समाचार

मन्त्री गिरी भन्छन्-  कानून बनाउन अब जनस्तरबाट सुझाव संकलन गर्छौँ 

By खबरहब

May 31, 2024

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून बनाउन जनस्तरमा सुझाव संकलन तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा कानूनका विद्यार्थीहरूसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताए ।

उनले सुझाव बैंकमार्फत आम नागरिकले कानून संशोधन गर्न सुझाव दिन सकिने बताए । सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिने उनले बताए ।

गिरीले संसदभित्रका  निश्चित सांसदहरूले मात्रै कानून बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने बताए ।

उनले सांसदको वृत्तभन्दा बाहिर पनि विषय विज्ञ र अनुभवी मानिसहरू भएका भन्दै कानून निर्माणमा उनीहरूको सुझावलाई पनि ग्रहण गर्नुपर्ने बताए ।

मन्त्री गिरीले कानूनका विद्यार्थीहरूसँग विषयमा निरन्तर छलफल गर्ने बताउँदै सल्लाह, सुझावलाई ग्रहण गर्ने पनि जानकारी दिए ।