आर्थिक

अर्थसंक्षेप : ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधिको भेटवार्तादेखि नेप्सेमा झिनो अंकको करेक्सनसम्म

By खबरहब

August 01, 2024

काठमाडौं– दिनभर आज ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधिको भेटवार्ता, मुखमा मास्क र टेप टाँसेर सडकमा उत्रिए सहकारी पीडित, आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व, नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार, सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक, आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रहलगायतका आर्थिक समाचार प्रकाशन भए ।

ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधिको भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए। उनले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए।

मुखमा मास्क र टेप टाँसेर सडकमा उत्रिए सहकारी पीडित (तस्बिरहरू)

आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै देशभरका सहकारी पीडितहरूले बिहीबार काठमाडौंमा अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् ।

देशभरबाट आएका सहकारी पीडितहरूले मानव साङ्लो बनाएर काठमाडौंको सडकमा मार्चपास गरेका हुन् ।

सहकारीमा समस्या समाधानका लागि भएको सहमति ६५ दिन पुग्दा पनि कार्यान्वयन भएको भन्दै सहकारी पीडितहरूले मानव सांङ्लो बनाए विरोध गरेका हुन् ।

सहकारी बचत संरक्षण राष्ट्रिय अभियानले रत्नपार्कबाट मानव साङ्लो बनाउँदै पीडितहरूलाई सडकमा उतारेको हो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व

आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार

साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ ।

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ ।

बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ ।

प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ ।

सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन् ।

जबकी गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए । यसवर्षको जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटनले नेपाल भ्रमण गरेका छन् ।

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् ।

श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए ।

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

पाँच वर्षदेखि धनगढी उपमहानगरको आन्तरिक आयमा वृद्धि

धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्यांक अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०७६-७७ देखि गत आवसम्मको पाँच वर्षको अवधिमा हरेक वर्ष आन्तरिक आम्दानी बढ्दै गएको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।