झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा गत असोज ६ गते झापामा आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले भारतीय ट्रक चालकलाई बाहिर निस्किन नदिई असोज ६ गते डब्लु- बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको क्रममा भारतीय ट्रक जलाएका थिए ।
आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने ४० वर्षीय प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रसाईं नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
घाइते चालकको बीएण्डसी अस्पतालमा उपचार गरेर थपउपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।
चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।
घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।