समाचार

उत्तर पुस्तिका हराउने त्रिविका कर्मचारीलाई कारबाही गर्न सांसद भट्टराईको माग

By खबरहब

March 31, 2024

काठमाडौं – नेकपा एमालेकी सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउने त्रिभुवन विश्वविद्यालका जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् ।

प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै उनले नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।

वार्षिक प्रणाली अन्तर्गतका चार वर्षे पढाइ हुने विषयको चार वर्षभित्रै नजिता प्रकाशित गर्ने नियम त्रिविले बनाए पनि कार्यान्वयन गर्न नसकेको सांसद भट्टराईको भनाइ थियो ।

गत वैशाखमा सञ्चालित बीए प्रथम वर्षको परीक्षा अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको १८३ परीक्षार्थीको उत्तर पुस्तिका हराएको थियो ।

त्रिविले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।