देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

October 07, 2023

 दिनभर आजमा प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’, कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा, कैद मिनाहा दिने कानुनी व्यवस्था गलत : महामन्त्री शर्मा, मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह, प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए  । 

कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणबारे ‘ब्रिफिङ’ राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

कैद मिनाहा दिने कानुनी व्यवस्था गलत : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको छ : प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प स् समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उनले मुलुकमा देखिएका संकटभर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

मुलुकको आर्थिक क्षेत्रका संकट समाधान गर्न अध्यक्ष नेपालको आग्रह नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट, जनजिविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभई स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्री डा महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण अर्थमन्त्री डा प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन् । आज देवघाट पुगेका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन् ।

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता : परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

चाबहिल स्थित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताए ।

कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : शेखर कोइराला नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताए।

सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए ।