काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेसँगै २७३८.०६ विन्दुमा पुगेको छ । यता, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । यस्तै, सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् भने हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । यसरी नै, नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ ।
प्रमुख आर्थिक समाचारहरु :
साढे ६२ अंकले बढेर २७३८ विन्दुमा पुग्यो नेप्से
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेसँगै २७३८.०६ विन्दुमा पुगेको छ । चाडवाड पछि खुलेको पहिलो दिन नेप्से २.३३ प्रतिशतले बढेसँगै रौनक फर्किएको छ ।
आज प्रि–ओपन ससेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको समय देखिनै माथि गएको थियो । कारोबार अवधिभर ५ पटक सम्म बजार लत झर्न खोजेको देखिए पनि खरिदकर्ता हाबी हुँदा बजार भने लत झरेन ।
आइतबार ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर कारोबारमा आएको छ ।
आज २२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ६५१ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूह ४.२६ प्रतिशतले बढेर ३ ५२०.१२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.६२ प्रतिशतले बढेर २१.६९ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक १.६२ प्रतिशतले, विकास बैंक २.१७ प्रतिशतले, फाइनान्स २.४८ प्रतिशतले, होटल तथा पर्यटन ०.९६ प्रतिशतले, लगानी २.५६ प्रतिशतले, जीवन बीमा २.१६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.३२ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा १.९५ प्रतिशतले, अन्य समूह २.५२ प्रतिशतले र ट्रेडिङ समूह १.१५ प्रतिशतले बढेको छ ।
कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।
११ मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुंगा–कैकुखोला खण्डको १६ दशमलब पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए ।
मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ । हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।
पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।
एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईंले बताए ।
सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् ।
विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए । उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए ।
गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए । ‘व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन’, उनले भने, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’
म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पु¥याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए ।
क्रसर व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते
क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन कात्तिक ३० गते हुने भएको छ ।
महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने महासंघले जनाएको छ । महाधिवेशको उद्योगमन्त्री दामोदर भण्डारीले प्रमुख आतिथ्यता गर्नेछन् ।
महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योग व्यवसायी सहभागी हुनेछन् । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुदर्शन थापाले बताए ।
भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे ।
‘प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ’, प्रमुख थापाले भने, ‘जनशक्ति व्यवस्थापन भएसँगै एक–दुई दिनमा धान खरिद केन्द्र सञ्चालनमा ल्याउँछौँ ।’ उनका अनुसार सञ्चालनमा रहेका दुई वटै केन्द्रबाट हालसम्म आठ सय १२ क्वीन्टल धान खरिद गरिएको छ ।
प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँ गाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको प्रमुख थापाले बताए ।
कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।
उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव गरेका छन् ।
नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राखे ।
‘उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु’, मन्त्री भण्डारीले भने ।
उनले जहिले पनि उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीले समस्या ल्याएर सरकारलाई गुहारिरहनुपर्ने कुराको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उखु किसानलाई खेती गर्नेतर्फ अभिप्रेरित गर्न आग्रह गरे । चिनी उद्योगीका समस्या समाधानमा सरकार सधैँ सकारात्मक मात्र नभई आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योगीलाई उखु किसानका मर्का सम्बोधन गर्न पनि अनुरोध गरे ।
नेपाल चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालसहितको टोलीले सरकारले भारतबाट चोरी निकासी भएर अवैध रूपबाट ल्याइने चिनी बन्द गर्नुपर्ने, उखु किसानलाई उन्नत बीउ वितरण गर्नुपर्ने लगायतका माग राखेको थियो ।
तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पु¥याएर विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।
बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेस क्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।
सौर्य ऊर्जाको व्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए ।
‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीहरुको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ’, बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्ण रूपमा कटौती गर्न सकिन्छ ।’
उनले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गरे ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा तीन सय ५३ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना जाँच गर्दा विषादीको अवशेष फेला नपरेको कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।
‘यो वर्ष हालसम्म कुनै पनि तरकारी र फलफूलको नमुनामा विषादीको अवशेष फेला परेको छैन’, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जका नायब प्राविधिक सहायक गौरव चौधरीले भने, ‘करिब चार सय नमूना परीक्षण गर्दा विषादीको अवशेष फेला नपर्नु सकारात्मक पक्ष हो ।’
प्रयोगशालामा नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार केन्द्र र सहरका विभिन्न स्थानमा बिक्रीका लागि राखिएका फलफूल पसलबाट नमूना सङ्कलन गरेर विषादी परीक्षण गरिएको चौधरीले बताए ।
उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमुनामा विषादीको अवशेष फेला परेको थियो ।