अन्तर्राष्ट्रिय

फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइन क्षतिमा चिनियाँ हात रहेको आशंंका

By खबरहब

August 31, 2024

काठमाडौं– फिनल्याण्ड–इस्टोनिया ग्यास पाइपलाइनमा भएको क्षतिमा चिनियाँ जहाजको हात रहेको विज्ञहरुले आशंका गरेका छन् ।

गत वर्षको अक्टोबर महिनामा बाल्टिक सागरमा रहेको उक्त ग्यास पाइपलाइनमा क्षति पुगेको थियो ।

बाल्टिक कनेक्टर ग्यास पाइपलाइनमा चिनियाँ मालवाहक जहाजले क्षति पुर्‍याएकाे हुनसक्ने आशंका गरिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । न्यून्यू पोलर बियर नामक उक्त जहाज हङकङमा दर्ता भएको जनाइएको छ ।

चीनले भने उक्त ग्यास पाइपलाइनमा क्षति पुग्नुमा समुद्री आँधी जिम्मेवार रहेको दाबी गर्दै आएको छ । यद्यपि घटना भएका बेला सो क्षेत्रमा कुनै प्रकारको आँधी नआएको विज्ञहरु बताउँछन् ।

घटनाबारे अनुसन्धान गरिरहेका इस्टोनियाका रक्षामन्त्री हान्नोपेभकुरले त्यहाँको राष्ट्रिय प्रसारक ईआरआरसँगको कुराकानीका क्रममा घटना भएका बेला कुनै किसिमको आँधी नआएको बताएका थिए ।

क्षतिग्रस्त पाइपलाइन यसै वर्षकोअप्रिल महिनामा ३ करोड ८० लाख डलरको लागतमा मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

सन् २०१९ मा युरोपेली युनियनको सहयोगमा ३३ करोडअमेरिकी डलर लागतमा उक्त पाइपलाइन सञ्चालनमाआएको थियो । यस पाइपलाइनले फिनल्याण्ड र इस्टोनियासँगै लात्भिया र लिथुआनियालाई समेत जोड्ने गर्छ ।