अन्तर्वार्ता

अमेरिकाले नेपालको आर्थिक विकासमा सहयोग गरिरहेको छ : राजदूत थम्पसन

By ईश्वरदेव खनाल

October 31, 2024

काठमाडौं – नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनलाई दशैं, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरु मन पर्छन् । दुई वर्षको नेपाल बसाइमा उनलाई नेपाली खाना दालभात तरकारीसमेत मन पर्न थालेको छ।

राजदूतका रुपमा नेपालमा दुई वर्षभन्दा बढी समय बिताएका राजदूत थम्पसनले यस वर्ष पनि दूताबासमा भव्य रुपमा दशैं मनाए। अमेरिकी दूतावासभित्र आयोजना गरिएको दशैं उत्सवलाई उनले समुदायलाई आपसमा जोड्ने जीवन्त परम्पराका रुपमा लिएका छन् । तिहारलाई पनि उनी यस्तै महत्व दिन्छन् ।

खबरहब अंग्रेजी संस्करणका सम्पादक ईश्वरदेव खनालसँगको विशेष अन्तर्वार्तामा राजदूत थम्पसनले स्थानीय समुदायलाई सशक्त बनाउन, आर्थिक वृद्धि हासिल गर्न र जलवायु परिवर्तन जस्ता महत्वपूर्ण मुद्दाहरूमा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको स्मरण गरे । उनले अमेरिका-नेपाल सम्बन्ध थप प्रगाढ बन्दै गइरहेको बताए ।

राजदूत थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना (एमसीसी) को कार्यान्वयनदेखि लिएर पर्यटन प्रवर्द्धन लगायतका विविध क्षेत्रमा नेपाललाई अमेरिकाले सहयोग गरिरहेको बताए । उनले भने, ‘नेपालका विविध समुदायहरू बिचको एकताको म निकै सराहना गर्दछु र मलाई विश्वास छ कि नेपालको विविधता नै यसको बल हो, जसले यसलाई भविष्यमा समृद्धिका लागि आफ्नो मार्गमा अगाडि बढ्न मद्दत गर्नेछ ।’

राजदूत थम्पसनसँगको कुराकानीको सार संक्षेप-

अमेरिकी दूतावासले निकै रमाइलोसँग दशैं मनाएको र यस पर्वमा तपाईँको पनि उत्साहजनक सहभागिता रहेको कुरा दूतावासको सामाजिक सञ्जालमार्फत हेर्न पाइयो । यो चाड मनाउँदा तपाईँलाई कस्तो लाग्यो?

नेपाल बसाइका क्रममा यहाँका परम्परागत चाडपर्वहरू मनाउन पाउनु यस बसाइको महत्त्वपूर्ण हिस्सा हो । हरेक वर्ष अमेरिकी दूतावासले दशैंको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै स्थानीय परम्पराको सम्मान गर्छ र विविधतामा एकताको उत्सव मनाउँछ । यस्ता अवसरमा मेरी श्रीमती जेन र म आफ्ना नेपाली सहकर्मीहरूसँगको मित्रताको आनन्द लिन्छौँ, नेपाली परिकारको स्वाद लिन्छौँ र दूतावास परिवारसँग चाडबाडको रमाइलो बाँड्छौँ ।

यसपालि मैले आफ्नो पहिलो चङ्गा चेटमा मैले हाम्रो कार्यालयका सार्वजनिक मामिला प्रमुखलाई पराजित गरेको भिडियो हाम्रो सामाजिक सञ्जालमा हेर्न सक्नुहुन्छ । यस्ता चाडपर्वहरूले हामीमा एकता, परिवार र समुदायको भावना जागृत गर्छन् र यस कारण नेपालको समृद्ध सांस्कृतिक सम्पदाको अझ बढी प्रशंसा गर्न मन लाग्छ । नेपालमा बसी यति रमाइलो र महत्त्वपूर्ण परम्परामा भाग लिन पाउँदा हामी आफूहरूलाई सम्मानित र गौरवान्वित महसुस गर्दछौँ ।

तपाईँ नेपाल आएको दुई वर्ष नाघिसकेको छ । यस हिमाली मुलुकमा तपाईँको अनुभव कस्तो रहेको छ ?

यो यात्रा मेरा लागि अदभुत रहेको छ । यस अवधिमा मैले नेपाल सरकारसँग सहकार्य गर्ने मौका पाएको छु, मुलुकभर भ्रमण गरेको छु, नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा अनुभूत गरेको छु र विभिन्न स्थान र समुदायका अनगिन्ती नेपालीहरूसँग समय बिताएको छु । नेपालले कति धेरै दिएको छ ! मलाई जहिले पनि धेरै कुरा जान्नसुन्न मन लाग्छ । मानिसहरूसँग भेट्न र समय बिताउन मन लाग्छ । उनीहरूका कथा सुन्न मन लाग्छ । नेपाल र सम्पूर्ण नेपालीको समृद्ध भविष्य निर्माणमा मद्दत गर्न सकियोस् भनी हामी नेपाल सरकार, नागरिक समाज संस्था र व्यक्तिहरूसँग सहकार्य गर्नका लागि नवीन तरिकाहरू खोज्न उत्सुक छौँ ।

विगत दुई वर्षमा मेरो ध्यान युवा, महिला, कृषक, उद्यमी र कन्टेन्ट क्रिएटरलगायतका नेपालीहरूको सशक्तिकरणमा केन्द्रित भएको छ । विस्तृत रूपमा भन्नुपर्दा हामीले नेपालसँग आर्थिक अवसर सिर्जना गर्न, पर्यटन तथा निजी क्षेत्रको वृद्धिमा सहयोग पुर्‍याउन र यहाँको जलविद्युत्‌को सम्भाव्यता विकास गर्न साझेदारी गर्दै आएका छौँ ।

हामीले हेलिकप्टर तथा विमान खरिदका लागि अनुदान सहयोग, तालिम र संयुक्त अभ्यासमार्फत नेपालको विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता विकासका लागि पनि काम गरेका छौँ । हाम्रो ७७ वर्ष पुरानो साझेदारीप्रति मलाई निकै गर्व छ। त्यसैगरी शान्तिपूर्ण, समृद्ध र लोकतान्त्रिक भविष्य निर्माणमा नेपालको सार्वभौमिकताको संरक्षण गर्दै मुलुकको दीर्घकालीन सफलतामा सहयोग पुर्‍याउनका निम्ति हामीले गर्दै आएको कामप्रति पनि म गौरवान्वित छु ।

अमेरिका र नेपालबिचको सम्बन्धको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ र भावी सहकार्यका लागि कुनकुन मुख्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ला ?

हामीहरूबीचको सम्बन्ध बलियो, रचनात्मक र गतिशील छ । ७७ वर्षदेखि हामीले नेपाल, नेपाली जनता, लोकतन्त्र र आर्थिक समृद्धिलाई साथ दिँदै आएका छौँ र हामी यसमा निरन्तर लागिरहने छौँ । हाम्रो सहकार्य गहिरो र व्यापक छ । यहाँ थुप्रै अमेरिकी निकायहरू विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

उदाहरणका लागि अमेरिकी विदेश मन्त्रालय, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी), पिस कोर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम, अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी न्याय मन्त्रालय र लाइब्रेरी अफ कङ्ग्रेस लगायतका निकायहरूले नेपालको विकासमा सहयोग पुर्‍याउन र नेपालीहरूलाई समृद्ध बनाउन अनि आफ्नो भविष्य आफैं निर्माण गर्न सक्षम बनाउनका लागि सहकार्य गरिरहेका छन् ।

नेपाली समाजको कुरा सुन्नु र उनीहरूसँग संलग्न रहनुमा यो सम्बन्ध केन्द्रित रहँदै आएको छ । यसबाट हामीलाई नेपालका परिवर्तनशील आवश्यकताहरूलाई पूरा गर्न हामीले उपलब्ध गराउने उपकरण र स्रोतहरूलाई सुधार्न मद्दत पुगेको छ । हाम्रो प्राथमिकता भनेको नेपाललाई बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु र व्यवसाय फस्टाउने वातावरण सिर्जना गर्नु हो । साथै, हामी यस्तो वातावरण सिर्जना गर्न चाहन्छौँ, जहाँ युवाहरूले आफ्नो देश निर्माणका लागि के गर्न सक्छन् भन्ने विषयमा दृष्टिकोण बनाउन प्रेरित बनून् ।

नेपालले आफ्नो अर्थव्यवस्थाको विकास गर्नका लागि अमेरिकाले उपलब्ध गराएका कतिपय उपकरण र स्रोतहरू उपयोग गर्न सक्छ । हाम्रो सहयोगको ठूलो मात्रा अनुदानमा आधारित छ । एमसीसीको नेपाल कम्प्याक्ट आयोजना यसको उत्कृष्ट उदाहरण हो । कम्प्याक्टमा नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण रूपमा रहेका ठूला तथा रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू समावेश छन् । एमसीसीको नेपाल कम्प्याक्टले नेपालका सडक तथा विद्युत् पूर्वाधार सञ्जाल विस्तार गर्न मद्दत गर्नेछ । यसले ऊर्जा क्षेत्रलाई बलियो बनाउनेछ र सडकलाई सुरक्षित तथा भरपर्दो बनाउनुका साथै यसको मर्मतसम्भार कार्यलाई सहज बनाउन नयाँ प्रविधि भित्र्याउनेछ ।

राजदूतको हैसियतले अमेरिका र नेपालबिचको दौत्य सम्बन्धलाई बलियो बनाउनका लागि तपाईँका मुख्य प्राथमिकता केके हुन् ? आगामी दुई वर्षमा अमेरिका-नेपाल सम्बन्धका लागि तपाईँको लक्ष्य के छ र के-कस्ता मुख्य कार्यक्रमहरू सफल हुने आशा गर्नुभएको छ ?

मुलुकको शान्तिपूर्ण, समृद्ध, उत्थानशील र लोकतान्त्रिक भविष्य निर्माणका लागि नेपालसँग सहकार्य गर्दै ७७ वर्ष पुरानो अमेरिका-नेपाल साझेदारीलाई बलियो बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ । हामी नेपालले दीर्घकालीन आर्थिक समृद्धिका लागि अवलम्बन गरेको दृष्टिकोणलाई समर्थन गर्दछौँ । नेपालले मध्यम आय भएको देशमा स्तरोन्नति हुने लक्ष्य लिएको छ । साथै, धेरैभन्दा धेरै नेपालीहरूले नेपालमै आफ्नो भविष्य निर्माण गर्न सकून् र उनीहरूले आफू अनि आफ्ना परिवारको पेटपालोका लागि विदेश जानु नपरोस् भन्ने दिशामा नेपाल प्रयासरत छ ।

हामी नेपालको निजी क्षेत्रलाई सहयोग गर्न र रोजगारी सिर्जना तथा समावेशी आर्थिक वृद्धिका लागि निजी क्षेत्रको लगानी बढाउन प्रतिबद्ध छौँ । हामी नेपालको आर्थिक भविष्यप्रति गम्भीर छौँ र यहाँको आर्थिक विकासलाई निरन्तर बढावा दिइरहेका छौँ । हामी सबै नेपालीका लागि आर्थिक अवसर सिर्जना गर्न प्रतिबद्ध छौँ । यसमा महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणप्रति लक्षित निश्चित परियोजनाहरूमार्फत आर्थिक अवसर सिर्जना गर्ने लगायतका कार्यहरू समावेश छन् । एमसीसी नेपाल कम्प्याक्टले मात्र १० हजार थान रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । गत वर्ष युएसएआईडीका कार्यक्रमहरूमार्फत १० लाखभन्दा बढी नेपाली महिलालाई विभिन्न क्षेत्रमा सहयोग पुगेको थियो ।

हामी नेपालको निजी क्षेत्रका लागि वित्तीय तथा व्यवसाय विकास सेवाहरूमा पहुँच निर्माण गर्दैछौँ, बजार सञ्जाल सुधार गर्दैछौँ र अझै रचनात्मक व्यावसायिक वातावरणलाई बढावा दिइरहेका छौँ । यसका अतिरिक्त हामी नेपालको कृषि क्षेत्रलाई बलियो बनाउने र यहाँको उच्च-प्रविधि उद्योगको विकासमा सहयोग पुर्‍याउने दिशामा कार्यरत छौँ ।

अमेरिका ऊर्जा, पर्यटन, प्रविधि र उच्च-मूल्य कृषि जस्ता प्रमुख क्षेत्रहरूमा सहयोग गर्न प्रतिबद्ध छ । यसका साथै नेपालमा रोजगारी सिर्जना गर्न र समावेशी आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नका लागि निजी क्षेत्रको लगानी बढाउन समेत अमेरिका प्रतिबद्ध छ ।

अमेरिकाले हाल मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालमा के-कस्ता आर्थिक कार्यक्रम वा परियोजनाहरूलाई सहयोग गरिरहेको छ र तिनीहरूले नेपालको विकास लक्ष्यसँग कसरी मेल खान्छन् ?

एमसीसीको नेपाल कम्प्याक्ट यहाँको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउन नेपालसँग अमेरिकाले साझेदारी गरेको लामो इतिहासमा आधारित छ । नेपाल सरकारसँगको सहकार्यमा विकसित गरिएको एमसीसी नेपाल कम्प्याक्टले रूपान्तरणकारी स्वच्छ ऊर्जा पूर्वाधारलाई प्राथमिकता दिएको छ । यसमा अमेरिकाको तर्फबाट ५० करोड डलर अनुदान रहेको छ भने नेपालले पनि १९ करोड ७० लाख डलरको योगदान गरेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट नेपालको ऊर्जा र यातायात क्षेत्रमा रूपान्तरण गर्ने र १० हजार थान रोजगारी सिर्जना गर्ने महत्त्वाकाङ्क्षी आयोजना हो । नेपालको नेतृत्वमा एमसीसी कम्प्याक्टमा भएको प्रगतिप्रति अमेरिकी सरकार उत्साहित छ । नेपालमा एमसीसीको काममा विभिन्न सरोकारवाला, सरकार र राजनीतिक दलहरूबाट प्राप्त भएको निरन्तर सहयोगबाट यस्तो प्रगति सम्भव भएको हो । हामीले गतिशीलता निर्माण गरेका छौँ र परियोजनाहरू द्रुत गतिमा अगाडि बढिरहेका छन् ।

आयोजना कार्यान्वयनको पहिलो वर्षमा मिलेनियम च्यालेन्ज एकाउन्ट – नेपाल (एमसीए-नेपाल) ले तीन ओटा सबस्टेसन निर्माणका लागि १२ करोड ६० लाख अमेरिकी डलरका ठेक्का सम्झौता सम्पन्न गर्‍यो भने १८ किलोमिटर लामो प्रसारण लाइनको निर्माणका लागि एक करोड २३ लाख ६० हजार अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न गर्‍यो । एमसीए-नेपालले रातामाटे सबस्टेसन क्षेत्रमा जग्गा अधिग्रहण भएपछि आयोजनाबाट प्रभावित २७० जनाका लागि जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम पनि लागु गरेको छ । यसका अतिरिक्त क्षतिपूर्ति निर्धारण समितिहरूको स्थापना भएको छ र ठेकेदारहरूलाई लागि परियोना निर्माणस्थलमा पहुँच दिलाउन १० मध्ये ९ जिल्लामा प्राथमिक रुखगणना कार्य सम्पन्न भएको छ ।

यी कोसेढुङ्गाहरूले नेपालको ऊर्जा पूर्वाधारलाई बलियो बनाउने र क्षेत्रीय व्यापारलाई बढावा दिने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछन् । अमेरिकी सरकार र नेपाल सरकार दुवै एमसीसी नेपाल कम्प्याक्टको सफलता सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् किनभने यो आयोजना नेपाल र थुप्रै नेपालीहरूका लागि रूपान्तरणकारी हुनेछ । यसबाट उनीहरूका विद्युत्‌सँग सम्बन्धित आवश्यकताहरू पूरा हुनेछन् भने नेपाललाई विद्युत् निर्यातकर्ताका रूपमा क्षेत्रीय “पावरहाउस” बन्न समेत मद्दत पुग्नेछ ।

नेपालको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई ध्यानमा राख्दै अमेरिकाले कस्ता भूमिकामार्फत नेपालको जलवायु प्रतिरोधात्मक प्रयासहरूमा समर्थन गरिरहेको छ ?

जलवायु परिवर्तन एक संवेदनशील विश्वव्यापी मुद्दा हो, जसले मानिसहरू, घरहरू र जीवनयापनमा प्रभाव पार्छ, जुन राष्ट्रहरूको आर्थिक उन्नतिका मुख्य पूर्वाधार हुन् । नेपालले जलवायु परिवर्तनद्वारा गम्भीर असर भोगिरहेको छ । हालैको बाढीका कारण धेरै मानिसहरूको ज्यान गएको छ । कृषिमा आधारित अर्थतन्त्रको रूपमा नेपालले बाढी, खडेरी, पहिरो र वातावरणीय ह्रासका कारण कृषि उत्पादनमा कमी र बालीको गुणस्तरमा गिरावट भोगिरहेको छ ।

अमेरिकाले जलवायु परिवर्तनले ल्याएका खतराहरूलाई सम्बोधन गर्न नेपालसँग विभिन्न कार्यक्रममा साझेदारी गरेको छ। हामी नेपाल सरकारका प्रयासहरूलाई समर्थन गर्छौँ, जसले पर्वतीय पारिस्थितिक प्रणालीबारेमा जागरूकता बढाउने, समुदायको उत्थानशीलता निर्माण गर्ने र समाधानहरू लागु गर्ने लक्ष्य राख्छन् । यसका अतिरिक्त हामी नेपालमा वातावरण संरक्षण, खाद्य सुरक्षा र जैविक विविधताको क्षेत्रमा काम गरिरहेका छौँ ।

युएसएआईडीले स्थानीय समुदायहरूको क्षमता मजबुत पार्दै उनीहरूका स्रोतहरूको स्वामित्व लिन र तिनलाई आफू, आफ्नो समुदाय र नेपालका लागि फाइदाजनक तरिकामा व्यवस्थापन गर्न सहयोग गर्दै आएको छ । नेपाल सरकारसँगको साझेदारीबाहेक हामी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) जस्ता संस्थासँग पनि सहकार्य गर्दै सहयोग गरिरहेका छौँ ।

सन् २०१० देखि इसिमोडले सेभिर कार्यक्रमसँग काम गरिरहेको छ – यो युएसएआईडी र नासाबिचको साझेदारी हो – जसले समुदायहरूलाई स्याटेलाइट डाटा र भू-स्थानिक प्रविधि प्रयोग गरेर स्थानीय, राष्ट्रिय, र क्षेत्रीय जलवायु प्रतिरोधात्मकता र स्रोत व्यवस्थापनमा सुधार गर्न मद्दत पुर्‍याउँछ ।

हाम्रो क्षेत्रीय वातावरण कार्यालयले जलवायु परिवर्तनका मुद्दाहरूमा नेपाली संस्थाहरूसँग निकट सहकार्य गर्दछ र यस विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक ज्ञान र सीपको आदानप्रदानलाई बढावा दिन्छ ।

नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कुन-कुन पक्षहरूले अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने सम्भावना बोकेका छन् ?

नेपाल विशेष गरी आफ्नो समृद्ध सांस्कृतिक, ऐतिहासिक, धार्मिक र भौगोलिक विविधताका कारण अद्भुत छ । हिमाली क्षेत्रका अग्ला हिमशिखरहरू, काठमाडौँका व्यस्त सडकहरू र तराईका सुन्दर फाँटहरूका कारण नेपाल एक यस्तो गन्तव्य हो जसले विश्वभरका यात्रुहरूलाई मोहित गर्दछ । काठमाडौँ उपत्यकाभित्रका दरबार क्षेत्रहरूको सांस्कृतिक सम्पदा, लुम्बिनीमा बुद्धको जन्मस्थलको धार्मिक महत्त्व, मुक्तिनाथ अनि पशुपतिनाथ जस्ता पवित्र स्थलहरू, सुन्दर जानकी मन्दिर र नेपालभरिका खानाका परिकार – यी सबै साँच्चै अद्भुत छन् ।

नेपालको खानाको अनुभव गर्दा तपाईँलाई मनपर्ने परिकारहरू केके छन् र नेपालको पर्यटन प्रवर्द्धनमा खानाले कस्तो भूमिका खेल्छ ?

म नेपालका सबै खानेकुरालाई माया गर्छु । मलाई विशेष गरी नेपाली दालभात मन पर्छ । मैले नेपालगञ्ज र काठमाडौँमा बिरयानी पनि चाखेको छु र दुवै ठाउँमा उत्तिकै स्वादिलो लाग्यो । म:म: भनेको सधैं मिठो हुन्छ र यसका पनि विभिन्न प्रकार छन् । हामीले पाटनमा एक नेवारी परिवारसँग रमाइलो भिडियो बनाउनका लागि म:म: बनाउने तरिका पनि सिक्ने अवसर पाएका थियौँ, जहाँ हामीले नेवारी परिकार पनि चाख्यौँ । योमरी साह्रै मिठो हुन्छ र मलाई सबभन्दा मनपर्ने खाजा बफ छोइला हो । नेपालको खाना एकदम मिठो छ ।

गत वर्ष म स्याउ फल्ने सिजनमा उपल्लो मुस्ताङ पुगेको थिएँ । त्यो यात्रा साँच्चै रमाइलो थियो । मुस्ताङबाट हामीले थुप्रै स्याउ ल्याएका थियौँ । मलाई त्यहाँको मार्फा एप्पल पाइ र एप्पल वाइन निकै मनपर्‍यो ।

म:म: र दालभात जस्ता परिकारहरू समावेश रहेको नेपालको समृद्ध खाना संस्कृतिले विश्वभरका खाना प्रेमीहरूलाई आकर्षित गर्नसक्छ । सडकपेटीको जीवन्त खाद्य दृश्य र परम्परागत भोजहरूले पर्यटकहरूलाई स्थानीय संस्कृतिको वास्तविक स्वाद प्रदान गर्न सक्छन् ।

 

तपाईँको नेपाल बसाइको कुनै सम्झन लायक अनुभव शेयर गर्न सक्नुहुन्छ ? जसले तपाईँको देश र यहाँको संस्कृतिप्रतिको भावना गहिरो बनाएको छ ।

मेरो लुम्बिनीको पछिल्लो भ्रमणले मलाई धेरै प्रभाव पारेको छ । विशेष गरी मैले त्यहाँ नेपालको धार्मिक विविधतालाई नजिकबाट देख्न पाएँ । त्यहाँ मैले विभिन्न स्थानीय समुदायहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएँ, जसमध्ये युएसएआईडीका मिडिया फेलोहरू, मायादेवी मन्दिरका भक्तजनहरू, भैरहवामा अमेरिकी कर्नरका विद्यार्थीहरू, यौनिक तथा लैङ्गिक समुदायका सदस्यहरू र स्थानीय मदरासाका मुस्लिम बालबालिकाहरू समावेश थिए ।

नेपालका विविध समुदायहरू बिचको एकताको म निकै सराहना गर्दछु र मलाई विश्वास छ कि नेपालको विविधता नै यसको बल हो, जसले यसलाई भविष्यमा समृद्धिका लागि आफ्नो मार्गमा अगाडि बढ्न मद्दत गर्नेछ ।