काठमाडौं– सिस्नुपानी नेपालले सम्बन्धित व्यक्तिहरुलाई नै आमन्त्रण गरी उनीहरुमाथि नै व्यङ्ग्यात्मक प्रहार गरी देउसी खेल्दै आएको छ । यो वर्ष पनि लक्ष्मी पूजाको अवसर पारेर सिस्नुपानी नेपालले विहीबार प्रज्ञा प्रतिष्ठानमा देउसी खेल्यो ।
सिस्नोपानीको देउसी सुन्न प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रज्ञा प्रतिष्ठानमा आएका थिए । तर, उनले कडा आलोचनाको सामना गर्नुपर्यो ।
यो पटकको देउसीमा वर्षभरका विवादित घटना, काण्ड र नेताहरुको कमी कमजोरीमा छेडखानी भयो । जसमा शीर्ष दलका नेताहरु देखि मेयर बोलेन्द्रसम्मलाई देउसी टिमले ‘सिस्नु’ हान्न भ्यायो ।
सिस्नोपानी देउसीको विशेषता नै राजनीतिक लगायत विभिन्न क्षेत्रका विवादित विषय र व्यक्तिप्रति छेडखानी हो । सिस्नुपानीका सदस्य एवम् आयोजक टिमका सदस्य सरोज घिमिरे भन्छन्, ‘देउसीभैलो कार्यक्रमको उद्देश्य नै सम्बन्धित क्षेत्रका व्यक्तिलाई बोलाएर झक्झक्याउने हो । कमीकमजोरीबारे थाहा दिने हो ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चालाई देउसेले स्वभाविकरुपमा लिएको पाइएन । यो चर्चामाथि देउसे टोलीले चोटिलो व्यङग्य गर्यो ।
पाठकलाई लाग्न सक्छ कसरी चोटिलो भयो ?
देउसेले भनेका थिए – दुई पल्टका राष्ट्रपति…. पार्टीतिरै फिर्ने रे नि लै लै अध्यक्ष नै खाने रे, बरु जिल्ला जाने रे कि त वडाध्यक्षै हुने रे ।
देउसेले यसो भनी भट्याउँदा प्रज्ञा भवनको हल हाँसोमय बनेको थियो । पेचिलै भएर त होला ?
यो पनि…
देउसेको व्यङ्ग्यको चुरो कारण हो- दुई कार्यकालका लागि राष्ट्रपति बनेकी भण्डारीले एमाले अध्यक्षको लोभ राख्नु ।
‘भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहेको’ भन्ने समाचारहरु आइरहेकै हुन्छन् । यसबोर उनले भने सार्वजनिकरुपमै बोलेकी छैनन् ।
अध्यक्षको लोभ छ/छैन भण्डारी नै जानुन् । तर देउसेले ‘सिस्नु’ लगाइहाले ! यसबारे स्पष्ट पार्ने कि सम्माननीय पूर्वराष्ट्रपति ज्यू ?
प्रधानमन्त्री ओली राजनीतिका चतुर खेलाडी हुन् भनी फुर्क्याउँदै देउसेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ‘सिस्नु’ हाने ।
कार्यक्रममा प्रमुख अथितिलाई सुरुमै किन खिन्न बनाउनु भनेरै होला, देउसेहरुले सुरुमा जिस्काए मात्रै । माओवादीसँग सम्बन्ध तोडेर एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेको कुरा सुरुमै निस्कियो ।
स्वर्ग नर्क जता गए नि, सँगै जाउँला भनेर ओली दाहाल सुते एउटै सिरक तानेर । लुस्स निस्की ओली गए, देउवाजीको खाटमा के भो होला नसम्झौँ भो मध्य रातमा ।
देउसेले अर्को झमटमा भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँग ओलीको बेमेललाई लिएर व्यङ्ग्य गर्यो ।
सँगै गत असोजमा आएको बाढी पहिरोको उद्धारमा सरकारको असक्षमताप्रति देउसेले ओलीलाई झ्याप्पै ‘सिस्नु’ हान्यो ।
प्रधानमन्त्री आफैँ खेल्छन्, मेयरसँग दोहोरी दोहोरीले सिंहदरबार भयो फोहोरी । भेलबाडीमा डुब्दै बग्दै, जनता गुहार माग्दैथे प्रधानमन्त्री अम्रिकामा माइक तान्दैथे ।
प्रचण्ड पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी अध्यक्ष प्रचण्ड, पार्टी संसद्को तेस्रो दलको हैसियतमा रहँदा पनि प्रधानमन्त्री बनेको विषय देउसेले कोट्याएका थिए । उनीहरुले भनेका थिए-
खुत्खुत् हाँस्थे प्रचण्ड, ठूला दललाई झेलाउँदै जादुमयी संख्या भन्दै चाबी खेलाउँदै । कांग्रेस एमालेको टेको, लाउँदै अघि बढेका दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका ।
प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण नगरेको विषयमा अर्को झमट ‘सिन्नु’ भटे ।
माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन् किनभने प्रचण्डले दिनै चाहेनन् ।
जनयुद्ध पृष्ठभूमिबाट मुलधारे राजनीतिमा प्रवेश गरेका प्रचण्ड फेरि अर्को क्रान्ति गर्छु भनिरहन्छन् । अनि ‘जनताले फेरि युद्ध गर्छ’ भन्ने बुझे कि भनेर स्पष्ट पनि पार्ने उनको बानी छ ।
माओवादी पार्टी क्षयीकरण, माओवादी सहभागी समाजवादी मोर्चा र उनले भन्ने गरेको क्रान्तिलाई जोडेर देउसे अर्को झमट ‘सिस्नु’ हान्न भनेको थिए –
लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड आन्दोलनको प्राचिन गाना गाउँछन् अखण्ड । सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस । राजा फाल्ने उर्जा थियो, थियो तिम्रो कत्रो जोश अब बन्ने वाम मोर्चामा राप्रपा नि होस् ।
इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा राना पनि दिउसेका ‘सिस्नु’बाट उम्कने कुरै भएन ।
भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा चिठी लेखेका कारण उनी विवादित छन् । यो कुरा देउसेका कानमा परेको रहेछ । देउसले उनलाई यसो भन्दै झ्याप्प ‘सिस्नु’ हाने :
जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै दूताबासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्, तिर्मिर तिर्मिर तारा देखिछन् ।
देउसेहरु
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिमा आए यता विवादबाट टाढा हुन सकेका छैनन् ।
राजनीतिमा आएको दुई वर्षमै देउसेलाई भो-भो भन्ने गरी काण्ड दिएछन् ।
पहिलो पटक गृहमन्त्री बन्दा नागरिकताका कारण पदबाट हात धुनुपर्यो । त्यही बेला गृहमन्त्री पद गएको रन्कोमा उनले विभिन्न मूलधारका पत्रकार र सम्पादकलाई ‘१२ भाइ’ भनेका थिए । ‘१२ भाइ’ शब्द अचेल खुबै चर्चामा छ ।
तिनै लामिछानेलाई देउसेले ‘१३ भाइ’ उपनाम दिएका छन् ।
१२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो । सरकारले थर्काउनेकै ढाड मर्कायो ।
साथै टेलिलिजन छोडेर राजनीतिमा आएको विषयमा देउसेले ‘सिन्नु’ उझ्याए ।
म त खाँदिन टिभीको जागिर मलाई लैजाउन गृहको कुर्सीमा
अघि सिन्नु उज्जाएका मात्रै देउसेले सहकारीको बचत अपचलनको केसमा चाहिँ ‘झ्याप्पै’ ठोके । उनीहरुले यसोभन्दा हलभरी हाँसो थियो-
हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा भो भो भाँच्दिन नाकको डाँडी हो बचत खाँदिनँ जीबीले नबाँडी ।
अघिल्लो वर्ष त देउसी हेर्न रवि प्रज्ञा भवनमै पुगेका थिए क्यार ! यो पटक त जेलमा छन् । पार्टीका नेता कार्यकर्ताले पुर्याउँलान् नि यो कुरा ।
उनीहरुले नपुर्याए पनि प्रकाउ पर्ने पूर्वसूचना दिनेले त पक्कै पुर्याउँछ । भिडियो बनाउन भ्याउने गरी प्रकाउको खबर पुर्याउने त्यो खबरीलाई पनि कमजोर नआकौं !
बालेन्द्रलाई ‘सिस्नू’
काठमाडौं महानगरपालिका मेयर बोन्द्र शाहलाई पनि आयोजकले निमन्त्रण पठाएको रहेछ । तर बालेन्द्र आएनन् । उनको नाम टाँसिएको रित्तो कुर्सी भने व्यङ्ग्यको साक्षी बन्यो ।
फुटपाथका व्यापारीलाई व्यवस्थापनको सट्टामा हटाएकोमा देउसेलाई चित्त नबुझेको रहेछ । महानगरको यो कदमलाई उनीहरुले भुइँमान्छेमाथि ज्यादतीको रुपमा मानेको रहेछ ।
नभए पढ्नु त देउसेका यी हरफहरु :
मकै पोल्ने, फलफूल बेच्ने, सब्जी ल्याउने घरघरमा भुइँमान्छेलाई भुईँ नै छैन महानगरमा । पसिनाको गन्ध आउने, धोती कछाड दौराले नगरभित्र नछिर्नु खाउला लौराले ।
धनराजको डिभोर्स कांग्रेस नेता धनराज गुरुङले सहकारीको पैसा अपचलको काण्डमा आफ्नो नैतिक क्षति जोगाउन नक्कली डिभोर्स गरेका हुन् भन्ने आम सर्वसाधरणको आशंका छ ।
देउसेले पनि यस घटनालाई आम सर्वसाधरणको भाषामा गह्रण गरेका रहेछन् । ‘सिस्नु’ले एक झमट उनलाई पनि डामीहाले त !
साधु नेता धनराजले, कस्तो कला जानेका ऋणको रकम पचाउन डिभोर्स हानेका ।
देउसेले लगभग वर्षभरका सबै घटनामाथि व्यङ्ग्य प्रहार गरेका छन् । मुख्य घटना र काण्डबारे देउसे राम्रै जानकार देखिन्छ ।
उनीहरुले व्यङ्ग्यसहित नेताहरुलाई झक्झक्याएका छन् । सकेसम्म उनीहरु सन्तुलित हुन खोजेको पाइयो ।
बालेन्द्र र धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फेसबुकका स्ट्याटस लेखेर जनताको विश्वास नगुमाउन सचेत पनि गराएका छन् ।
देउसे भन्छन– बुढा नेता थर्कमान, हर्क – बालेन देखेर । त्यो क्रेजलाई नसिध्याऊ है फेसबुक लेखेर ।
यस्तो थियो पूरा देउसी : बीपीले भन्थे – समाजवाद देउवाजी भन्छन् – समात् बाँध मदनको बहुदलीय – जनवाद ओलीको एकल – मनवाद । माओले भन्थे – साम्मेवाद प्रचण्ड भन्छन् – हाम्मेवाद सटरका माधव – घुम्तीमा पार्टी त छ नि – कम्तिमा
राप्रपा भन्छ – राजा ल्याउँ भ्यागुता गर्छन् – टर्र ट्याउँ ।
रास्वपा भन्छ – नयाँ छु फेर्ने हो सरकार ? – म याँ छु । ००० ३५ वर्ष ३६ सरकार, मन्त्री बने हजारौँ विकास भएन भन्नेलाई भुइँमा बजारौँ । थुम्कैपिच्छे भ्यूटावर छन्, टोलैपिच्छे शहीदगेट भ्रष्टाचार् भो भन्ने मुखमा, टाँसिदिनू टेप ।
संविधानको संशोधन, साँच्चै हो कि नारा हो ? छिमेकीको चारा हो कि, आफ्नै पारा हो ?
गठबन्धनका गाँठाले, हाम्रा टाउका फुटाउँछन् दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन् ।
बफर जोेन बनाउन, अमेरिका आइरहने इयु पनि बेलाबेलै मुख बाइरहने ।
कालेकाले मिली बन्द, गरे अरे फायल फायल् खोलाखोलले फायल् आफैँ घायल ।
खान पिउन राउन्ड् टेबल, मातेपछि राउन्ड् किक् एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक् ।
८४ मा सबै साँढे, सिङ्गल सिङ्गल भिड्ने रे ८४ को पूजा पछि गाई छाड्ने रे ।
खुत्खुत् हाँस्थे प्रचण्ड, ठूला दल्लाई झेलाउँदै जादुमयी संख्या भन्दै चाबी खेलाउँदै ।
स्वर्ग नर्क जता गए नि, सँगै जाउँला भनेर ओली दाहाल सुते एउटै सिरक तानेर ।
लुस्स निस्की ओली गए, देउवाजीको खाटमा के भो होला नसम्झौँ भो मध्य रातमा ।
हिजोसम्म चाटाचाट, आज भयो काटाकाट लाजले गर् यो आत्महत्या जब फेरियो खाट ।
हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् कोही भैंसी दुहुन जान्छन् उतै हराउँछन् ।
हामी पनि वर्षौदेखि, भैंसी पुराण लाइराछौँ बिगौतीको सट्टा जहिल्यै गोबर पाइराछौँ । ००० भैंसी लड्यो है माया पानीजाज उडेर मेची काली है माया चुच्चे रेल गुडेर ।
दुई पल्टका राष्ट्रपति…. पार्टीतिरै फिर्ने रे नि लै लै अध्यक्ष नै खाने रे, बरु जिल्ला जाने रे कि त वडाध्यक्षै हुने रे । ००० महिला प्रधानमन्त्री भन्दै ओली चारो छर्दैछन् नि लै लै आरजु गुनगुन गर्दैछन्, मोदी कान भर्दैछन् विश्व गगन सुँकसुँक गर्दैछन् ।
कांग्रेस पार्टी भित्र पार्टी, पार्टी भित्र पार्टी छन् सबै पार्टीभन्दा माथि भाउजू बाठी छन् ।
नेता फेर्छु भन्दै काँग्रेस, धेरै वर्ष कुर्लियो युवा हँु म भन्नेको नै दाँत फुक्लियो ।
बीपी किसुन गणेशमानले, इतिहास रचेका बिँडो थाम्न आलम जोशी खाँड बचेका । देउवाजीका स्लिपिङ् पार्टनर, प्रचण्ड र ओली प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि ।
तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी दुईथान कम्निस्ट नेताले घुमाए फनफनी ।
साधु नेता धनराजले, कस्तो कला जानेका ऋणको रकम पचाउन डिभोर्स हानेका ।
माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन् किनभने प्रचण्डले दिनै चाहेनन् ।
बालुवाटारमा बसुन्जेल, दलालीको घेरामा वाममोर्चाको जोक् सुनाउँछन् फर्की डेरामा ।
कांग्रेस एमालेको टेको, लाउँदै अघि बढेका दुइटै टेको उछिट्टिँदा भुइँमा लडेका ।
लडे पनि लडेँ भन्न, लजाउँछन् प्रचण्ड आन्दोलनको प्राचिन गाना गाउँछन् अखण्ड ।
सत्ता छँदा सिंगापुर, सत्ता छाड्दा बंगलादेश छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस ।
राजा फाल्ने उर्जा थियो, थियो तिम्रो कत्रो जोश अब बन्ने वाम मोर्चामा राप्रपा नि होस् ।
००० जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै दूताबासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्, तिर्मिर तिर्मिर तारा देखिछन् ।
हप्तैपिच्छे हुँदा रैछन्, एनआरएनका अधिवेशन नि लै लै गुटैगुटमा भर्ती, देशलाई दिन्छन् अर्ती ऐना हेर्ने हो कि फर्की ।
००० मकै पोल्ने, फलफूल बेच्ने, सब्जी ल्याउने घरघरमा भुइँमान्छेलाई भुईँ नै छैन महानगरमा ।
पसिनाको गन्ध आउने, धोती कछाड दौराले नगरभित्र नछिर्नु खाउला लौराले ।
हुकुम्बासी नदी पस्दा नदी शहर पसेको सुकुम्बासी राजनीतिमा पोल्टिक्स घुसेको ।
बुढा नेता थर्कमान, हर्क – बालेन देखेर । त्यो क्रेजलाई नसिध्याऊ है फेसबुक लेखेर ।
००० वामदेव भन्ने थिए कतै बाबुराम नि थिए कतै । वैद्य, रावल, आरके, सीपी, बादल छाउँथे जताततै ।
सम्झे सम्झे जस्तो लाग्छ, बिर्से बिर्से जस्तो लाग्छ जय मधेशको नारा लाउने पार्टी थिए जस्तो लाग्छ ।
००० १२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो । सरकारले थर्काउनेकै ढाड मर्कायो ।
नपाउनेले केरा पायो, बोव्रैmसँग अड्कायो नो नट अगेन भनी भनी मन्त्री पड्कायो ।
उसले खायो त्यसले खायो, हाम्ले खान नहुने ? नयाँकाचाहिँ मुख छैन र खानै नहुने ?
भोको भन्छ वारी खाऊँ, खाको भन्छ पारी जाऊँ खानै पाको थिएन, सत्ते मरिजाऊँ ।
मत्स्य न्याय राजनीतिमा सबले तर मारेका ठुलाले चैँ साना माछा क्वाप्पै पारेका ।
म त खाँदिन टिभीको जागिर मलाई लैजाउन गृहको कुर्सीमा
हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा
भो भो भाँच्दिन नाकको डाँडी हो बचत खाँदिनँ जीबीले नबाँडी ।
०००
माओवादीका युवराज, क्रान्ति भेप बाल्दैछन् सहिदका स्वप्नलाई सुनले टाल्दैछन् ।
नेपालको सेयर बजार गिरोहले चलाउने अर्थमन्त्री लौको जत्रो नाक फुलाउने ।
छाडा साँढे पसेर, सहकारी निलेका अनुगमन गर्ने पनि त्यतै मिलेका ।
अड्डाभित्र करोडौँका, गाडी सडाइ सिध्याउँछन् वर्षैपिच्छे गाडी किन्न दाह्रा उध्याउँछन् ।
झाडीबाट फुत्त आयो, चोर हो कि भनेको लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको ?
धराप थापी भिडमा, छिर्के लाउँछन् गाडीलाई जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ ।
गाडी डुब्छन् पिलेन खस्छन्, अनिश्चित भो गन्तव्य राहत हैन सरकार बाँड्छ शोक मन्तव्य ।
प्रदेश सरकार के गर्दैछन्, कहाँ पुगे कुदेर ? कोशीले चैँ शिखर चुम्यो कार्की जुधेर ।
०००
प्रदेशमन्त्री मनाङ्गेले विश्व रेकर्ड राखेछन् नि लै लै मन्त्री खान अल्छीले राजिनामा दिएछन् मन्त्रालय नै बेच्न राखेछन् ।
हाम्रो देशका इन्जिनिएर, संसारलाई पढाउँछन् नि लै लै सुपरग्लुले टाँसेर, हवाइजहाज उडाउँछन् हँसाएरै आन्द्रा चुडाउँछन् ।
०००
अनुसन्धान विभाग – ह ह ह अख्तियार हाम्रो – हा हा हा सुरक्षित आवास – हि हि हि विपत् प्राधिकरण – ही ही ही ।
लाइसेन्स छपाइ – हु हु हु धितो बोर्ड अध्यक्ष – हू हू हू समाजवादी मोर्चा – हे हे हे स्टीकर ठेक्का – है है है ।
भ्रष्टाचार गर्दिन – हो हो हो गर्न नि दिन्न – हौ हौ हौ समृद्ध नेपाल – हं हं हं सुखी नेपाली – हः हः हः ।।
००००
चल्ने भयो दमक टावर, भो भो पिर नगर परेवा पालौँ नाम राखौँ पिजन टावर ।
प्रधानमन्त्री आफैँ खेल्छन्, मेयरसँग दोहोरी दोहोरीले सिंहदरबार भयो फोहोरी ।
चाँडो ल्याउँ समृद्धि, ख्याट्ट पारौँ बटन् धरराको गरौँ दोस्रो तेस्रो उद्घाटन् ।
भेलबाडीमा डुब्दै बग्दै, जनता गुहार माग्दैथे प्रधानमन्त्री अम्रिकामा माइक तान्दैथे ।
००० दशैं याम एक दिन ठुलो पानी पर्यो खोलानाला शहर पसी गर्नुसम्म गर्यो ।
स्यानु स्यानु छाप्रो थियो मनोहरा पारी एमालेका भाले बस्थे गुँड सारी सारी
क्वार्र कुर्र समृद्धिका उखान् सुनाउँथे गफ्का पोका फ्याँकी फ्याँकी दिन बिताउँथे ।
चुट्नसम्म चुट्यो आज पार्यो उठिबास झोलितुम्बी बोकी हिँडे खोज्नलाई बास ।
हेर तिनको दुःख देख्दा मीनको मन छोयो दस रोपनी दान पाउँदा झोलितुम्बी रोयो ।
एमालेको गुँड अब भाटभटेनी सर्ला मनमोहनको ठाउँमा मीनको फोटो पुज्नु पर्ला ।
आशिष छोरालाई जोत्न – लाजै होस् बाबुको खेत चैं – बाँझै होस् रोजगारी खोजिरउन् – छोराले खेताला खोजिरउन् – बाबुले ।
गाउँघर हाम्रा – कोमामा वृद्धाश्रम बस्छन् – बाआमा टिकटकको खेती – मौलाओस् नेपाली समाज – बौलाओस् ।
सहकारीको झैं – ढुकुटी होस् बचतकर्ता चैं – सुकुटी होस् दाम्पत्य जीवन – यस्तो होस् सहकारी डिभोर्स – जस्तो होस् ।
लोन खाई तिर्नु – नपरोस् बैंकले ल्याङल्याङ – नगरोस् यति र ओम्नी – दौँतरी हुन गरिबको कोटामा – चौधरी हुन् ।
बालमन्दिर काण्ड – छोपछाप होस् नबोलोस् सरकार – चुपचाप होस् बाँसबारी जग्गा – हराओस् चिहानबाट जुत्ता – कराओस् ।
रेमिटले मुलुक – धानियोस् युवा चाहिँ परदेश – हानियोस् युनिभरसिटी – खोल्दै जाउँ विद्यार्थी विदेश – ठेल्दै जाउँ ।
गाउँमा मान्छे – नमरोस् मलामी खोज्नु – नपरोस् सन्तानले दुःख – नपाओस् लास आफैं हिँडी – घाट जाओस् ।
दूध बेची किनौँ – कोक फेन्टा गाई भैँसी पाल्ने – के टन्टा यस्तै छ दियो – आशाको जनै र चन्दन् – खासाको ।
भोट खाने नेता – घुसतिर भोट दिने युवा – रुसतिर भासिए युुवा – नभनौँ काठका बाकस – नगनौँ ।
००० देश हाम्रो नेपालै होस्, (नहोस् लङ्का बङ्लादेश) –२ खै केले छेक्छ सुरु गर्न, (समृद्धिको रेस ?) –२ राजनीति बिग्रिए चुनावले सच्याउला समाज पथभ्रष्ट भए कल्ले बचाउला कत्ति सोध्नु एउटै प्रश्न (कत्ति खेल्नु भैलो) –२ बन्द गरौँ बिन्ति छ (देशमा भाँडभैलो) –२