देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

September 10, 2023

दिनभर आजमा ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश, सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा,काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी, निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड, सेयर बजारमा आइतबार सामान्य सुधारलगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

सेवा ठप्प पार्ने चेतावनी दिँदै विमानस्थल भन्सारका कर्मचारीले गरे आन्दोलनको घोषणा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सेवा ठप्प पार्ने चेतावनीसहित आन्दोलन घोषणा गरेका हुन् ।

आन्दोलन घोषणा गर्दै कर्मचारीहरूले आइतबार विरोधस्वरुप तीन घण्टा पेन डाउन गरेका छन् भने भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी

नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ ।

सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म द्रुत मार्गको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो ।

निरंकुश राजतन्त्रका दलाल र भ्रष्ट गुण्डाले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने : प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरु र भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको टिप्पणी गरेका छन् ।

मकवानपुरको हेटौँडामा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरू, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी हानेको घटना सामान्य नभएको बताए ।

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन परिसङ्घको सुझाव

आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई परिसङ्घको सुझाव हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष अग्रवालले १६औँ योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन् ।

उनले निर्वाचनका बेला भिन्नभिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने बताए ।

सेयर बजारमा आइतबार सामान्य सुधार

निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ । यस दिन नेप्से सूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको छ ।

४ कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ ।