देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

September 16, 2023

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान, कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई, प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, बाबुराम भट्टराई भारत प्रस्थान, गैह्रीगाउँ हत्या प्रकरण : एसएसपीको नेतृत्वमा छानविन समिति गठन, पोखरीमा डुबेर दुई बालिकाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखरप्रतिनिधिलगायतले बिदाइ गरे ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए ।

बागमती प्रदेशसभा बैठक : विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा : ओली नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक प्रतिकुल अवस्थामा रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा विद्यार्थीहरूको अन्तरक्रियामा ओलीले गठबन्धन सरकारका कारण सुशासन, विकास लगायतका हिसाबले देश अत्यन्तै प्रतिकुल अवस्थामा रहेको बताएका हुन् ।

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन् ।

गोरखा सदरमुकाममा आज आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए ।

‘सरकार र राखेपले सहयोग गरे नेपालमा पिकलबलको सम्भावना अत्यन्तै राम्रो’ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।

पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल(सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

बाबुराम भट्टराई भारत प्रस्थान नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत गएका छन् ।

नेपाल समाजवादी पार्टी(नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराई आज भारत प्रस्थान गरेका हुन ।

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक :महासचिव पोखरेल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए।

गैह्रीगाउँ हत्या प्रकरण : एसएसपीको नेतृत्वमा छानविन समिति गठन काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।

प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो ।

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।