राजनीति

एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस, तीन सदस्यीय कार्यदल गठन

By खबरहब

July 31, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयकाबारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो ।

त्यस्तै केन्द्रीय कमिटीको आगामी बैठक साउन १८ गते बस्ने भएको छ र सोही बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको टुङ्गो लगाउने भएको छ । एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय छनौट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिए पनि अहिलेसम्म छनौट गर्न सकेको छैन ।

महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी पदाधिकारी र सदस्य चयन गर्न सकेको छैन । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।