समाचार

विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइयो 

By खबरहब

May 31, 2024

काठमाडौं– विश्व सुर्तीजन्य पदार्थरहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा जनचेतनामूलक र्‍याली लगायत अन्तर्क्रिया कार्यक्रमहरू आयोजना गरिएको थियो ।

यसै अवसरमा विराटनगरमा सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ भन्ने नारा सहित अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले सुर्तीजन्य पदार्थ सेवन र मद्यपान सेवन रोक्न कानुन निर्माण गरेर मात्र नपुग्ने धारणा राखेका थिए । सो कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बालबालिकाहरूलाई सुर्तीसेवन र मद्यपान सेवनबाट जोगाउन सचेतना कार्यक्रमहरू ल्याउनु पर्ने बताए ।

विराटनगर महानगरपालिका र स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन तथा मद्यपान सेवनबाट स्वास्थ्यमा हुने जोखिम, कानुनी प्रावधान र समाजको जिम्मेवारी बारे छलफल गरिएको थियो ।

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरूको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।