राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

By खबरहब

July 31, 2024

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेख्दै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सुदूरपश्चिमको प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठक बस्ने प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ ।

गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए ।

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

तर, केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै  एमालेले सरकार छोडेको थियो । कांग्रेस र एमालेबीचको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ ।

५२ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ भने प्रदेशमा कांग्रेस र एमाले एक ठाउँमा आउँदा दुवैको २८ मतसहित स्पष्ट बहुमत रहेको छ ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक एक सांसद रहेका छन् ।