सिमोन बाइल्सलगायत अमेरिकी महिला जिम्न्यास्टिक टोली । तस्बिरः पेरिस ओलम्पिक

खेलकुद

ओलम्पिकमा अमेरिकाको प्रेरणा बन्दै सुपर स्टार वाइल्स

By मनोज घिमिरे

July 31, 2024

पेरिस ओलम्पिकमा प्रतिस्पर्धात्मक खेलमा हार भोग्ने अमेरिकी नियति मंगलबार पनि कायम रह्यो। पेरिसको पौडी पोखरीमा यसै नियति भोगेको अमेरिकाका निक फिन्कलाई ०.०२ सेकेन्डले पछि पार्दै इटालीका निकोलास मार्टिनेग्रीले १०० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका थिए। यसैगरी २०० मिटरमा फ्रिस्टाइलमा लुक हबसन उपाधि विजेता भन्दा ०.०७ सेकेन्ड पछि रहँदै कास्यमा सीमित भए।

मंगलबार भएको तीन स्पर्धामा अमेरिका तीन रजत तथा १ कास्यमा सीमित भयो। महिला सय मिटर ब्रेस्टस्ट्रोकमा अस्ट्रेलियाकी क्याली म्याककोनले स्वर्ण पदक जितिन् भने विश्व कीर्तिमान धारी समेत रहेकी रेगन स्मिथले रजत पदकमा सीमित भइन्। यसैगरी अमेरिकाको क्याथरिन बेकरोफले कास्य पदक जितिन्।

पुरुष १५०० मिटर फ्रिस्टाइलमा बबी फिन्के पनि रजत पदकमा सीमित भए। सो स्पर्धामा आयरल्यान्डका डायिनल विफेनले सात मिनेट ३८.१९ सेकेन्डमा स्वर्ण पदक जिते भने फिन्केले ७ मिनेट ३८.७५ सेकेन्डमा रजत पदक जिते। इटालीका जर्जी पेलेट्रेनीले कास्य पदक जिते।

चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा बेलायतले स्वर्ण तथा अमेरिकाले रजत पदक जिते। सो स्पर्धामा अस्ट्रेलियाले कास्य पदक जितेको थियो। पौडीको स्पर्धा भन्दा केही समय अघि मात्र महिला जिम्न्यास्टिकको टिम इभेन्टमा भने अमेरिकाले स्वर्ण पदक जितेको थियो। स्टार जिम्न्यास्ट सिमोन वाइल्सको सेरोफेरोमा घुमेको सो खेलमा इटालीले रजत तथा बेलायतले कास्य पदक जिते।

मंगलबार नै जुडोका दुई स्पर्धा भए। जुडोको पुरुष ८१ किलो तौल समूहमा जापानका नागासे ताकामोरीले स्वर्ण, जर्जीयाका टाटा ग्रिगलास्भीले रजत तथा ताजकिस्तानका सोमोन माखमादेकेभ र दक्षिण कोरियाको ली जो हानले कास्य पदक जिते। जुडोकै महिला ६३ किलोमा स्लोभानियाकी आन्द्रे लेस्किले स्वर्ण, मेक्सिकोकी प्रिस्का अवितीले रजत तथा कोसोभोको लाउरा फजलीउ र तथा फ्रान्सकी क्लोरिसे एबगेउेनले कास्य पदक जिते। जुडोको त्यही स्वर्ण पदकले मंगलबारको खेलमा समाप्तिमा पनि जापानलाई शीर्ष स्थानमा यथावत राखेको छ।

जापानको प्रतियोगिताको त्यो सातौँ स्वर्ण पदक हो। ६ स्वर्ण सहित जापानलाई पछ्याइरहेको चीनले टेबल टेनिसको मिश्रित युगलमा स्वर्ण पदक जितेको हो। स्पर्धामा उत्तर कोरियाले रजत तथा दक्षिण कोरियाले कास्य पदक जिते। अस्ट्रेलिया तालिकामा ६ स्वर्ण पदकसहित तेस्रो स्थानमा छ।

सुटिङको ट्रयाप पुरुषमा बेलायतका नाथन हेल्सले स्वर्ण, चीनका क्वी यङिले रजत तथा जीयान पियरेले कास्य पदक जिते। सुटिङको १० मिटर एयर पिस्तोल मिश्रित टिममा सर्वियाले स्वर्ण, टर्कीले रजत तथा भारतले कास्य पदक जिते। महिलाको रग्बी सेभेन्समा न्युजिल्यान्ड पहिलो, क्यानडा दोस्रो तथा अमेरिका तेस्रो भए।

फेन्सिङको महिला टिम इपेको फाइनलमा इटालीले फ्रान्सलाई ३०–२९ ले हराएको हो। सो स्पर्धामा पोल्यान्ड तेस्रो भयो। मङ्गलबार अमेरिकालाई थप धक्का नलागेको होइन। थ्री बाइ थ्री बास्केटबलको पहिलो चरणको खेलमा जर्मनीसँग अमेरिकी टोली पराजित भएको थियो।

टेनिसमा बेलायतका एन्डी मुरेको सन्यासको मिति पर सर्ने सम्भावना जनाइएको छ। मुरले युगलमा डान इभानससँग मिलेर क्वार्टरफाइनलको यात्रा तय गरेका छन्। मुरे र इभान्स दुवैले यस वर्ष इन्जुरीको समस्याबाट लडिरहेका छन्।

पुरुष एकलमा बेलायतका ज्याक ड्रापर बाहिरिएका छन्। उनलाई अमेरिकाका टेलर प्रिलट्जले हराएका छन्। यसैगरी महिलातर्फ अमेरिकाका कोको गाउफले पराजयको सामना गरेकी छिन्।

क्रोएसियाकी डोना भेभिकले गफलाई हराएकी हुन्। शुक्रवार मात्र प्रतियोगितापछि सन्न्यास लिने बताएकी जर्मनीकी एन्जलीक केबलरले क्यानडाकी लियाज फर्नान्डेजलाई हराएकी छिन्।

पेरिस ओलम्पिकको आकर्षण र चर्चाको विषय भने सिमोन वाइल्सको पुनरागमन नै हो। टोकियो ओलम्पिकमा मानसिक समस्याका कारण बिचमा नै खेल छाडेकी वाइल्स इतिहासकी सर्वकालीन उत्कृष्ट खेलाडी समेत हुन् ।

यसै वर्ष लामो समयपछि जिम्न्यास्टिकमा फर्किएकी उनी धेरै सफलताको आशा सहित पेरिस पुगेकी हुन्। परन्तु पेरिसमा फेरी उनले चोट बोकेकी छिन्। चोटका बाबजुद उनले लगातार सङ्घर्ष गरीरहेकी छिन्। साथमा टोलीलाई सफलता दिलाएकी छिन्। भोल्टको रुटिनमा सामान्य समस्यामा देखेकी उनले केही समय आराम गरेकी थिइन्। उनीमा काफको समस्या छ। त्यसको लगत्तै उनले आफू तयार भएको जनाएकी थिइन्। वाइल्सले आफू सही भएको जनाउने बित्तिकै अमेरिकी टोली स्वर्ण जित्नेमा ढुक्क देखिएको थियो।

टोकियो ओलम्पिक बिचमा नै छाडेकी उनको हकमा सो ओलम्पिक खेल जीवनको अन्तिम भएको ठानिएको थियो। केही महिना अघि उनी जिम्न्यास्टिकमा फेरि फर्किएकी हुन्।

वाइल्सको खेल हेर्न बर्सी एरेनामा सेरेना विलियम्स र माइकल फ्लेप्स र विल गेट्स पनि पुगेका थिए। तीन वर्ष अघिको टोकियो ओलम्पिकबाट पार पाएकी उनका लागि टिमको स्वर्ण पदक त विशेष नै भयो। साथमा अन्य ४ स्पर्धा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। बिहीबार उनको अलराउण्ड स्पर्धा छ। त्यसपछि शनिबार उनले भोल्टमा प्रतिस्पर्धा गर्ने छिन्। साथै सोमबार बिम र फ्लोरमा प्रतिस्पर्धा गर्ने छिन्।

 

१० वर्ष भन्दा बढी विश्व जिम्न्यास्टिकमा राज गरीरहेकी वाइल्सको यो सङ्घर्ष, पुनरागमन र अहिले पनि चोटलाई जितेर दिलाएको सफलता पेरिस ओलम्पिकमा लय पक्रन सङ्घर्ष गरी रहेको अमेरिकी टोलीका लागि प्रेरणा बन्नसक्छ। स्रोतः ओलम्पिक, बिबिसी