लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ ।
पूर्वी हलिउडमा १०० भन्दा बढी उद्धारकर्मीहरूले घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरी अस्पतालमा पठाएका छन् ।
घाइतेमध्ये तीन जनाको स्वास्थ्य अवस्था निकै गम्भीर, छ जनालाई गहिरो चोट लागेको र अन्य १९ जना सामान्य घाइते भएका अग्नि विभागले जनाएको छ ।
यसअघि अधिकारीहरूले चारदेखि पाँच जनाको अवस्था गम्भीर रहेको उल्लेख गरेका थिए ।
एबिसी न्यूजले विभागका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “प्रारम्भिक अनुसन्धानमा एक चालक सवारी साधन चलाइरहेको समयमा बेहोस भएको र रात्रि क्लबबाहिर ठूलो भीडलाई ठक्कर दिएको देखिएको छ । यद्यपि, यो तत्काल पुष्टि हुन सकेको छैन ।
यो घटना भएको क्षेत्र सूर्यास्त बुलेवार्ड र वाक अफ फेमजस्ता हलिउड स्थलहरूको नजिक रहेको छ ।
प्रतिक्रिया