देश/प्रदेश

इलाममा ४२२ मतदाता थपिए

By खबरहब

April 05, 2024

इलाम- आगामी बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावका लागि निर्वाचन आयोगले मतदाता संख्या टुंगो लगाएको छ । बझाङको प्रदेशसभा उपचुनावका मतदाताको पनि संख्या टुंगो लागेको छ ।

निर्वाचन आयोगका अनुसार इलाम क्षेत्र नम्बर २ मा गत वर्षभन्दा ४२२ जना मतदाता थपिएका छन् । गत ०७९ को चुनावमा यस क्षेत्रमा १ लाख १५ हजार ४६७ जना मतदाता थिए । यसपटकको उपचुनावमा कुल मतदाता संख्या १ लाख १५ हजार ८८९ पुगेको छ ।

त्यस्तै बझाङको उपनिर्वाचनमा गतवर्षको भन्दा ६३८ जना मतदाता थपिएका छन् । बझाङको प्रदेशसभा १ मा ६१ हजार ७४८ जना मतदाता कायम भएका छन् ।

यसैवीच निर्वाचन आयोगले ०८१ साल बैशाख १४ गते १८ वर्ष उमेर पुग्ने जनसंख्याका आधारमा देशभरिका मतदाताहरुको अन्तिम नामावली टुंगो लगाएको छ ।

आयोगका अनुसार ०७९ यता देशभरि ८७ हजार ४१७ जना नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार काठमाडौंलाई समेत उछिन्दै मोरङमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । मोरङ जिल्लामा सबैभन्दा बढी अर्थात ७ लाख ३९ हजार ३९०  मतदाता कायम भएका छन् ।

मनाङ जिल्लामा सबैभन्दा कम ६ हजार ८४९ मतदाता कायम भएका छन् ।

यो पनि- गृहमन्त्री रवि लामिछाने आज निर्वाचन आयोग जाँदै