काठमाडौं – मंसिरको दोस्रो साता शेयर बजारका लागि सुखद साता रह्यो । सातामा अर्थात् मंसिर ९ देखि १३ गतेसम्म शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६७.६१ अंकले बढ्यो ।
यही साता करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि अध्यक्ष पायो । शेयर लगानीकर्ताले सकारात्मक रुझान देखाउँदै बोर्डका अध्यक्षलाई सन्तोषनारायण श्रेष्ठलाई स्वागत गरेजस्तो देखियो ।
अघिल्लो साताको बिहीबार २६८०.४४ बिन्दुमा रहेको नेप्से परिसूचक यो साता बढेर २७४८.०५ बिन्दुमा पुग्यो । सातामा पूरा पाँच दिन नेप्सेमा कारोबार हुँदा दुई दिन बजार घट्यो भने तीन दिन बढ्यो ।
बजार बढ्दा बढी अंकले बढ्ने र घट्दा कम अंकले घट्ने भएकाले गर्दा समग्रमा सातामा बजार ६७ अंकले बढेको देखियो । यो साता समग्रमा ३८ अर्ब ८९ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा दैनिक औसत सात अर्ब ७७ करोड ८१ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भयो ।
पाँच दिनमा ६ करोड ७८ लाख ६६ हजार ९३९ कित्ता शेयर कारोबार भएको हो । सातामा दैनिक औसत एक करोड ३५ लाख ७३ हजार ३८९ कित्ता शेयर कारोबार भएको छ । पाँच कारोबार दिनमा तीन लाख ८४ हजार ९७३ पटक शेयर किनबेच भएको छ भने औसतमा दैनिक ७६ हजार ९९४ पटक शेयर किनबेच भएको छ ।
सेबोन अध्यक्षलाई स्वागत, तर उत्साहित देखिनन् लगानीकर्ता
पद रिक्त भएको ११ महिनापछि सन्तोषनारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षको रूपमा पाएको छ । तर, बोर्डको जिम्मेवारीमा श्रेष्ठ आए पनि लगानीकर्ता भने उत्साहित भएका छैनन् ।
विगतमा अर्थ मन्त्रालयमा अर्थमन्त्रीको रूपमा विष्णु पौडेल आउँदा शेयर बजारमा जुन गतिको उत्साह देखिएको थियो – अहिले बोर्डको अध्यक्षमा श्रेष्ठ आउँदा भने त्यस्तो देखिएन । श्रेष्ठ नियुक्तिलाई लगानीकर्ताले सामान्य स्वागत गरे पनि नेप्सेमा अपेक्षित बुल भने आएन ।
धितोपत्र बोर्डमा ७७ वटा कम्पनीको आईपीओ निष्कासन पर्खाइमा रहेका छन् । नयाँ शेयर बजार अर्थात् स्टक एक्सचेञ्जको चर्चा पनि त्यतिकै छ । यी मामिलामा बोर्डको अध्यक्ष श्रेष्ठले जस्तो नीति लिन्छन्, आफूहरू त्यसैलाई विश्लेषण गरी अघि बढ्ने लगानीकर्ताहरू बताउँछन् । अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको लगानीकर्ताहरूले बताउन थालेका हुन् ।
कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई आगामी दिनमा व्यापारी र स्वार्थसमूहको प्रलोभनमा पर्दै आईपीओ निष्कासन गर्ने अनुमति दिए असर लगानीकर्तालाई पर्ने भएकाले बोर्डमा अध्यक्ष नियुक्त हुँदैमा लगानीकर्ता उत्साहित नभएका हुन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठबारे नियुक्ति प्रक्रियादेखि नै बजारमा सकारात्मक भाष्य छैन । उनलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउन खोजिरहेका आर्थिक गिरोह र आफ्नो कमजोर कम्पनीको शेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई भिडाउन चाहेका व्यापारीहरूको लबिइङमा अध्यक्ष बनाइएको चर्चा हुने गरेको छ । शेयर बजारलाई कतिपय अपुष्ट बाहिरी र भित्री हल्लाले नै उतारचढावयुक्त बनाउने गर्छ ।
‘बोर्डमा अध्यक्ष नियुक्त भए पनि लगानीकर्तामा उत्साह छैन, निराशा पनि छैन’, शेयर लगानीकर्ता नवराज दाहालले खबरहबसँग भने, ‘अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।’
यो पनि –
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
आगामी दिनमा धितोपत्र बोर्डका अध्यक्षले पुँजी बजार सुधार गर्ने खालको नीति लिएमा उत्साहित हुन सक्ने तर, उनीको व्यवहार नबुझी उत्साहित हुन सक्ने अवस्था नरहेको दाहाल बताउँछन् ।
दाहालसँग अर्का लगानीकर्ता सुवासचन्द्र भट्टराई पनि सहमत छन् । अहिले बोर्डमा श्रेष्ठलाई लगानीकर्ताले नियालिरहेको भट्टराई बताउँछन् ।
‘नयाँ स्टक एक्सचेञ्ज ल्याउने कुरा छ, ७७ कम्पनीका आइपीओ पाइपलाइनमा छन्’, भट्टराईले भने, ‘त्यसबारेमा कस्ता खालका नीति बोर्डको अध्यक्षले लिने हुन्, त्यो हेरेरमात्र धेरै कुरा भन्न सकिन्छ ।’
बोर्डमा बसेर अध्यक्षले कस्ता खालको नीति लिन्छन्, त्यो हेरेर मात्र उत्साह कि निराश भन्न सकिने अवस्था हुने भट्टराईको भनाइ छ । मौद्रिक नीतिको समीक्षाले पुरानो नीतिलाई नै निरन्तरता दिनाले भने बजारमा केही उत्साह नथपिएको उनी दाबी गर्छन् ।
‘सामाजिक सञ्जालतिर अनेक खालका कुराहरू आएका छन्’, भट्टराईले भने, ‘तर, पुरानो नीतिको निरन्तरता भनेको स्थायित्व हो, त्यसले गर्दा मौद्रिक नीतिलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ मौद्रिक नीतिमा लगानीकर्ताको केही आशा भएकाले गर्दा त्यो पुरा नहुँदा लगानीकर्तालाई खल्लो भने लागेको हुनसक्ने भट्टराई बताउँछन् ।
इन्भेस्टर्स फोरमा अध्यक्ष तुलसीराम ढकाल भने धेरै महिनापछि बोर्डले अध्यक्ष पाउँदा उत्साहको रूपमै हेर्नुपर्ने बताउँछन् । तर, अध्यक्षसँग सामान्य चुनौती र अवसर दुवै भएकाले गर्दा आगामी दिनमा कुनै नीति अवलम्बन गर्नुअघि विज्ञ र लगानीकर्ताहरूसँग परामर्श लिनुपर्ने ढकाल बताउँछन् ।
‘धितोपत्र बोर्डका अध्यक्षले लगानीकर्ताको उत्साह फर्काउनेगरी अध्यक्षले काम गर्नुपर्ने हुन्छ’, ढकालले भने, ‘सरकारसँग थुप्रै कुराहरूमा पहल गर्नुपर्नेछ, बोर्ड अध्यक्षको काम आईपीओ र राइट शेयरको अनुमति दिनुमात्र होइन ।’
मौद्रिक नीतिले भने लगानीकर्तालाई निराश बनाएको ढकाल बताउँछन् । ‘मौद्रिक नीति समीक्षामार्फत लगानीकर्ताले बढी आशा गरेका थिए’, ढकालले भने, ‘तर, समीक्षा केही न केहीको आयो ।’
सातामा बजार कुन दिन कस्तो ?
सातामा पाँच दिन नै शेयर कारोबार हुँदा साताको पहिलो दिन अर्थात् आइतबार बजार घटेर सुरुवात भएको थियो । आइतबार नेप्से १३ अंकले घटेको थियो । उक्त दिन नेप्से ०.४८ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६९८.७६ बिन्दु र न्यूनतम २६६१.२२ बिन्दुमा पुगेको थियो ।
आइतबार बजार बन्द हुँदा नेप्से २६६७.४० बिन्दुमा आइपुग्यो । सो दिन सात अर्ब ५९ करोड आठ लाख ६७ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख १२ हजार २६ कित्ता शेयर ७५ हजार २८८ पटक किनबेच भयो ।
आइतबार १३ अंकले घटेको बजार सोमबार भने १५.८३ अंकले बढ्यो । उक्त दिन नेप्से ०.५९ प्रतिशतले बढेर परिसूचक २६८३.२४ बिन्दुमा पुग्यो ।
सोमबार परिसूचक उच्चतम २६९८.७६ बिन्दु र न्यूनतम २६६१.२१ बिन्दुसम्म पुगेको थियो । उक्त दिन बजार बढे पनि कारोबार भने आइतबारको तुलनामा घटेको थियो ।
सोमबार ६ अर्ब २९ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको एक करोड ८ ८ लाख ८० हजार ५९७ कित्ता शेयर ६४ हजार ८८२ पटक किनबेच भएको थियो ।
नेप्सेको हरियाली मंगलबार पनि कायम नै रह्यो । मंगलबार पनि बजार ३३.४१ प्रतिशतले बढेर २७१६.६६ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.२४ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७१९.८४ बिन्दु र न्यूनतम २६८५.६४ बिन्दुसम्म पुगेको थियो ।
मंगलबार बजार बढ्दा कारोबार पनि बढेको थियो । सो दिन सात अर्ब ३६ करोड ४७ लाख ५८ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख २८ हजार ५४६ कित्ता शेयर ७४ हजार ५६८ पटक किनबेच भएको थियो ।
बजार बढ्ने क्रम बुधबार पनि कायम नै रयो । बुधबार नेप्से ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा पुग्यो । उक्त दिन नेप्से १.४६ प्रतिशतले बढ्दा परिसूचक उच्चतम अन्तिम बिन्दु नै कायम भयो भने न्यूनतम २७२१.३५ बिन्दुसम्म कायम भयो ।
बुधबार बजार बढ्दा कारोबार पनि बढ्यो । उक्त दिन नौ अर्ब १८ करोड ५१ लाख ८९ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ८६ हजार ८८१ कित्ता शेयर ८८ हजार १०५ पटक किनबेच भएको थियो ।
तीन दिन लगातार बढेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार भने ब्रेक लाग्यो । बिहीबार नेप्से ८.३० अंकले घटेसँगै परिसूचक २७४८.०५ बिन्दुमा आयो ।
उक्त दिन नेप्से ०.३० प्रतिशतले घट्दा परिसूचक उच्चतम २७७४.१४ बिन्दु र न्यूनतम २७३८.८० बिन्दुमा पुगेको थियो ।
बिहीबार नेप्से घटेसँगै कारोबार पनि घट्यो । उक्त दिन आठ अर्ब ४५ करोड ८३ लाख ७५ हजार रुपैयाँ बराबरको एक करोड ४८ लाख ५८ हजार ८८९ कित्ता शेयर ८२ हजार १३० पटक किनबेच भयो ।