काठमाडौं– उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।
नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले फेक न्युज रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
‘आफ्नो पेशाबाट तपाईंहरूले नेपाली समाजलाई फेक न्युजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।’
व्यवस्था बदलिए पनि अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको जिकिर गरे ।
‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए, अहिले कति छन् ?, सिंहले प्रश्न गरे, ‘पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?,’ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’ उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने भए पनि जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।