हुन् ।