जनकपुरधाम– मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्–
पग–पग पोखरी माछ मखान, सरस बोल मुस्की मुख पान, विद्या वैभव शान्तिक प्रतीक याहए हमर मिथिला थिक ।
अर्थात्, ‘जहाँ हरेक पाइला–पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई पान चपाउँदै, मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो नै मिथिला हो ।’
मिथिला संस्कृतिमा माछा शुभसाइत र मायाको प्रतीक हो । घरबाट लामो यात्रामा निस्किनुपर्दा माछा खाएर निस्किँदा शुभ हुने विश्वास छ । यात्रामा माछा देख्दा पनि शुभ हुने विश्वास गरिन्छ यहाँ ।
मिथिलामा अतिथिलाई स्वागत गर्न प्रवेशद्वारमा नै माछाको चित्र बनाउने परम्परा छ । सडकपेटीमा समेत माछाको चित्र बनाउने चलन छ । माछालाई भगवान् विष्णुको पहिलो अवतारका रुपमा समेत मानिन्छ । त्यसैले यहाँ महिलाले श्रीमानको लामो आयुका लागि पनि माछा खाने परम्परा छ ।
पाहुना जाँदा कोसेलीका रूपमा माछा बोक्ने चलन पनि छ । यहाँको संस्कृति, सभ्यता र रहन–सहन बुझ्न बाहिरबाट आउनेलाई स्थानीयले माछा खुवाएर स्वागत गर्ने परम्परा छ । मांसहारी परिवारमा शुभकार्य र भोजभतेरमा माछाको परिकार अनिवार्य हुन्छ ।
जनकपुरको पर्याय
मिथिलाको प्राचीन र हाल मधेस प्रदेशको राजधानी जनकपुरधाम ‘५२ कुटी ७२ कुण्ड’को उपमाले प्रख्यात छ । विश्वका करोडौँ हिन्दुहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा समेत जनकपुरलाई चिनिन्छ । ७२ कुण्ड (तलाउ) को सहर जनकपुरधाम माछाका लागि पनि उत्तिकै प्रख्यात छ । माछाका लागि जनकपुर क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ ।
‘जनकपुरको माछा’ भन्ने बित्तिकै एउटा अलग पहिचान छ । यहाँका माछाको माग देशका हरेक ठाउँमा हुन्छ । धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको जनकपुरधाम आउने मांसाहारी पर्यटक प्रायः माछा नखाई फर्कंदैनन् ।
जनकपुर आउने श्रद्धालुहरु मन्दिर दर्शन र पूजाआजा नसकेसम्म प्रायः निराहार बस्छन् । पूजाआजापछि उनीहरूको ध्यान माछाको परिकारमा सोझिन्छ । माछाको मात्रै विशेष परिकार खुवाउने होटल खोज्दै हिँड्छन् मांसाहारी पर्यटकहरु ।
पुस्तौनी व्यवसाय
जनकपुरधाममा माछाको स्वादिलो परिकार पाइने केही निश्चित ठाउँ छन्, जहाँ पालो पर्खिनुपर्छ । जसमध्ये सबैभन्दा प्रख्यात छ– जनकपुर एयरपोर्ट नजिकै रहेको ललनको माछा पसल । त्यहाँ माछा खाना पालो पर्खिनुपर्छ । अबेर साँझ पुगियो भने रित्तै फर्किनुपर्छ ।
ललनको माछा पसलमा माछाको पेटी (बीचको भाग) ग्राहकको पहिलो रोजाइमा पर्छ । ललनको माछा पसलमा करिब आधा केजीजतिको माछाको पेटी पाइन्छ । आधाकेजी जतिको एउटा पेटी खाँदा मान्छेको पेट त भरिन्छ तर मन अघाउँदैन ।
करिब ३५ वर्षअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का ललन साहले खोलेको माछा पसल देशभरि मात्रै नभई विदेशसम्म ख्याति कमाउन सफल भएको छ ।
ललन साहले खोलेको उक्त पसल अहिले दोस्रो पुस्ताका छोरा अमित साहले चलाउँदै छन् । अमितले खबरहबसँग भने ‘बुवाको उमेर पनि बढी भयो । उहाँको स्वास्थ्य ठिक छैन । अब सबैथोक मैले नै गर्ने गरेको छु ।’
यस्तै जनकपुरधामको राम मन्दिर पछाडि रहेको आनन्द घरेलु माछा पसल पनि चर्चित छ । आनन्द घरेलु माछा पसलमा पनि साँझ माछाका पारखीहरुको भीड लाग्ने गर्दछ ।
आनन्द घरेलु माछा पसलका सञ्चालक छन्– जनकपुरधाम उपमहानगरपालिका–४ का सरोजप्रसाद साह । साहले पसल सञ्चालनमा ल्याएको पनि ३५ वर्ष नाघेको छ ।
पसल खोल्नुअघि साह जनकपुरको एउटा कपडा पसलमा काम गर्थे । महिनाको छ सय रूपैयाँ कमाइले गुजारा गर्न सम्भव नभएपछि उनी विकल्पको खोजीमा लागे ।
पसलमा बस्दा प्रायः त्यस्ता व्यक्तिसँग उनको संगत भयो, जो माछा खान एकदमै रूचाउँथे । त्यसैबाट प्रेरित भएर माछा होटल खोल्ने जुक्ति आएको सरोज साहले बताए । सरोज उमेरले ७० नाघिसकेका छन् । उनले पनि ललनले झैं माछा पसल छोरा आनन्दलाई सुम्पिदिएका छन् ।
माछा–भात खानेहरूका लागि जनकपुरधामको शिवचौकमा रहेको पुरानो नवरंग होटल पनि उत्तिकै चर्चित छ । पिराडी चोकमा माछालाइन छ, जहाँ माछाको परिकार तौलेर बिक्री गरिन्छ ।
जनकपुरको माछा काठमाडौंवासीको पहिलो रोजाइमा हुन्छ । काठमाडौंमा पसलकै नाम ‘जनकपुरको माछा’ राख्ने चलनसमेत छ ।
व्यवसायीका अनुसार पहिला त भारतबाट ल्याइएको माछा पनि जनकपुरको भन्दै बेच्ने गरिन्थ्यो ।
जनकपुरमा रोह, भ्याकुर, बिगहेड, कमनकार्प र नैनी प्रजातिका माछाको माग बढी भएकाले तिनै जातको माछा बढी उत्पादन हुन्छ ।
जनकपुरको माछाबजार, सीताचोक (रेल्वे स्टेसन), पिडारी चोकलगायत पसलबाट दिनमा ७ क्विन्टल भन्दा बढी माछा खुद्रा बिक्री हुने गरेको छ । यहाँ ५० भन्दा बढी होटलमा दिनमा २०÷२५ किलोका दरले १० क्विन्टल हराहारी माछा खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
मधेसको आर्थिक रूपान्तरणको आधार
समथर भूभाग भएकाले मधेसमा खेती निकै सहज छ । धेरै समय तातो मौसम हुने भएकाले यहाँ जुनसुकै बाली पनि फस्टाउन सक्छ । त्यसैले कृषि मधेसका लागि रूपान्तरणको मुख्य आधार रहँदै आएको छ । माछापालन मधेसको आर्थिक कायापलट गर्ने मुख्य स्रोत बन्न सक्छ । मधेस प्रदेशमा प्रतिवर्ष प्रतिव्यक्ति माछा उपलब्धता ५.७६ केजी छ, जसमा प्रतिवर्ष ५२ हजार मेट्रिक टन आयातसमेत जोडिएको छ ।
मधेसमा मत्स्य व्यवसायमा ६२ हजार ३ सय ९७ परिवार संलग्न छन् । १ लाख ५८ हजार ७ सय २० जनाले रोजगारी पाएका छन् । माछा मार्ने पेसामा ३ लाख ६२ हजार २ सय ४४ जना संलग्न छन् ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार मधेस प्रदेशमा अहिले पनि आम्दानीको मुख्य स्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ । यसमा पनि देशमै सबैभन्दा बढी माछा उत्पादन गर्ने प्रदेशका रूपमा मधेस देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा कुल पोखरी संख्या ४९ हजार ८ सय ६२ रहेकामा मधेस प्रदेशमा १८ हजार ९ सय २६ (३८ प्रतिशत) थियो । उक्त आर्थिक वर्षमा मुलुकमा माछा उत्पादन ७७ हजार ३ सय २० मेट्रिक टन हुँदा मधेस प्रदेशमा मात्र ४४ हजार १ सय ७० मेट्रिक टन (५७ प्रतिशत) थियो ।
मधेस प्रदेशको पहिचान ‘माछा र मखन’ का रूपमा स्थापित छ । मत्स्य क्षेत्रमा थप विकास गर्न सके मधेस प्रदेश समृद्धिको बाटामा अग्रसर हुन सक्छ । आन्तरिक माग धान्न मात्र सक्ने गरी माछापालन व्यवसायलाई प्राथमिकता दिने हो भने पनि मधेशको आर्थिक समस्या धेरै हदसम्म हल हुन सक्छ ।
व्यवस्थित छैन माछा बजार
स्वादिष्ट माछाका लागि जनकपुर चिनिए पनि यहाँका बजार भने व्यवस्थित छैनन् । बजार व्यवस्थित नहुँदा उपभोक्ता मारमा पर्न थालेका छन् । सरकारी उदासीनताले एकातर्फ उपभोक्ताको स्वास्थ्यसँग खेलबाड भइरहेको छ भने अर्कोतर्फ एक दशकभन्दा बढी साढे दुई करोड खर्चेर निर्माण गरिएका माछा सेडहरू प्रहरीको आश्रयस्थल बन्न पुगेको छ ।
बसहिया जानेबाटोमा पर्ने जनकपुरको माछा बजार पनि अव्यवस्थित नै छ । बजार व्यवस्थित नहुँदा दुषित वातावरणका बीच उपभोक्ता माछा खरिद गर्न बाध्य छन् ।
जनकपुरधामका विभिन्न स्थानमा यसरी नै दुर्गन्धित वातावरणका बीच माछा खरिद बिक्री हुँदै आएको छ । बजारमा माछाको माग अत्यधिक रहेको र आम्दानी पनि राम्रै हुने गरे पनि जनकपुरधाम उपमहानगरपालिका यसलाई व्यवस्थित गर्न सम्वेदनशील देखिँदैन ।
व्यवस्थित बजार त परको कुरा, उपमहानगरपालिकाले बनेका सेडमा पनि माछा व्यवसाय सञ्चालन गर्न सकेको छैन । कृषि विभाग बजार विकास निर्देशनालयले जिउँदो र ताजा माछा खरिद बिक्रीका लागि एक दशक अघि २ करोड ५० लाखको लागतमा सेड निर्माण गरिदिएको थियो । मत्स्य मानव संशोधन विकास तथा प्रविधि परीक्षण केन्द्रको हाताभित्र रहेका यो संरचना अहिले प्रहरीको आश्रय स्थल बनेको छ ।
जिउँदो, ताजा र सफा माछा खरिद बिक्रीका लागि ८ कठ्ठा जग्गामा निर्माण गरिएका यी संरचना प्रयोगमा नआउँदै मर्मत सम्भारको अवस्थामा पुगिसकेको अवस्था छ ।