काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्यायको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसद्मा सेना पठाउनु भएको थियो, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्यायो ।
उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो । तर, कानुनी प्रक्रिया अनुसार मार्च महिनामा उनलाई अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता उनलाई फेरि सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुनः पक्राउ गरिएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उनले पूरा गरेका थिएनन्।
अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गरेका थिए, तर जुलाई १८ मा अदालतले उनको अनुरोध अस्वीकार गरेको छ ।
हाल उनलाई तापक्रम निकै बढेको बेलामा, पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ ।
प्रतिक्रिया