मालदिभ्सका राष्ट्रपति मुइज्जुले भारतलाई दिए धन्यवाद

By खबरहब

July 31, 2024

काठमाडौं – भारतले ऋण पुनः भुक्तानी प्रक्रियालाई थप सहज बनाएको मालदिभ्सका राष्ट्रपति मोहमद मुइज्जुले कृतज्ञता व्यक्त गरेका छन् । राजधानी मालेमा सम्बोधन गर्दै राष्ट्रपति मुइज्जुले भारतलाई धन्यवाद दिएका हुन् ।

सम्बोधनका क्रममा उनले भारत र मालदिभ्सबीचको सम्बन्ध थप सुमधुर बन्ने अपेक्षा व्यक्त गरे । उनले भारत अझै पनि मालदिभ्सको सबैभन्दा नजिकको साझेदार मुलुक रहेको उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले चाँडै दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

उनले बेलायतसँग आफ्नो प्रशासनले स्वतन्त्र व्यापार सम्झौताबारे छलफल गरिरहेको भन्दै भारतसँग पनि यस्तै सम्झौता हुने विश्वास व्यक्त गरेका हुन् । यसअघि भारत विरोधी नेताको पहिचान बनाएका मुइज्जु पछिल्लो समयभने भारत प्रति नरम देखिएको विश्लेषण गरिएको छ ।