समाचार

सिमलताल दुर्घटना : बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार

By खबरहब

July 31, 2024

काठमाडौं– गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ ।

बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

दुई बसमा ६५ यात्रु रहेकोमा ३ जनाले आफ्नो ज्यान बचाएका थिए भने अहिलेसम्म २४ जनाको शव फेला परेको छ । त्यस्तै ३८ जनाको अवस्था अहिले पनि अज्ञात रहेको छ ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।