काठमाडौं– इन्डोनेशियाको प्रहरीले नवजात शिशुको तस्किरी गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहको भण्डाफोड गरेको छ । यो गिरोह सन् २०२३ देखि अहिलेसम्म २५ नवजात शिशुहरूलाई सिंगापुरमा बिक्री गरिसकेको छ ।
इन्डोनेशियाको प्रहरीले यसै साता पोन्तियानाक र ताङ्गराङ्ग सहरमा गिरोहमा आवद्ध १३ जनालाई गिरफ्तार गरेको छ । तस्करीका लागि लैजाँदै गरेका एक वर्ष मुनीका छ शिशुको उद्धारसमेत प्रहरीले गरेको छ ।
इन्डोनेशियाली प्रहरीका अधिकारी सुरावनले बीबीसी न्युज इन्डोनेशियासँग भनेका छन्, ‘यी शिशुहरूलाई पहिलो पोन्तियानाकमा राखिन्छ । उनीहरूको इमिग्रेशन डकुमेन्ट तयार गरेर सिंगापुर पठाइन्छ ।’
बीबीसीले यसबारे सिंगापुर प्रहरी र गृह मन्त्रालयसँग प्रतिक्रिया मागेको थियो । तर, अहिलेसम्म कुनै जवाफ भने पाइसकेको छैन ।

कसरी काम गर्छ गिरोह ?
प्रहरीका अनुसार यो गिरोहले आफ्नो बच्चा पाल्न अनिच्छुक आमा–बुवा अथवा गर्भवती महिलालाई निशाना बनाउँथ्यो । प्रायः उनीहरूले सामाजिक सञ्जाल फेसबुकममार्फत् सम्पर्कको सुरुवात गर्दथे । विस्तारै कुराकानी अघि बढ्दै गएपछि गिरोहका सदस्यहरूले ह्वाट्सएपजस्ता निजी एप्समार्फत् सम्पर्क पढाउँथे ।
प्रहरी अधिकारी सुरावनले भने, ‘केही शिशुको हकमा गर्भमै सबै कुराहरू तय गरिन्थ्यो । जब बच्चा जन्मिन्थ्यो, डेलिभरीको खर्च गिरोहले गथ्र्यो । अनि परिवारलाई मुआब्जा स्वरुप पैसा दिएर बच्चा लगेर जान्थे ।
प्रहरीका अनुसार गिरोहमा संलग्न वयक्तिहरूलाई फरक–फकर जिम्मेवारी दिइन्छ । जस्तो कि कसैलाई बच्चा खोज्ने, कसैलाई बच्चा घरमा राख्ने, कसैलाई बच्चाको रेखदेख गर्ने । कसैले नक्कली कागजातहरू तयार गर्दथे ।
शिशुलाई आमाबाट अलग गरेपछि दुईदेखि तीन महिनासम्म ‘केयरटेकर’ सँग राखिने गरिन्थ्यो । त्यसपछि जाकार्ता र फेरि पोन्तियानाक ल्याइन्थ्यो । पोन्तियानाकमा शिशुको जन्मदर्ता प्रमाणपत्र, राहदानी (पासपोर्ट) र अन्य दस्तावेजहरू तयार गरिन्थ्यो ।
तीन शिशुलाई ११ देखि १६ लाख इन्डोनेशियाली रुपैयाँ (झण्डै ६७३ देखि एक हजार डलर) मा बिक्री गरिन्थ्यो । प्रहरी पक्राउ गरेका केही व्यक्तिले अहिलेसम्म १२ बालक र १३ बालिकालाई देशभित्र र देश बाहिर बिक्री गरिएको बयान दिएका छन् । ती बच्चाहरू पश्चिम जावा प्रान्तका अलग–अलग जिल्ला र सहरहरूबाट ल्याइएका थिए ।
आमा–बुवाले बच्चा किन बेच्छन् ?
प्रहरी अधिकारी सुरावनले शिशुको तस्करी गर्ने समूह र आमा–बुवाबीच भएको सम्झौताका माध्यमबाट बेचबिखन भएको पाइएको जानकारी दिएका छन् । उनले हालसम्म बच्चा अपहरण गरेर बेचबिखन गरिएको कुरा कतैबाट नआएको पनि बताएका छन् ।
सुरावनले शिशु बेचबिखनमा संलग्न गिरोहले सम्झौताअनुसार रकम नपाएपछि मौ अपहरणको उजुरी प्रहरीमा दर्ता भएको पनि बताए । आर्थिक समस्याका कारण आमा–बुवाले आफ्ना बच्चा बेच्न तयार हुने गरेको प्रहरीको आशंका छ ।
सुरावनले बच्चा बिक्री गर्ने आमा–बुवाविरुद्ध आपराधिक मामिला दर्ज गर्न सकिने बताएका छन् । ‘यदि, आमा–बुवा र आरोपीबीच कुनै सम्झौता भएको प्रमाणित भए उनीहरूविरुद्ध बाल संरक्षण कानुन र मानव तस्करीमा मुद्दा चलाउन सकिन्छ,’ उनले भने ।
इन्डोनेशियाको प्रहरीले विदेशमा रहेका गिरोहका सदस्य र शिशु खरिद गर्ने व्यक्तिहरूलाई पक्राउ गर्नका लागि इन्टरपोल र सिंगापुर प्रहरीसँग सहयोग मागेको छ ।
इन्डोनेशियामा गर्भपतनलाई कानुनी मान्यता दिइएको छैन । तर, कुनै विशेष परिस्थिति (मेडिकल इमरजेन्सी वा बलात्कार) मा भने छुट दिइएको छ । शिशुको तस्करी गर्ने गिरोहले प्रायः आफूलाई महिला र बालबालिकालाई सहायता गर्ने मेटरनिटी क्लिनिक, अनाथालय र सामाजिक सहायता केन्द्रका रूपमा पेस गर्दै आएको थियो ।
–बीबीसीबाट
प्रतिक्रिया