स्टोरी

फेसबुकले जोडेको सम्बन्ध ट्याटु खोपेर अन्त्य

By सीता न्यौपाने

January 31, 2024

कास्की पोखराकी अर्पणा शर्मा (नाम परिवर्तन) ले बिहे दर्ता नगर्दाको पीडा बोकेर हिँडिरहेकी छन् । २०७७ मंसिर २६ गते उनले सुर्खेत वीरेन्द्रनगर पिपिराचोक–११ का एम. अधिकारीसँग विवाह गरेकी थिइन् । प्रेम विवाह गरको कारण विवाहमा उनका माइती पक्षको सहभागिता थिएन । तर, अधिकारीले उनलाई आफ्नो परिवार, समाजका अगाडि धुमधामले भित्र्याएका थिए । 

बिहे गरेलगत्तै उनले श्रीमानसँग बिहे दर्ताको प्रस्ताव राखिन् । तर केही समय पछाडि नै उनीहरूको विदेश जाने योजना थियो । अन्य कागजपत्र बनाउने बेलामा बिहे दर्ता गरौँला भन्ने श्रीमानले भनेपछि चुप बसिन । उनले पनि सोचेरै भनेका होलान् भनेर उनी पनि बिहे दर्ता गर्न हतारिइनन् । श्रीमान् स्नातक सकेर स्नातकोत्तर र उनी पनि प्लस टु सकेपछि स्नातक पढ्न जाने योजनामा थिइन् । 

विवाह गरेको केही समयपछि उनीहरु सुर्खेतबाट काठमाडौं फर्किए । विवाहको केही समय राम्रै थियो । तर पछि श्रीमानले नराम्रो व्यवहार गर्दै जान थाले । कहिलेकाँही श्रीमान श्रीमतीबीचको झगडा सामान्य नै हो भन्ने उनलाई लागेको थियो ।  

साना साना निहुँ झिकेर सिसाको गिलास फुटाउने, भातको थाल फ्याँक्नेजस्ता दुर्व्यवहार उनलाई सामान्य लागेको थिएन । तर पछि कुट्ने पिट्ने व्यभिचार बढेपछि भने उनी झस्किइन् ।  कसैसँग बोल्न नदिने मात्र होइन, केही कामले बोलिहाले त्यसैसँग सल्केको भनेर निर्घात पिट्न थालियो । बिस्तारै बिस्तारै अर्पणालाई घरभित्र बन्धकजस्तै बनाउन थाले । 

श्रीमानले यस्तो दुव्र्यहार गर्दा पनि उनले कसैसँग आफ्नो पीडा सुनाउने हिम्मत गरिनन् । बरु आफ्नो पुर्पुरोलाई दोष दिएर कुण्ठा पालेर बसिन् । बुबाआमाले भनेको नमान्दा दुःख पाएको जस्तो उनलाई लागेको थियो । माइतीको धेरै याद आए पनि प्रकट गरिनन् ।  

यी जोडीको २०७३ सालमा फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानीकै क्रममा उनीहरूबीच निकटता बढ्दै गयो । त्यतिबेला अर्पणा जम्मा १७ वर्षकी थिइन् केटा १९ वर्षका थिए । दुवै काँचो उमेरका थिए । पाँच महिनाको दौरानमा उनीहरूले तीन पटक भेटघाट गरे । त्यसैक्रममा अधिकारीले उनलाई आफ्नो नामको ट्याटु खोप्न लगाए । 

मायाप्रेम आफ्नो ठाउँमा थियो । तर उनलाई ब्वाइफ्रेन्डको नामको ट्याटु खोप्न मन थिएन । भोलि केही गरी सम्बन्ध राम्रो भएन र छुटिन पर्यो भने ट्याटुले समस्या ल्याउँछ भन्नेमा उनी सचेत थिइन् । तर केटाले माया छ भने ट्याटु खोप्न के  आपत्ति भन्न थाले । माया नभएर नमानेकी भनेर अत्तो थापेपछि उनी बाध्य भएर ढाडमा ब्वाइफ्रेन्डको नामको ट्याटु खोपिन् । 

ट्याटु खोपेको थाहा पाएपछि दाइले गाली गरे । कहिल्यै हात नउठाउने बुबाले निर्घात पिटे । दाइ र बुबाले गरेको व्यवहार अर्पणाले उसलाई सुनाइन् । त्यसपछि उसले भागेर बिहे गर्न सुझायो । किशोर वय राम्रो नराम्रो छुट्याउन सकिनन् । बुबाआमाले बिहे गरेर त पक्कै दिनुहुन्न होला भन्ने लागेर उनी अधिकारीसँग भागिन् । ट्याटुकै कारण उनी भागी बिहे गर्न बाध्य भइन् । 

तर, एक अर्काबीचमा अत्यधिक मायाप्रेम पनि थियो । उनी प्रेमीको कुरामा सहमत भइन् । ढाडमा आफ्नो नामको ट्याटु खोपाएको छ । छोड्दैन होला भन्ने उनलाई थियो । त्यो समय उनलाई भागेर जाने आफ्नो निर्णय खासै गलत लागेन ।

अधिकारीकै दिदीले उनीहरूलाई काठमाडौंको सुकेधारामा कोठा खोजेर बस्ने व्यवस्था गरिदिएकी थिइन् । परिवारको सल्लाह विना छोरी भागेर गएपछि उनका माइतीपक्ष  खुसी थिएनन् । आमाछोरीको ६ महिनासम्म बोलचाल भएन । औपचारिक बिहे भएको थिएन, त्यसैकारण माइती रिसाइरहेका थिए । पछि माइतीले भागेर गएपनि विवाह गरेर जोडी बाँधिदिने निधो गरे । 

तर बिहेको प्रसङ्ग निकाल्नासाथ अधिकारी चासो देखाउँदैनथे । समाजको अगाडि परिवारको सहभागितामा बिहे गरिदिन पाए माइतीलाई ढुक्क हुन्थ्यो । यसो भए समाजमा नाक जोगिने माइती पक्षको ठम्याइ थियो ।

यही बुझेर अर्पणा बारम्बार बिहेको प्रस्ताव राख्थिन् । तर केटाले कहिले घरपरिवार, कहिले आफन्तकोमा जुठो परेको बाहना बनाउँथे । अर्को मुख्य कुरा उनी २० वर्ष उमेर नपुगेको कारण पनि बिहे रोकिरहेको थियो ।

सँगै बस्न थालेको केही समयपछि नै  अधिकारीले उनलाई दुव्र्यहार गर्न थालिसकेका थिए । हुँदाहुँदा अधिकारीले ‘तँ मरे पनि फरक पर्दैन’ भन्न थालेपछि उसको नामको ट्याटुले थप पीडा दिन थाल्यो ।

सधैँको दुर्व्यवहार सहन नसकेपछि उनले सासू र आमाजूलाई सविस्तार घटनाक्रम सुनाइन् ।  तर उनीहरूले आफ्नो छोरा तथा भाइ केटाकेटी नै रहेको भन्दै उल्टो संरक्षण गरे । बरु ‘तिमी आफैं आएकी हौ, अब सहेर बस’ भनेर उल्टै धम्कीपूर्ण भाषा बोले । 

काठमाडौंमा उनीहरु दुवैको खर्च ससुराले बेहोर्दै आएका थिए । उनका ससुरा वकिल समेत हुन् । केटा विद्यार्थी थिए । अर्पणालाई अधिकारीले काम गर्ने अनुमति दिएनन् ।  बाहिरबाट हेर्दा ठीकठाक नै देखिन्थ्यो । तर, अधिकारीले  दिनरात दिएको मानसिक तथा शारीरिक यातनाले अर्पणा टुट्दै जान थालिन् ।

अधिकारीमा कलाकार बन्ने अर्को अनौठो चाह थियो । यद्यपि विदेश लगेर पढाउँछु भनेर अर्पणालाई फकाएका थिए । दुवैजना उतै गएर पढ्ने योजना बनेको थियो । यही कारण प्लस टु पछि उनी कतै भर्ना भइनन् ।  

२०७७ सालमा माइतीले उनीहरूको घरजमको विधि फुकाइदिए । अधिकारी कला क्षेत्रमा भविष्य खोज्न थाले । अर्पणा विदेशको भोक जगाएर बसिन् ।

कलामा अनुराग बढाउँदा बढाउँदै चितवनतिरकी एक मोडलसँग अधिकारीको बढ्तै राग बढेछ । प्रोजेक्टका लागि निकट रहेको बताए पनि रात विरात होटलमा बिताउन थालेको अर्पणाले पत्तो पाइन् । उनीहरुबीच मेसेन्जरमा भएको अन्तरंग कुराकानी केटीसँग सुरक्षित छ ।

न विदेशका लागि कतै प्रक्रिया अघि बढेको थियो । न पढाइ, न भरपर्दो कमाइ अर्पणा आत्तिन थालिन् । अब श्रीमानलाई काबुमा ल्याउन उनले बच्चा जन्माउने योजना सुनाइन् । यसबाट भोलि विदेश जाँदा काम र पढाइले समस्या हुने हुँदा दोहोरो फाइदाका लागि यो जुक्ति फुराइन् । अधिकारीलाई मन्जुर भएनन् । उनी प्रत्येकपल्ट बच्चा नबस्ने औषधि ख्वाएर विफल बनाइदिन्थे । 

समय क्रमसँगै अधिकारी आफ्नो कोठामा कहिलेकाहीँ मात्र झुल्किन थाले । एकदिन पछ्याउँदै जाँदा अर्पणाले अधिकारीलाई परस्त्रीको कोठामा रंगेहात फेला पारिन् । यो घटनापछि अधिकारी उनीसँग सधैँका लागि टाढिए ।

त्यसपछि केटाको घरपरिवारले छोरा बेपत्ता पारेको भन्दै अर्पणामाथि आइलागे । २०७९ चैत २६ गते उनले श्रीमान हराएको भनेर उजुरी दिएकी थिइन् । भोलिपल्ट प्रहरी उनीहरु भएको स्थानमा पुग्यो । तर, श्रीमान पछाडिको ढोकाबाट भागेपछि प्रहरीले केटीलाई मात्रै समात्यो । प्रहरीले केहीबेर थुनामा राखेर सोधपुछ गरेको थियो । 

त्यसको भोलिपल्ट उनले सुर्खेत घरमा सासूलाई छोराले यस्तो गर्यो भनेर सुनाइन्  तर सासुले छोरी मान्छेले लोग्नेले जे गरे पनि सहेर बस्नुपर्ने जनाउ दिइन् ।

आफ्नै मर्जीले बिहे गरेर आएको छ, माइतीको शरणमा पनि जान नसकिने । लोग्ने अर्को केटीसँग सम्बन्ध बनाएर हिँड्ने । केटाको परिवारले उनैलाई टोक्ने । उमेर पनि परिपक्व छैन तर समस्याको आँधीले उनलाई राम्रोसँग उभिन दिएको थिएन । चारैतिरको दबाब सहन नसकेपछि अर्पणा डिप्रेसनमा गइन् । 

श्रीमानसँग सम्बन्ध बनाउने केटीलाई उनले अधिकारी सम्पर्कमा आए, खबर गर्नु भनेकी थिइन् । तर, उनले त अधिकारीको परिवारसँगै भेटेर सुमधुर सम्बन्ध पो बनाइछन् । एक महिलाले अर्को महिलाको दुःख बुझनुपर्ने बेलामा झनै उनीहरूको गलत निर्णयको साक्षी बस्न थालिन् । केटाको परिवारले नयाँ केटीलाई आफ्नो हातमा लिए । 

यो सबै घटना भएपछि अर्पणाले दूधको दूध, पानीको पानी छुट्याउन आफ्ना मामाहरु पठाइन् । तर, केटाले सबै फिल्मको सिलसिलामा भेट भएको बताएछन् ।

भान्जी आलोकाँचै छिन्, नबुझेर होला भन्ने मामाहरुलाई लाग्यो । वैशाखको ३ गते उनी सुकेधारास्थित कोठामै थिइन् । उसकी दिदी आएर भाइ सुटिङमा जान लागेको छ भनेर सबै सामान लिएर गइन् ।

अब त घरबाट खर्च आउन छोड्यो । सासू–ससुरा सबै सम्पर्कविहीनजस्तै भए । उनले ससुरालाई फोन गरेर छोरा पनि नआउने, हजुरले खर्च पनि नपठाउने के गर्नु भएको हो ? भनेर सोधिन् । तर उहाँले तिमीहरूको मन मिल्दैन भनेर छुट्टिएर बस भन्नुभयो ।

कोठामा के खाएर बस्ने ? उत्तर थिएन । बाध्य भएर माइत फर्किइन् । उनी माइतीमै भएका बेला श्रीमान् सम्पर्कमा आए । आमुन्ने–सामुन्ने बसेर छलफल गर्नुपर्यो, अब मलाई डिभोर्स चाहियो भन्ने कुरा गरे । श्रीमानको कुरा सुनेर उनी छक्क परिन् । दिमागले काम गर्न सकिरहेको थिएन । सँगै मर्ने बाँच्ने कसम यति छिटो सकिने रहेछ । 

त्यति सानो उमेरमा उसले आफूसँगै राख्यो । मन लाग्दासम्म प्रयोग गर्यो र अहिले छोडपत्र चाहियो भन्छ । आफूलाई खेलौना बनाएर छोड्न पाइँदैन भनेर उनी बाझिन् । तर, उसले मर्न तयार तर सँगै नबस्ने प्रण पटक–पटक दोहोर्‍यायो । रिसको झोँकमा उनले पनि नछाड्ने अडान राखिन् । 

दिनरातको झै–झगडाले उनी बिरामी परेकी थिइन् । त्यसैबेला केटाको मामाले उनका मामालाई फोन गरेर बसेर सल्लाह गर्नुपर्यो भने । मामाले भान्जीलाई सन्चो छैन, सन्चो भएपछि भेटौँला भनेर जवाफ दिए । त्यसपछि केटाका मामाले केटीका मामालाई मेसेज गरे । उनले आफू बिरामी भएकाले हालसालै आउन नसक्ने जानकारी गराइन् । 

यसैबीच, अधिकारी विदेशिएको खबर अर्पणाले सुनिन् । कुन देश गए भन्ने पनि उनलाई थाहा छैन । कसैले अमेरिका, कसैले युके भनेका छन् । त्योभन्दा बढी उनलाई थाहा छैन । घरबेटीसँग ‘मेरो छोरा अमेरिका गयो’ भनेर ससुराले सामान झिकेर लगेका रहेछन् । विवाहको लुगा भने त्यहीँ छोडेका रहेछन् । दुबोको मालासहितको विवाहको फोटो उनीहरूले काटेर आफ्नो छोराको लगेर उनको आधा डस्टबिनमा फालेर हिँडेछन् ।

परिवारकै सल्लाहमा अधिकारी र उक्त केटी अनामनगरमा फ्ल्याट लिएर बसेको खुल्यो  । एक विवाहित पुरुषले डिभोर्स नगर्दै अर्की केटी लिएर बस्न पाउने कानुन छैन तर उनीहरु बसे । उनीहरूको चर्तिकला अर्पणाले तीन महिनापछि मात्र थाहा पाइन् । 

आफूलाई विदेश लाने भनेर भगाएका अधिकारी अर्कै केटीसँग विदेश हानिएपछि अर्पणा अर्धचेत अवस्थामा पुगिन् । सिनेमामा देखिने कथाको पात्र आफैं बनेको घटनाले उनलाई पीडामाथि पीडा थपेको छ । ससुरा र मामा ससुरासँग बारम्बार डिभोर्सको कुरा गरिरहेकी छन् । तर उनीहरुले केही प्रतिक्रिया दिएका छैनन् ।

बिहे दर्ता नभएकाले कानुनीरुपमा डिभोर्स गर्न आवश्यकता नहरेको उनीहरुको आशय रहेको उनले बताइन् । भन्छिन्, ‘विवाह दर्ता नभए पनि समाजका अगाडि बिहे गरेको हो, त्यसैको आधारमा डिभोर्स दिनुपर्छ ।’ कानुनी रुपमा डिभोर्स गर्दा सम्पत्ति दिनुपर्छ कि भन्ने उनीहरूलाई डर छ ।

तर, अर्पणा यतिबेला विवाह दर्ता नहुँदाको पीडा बोकेर हिँडिरहेकी छन् । उनीसँग फलानाकी श्रीमती हुँ भन्ने प्रमाण पनि छैन । न त उनी अविवाहित नै हुन् । अझ उक्त मान्छेको नामको ट्याटुले झनै बिचलित बनाउँछ ।

आफूलाई वस्तुसरह प्रयोग गरेर मर्नु न बाँच्नुको स्थितिमा श्रीमानले छोडेको उनको आरोप छ । ६ वर्षको निर्दोष प्रेम निमोठिएको भन्दा न्यायको लडाइँ सकसपूर्ण बन्दै गएकोमा अर्पणालाई चित्त दुखाइ छ ।