अन्तर्वार्ता

चौधरीको गिरफ्तारीपछि प्रहरीको इमेज बढ्यो : पूर्वडीआईजी‍

By खबरहब

February 02, 2024

काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुखसमेत रहेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले उद्योगपति अरुणकुमार चौधरीको गिरफ्तारीपछि जनतामा प्रहरीको इमेज राम्रो बनेको बताएका छन् ।

ठूला व्यापारीहरु शक्तिकेन्द्रकै रुपमा रहेका कारण यसमा सरकारले खुट्टा कमाउने स्थिति आयो भने पनि प्रहरीले अनुसन्धान अघि बढाइसकेका कारण अब चौधरी सहजै नछुट्ने उनको विश्लेषण छ । चौधरीले सरकारी जग्गा हडपेको प्रमाणहरु नै मिडियामा बाहिर आइसकेको उनी बताउँछन् ।

चौधरीको गिरफ्तारीले जनतामा प्रहरीप्रति विश्वास बढेको बताउँदै पूर्वडीआईजी मल्लले भने, ‘यसले सामाजिक सञ्जालमा प्रहरीप्रतिको इमेज बढाउने काम गरेको छ ।’ तर, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूला माछा पक्राउ पर्न लागेको भनेर पहिल्यै भाषण गर्नुले भने केही आशंका जन्माएको मल्लको विश्लेषण छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सीजी कम्पनीका मालिक चौधरीको गिरफ्तारीपछि उत्पन्न हुन सक्ने सम्भावित परिदृश्यका साथै सीआईबीले अहिले कस्तो अवस्थामा काम गरिरहेको छ भन्नेबारे रेडियो क्यान्डिडका लागि कृष्ण तिमिल्सिनाले पूर्वडीआईजी मल्लसँग गरेको कुराकानीको सम्पादित अंश –

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अपचलनमा सीआइबीबाट अरुणकुमार चौधरी पक्राउ परे । तर, उनलाई छुटाउन अहिले सत्ता गठबन्धनका नेताहरुको दौडधुप सुरु भएको छ । प्रहरीले काम त गर्‍यो, अब आजको मितिमा यसको सम्भावित परिदृश्य के देखिन्छ ?

यसमा ०४६ सालपछि नै पटक–पटक बेतिथिहरू आइरहेका हुन् । यसपटक केही सञ्चारमाध्यमहरुले प्रमाण बाहिर राखेर प्रहरीले अनुसन्धान नै गर्न नपर्ने गरी ल्याइदिएका छन् ।

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?

अरुण चौधरी को हुन् ?

मलाई लागेको एउटा कुरा, कहीँ ‘चुज एण्ड पिक’ भइरहेको छ कि ? अनुसन्धानको कुरा तलबाट आउनुपर्ने, प्रहरीको निकायबाट आउनुपर्ने कुरा केही दिनदेखि प्रधानमन्त्रीको भाषणमा, गृहमन्त्रीको सम्बोधनमा सुनिरहेका छौँ । यदि त्यो हो भने कतै ‘चुज एण्ड पिक’ भएको हो कि भन्ने आशंका हो । तर, यो अनुसन्धानका प्रमाणहरू सबै कुरा हेर्दा यो सफल हुन्छ भन्ने हामीले आशा गर्नुपर्छ ।

केही सञ्चारमाध्यमहरूमा केही वर्षयता लगातार यसका सन्दर्भहरू, त्यतिबेलाका कागज पत्रहरू सबै प्रमाण सार्वजनिक भइसकेको अवस्थामा पक्राउ परेको देखिन्छ । तर, पक्राउ परेलगत्तैको दौडधूप हेर्दा यसमा प्रहरीले टुंगो लगाउन सक्ला ? वा लगाउन दिइएला ?

हात थाम्न गार्हाे हुन्छ । तर, आइसकेपछि अप्ठ्यारो हुँदैन । यो केश त अरुभन्दा फरक तरिकाले हेर्नुपर्छ । यहाँ प्रमाणहरू धेरै सङ्कलन गर्नुभन्दा पनि धेरै प्रमाणहरू भइरहेको हो । अब हेर्नुपर्ने भनेको माथिको र तलको संलग्नताका कुरा हो । यो यहीँ टुङ्गिएको हो कि मन्त्रिपरिषदमा गएर टुङ्गिएको हो ? कि सचिवस्तरीय निर्णयबाट टुङ्गिएको हो कि ? अब त्यही पार्ट मात्र बाँकी छ जस्तो लाग्छ । तर, अब त्यति अप्ठ्यारो पर्लाजस्तो लाग्दैन ।

विगतको अनुभवले के भन्छ ? यसपटक पनि प्रहरीले अनुसन्धान त गर्ला तर अनुसन्धान गरिसकेपछि अनुसन्धानकर्ताहरू नै राजनीतिको एम्बुसमा पर्ने पो हुन् कि ?

हो । तर एम्बुसमा पर्छन् भनेर पनि अनुसन्धानहरू अगाडि बढेका छन् । जे मुद्दा भए पनि हरेक मुद्दाको आफ्नै प्रकृति छन् । आ–आफ्नै प्रकृतिका मानिसहरूको संलग्नता छ । यसमा दुई कुरा, ती केशहरू उठान हुनु नै ठूलो कुरा हो । यसमा क्याबिनेटका मान्छे, मन्त्री, प्रधानमन्त्रीहरू मुछिएका छन् तर समस्या भनेको सत्ता गठबन्धनका टप प्लेयरहको नाम आउन थालेपछि बिग्रिएको हो कि भन्ने भान पर्ने हो ।

तर, आशा लाग्ने कुरा भनेको चाहे त्यो ललितानिवास होस् वा अरु ईश्युहरु हुन्, त्यसका व्यक्तिहरू जुन फरार छन्, अहिले मुद्दा टुङ्गिएको त छैन । त्यो टुङ्गिएन भनेपछि टुङ्गिएला वा कतै न कतै त पुग्छ ।

अर्को, सुनकाण्डको पनि अनुसन्धान भएर अदालतमा मुद्दा पुगेको छ । तर, अहिले आयोगले मुद्दा चलाउने र सरकारी निकायलाई बोलाएर मुद्दामा कमी कमजोरी किन भयो भने भनेर प्रश्नहरू उठाइरहेको छ । त्यसैले आशा राख्नुपर्छ ।

विगतका अनुभव हेर्दा संशय र आशंकाचाहिँ कहाँबाट उब्जिन्छ ?

‘चुज एण्ड पिक’ भइरहेको छ कि भन्ने एउटा संशय भएको छ । किनकि प्रधानमन्त्रीले ठूलो माछा आउँदैछ भनेर किन बोल्ने ? मन्त्रीहरू किन बोल्ने ? यो त कानून कार्यान्वयनको कुरा हो । जसले कानून पालना गर्छ, जसले कानूनी अनुसन्धान गर्छ, उसको कुरा हो । त्यो हुन सक्छ । भोलि शंका हुने ठाउँ भनेको, जस्तो– अहिले भारतमा सीबीआई भनेको सरकारको टुल हो कि भन्ने न्यारेटिभ विकास भइसकेछ । भोलि यहाँ पनि त्यस्तै होला भन्ने डर हुन्छ ।

यी र यस्ता निकायका अहिलेका अनुसन्धानको प्राथमिकता वा अनुसन्धान प्रतिवेदनहरू काहीँ न काहीँबाट राजनीतिक स्वार्थले प्रभावित र प्रेरित छन् कि भन्ने आशंका हो ?

हो । किनकि जे जति बेतिथि भएको छ, तिनका बारेमा उजुरी दुनियाँ ठाउँमा परेका छन् । धेरै अख्तियारमा पर्छन् । पुलिसमा उजुरी धेरै पर्छन् । मन्त्रालयमा पनि पर्छन् । प्रधानमन्त्री कार्यालयमा पनि पर्छन् । यसमा अख्तियारले एक हप्तासम्म अनुसन्धान गर्छ । कसैले पनि एक हप्तासम्म अनुसन्धान गर्छ नि । तर, त्यो अनुसन्धान प्रभावित नहोस् भन्ने हो । ‘चुज एण्ड पिक’ हुन्छ कि भन्ने डर हो । मन परेकोलाई चुज गर्ने र मन नपरेकोलाई पिक गर्ने, यसो गरेमा संस्थाहरूप्रति मान्छेले विश्वास गर्दैनन् ।

हाम्रो अख्तियार दुरुपयोग अनुसन्धान वा सीआइबीका बीचमा यी र यस्ता अनुसन्धान प्रक्रियाका सन्दर्भमा समन्वयको अभाव छ कि छैन ? समन्वयको अभाव छ जस्तो लाग्दैन । सबै समन्वयमा चलेको छ । किनकि अख्तियारले हेर्ने भनेको दुरुपयोग हो । उसको अधिकार अख्तियार दुरुपयोग हेर्ने हो, उसले ठगीको मुद्दा चलाउँदैन । यदि यो मुद्दा अख्तियारमा गएको भए ठगी र कीर्तेेको कुरा एक साइडमा हुन्थ्यो होला । यहाँ प्रहरीले ठगी र किर्तेमा चलाइरहेको छ । सरकारी सम्पत्ति भएकाले भोलि यो मुद्दा अझ लम्बिन्छ ।

यसमा अरु व्यक्तिहरूको संलग्नताका कुराहरू अख्तियारमा गएर आउँछ । त्यसैले दुई एजेन्सी यसमा संलग्न हुन्छन् । म सीआइबीको प्रमुख र अख्तियारको प्रहरी प्रमुख भएर बस्दा पनि कोअर्डिनेशनमा समस्या देखिँन । किनकि आफ्नो क्षेत्र त्यहाँ तटस्थ छ ।

यस्ता घटनामा सरकारी संयन्त्रहरूले प्रहरी अधिकारीको मनोबल बढाउने काम गरेका छन् कि घटाउने ?

मनोबल बढाउने काम गरेको जस्तो लाग्दैन । किनकि अनुसन्धान अगाडि जानु भनेको यसले माइलेज पाउने हो । त्यसले एक किसिमले असर गर्ला । तर, हाईप्रोफाइलका व्यक्तिहरू यसमा संलग्न भएपछि सरकारले आफ्नो क्षमता देखाउन थाल्यो भनेचाहिँ असर गर्छ ।

तर, यसमा दुईवटा पाटा छन् । यसमा हात हाल्नु भनेको यसले मनोबल बढ्छ, किनकि यसले म्यासेज त राम्रो गएको छ । दुई दिनदेखि एयरपोर्टका घटना वा जनतामाथि गोली प्रहारका कुरा भएपछि जनता प्रहरीप्रति खनिएका थिए । यसले सामाजिक सञ्जालमा प्रहरीप्रतिको इमेज बढाउने काम गरेको छ ।

राजनीतिक इच्छाशक्तिमा भने अझै समस्या छ कि ?

छ । त्यहाँ राजनीतिज्ञहरू कन्फ्युज्ड छन् । यिनीहरू प्रष्ट पनि छैनन् । हरेक कुरालाई सत्ताको गल्तीसँग जोडेर हेर्छन् । व्यापारीको कुनै राजनीतिमा संलग्नता भयो होला । अहिले व्यापारिक समुदाय शक्ति केन्द्रहरूमा विकास भएका छन् । त्यसका लागि अस्ति भर्खर ३३ किलो सुन काण्डको फाइल नै गायब भएको छ । त्यो सरकारले र आयोगले खोजिरहेको छ । राजनीतिक स्वार्थ त्यहाँ छ । शक्तिकेन्द्रहरू ती हुन्, जसले सरकार बनाउँछन् । दुईजनाको झगडा भएपछि मिलेमतो गराइदिन्छन् ।

अहिलेको कुनै राजनीतिक स्वार्थसँग प्रेरित भएर यो फाइल अगाडि बढेको हो कि ? प्रधानमन्त्रीले म अझै ठूलोलाई समात्न चाहन्छु भनेका छन् । गृहमन्त्रीको भनाइ पनि त्यस्तै छ । यो कतै राजनीतिक खटपटसँग जोडिएर आएको विषय हो कि ?

शंका गर्ने ठाउँ छ । किनकि, यो केश अहिलेको हैन । ०४३ सालदेखिकै केश हो । जुन छाला जुत्ता कारखाना खारेज भयो, चलखेल त ०४३ को ईश्युपछि बढेका हुन् । यसमा ठूलाठूला व्यक्ति जोडिएका छन् । व्यापारीहरू पनि यो पार्टीको कित्ता भनेर बाँडिएका छन् । त्यस कारण व्यापारीको त्यो कित्तालाई पनि जवाफ दिनका लागि प्रयोग हुन सक्छ ।

जस्तै- नविल बैंङ्कको बाहिरबाट पैसा आएदेखि उजुरी परेको छ । बंगलादेशमा त त्यो मुद्दा टुंगिइ पनि सकेको छ । त्यो आफूलाई सजिलो हुने गरी अनुसन्धान गर्ने हो कि, जुनबेला उजुरीको आएको छ, त्यही समयमा त्यसलाई टुङ्गो लगाउने हो ? समयमा टुङ्गो लगाइएन भने शंका गर्ने ठाउँ त्यही बन्छ ।

अरुण चौधरीको गिरफ्तारीप्रति निजी क्षेत्रले आपत्ति जनाएको छ, अब यसले के सन्देश जाला ? अब के होला जस्तो लाग्छ ?

बैङ्किङ क्षेत्र, व्यापारिक क्षेत्र भनेको सरकारलाई ठूलो ट्याक्स तिर्ने हुन्, त्यसैले त्यहाँ हात हाल्नुहुँदैन भन्ने छ । देशको निर्यात लगायतमा संलग्न हुने उनीहरू नै हुन्, त्यहाँ हात हाल्दा अलि विचार गर्नुपर्छ । तर, अर्को ठुलो ट्याक्सको नीतिको कुरा होला । अस्ति भर्खरै माओवादीको अर्थमन्त्री हुँदा व्यापारिक टोली नै भित्र गएर करका रेटहरू परिवर्तन गरेका कुरा छन् । यसमा तर्सिनुपर्ने तिनीहरू नै हुन् ।

समग्र व्यापारि समुदायमा इमानदारिताका साथ काम गरेको भए किन तर्सनुपर्‍यो त ? एउटा ठूलो व्यापारिक समूहमा जग्गा कब्जा गरेका उजुरीहरू छन्, बाल मन्दिरको जग्गाका कुरा प्रमाणसहित आइरहेका छन् । व्यापारिक समूहलाई सरकारले विश्वासमा लिन चाहिँ जरुरी हुन्छ ।

यस्ता घटनाको अनुसन्धानका सन्दर्भमा प्रहरीभित्र आन्तरिक रूपमा प्राविधिक हिसाबबाट वा क्षमताका हिसाबले कस्ता–कस्ता समस्यासँग जुध्नुपरिरहेको छ ?

यस्ता किसिमका ठूला ठूला केसको अनुसन्धान गर्नका लागि, संगठित अपराधको अनुसन्धानका लागि एउटा विशेष सङ्गठन र टोलीको आवश्यकता पर्छ, त्यो समस्या देख्छु म ।

अर्को, तीन–तीन महिनामा हिँडिरहने कर्मचारीको स्थायित्व र साधन स्रोतको पर्याप्तता नहुँदा पनि नेपाल प्रहरीमा समस्या छ । सीमित स्रोत र साधनले अहिले जे गरिरहेको छ, त्यसको तारिफ नै गर्नुपर्छ ।

नेपाल प्रहरीको बजेट ९२.५ प्रतिशत तलब र राशनमा जान्छ । ७ प्रतिशत भनेको अफिसको बजेट पनि होइन, त्यसले घर, गाडी किन्छ । भनेपछि साधन स्रोतको कमी छ । ल्याब प्रविधिका कुराहरूमा सरकारले ध्यान दिनुपर्छ ।

विगतमा अनुसन्धान गर्ने क्षमतावान् प्रहरीलाई सरुवा गरियो र मनोबल गिराउने काम गरियो भनेर पनि आएका छन् नि ?

कहिलेकाहीँ झुक्किएर पनि सक्षम मान्छे यताउता हुन्छ । समय र वातावरण अनुसार ठाउँ पाएका छन् । तर, प्रहरी संगठन राजनीतिको मुठ्ठीमा छ र उनीहरू आफ्नो स्वार्थमा बढी प्रयोग गर्छन् । किनकि अहिले एउटा एसपी, एसएसपीको बढुवाको कुरा आएको छ । सरकारले कार्यक्ष्मताका आधारमा गर्ने कि बरिष्टताका आधारमा गर्ने भनेको छ । यो पनि निर्णय गर्ने कुरा हो र ? यो भनेको आफ्नो मान्छे जहाँ छ, त्यहीँबाट सुरु गर्ने उनीहरूको उद्देश्य यहाँबाट झल्किन्छ । यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

प्रहरीको कार्यक्षमतातिर भन्दा पनि यो विशिष्ट हिसाबबाट पहिला आएको हाम्रो क्षमता जे भए पनि माथि लैजाउँ भनेजस्तो मनोदशा राजनीतिज्ञमा देखिएको हो ?

आफ्नो मान्छे पछाडि छ भने कार्यदक्षता देखाएर अगाडि लगिदिने । यदि आफ्नो मान्छे बरिष्ठतामा छ भने त्यसबाट गराउने, यो दुईवटामा खेल्ने कुरा हो ।

अहिले वित्तीय अनुशासन र सूचना प्रविधिसँग जोडिएका अपराधमा प्रहरीलाई अनुसन्धान अघि बढाउन अप्ठ्यारो प¥यो भनिरहँदा यो सन्दर्भमा हामीले दक्ष जनशक्तिको विकास गर्ने अवसर प्रहरीलाई दिएका छौँ कि छैनौँ ?

दिएको छैन । किनकि अहिले बैङ्किङ मुद्दा सबै प्रहरीले हेर्छ । गर्दा गर्दा अवस्था के आयो भने सहकारीवाला ईश्यु त बैङ्कभन्दा ठूलो हुन थालिसक्यो । त्यो पनि प्रहरीले हेर्ने कि भन्ने कुरा छ । मिटरब्याजवाला कुरा पनि प्रहरीले हेर्ने कि भन्ने कुरा आयो । प्रहरीमा यस्तो कुराको सीआईबी भित्र सानो युनिट छ । तिनीहरूले भ्याईनभ्याई काम गरेर पनि त्यो टुंग्याइरहेका छन् ।

मेरो बिचारमा अब वित्तीय अपराध हेर्ने छुट्टै निकाय बनाउने हो कि ? वित्तीय निकाय मात्र बनाएर हुँदैन, त्यही किसिमको म्यानपावर ल्याउनुप¥यो । ६÷५ महिनामा सुरुवा गरिन्छ, त्यसले स्थायित्व पनि हुँदैन । यी कुरामा ध्यान नदिएर यदि अहिलेकै अवस्थामा बढ्दै जाने हो भने सानो गधालाई ठूलो भारी बोकाइदिदाँ त्यो गधा त खच्किन्छ । त्यो अवस्था नआओस् ।

आजका दिनमा सिंगो प्रहरीप्रति नागरिकहरूको सेवा गर्न जाउँ भन्न आकर्षण बढेको छ कि घटेको ?

घटेको छ । किनकि प्रहरीले दुईवटा अध्ययन गरेको छ । तल्लो तहमा गरेको अध्ययनमा जुन कुरा सोचेर उनीहरू नेपाल प्रहरीमा आए, त्यो नपाउनेको संख्या ९२ प्रतिशत छ । बाँकीले मात्रै पाएका छन् । उनीहरूले आफूले सोचेको जस्तो नपाउँदा निराशा छाउँछ र आकर्षण घट्छ ।

सरकारले त्यो किन भयो त भनेर समाधान गरेको भए मान्छेमा आकर्षण बढ्छ । आकर्षण भएन भने मान्छे त आउँछन् तर जुन किसिमको म्यानपावर हामीले सोचेका छौँ, त्यो किसिमले आयो कि आएन भनेर सोच्ने हो ।

जागिर खाने सयमध्ये ९० जना खुसी छैनन् भने १० जनताबाट के काम लिन्छ सिंगो संगठनले ? आन्तरिक रूपमा प्रहरी संगठनले यसमा केही सुधार गर्न सकेको छ कि छैन ?

बिना स्रोत साधन जे उसँग आवद्ध छ, त्यही किसिमले पहिला पनि गरेको थियो र अहिले पनि गरिरहेको छ । तर, कति कुराहरू प्रहरीले चाहेर पनि हुँदैन । विकासका, स्रोत साधनका कुरामा सरकार जोडिन्छ । त्यसैले यस्ता कुरामा सरकारले ध्यान दिनुपर्छ । प्रहरीले आफ्नो तवरबाट त गरिरहेको छ ।

अहिले भएको सीमित साधन स्रोत, अधिकार र राजनीतिक हस्तक्षेपको हिसाबबाट हेर्दा सीआइबीले जे गरिरहेको छ, त्यो पर्याप्त छ त ?

सीआइबीले हाइप्रोफाइलवालामा जे गरिरहेको छ, त्यो पर्याप्त छ । जिल्ला जिल्लाका चौकीले जसरी मुद्दा उठाइरहेका छन्, त्यसलाई पनि हामीले प्रशंसा गर्नुपर्छ । स्रोत छैन, साधन छैन, पैदल हिँडिरहेका छन् । त्यसैले जे गरेका छन्, राम्रो नै गरेका छन् ।