मस्तिष्क हाम्रो स्नायु प्रणालीको महत्त्वपूर्ण अंग हो। मस्तिष्क केन्द्रीय स्नायु प्रणालीको सञ्चालक पनि हो। यसको सिधा सम्पर्क मुटुसम्म हुने भएकाले रक्तचापमा उतारचढाव आउँदा मस्तिष्कघात हुन्छ। विश्वमा मानिसको मृत्युको प्रमुख कारणमध्ये एक मस्तिष्कघातलाई मानिएको छ। त्यस्तै प्यारालाइसिस भएर जीवनभर शारीरिक अपांगता तथा अशक्तता भएर काम गर्न नसक्ने हुनाले अप्रत्यक्ष रूपमा आर्थिक नोक्सानी हुने, बिरामीमा डिप्रेसन हुने, बौद्धिक क्षमतामा ह्रास आउने, मस्तिष्क सुस्त र अत्यन्तै कमजोर हुनसक्छ। जसबाट पारिवारिक, सामाजिक र मनोवैज्ञानिक समस्या उत्पन्न हुनेगर्छ। चिकित्सकका अनुसार मस्तिष्कघात दुई प्रकारले हुने गर्दछ। एउटा रगतका नसा सुकेर हुन्छ भने अर्को रगतका नसा फुटेर रक्तश्राव भएर मस्तिष्कघात हुने गर्दछ। जसलाई ब्रेन एन्युरिज्म भनिन्छ। ब्रेन एन्युरिज्म कस्तो समस्या हो ? यो के कारणले हुन्छ ? यसको उपचार विधि के छ ? यिनै विषयमा नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत न्युरो सर्जन डा. प्रकाश काफ्लेसँग गरिएको कुराकानीः
ब्रेन एन्युरिज्म कस्तो समस्या हो ? मस्तिष्क धमनी भनेको एउटा रगतको नसा हो। जुन मुटुबाट ब्रेनसम्म पुग्ने गर्दछ। त्यो रगतमा फुलेर बेलुन जस्तो भएर फुट्नुलाई ब्रेन एन्युरिज्म भनिन्छ। यसले ब्रेन ह्मरेज गराउँछ। यो पनि मस्तिष्क घात कै एक प्रकार हो। अहिले हुने गरेको मस्तिष्क घातमा ५ देखि ६ प्रतिशत यस्तो प्रकारको मस्तिष्कघात हुने गरेको छ। अन्य मस्तिष्कघात भन्दा यो अलि बढी घातक मानिन्छ। यो समस्याको समयमै पहिचान तथा उपचार भएन भने यसबाट मृत्यु हने सम्भावना पनि धेरै हुन्छ।
अहिले हुने गरेको मस्तिष्क घातमा ५ देखि ६ प्रतिशत यस्तो प्रकारको मस्तिष्कघात हुने गरेको छ। अन्य मस्तिष्कघात भन्दा यो अलि बढी घातक मानिन्छ।
यो के कारणले हुन्छ ? यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गर्दछ। त्यस्तै उच्च रक्तचाप हुँदा, शरीरमा बोसोको तत्त्व धेरै हुँदा, सुगर हुँदा ब्रेन एन्युरिज्म हुने सम्भावना हुन्छ। त्यस्तै परिवारका एक जनालाई पहिले यस्तो रोग छ भने अन्य सदस्यमा पनि यसको जोखिम हुने गर्दछ। त्यसबाहेक चुरोटको सेवन यसको जोखिम कारक मानिन्छ भने मुख्य कारण चाहिँ उच्च रक्तचाप नै हो।
मस्तिष्कघात जस्तै यो पनि अकस्मात हुने हो या केही लक्षण देखिन्छन् ? कुनै पनि मस्तिष्कघात अचानक हुने हो। यसका कुनै पनि लक्षण देखिँदैनन्। जसलाई मेडिकल भाषामा एक्युट भाष्कुलर इभेन्ट भनिन्छ। त्यो मस्तिष्कको नसा सुकेर वा फुटेर हुन्छ। यो नसा फुटेर हुने रोग हो।
जसमा एक्कासी पुरै टाउको दुख्ने, बान्ता हुने, काप्ने समस्या हुने, आँखा हेर्न नसक्ने, रक्तचाप बढ्ने जस्ता लक्षण देखिए भने यो समस्या हो कि भनेर शंका गर्न सकिन्छ। यो समस्या भएको कुरा सिटी स्क्यान गरिसकेपछि थाहा हुन्छ। पहिलेदेखि नै कुनै लक्षण देखिने भने हुँदैन।
मिर्गीका बिरामीमा पनि ब्रेन एन्युरिज्मको समस्या हुने हो ? ब्रेन एन्युरिज्म फुटिसकेपछि मिर्गी आउनसक्छ। तर मिर्गी भएका बिरामीलाई एन्युरिज्मको समस्या हुन्छ भन्ने देखिएको छैन।
ब्रेन एन्युरिज्म फुटिसकेपछि मिर्गी आउनसक्छ। तर मिर्गी भएका बिरामीलाई एन्युरिज्मको समस्या हुन्छ भन्ने देखिएको छैन।
यो समस्याको समयमै पहिचान तथा उपचार गर्न सकियो भने यसबाट हुनसक्ने मृत्यु तथा अन्य जटिलताको जोखिम कम गर्न सकिन्छ कि सकिँदैन ? जुनसुकै रोगमा पनि समयमै चेकजाँच तथा उपचार गर्नु राम्रो हुन्छ। समयमै उपचार गर्न सकियो र यो नफुट्दै थाहा पाइयो भने यसले निम्त्यानसक्ने जटिलतालाई कम गर्न सकिन्छ। जापान अमेरिका लगायत विकसित देशमा यो रोग फुट्नु भन्दा अगाडि नै पत्ता लगाउने चलन हुन्छ। मेरो १० वर्षको अनुभवका आधारमा भन्नुपर्दा तीन सय वटा जति एन्युरिज्मको सर्जरी गरेँ। त्यसमा ५–६ वटा नफुटेको बाहेक अन्य सबै फुटेको एन्युरिज्मको मात्रै उपचार गरेको छु। हाम्रोमा समस्या भएपछि मात्र अस्पताल जाने चलन भएकाले यो समस्या बढी नै छ। पहिल्यै पत्ता लगाउनका लागि सामान्य टाउको दुख्दाको अवस्थादेखि नै चेकजाँच गर्नुपर्छ। यो नफुट्दैको अवस्थामा पत्ता लागेर उपचार गर्नु र फुटिसकेपछि उपचार गर्नुमा धेरै फरक पर्छ। नफुट्दै उपचार गर्न सकियो भने प्यरालाइसिस हुने लगायत अन्य जोखिम कम गर्न सकिन्छ।
ब्रेन एन्युरिज्मले पनि धेरै अपाङ्गता गराउने हो ? ब्रेन एन्युरिज्म कुन भागमा भएको हो त्यसमा भरपर्छ। जस्तै दिमाखको अगाडिको भागमा अथवा दायाँ–बायाँ र पछाडिको भागमा एन्युरिज्म भएको छ भने त्यही अनुसारको अपाङ्गता आउँछ। सबै बिरामीमा अपाङ्गता आउने होइन। ८० प्रतिशत बिरामी निको भएर सामान्य जीवनयापन गरिरहेका छन्। १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ भने बाँकी १० प्रतिशतमा कसैको बोली नआउने, हातखुट्टा नचल्ने, शरीरको एकतर्फको भाग नचल्ने लगायत कुनै न कुनै खालको अपाङ्गता हुने गरेको पाइएको छ।
यो एकपटक भइसकेपछि फेरि मस्तिष्कघात हुने सम्भावना कत्तिको हुन्छ ? एकपटक भइसकेपछि सबैखाले मस्तिष्कघात त्यही ठाउँमा नसा सुक्ने, नसा फुल्ने सम्भावना एकदमै धेरै हुन्छ। एक वर्ष भित्रै पनि दोहोरिने सम्भावना ५ देखि १० प्रतिशत हुन्छ भने ५ वर्षमा दोहोरिने सम्भावना २५ प्रतिशतले बढेर जान्छ। त्यस्तै परिवारमा कसैलाई छ भने पनि अर्को व्यक्तिलाई हुने सम्भावना धेरै हुन्छ।
एकपटक भइसकेपछि सबैखाले मस्तिष्कघात त्यही ठाउँमा नसा सुक्ने, नसा फुल्ने सम्भावना एकदमै धेरै हुन्छ। एक वर्ष भित्रै पनि दोहोरिने सम्भावना ५ देखि १० प्रतिशत हुन्छ भने ५ वर्षमा दोहोरिने सम्भावना २५ प्रतिशतले बढेर जान्छ।
कुन उमेर र समूहमा यो समस्या बढी देखिने गरेको छ ? महिलाको हकमा भन्नुपर्दा महिनावारी सुरु भइसकेपछि ३०/४० वर्षभन्दा पछिको उमेरमा बढी हुने गरेको छ। सानो उमेरमा हुँदैन भन्ने होइन तर धेरै जोखिम बढ्दो उमेरमा हुन्छ।
यसको उपचार विधि के छ ? यसको उपचार पद्धति फरक छ। आज विश्वमा जहाँसुकै पनि यसको पहिलो र प्रभावकारी उपचार भनेको माइक्रो सर्जरी क्लिपिङ नै हो। यसबारेमा धेरै अध्ययन भइसकेका छन्। आजभन्दा पाँच वर्ष अगाडि तार छिराएर जाली लगाएर उपचार गर्ने प्रविधि राम्रो मानिएको थियो। जसमा टाउको नखोली तार छिराएर दूरबीनले हेरेर उपचार हुन्थ्यो। त्यो पनि नराम्रो होइन। तर विभिन्न अध्ययन अनुसन्धानमा तुलनात्मक रुपमा माइक्रो सर्जरी क्लिपिङ नै राम्रो मानिएको छ। यो पद्धतिबाट उपचार गरिएका बिरामीहरुले जीवनभर औषधी खानु आवश्यक छैन। कोइलिङ र पाइप हालेर उपचार गरेका बिरामीले अलि लामो समयसम्म रगत पातलो बनाउने खालको औषधी खानुपर्ने हुन्छ। त्यस्तै बोसो घटाउने, रक्तचाप नियन्त्रण गर्ने औषधी बाहेक अन्य औषधी खानुपर्ने हुँदैन।
यसको उपचार कत्तिको खर्चिलो छ ? न्युरो सर्जरीमा अहिले संसारमा जहाँ पनि एकदमै नयाँ प्रविधिको प्रयोग भइरहेको छ। रोबर्टदेखि लिएर हरेक टेक्नोलोजीको प्रयोग अहिले न्युरो सर्जरीमा भइरहेको छ। त्यसैले खर्चिलो नै छ।
एन्युरिज्म भइसकेका बिरामीले फेरि नदोहोरियोस् भन्नका लागि के के कुरामा ध्यान दिनुआवश्यक छ ? यो समस्या एकपटक भइसकेपछि फेरि पनि दोहोरिने सम्भावना हुने भएकाले समय समयमा चेकजाँच गर्नुपर्छ। सुगर र प्रेसर नियन्त्रण गर्ने, धुम्रपान मध्यपान गर्ने बानी छ भने त्यो त्याग्ने, नियमित व्यायाम गर्ने, शरीरमा बोसोको मात्रा धेरै छ भने त्यो घटाउने लगायतका कुराहरुमा ध्यान दिनुपर्छ।
आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोगले मानसिक समस्या बढ्दै गएको छ। बालबालिका मोबाइल केन्द्रित बढी हुने गरेका छन्। यो पनि एउटा समस्याकै रुपमा रहेको छ।
पछिल्लो समय मानसिक समस्या बढ्दै गएका छन्। कस्तो मानसिक समस्या हुँदा कुन चिकित्सककहाँ जानुपर्छ ? आधुनिक जीवनशैली र प्रविधिको बढ्दो प्रयोगले मानसिक समस्या बढ्दै गएको छ। बालबालिका मोबाइल केन्द्रित बढी हुने गरेका छन्। यो पनि एउटा समस्याकै रुपमा रहेको छ। यस्तो अवस्थामा चिकित्सककहाँ भन्दा पनि अभिभावकले बच्चालाई समय दिएर पारिवारिक वातावरण राम्रो बनाउन सक्यो भने चिकित्सकसम्म जानु नै पर्दैन।
त्यसबाहेक अन्य कुनै समस्या छ भने न्युरोलोजी, न्युरो सर्जरी, न्युरो साइक्याष्ट्रिक सहितको एउटा टिमलाई भेट्नुपर्छ। त्यहाँ गएर परामर्श लिएपछि अप्रेशन गर्नुपर्ने समस्या भए न्युरो सर्जन कहाँ जानुपर्छ। परामर्श लिनुपर्ने खालको समस्या हो भने साइकोलोजिष्टकोमा जाने गर्नुपर्छ। तनावका कारण हुने डिप्रेसन वा माइग्रेन जस्ता समस्या छन् भने न्युरो साइक्याष्ट्रिकलाई भेट्नुपर्छ।
औषधी खाएर निको हुने खालको समस्या छ भने न्युरोलोजिस्टकोमा गएर उपचार गर्न सकिन्छ। न्युरो अर्थात् स्नायु भनेको हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो। यसको समस्या एक जनाले मात्रै गरेर समाधान नहुने भएकाले सम्पूर्ण टिम नै लागेर समाधान गर्नुपर्ने हुन्छ।
अहिलेको पुस्तामा सिर्जनशीलता नै छैन भनिन्छ, मान्छेलाई सिर्जनशील बनाउन के गर्नुपर्ला ? मोबाइलको प्रयोगले अहिलेको पुस्तामा एक्लोपन ल्याएको छ। जसले गर्दा सिर्जनशीलता हराएको अवस्था छ। जसलाई डिजिटल एडिक्सन भन्ने गरिएको छ। भारतका कतिपय ठाउँमा डिजिटल एडिक्सन सेन्टर नै खोलिएका छन्।
बालबालिका तथा किशोरकिशारी दिनरात मोबाइलमा ग्याम खेल्छन्। जसका कारण सिर्जनशील नहुने, पढाइमा राम्रो गर्न नसक्ने अवस्था आएपछि उनीहरुमा डिजिटल एडिक्सन भएको प्रमाणित भएर डिजिटल पुर्नस्थापना केन्द्र खोलेर त्यसमा बालबालिकालाई राख्ने चलन आइसकेको छ। म चाहान्छु त्यो अवस्था नेपालमा नआओस डिजिटल डिएडिक्सन सेन्टर नेपालमा खोल्न नपरोस्। त्यसको लागि अभिभावकले बच्चालाई समय दिनुपर्छ।
बालबालिका विद्यालयबाट आइसकेपछि उनीसँग बसेर दिनभर उसले गरेको क्रियाकलापबारे छलफल गर्ने, उनीहरुबाट केही गल्ती भएको छ भने पनि अन्य बालबालिकासँग तुलना नगरी सम्झाउने गर्नुपर्छ। उनीहरुको अगाडि आफूले पनि मोबाइलहरु नचलाउने, घरका सानातिना काम जस्तै पूजा गर्ने, घरको काम गर्ने कुरामा उनीहरुलाई सहभागी गराउने लगायत सामान्य कुराहरुमा हामीले ध्यान दियौं भने अहिलेको पुस्तालाई सिर्जनशील बनाउन सहयोग पुग्छ।