फाइल फोटो

समाचार

मधेसमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

By खबरहब

September 30, 2024

जनकपुरधाम– मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई दुई तथा सप्तरी र सर्लाहीका एक एकजना रहेका छन् ।

बाढीले बगाउँदा दुई जना बेपत्ता छन् भने आठ जना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले  जानकारी दिए। बेपत्ता हुनेमा सर्लाही र पर्साका एक एकजना रहेका छन् । मधेसका आठ जिल्लामा बाढीबाट रु ५६ लाखको क्षति भएको छ ।

बाढीबाट नौ पशुचौपाया समेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय  मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३  लक्ष्मीपुरका  १२ वर्षीय अङ्कित ठाकुर रहेका छन् ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा एक बालिका बेपत्ता  भएकी छिन् । आठ जिल्लामध्ये रौतहटमा तीन,  सिरहामा एक, सर्लाहीमा एक तथा बारामा तीनजना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए।

बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ ।  आजदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ ।