काठमाडौं- नेपाली रङ्गमञ्चमा अशेष मल्लको नाम अग्रस्थानमा छ । वि.सं.२०११ सालमा धनकुटामा जन्मिएका उनले नाटक मात्र नभएर कथा, कविता, मुक्तक, समालोचनामा समेत कलम चलाएका छन् ।
‘तुँवालोले ढाकेको’ पहिलो नाटक (२०३२) लेखेका अशेषले पञ्चायती शासनकालमा नाटकमार्फत निरंकुशताको विरोध गरे । नाटक ‘मुर्दावादमा उठेका हातहरु’ त्यही समयमा सिर्जना भएको थियो ।
‘हामी वसन्त खोजिरहेका छौं’ जस्ता सिर्जना मार्फत अशेषले नेपालमा सडक नाटकको शुरुवात समेत गरे । ०३८ सालमा सर्वनामको विधिवतै स्थापना गरेर त्यसमार्फत नाटक मञ्चन सँगै नयाँ पुस्ताका रङ्गकर्मीहरु समेत मल्लले जन्माइरहेका छन् ।
‘अज्ञात प्रदेशहरुमा’ (मुक्तक सङ्ग्रह), ‘निरन्तर निरन्तर’ (कविता सङ्ग्रह), ‘एक्लो एकान्त’ (कविता सङ्ग्रह) र ‘अर्धविराम’ (कथा सङ्ग्रह) जस्ता उनका दुई दर्जनभन्दा कृतिहरु प्रकाशित छन् ।
उनै अग्रज रङ्गकर्मी मल्लसँग उनको साढे पाँच दशकको रङ्गमञ्चको यात्रा, सङ्घर्ष, नेपालमा हालको रङ्गमञ्चको अवस्था, चुनौती र अब रङ्गमञ्चले चाल्नुपर्ने पाइलाहरुको सेरोफेरोमा रहेर जोयनेपालकर्मी सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
बरिष्ठ नाट्यकर्मी मल्लले सिनेमा भन्दा नाटकको इतिहास धेरै पुरानो रहेको बताउँदै सिनेमा र नाटकवीचको सैद्धान्तिक भिन्नता औंल्याएका छन् । तर, पछिल्लो समय युवापुस्ताका रंगकर्मीहरुमा अहम बढेको गुनासो गर्दै उनी भन्छन्– हामीलाई अहमले ग्रसित पार्यो ।
पञ्चायतकालमा तपाईंहरुले रङ्गमञ्चको माध्यमबाट स्वतन्त्रताको लय खोज्ने त्यो कालखण्डलाई कसरी स्मरण गर्नुहुन्छ ?
त्यतिबेला कला, साहित्यमा पनि दुईधारका व्यक्ति थिए । एउटा धार चाहिँ तत्कालीन व्यवस्थाको समर्थक र अर्को धार हामी थियौं, जसलाई तत्कालीन व्यवस्था उल्ट्याउनु थियो । हामी स्वतन्त्रता र प्रजातन्त्र चाहन्थ्यौं ।
मैले ०३३–०३४ सालमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा मास्टर गर्ने क्रममै त्यतिबेला साहित्य र रङ्मञ्चमै मेरो रुची थियो । साँच्चै भन्ने हो भने म त्योबेला एक्लो थिएँ । एक्लो मैले किन भन्न खोजेको हो भने यो शहरमा मेरा साथमा न कोही मेरा थिए, न त मेरा कोही गडफादर नै थिए ।
नाटक गर्नलाई एउटा समूहको आवश्यकता हुन्छ, मसँग त्यो पनि थिएन । त्यसमाथि मेरो नाटक राजनीतिक विषयकै थिए । हामी नाटक गर्नेहरु त सरकारको आँखामा बिझाउँथ्यौं । त्यतिबेला बडो गाह्रो थियो ।
यति हुँदा पनि हामीले नाटक गर्यौं । हामीलाई नाटक गर्दागर्दै सिभिल ड्रेसमै आएका कति पुलिसहरुले पिटे । तत्कालीन मण्डले समूह (पञ्चायत समर्थक विद्यार्थीको समूह) को पनि पिटाइ खानुप¥यो । त्यो कालखण्ड सम्झँदा एकदमै कहाली लाग्छ ।
यो समयमा स्मरण गर्नै पर्दा रङ्गमञ्चमार्फत तपाईंहरुले खोज्नुभएको स्वतन्त्रताको लयमा कति सफलता र प्राप्तिहरु भए ?
त्योबेला क्रान्ति भित्रभित्रै भुँसको आगोजस्तै सल्किएको थियो । तत्कालीन राजा वीरेन्द्रको समयमा पञ्चायती व्यवस्थाको संविधानको दोस्रो संशोधन भएको अवस्था थियो । संशोधन भएपछि वाक स्वतन्त्रतामा कडा प्रतिवन्ध लगाइयो । संविधानले नै वाक स्वतन्त्रता हनन गर्ने अवस्था भयो ।
हामीले नाटक गर्दा त्यहीबेला थियो । त्यतिबेला नाटक गर्नुभन्दा अगाडि सेन्सर गर्नुपथ्र्यो । शब्द-शब्द सेन्सर गरिन्थ्यो । सेन्सर गरेको कपि लिएर शब्दहरु काटिन्थ्यो ।साधारण जनता बोल्न नपाउने अवस्थामा हामी कलाकार, साहित्यकार र रङ्गकर्मीहरुले त्यसको विरुद्धमा बोल्ने वातावरण थिएन ।
हाम्रै नाटक र साहित्यले पूरै परिवर्तन भयो भन्नचाहिँ मिल्दैन तर केही झिल्को बाल्ने काम गर्यो । २०३३ सालमा विश्वेश्रप्रसाद कोइराला, गणेशमान सिंहहरु भारतबाट आएपछि त्यतिबेला क्रान्तिले अर्कै मोड लियो । साहित्य र रङ्गमञ्चबाट केही न केही आगोका झिल्काहरु आइरहेको अवस्था थियो । त्यसमा हामीले केही न केही चेतना दिइरहेका थियौं ।
त्योबेलाको शक्ति नै विद्यार्थी थिए । प्रत्येकजसो कलेजले हामीलाई नाटक मञ्चन, नाटक तालिम र कार्यशालाका लागि बोलाउँथे । त्यसकारण हाम्रो प्रयासले कहीँ न कहीँ जागरणको दियो बलेको थियो ।
त्यतिबेला मैले लेखेका नाटकहरु कतै न कतै राजनीति र स्वतन्त्रतासँग जोडिएका हुन्थे । त्योबेलाका मेरा कविता हेर्दाखेरि प्रेमको कुनै लेखेको छैन रहेछु । त्यो माहोलमा प्रेम गर्नै भ्याइएनछ । नाटक, साहित्यमा खाली राजनीति र प्रजातन्त्रका कुरा थिए । ‘मूर्दावादमा उठेका हातहरु’ पनि त्यही बेलाकै थियो ।
यी नाटकहरुले केही मात्रामा भए पनि तत्कालीन समयमा जागरणको झिल्को बाल्ने काम गरेको थियो । मेरो अष्ट्रेलियन साथी जोन बारम्बार सोधिरहन्थे, ‘यति राम्रो हिमाल, गुराँस र प्रकृति छ, तँ किन यस्तो राजनीतिक नाटक मात्र लेख्छस् ?’
उसलाई मैले भन्थें, ‘तँ यसमा बुझ्दैनस् । तेरो देशमा यो समस्या छैन । हामीकहाँ गरिबी छ, अभाव छ, विभेद छ । यसको कारण राजनीति हो । हामीकहाँ कहिल्यै पनि स्थिर राजनीति भएन । हाम्रो देशमा विकास नहुनुको मुख्य कारण नै अस्थिर राजनीति हो । यस्तो देख्दादेख्दै म हिमालको बारेमा कसरी लेख्न सक्छु ?’
त्यतिबेला तपाईंहरुले तत्कालीन व्यवस्थाविरुद्ध जसरी लेख्नुभएको थियो । त्यसरी नै अहिलेका पुस्ताले पनि रङ्गमञ्चमा राज्यसत्ताकै प्रवृत्तिप्रति असन्तोष जनाउँदै पहिचानको पक्षमासमेत आवाज उठाउँदै आएका छन् । यसलाई चाहिँ कुन रुपमा हेर्नुभएको छ ?
अहिलेको यो अवस्थालाई एकदमै सकारात्मकरुपमा लिन सकिन्छ । नेपालमा २४० वर्षसम्म राजतन्त्र र १०४ वर्षसम्म राणाकाल रह्यो । राजतन्त्र र राणाकालले एकतन्त्रीय शासन प्रणाली लगायो । शासन मात्र एकतन्त्रीय होइन, भाषा र संस्कृति पनि एकतन्त्रीय बनायो । दशैं नमान्ने समुदायलाई पनि मान् भन्यो र जबर्जस्ती मान्न लगायो । संस्कृति त जाति र समुदाय अनुसार हुन्छ । नेपाली भाषीको मात्र हुँदैन । तर, त्यो मान्ने अवस्था थिएन त्यसैले थिचिएको थियो ।
जनआन्दोलन ०४६ र ०६२ ले राजनीतिक रुपमा स्वतन्त्रता र प्रजातन्त्र दियो । लामो समयसम्म दबिएको कुरा कला र नाटकका रुपमा बिस्तारै निस्किएको छ । त्यसकारण अहिले हिजो थिचिएका कुरा नै उर्लिएका हुन् । एउटा लिम्बुको बच्चाले लिम्बु भाषा नै बोल्न चाहन्छ । नबोल् भन्ने हामी को हौं ? कलामा आएका यी कुराहरु एकदमै सकारात्मक छन् ।
रङ्गमञ्चमा अहिलेको देखिएको सिर्जनाको धारमा कसरी सचेत र सजक रहनुपर्छ ?
यसमा अराजक नभइकन सौम्य रुपमा प्रस्तुत हुनुपर्छ । हिजो हामीमाथि यस्तो भएको थियो भनेर बदलाको भावना हुनुहुँदैन । एउटा शालीन, कलात्मक र सौन्दर्यात्मक तरिकाले आफ्नो कुरा भन्नुपर्छ र भन्न पाइन्छ । अहिले यसरी नै भनिरहेको अवस्था छ ।
अहिले नेपालमा विश्व रङ्गमञ्चको प्रतिस्पर्धामा उत्रने सक्ने नयाँ रङ्गकर्मीहरु आइरहेका छन् र आफ्नो कथा भनिरहेका छन् । हाम्रो नाटकमा हाम्रो माटो, संस्कृतिका कुराहरुको अभाव थियो, अहिले त्यही कुरा एकदमै जागेर आइरहेको छ । विश्वलाई देखाउने त हाम्रो कुरा हो । यसमा त मलाई निकै खुसी लागेको छ ।
कुनै समुदायविशेष कथा बोकेर आएका नाटकहरुलाई रङ्गमञ्च भित्रै पनि मूलधारको नाटक भन्दा समुदायकै नाटक मान्ने प्रवृत्ति पनि देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ? समुदायका कथा बोकेका नाटकहरु पनि विशुद्ध नेपाली नाटक नै हुन् । तामाङ, राई, मैथली, लिम्बुहरु जसको भए पनि संस्कृति त नेपालकै हो । बाहिर हामीले यस्ता नाटकलाई लग्यौंै भने नेपाली नाटक नै भनेर चिनाउने हो ।
हामीसँग त एउटै मात्र संस्कृति छैन । हामीसँग कयौं जाति, भाषाभाषी र संस्कृति छन् । तामाङ होस् या लिम्बु संस्कृतिका नाटकलाई पनि नेपाली नाटकै रुपमा हेर्नुपर्छ ।
रङ्गमञ्चमा नाटक लेखन, निर्देशन र अभिनयसम्म नयाँ पुस्तामा देखिएको हुटहुटीलाई चाहिँ कसरी हेर्नुभएको छ ?
यसलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा पक्षबाट हेर्दाखेरि नयाँ पुस्ता आइरहेका छन् । यो सकारात्मक पक्ष मान्न सकिन्छ । तर, अर्को यसको अँध्यारो पाटो पनि छ । अँध्यारो पाटो भनेको अहिले जुन उत्साहले आइरहेका छन्, के यो दीर्घकालीन हुन सक्छ ? यो नयाँ पुस्तामा ठूलो प्रश्न छ ।
मैले ५०/५५ वर्ष नाटकमा बिताउँदा त्यतिबेला मसँगै लागेकाहरुलाई अहिले औंलामा गन्न सकिन्छ । सबै थाकेर बसेका छन् । आज भन्दा १० वर्ष अगाडिको पुस्तालाई मात्र हेर्दा पनि आजसम्म कतिजना रङ्गमञ्चमा लागिरहेका छन्, त्यो पनि हेर्न सकिन्छ । हेर्दाखेरि १० जना पनि छैनन् होला । निरन्तर लागिरहने धेरै छैनन् ।
अहिले नाटक टिकटभन्दा पनि कुनै स्पोन्सरले गर्दा चलेको जस्तो देखिन्छ । तर, सधैं स्पोन्सर प्राप्त होला भन्ने छैन । स्पोन्सर नभएका बेला के गर्ने ? यो पनि सोच्नुपर्छ
यस्तो किन भइरहेको छ भनेर जरो कारण खोज्दा यसमा अर्थ (पैसा) नै जोडिएको छ । नेपाली रङ्गमञ्च अहिले उर्बर जस्तो देखिएतापनि आर्थिकरुपमा यसको ‘रिटर्न! छैन । यसलाई समग्र रङ्गकर्मीहरुले स्वीकार्नैपर्छ ।
यसो हेर्दा पहिलाभन्दा नाटक चलेको देखिन्छ, दर्शकको पनि भिड नै छ । तर, सिनेमा जस्तो योे होइन । सिनेमा र नाटकको उत्पादन मूल्य एकदमै फरक छ ।
अहिले नाटक टिकटभन्दा पनि कुनै स्पोन्सरले गर्दा चलेको जस्तो देखिन्छ । तर, सधैं स्पोन्सर प्राप्त होला भन्ने छैन । स्पोन्सर नभएका बेला के गर्ने ? यो पनि सोच्नुपर्छ ।
नाटक र सिनेमा दुवै आम सञ्चारका माध्यम त हुन् नै, यति हुँदाहुँदै पनि नाटकमा हाम्रा सीमितता छन् । यसबाट आउने रिटर्न एकदमै सीमत छ । यो सीमितताले सबै रङ्गकर्मीहरुलाई धान्न गाह्रो पर्छ । त्यसकारण आजका पुस्ता भोलिका दिनमा निरन्तर लागिरहनका लागि पर्याप्त आधारचाहिँ त्यति सजिलो छैन ।
रङ्गमञ्च त माथि छ, योभन्दा पनि माथि जान्छ र उर्बर हुन्छ । तर रङ्गकर्मीहरु सयमा एक प्रतिशत मात्र टिकिरहे भने त्यो ठूलो हुन्छ ।
पछिल्ला नाटकहरुमा मञ्च निर्माणदेखि कलाकारहरुको कस्ट्युम, कोरियोग्राफ जस्ता पक्षमा निकै खर्चिलोपना देखिन्छ । यसलाई कसरी लिने ?
यस पक्षमा भने मलाई बडो दुःख लाग्छ । मैले अहिलेसम्म मितव्ययी रङ्गमञ्चलाई नै अगाडि बढाइरहेको छु । खर्च गर्दिनँ नै भने पनि खाजा खर्च, यताउति गर्दा एउटा नाटकका लागि ५०/६० हजार रुपैयाँ खर्च हुन्छ । त्यो पनि कहाँबाट ल्याउने ? यही पैसा मेरा साथीभाइलाई मागेँ भने सजिलै ल्याउन सक्छु तर म ल्याउँदिन । किनभने, एउटा नाटक, या दोस्रो नाटकका लागि मगन्तेका रुपमा ल्याउन सकिएला तर कतिन्जेल मगन्ते बन्ने ? हाम्रो नाटक क्षेत्र यस्तो पनि हुनु भएन ।
हामीले माग्ने भन्दा पनि दिनेहरु नाटकबाट आफैं प्रेरित हुनुपर्छ । जसरी सिनेमामा विज्ञापन दिन प्रेरित हुन्छन्, त्यसरी नै नाटकमा यो अवस्था सिर्जना गर्न सकिन्छ ।
यसमा हामीले एउटै कुरा सोच्नुपर्छ, नाटकको ‘कस्ट अफ प्रोडक्सन’ लाई कसरी घटाउने ? मन त मलाई पनि भव्य सेट बनाउने हुन्छ । तर, यसलाई मिनिमाइज गर्नुपर्छ र गर्न सकिन्छ ।
नाटक यस्तो एउटा कला हो, यसमा हामीले सांकेतिक रुपमा जे पनि गर्न सक्छौं । एउटा सिनेमामा सगरमाथा चाहियो भने हामीले यहीँ बनाउन सक्छौं । नाटकमा हजाईजहाज चाहियो भने त्यही ल्याउनुपर्छ भन्ने छैन ।
रङ्गकर्मीहरुले रङ्गमञ्चलाई यथार्थवादी र अयथार्थवादी गरी दुई किसिमले प्रस्तुत गर्न सक्छन् । यथार्थ तरिकामा हामी रङ्गमञ्चलाई चाहिने ठूला–ठूला सेटहरु बनाउन सक्छौं । तर, त्यही सेटलाई हामी अयथार्थ तरिकाले पनि बनाउन सक्छौं । यसमा बिम्बहरु प्रयोग गरेर गर्न सक्छौं । नाटकको स्वाद नै त्यहाँ छ । त्यसकारण नै नाटक हो ।
रङ्गमञ्चको दाँजोमा सिनेमा त हिजो अस्ति मात्र आएको हो । सिनेमा आएपछि विश्वमा नाटक कोल्याप्स हुन्छ भन्थे तर भएन त । यसको दायरा अझै फराकिलो भएर माथि जान्छ । नाटकको मजा सिनेमाको भन्दा बेग्लै छ
जुन कुरा सिनेमामा हेर्न पाइन्छ, त्यही कुरा नाटकमा देखाउने हो भने नाटक किन हेर्नुपर्यो र ? सिनेमा नै हेर्दा भइहाल्यो नि । नाटकलाई कुनै संकेत र कलाकारको शरीरमा समेत देखाउन सकिन्छ । मेरो आफ्ना लागि स्टेज भनेको सेतो क्यानभास हो । त्यसमा अनेक बिम्वका रुङहरु लगाउन सकिन्छ । बिम्व त हाम्रो शरीरमै छ । नाटकमा यी कला, सौन्दर्य र बिम्व ल्याउन हामीले लाखौं खर्च गर्न जरुरी छैन ।
नाटक र सिनेमालाई तुलानात्मक रुपमा हेर्दा नाटकको आफ्नै उच्च ओहोदा किन ?
नाटक भनेकै सिम्बोलिजम (विम्वात्मकता) हो । सिम्बोलिजम नै यसको शक्ति हो । यसमा कला, सौन्दर्य, प्रतीक र विम्वहरु छन् । जति धेरै हामी विम्वहरु प्रयोग गर्छौं, नाटकमा त्यति नै मिठास आउँछ । रङ्गमञ्च भनेको रङ्गमञ्च नै हो । रङ्गमञ्चको इतिहास हजारौं वर्षको छ । सिनेमाको इतिहास एक/डेढ सय वर्षको छ ।
रङ्गमञ्चको दाँजोमा सिनेमा त हिजो अस्ति मात्र आएको हो । सिनेमा आएपछि विश्वमा नाटक कोल्याप्स हुन्छ भन्थे तर भएन त । यसको दायरा अझै फराकिलो भएर माथि जान्छ । नाटकको मजा सिनेमाको भन्दा बेग्लै छ । नाटक त नाटक नै हो नि ।
पछिल्लो समयका युवापुस्ताले नाटकलाई सिनेमामा भित्रिने भर्याङका रुपमा लिएको देखिन्छ । यो प्रवृत्तिलाई चाहिँ कसरी लिनुहुन्छ ?
एउटा सानो चिया पसल राख्नेले सोल्टीजस्तै होटल खोल्ने चाहना राख्न सक्छ । जसलाई ठूलो क्यानभासमा जाने इच्छा हुन्छ । चाहे सिनेमामा जाओस्, चाहे सिरियलमा या नाटकमा जाओस्, एक्टिङ त एक्टिङ नै गर्ने हो । सिनेमा, सिरियल अन्य ठाउँमा जानु कुनै अपराध होइन र जानु पनि पर्छ । एकजना नाटकमा खेल्ने कलाकारले सिनेमामा जान्छु भन्ने इच्छा राख्नु नराम्रो होइन । अझ उसले हलिउडमा जान्छु भन्ने इच्छा राख्नुपर्छ । तर, भर्याङ चढेपछि त्यही भर्याङलाई बिर्सनुहुँदैन ।
आसाम(भारत) को नाटक फेस्टिभलमा नसिरुद्दिन शाहले पनि भनेका थिए, ‘नाटकबाट पैसा आउँदैन तर मलाई सिनेमाभन्दा नाटक राम्रो लाग्छ । ११ महिना सिनेमा गरेपनि एक महिना चाहिँ नाटकलाई दिन्छु ।’
त्यत्रो ठूलो कलाकारलाई पनि नाटकको हुटहुटी रहेछ नि । त्यहाँ मैले उनको एकल अदुभूत नाटक हेरेँ । कलाकारहरु कलाका जुनसुकै विधामा गए पनि नाटकलाई बिर्सनुहुँदैन ।
तपाईंको धारणामा नाटकलाई यसकै स्थानमा दिगो रुपमा लैजान युवापुस्ता अब कसरी अगाडि बढ्नुपर्ला ?
अहिले नाटक मात्र नभएर साहित्य, सङ्गीत, सिनेमा सबैजसो विधामा मैले देखेको समस्या भनेको हामीले हाम्रो कलालाई समाज र परिवारभन्दा अलग हो भनेर प्रमाणित गर्न खोज्यौं । हामीले समाजभन्दा अलग हो है भनेर प्रस्तुत गर्यौं । मुख्य समस्या यहीँ छ । हामी समाज भन्दा भिन्न हुन खोज्यौं । आज एकजना कलाकार समाज र परिवारभन्दा आफूलाई अलग ठान्छ । मेरा कतिपय विद्यार्थी भाइबहिनीहरु नाटक सिक्न आएको उनको परिवारलाई थाहा हुँदैन । थाहा भएमा मार्छन् भन्ने उनीहरुको कुरा सुनेर मलाई दुःख लाग्छ । यसका मुख्य दुई कारण छन् :
पहिलो- उसलाई यहाँ अर्थाेपार्जन हुँदैन भन्ने थाहा छ । दोस्रो– यहाँ विकृति छ भन्ने छ । यी दुईवटा कुरालाई हटाउने जिम्मेवारी रङ्गकर्मीहरुलाई छ
पहिलो- उसलाई यहाँ अर्थाेपार्जन हुँदैन भन्ने थाहा छ । दोस्रो– यहाँ विकृति छ भन्ने छ । यी दुईवटा कुरालाई हटाउने जिम्मेवारी रङ्गकर्मीहरुलाई छ । यो हटाउने प्रयास हामीले कहिल्यै गरेनौं । यसलाई जीवनभन्दा अलग्गै राखिरह्यौं ।
यसमा अहम् छ । सिनेमा, नाटक जुनसुकैको चर्चित कलाकार भए पनि यही समाजको हो । तर, त्यो स्वीकार्न हामी तयार भएनौं । हामीलाई अहमले ग्रसित पार्यो । एउटा, दुईवटा वा पाँचवटा मात्र नाटक गर्ने हाम्रो लक्ष्य होइन । जीवनभर नै रङ्गमञ्च विकसित भइरहोस् भन्ने हाम्रो ईच्छा हुनुपर्छ । म रहन्छु या रहँदिन भन्नु भन्दा पनि नेपाली रङ्गमञ्च दिगो र जीवित हुनुपर्यो भन्ने हो ।
जिउँदो हुनका लागि रङ्गमञ्च जीवनभन्दा अलग होइन । जसरी एकजना मान्छे बिहान उठेर नित्यकर्म गर्छ, कलेज, अफिस जान्छ, दिनभरि जे काम गरेर जीवित रहन्छ, बेलुका गएर नाटक गर्नुचाहिँ अलग होइन । नाटक गर्नु, रिहर्सल गर्नु पनि जीवनकै हिस्सा र पाटो हो । बाबुआमाले पनि कहाँ गएको छ भन्दा अफिस गएको छ भनेझैँ रिहर्सलमा गएको छ भनिदिओस् । हामी नै जीवनबाट अलग हुन खोजिरहेकाले यो नभनिएको हो ।
जीवन, रङ्गमञ्च र यसको सौन्दर्यलाई एकैसाथ कसरी अगाडि बढाउन सकिन्छ त ?
जीवन र रङ्गमञ्च एकै गर्नलाई अहिले नेपाली रङगमञ्चलाई दुईवटा चीजको खाँचो छ । एउटा– अर्थव्यवस्थाको सिस्टमलाई मितव्ययी बनाउने । कम खर्चमा कसरी नाटक बनाउन सकिन्छ भनेर प्लानिङ बनाउनुपर्छ । अर्को–जीवन र समाजलाई सँगसँगै अगाडि लैजान समयको व्यवस्थापन गर्न जरुरी छ । अर्थ र समयलाई व्यवस्थापन गर्न सक्यौं भने हामीले लामो समयसम्म नाटक गर्न सक्छौं ।
अहिले नाटकको सङ्क्रमणकाल हो । यो अवस्थालाई हामीले सम्झौता गर्नैपर्छ । पाँच/दश लाखमा सेट बनाउनुको सट्टा पाँचवटा जिल्लामा नाटक गरौं । हाम्रो कलालाई समाजसँग जोडौं
रिहर्सल गर्दै गर्दा एकजना कलाकारले नाटकसँगै घर, परिवार र जीवनलाई व्यवस्थापन गर्न जान्नुपर्छ । नाटक गर्नकै लागि अफिस वा गरिरहेको काम छोडिरहनुपर्दैन । किनकि दिनभरि काम छाडेर नाटक गर्न हामी सक्दैनौं । व्यक्तिगत खर्च धान्न पनि अरु काम गर्न हामी बाध्य छौं । मैले यसरी नै काम गरिरहेको छु । मैले घर र छोराछोरीहरुलाई हुर्काएर नै ५०÷५५ वर्षदेखि रङ्गमञ्चमा छु । मेरा विद्यार्थीहरुलाई म यही सिकाइरहेको छु ।
यसरी अगाडि बढ्यौं भने एकदिन नाटक मात्र गरेर बस्ने दिन आउँछ । मैले नाटक गर्दा महिलाहरु नै पाइँदैन थिए तर अहिले छन् । हामीले धैर्य गरेमा भोलि अर्को पुस्ता आउँदाखेरि सिनेमा जस्तै नाटक चलेमा हामी दिनभरि रिहर्सल गर्नेछौं । त्यतिबेला समय व्यवस्थापन नगरे पनि हुन्छ । अहिले नाटकको सङ्क्रमणकाल हो । त्यसकारण यो अवस्थालाई हामीले सम्झौता गर्नैपर्छ । आज पाँच/दश लाखमा सेट बनाउनुको सट्टा पाँचवटा जिल्लामा नाटक गरौं न । हामीले हाम्रो कलालाई समाजसँग जोडौं ।
एकजना कलाकारले बनाएको पेन्टिङलाई दुई लाख रुपैयाँको मुल्य राखिदिन्छ । त्यो पेन्टिङ किन्ने त समाजकै मान्छे हो । यसको मुल्य पाँच/दश हजार रुपैयाँ राखिदिउँ न भन्ने उसले ठान्दैन । उसमा अहमता हुन्छ ।
रङ्गमञ्चलाई कसरी अगाडि बढाउने भन्ने भन्दा पनि म कसरी अगाडि बढ्ने भन्ने प्रवृत्तिले रङ्गमञ्चको आजको हाल छ ।