आर्थिक

अर्थसंक्षेप : बीपी राजमार्ग दशैंअघि नखुल्ने, नेपालको बिजुली बंगलादेश निर्यातको तयारी

By खबरहब

October 03, 2024

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । यता,मनास्लु (८१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । यस्तै,आजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । यसरी नै नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा–कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दशैंअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो ।

त्यसको विकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सुचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् ।

उक्त सडकखण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेकाले पर्खाल नै उठाउनुपर्ने देखिएको उनले बताए ।

मनास्लु हिमाल आरोहणमा आकर्षण

मनास्लु (८१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ मनास्लु आरोहणका लागि विगत वर्षझैँ मनास्लु आरोहणमा यस वर्षको शरदऋतु (अटम सिजन)को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् ।

यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । ‘मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ‘, उनले भने, ‘मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एकदुई दिनमा मनास्लु आरोहण सकिन्छ ।’

प्रथम स्याउ मेला सुरु, ३७ भेराइटी डिस्प्लेमा

आजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गरेको मेला होटल मनाङमा सुरु भएको हो ।

आगामी शनिबारसम्म चल्ने उक्त मेलामा ३७ वटा भेराइटी डिस्प्ले गरिएको किसान भेन्चरका सीईओ राजेश कार्कीले जानकारी दिए । यद्यपि, केही भेराइटी भने बाटोमै रोकिएको उनको भनाइ छ ।

‘धेरै भेराइटीका स्याउ आइसकेका छन् । तर केही भने बाढीपहिरोका कारण अवरुद्ध सडकका कारण बाटोमै रोकिएका छन्, साँझ–भोलि बिहानसम्म सबै आइपुग्छु’ उनले भने ।

ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध

जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युत्को खम्बामा क्षति पु¥याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिए ।

‘झोलुङ्गे पुलसँगै विद्युत्का चार वटा खम्बामा बाढीले क्षति पुर्याएको छ’, उनले भने, ‘खम्बामा टाँगिएका सबै तार त्रिशूली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

च्याङ्ग्राको मूल्य घट्यो, दश हजार च्याङ्ग्रा बिक्री हुने अनुमान

दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ ।

च्याङ्ग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरूले नै बिक्री मूल्य घटाएका हुन् । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका व्यापारी टसी छेवाङ गुरुङले यसपालि ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए।

‘ठाउँ अनुसार पाँच देखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौ,’ उनले भने ‘गत वर्ष काठमाडौँ पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपालि ४५ हजार भन्दा कम हुन्छ ।’

गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए ।

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सार्वजनिक गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ । आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, त्रिपक्षीय सम्झौतामा आज हस्ताक्षर हुँदै

लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ ।

दुई देशका उच्च अधिकारीबीच विद्युत खरिद बिक्री सम्झौतामा आज हस्ताक्षरको तयारीपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको प्रवक्ता चटौतले जानकारी दिए ।

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।

पाइपलाइन र भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीबार भारतको दिल्लीमा सम्झौता भएको निगमले जानकारी दिएको छ । यो सम्झौताअुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारास्थित अमलेखगन्जको पाइपलाइन चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह बनाउन इन्डियन आयल कर्पोरेसनले करिब १५ अर्ब अनुदान दिने भएको छ।

सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।