स्टोरी

रास्वपा बचाउने विकल्प : डीपी कि स्वर्णिम ?

By खबरहब

November 11, 2024

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर सभापतिविनै बैठक बस्नुपर्ने अवस्थामा पुगेको छ । कात्तिक २ गते सभापति पक्राउ परेयता रास्वपाले अहिलेसम्म कसैलाई पनि कार्यवाहक सभापति तोक्न सकेको छैन ।

सभापति लामिछाने पक्राउ परेपछि उनले पार्टी उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेसँग हिरासतमै कुराकानी गरेका थिए । त्यस क्रममा अहिले नै कार्यवाहक सभापति जरुरी नभएको उपसभापतिहरु सभापति लामिछानेलाई सुझाव दिएको नेताहरु बताउँछन् ।

सभापतिसँगको भेटपछि उपसभापति अर्यालले खबरहबसँग भनेका थिए, ‘सभापतिले कार्यवाहक दिने सन्दर्भमा छलफल गर्नुभएको थियो, तर हामी दुवैजना उपसभापतिहरु बसेर अहिले तत्काललाई यो निर्णय गर्न आवश्यक नरहेको सुझाव दियौँ ।’

सभापति लामिछाने पक्राउ परेपछि अहिलेसम्म दुईपटक केन्द्रीय समितिको बैठक बसेको छ । पहिलो केन्द्रीय समिति बैठकको अध्यक्षता उपसभापति डीपी अर्यालले गरेका थिए ।

बैठकमा अबको कार्यवाहक सभापति अर्याल नै रहने प्रस्ताव अर्का उपसभापति वाग्लेले गरेको स्रोत बताउँछ । तर, सो प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेन ।

कि त सभापति पक्राउ पर्ने दिन नै कार्यवाहक तोकेको भए ठीक हुन्थ्यो भन्दै पक्राउ परेको ९ दिनपछि कार्यवाहक तोक्नु उचित नभएको सुझाव पार्टीका नेताहरू गणेश पराजुली, शिशिर खनाल, सुमना श्रेष्ठ र सोविता गौतम लगायतले दिएका थिए ।

अन्ततः बैठकले अहिले कार्यवाहक नतोक्ने र सभापतिको मुद्दा किनारा लागेपछि मात्रै तोक्ने निर्णय गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । तत्कालका लागि बैठकको अध्यक्षता उपसभापति डीपी अर्यालले नै गर्ने सहमति भएको उनले बताए ।

सभापति जेल नै जाने अवस्था आए मात्रै कार्यवाहक सभापति राख्ने भन्दै बैठक सकिएको थियो । बैठकमा उपस्थित एक नेताले भने, ‘सभापति पक्राउ परेकै दिन कार्यवाहक सभापति तोकिएन । अब अदालतको निर्णय आउन दिनु उपयुक्त हुने देखियो   

सभापति जेल नै जाने अवस्था आए मात्रै कार्यवाहक सभापति राख्ने भन्दै बैठक सकिएको थियो । बैठकमा उपस्थित एक नेताले भने, ‘सभापति पक्राउ परेकै दिन कार्यवाहक सभापति तोकिएन । अब अदालतको निर्णय आउन दिनु उपयुक्त हुने देखियो । आवश्यकता परेका खण्डमा पार्टी हाँक्न सक्ने व्यक्तिलाई कार्यवाहक बनाउनुपर्छ भन्नेमा नेताहरुबीच विमति छैन ।’

रास्वपासँग आगामी यात्राका लागि मुख्यतः तीनवटा विकल्प देखिन्छन् ।

पहिलो विकल्प : रवि लामिछाने

रास्वपा सभापति रवि लामिछाने अहिले नै दोषी प्रमाणित भइसकेका छैनन् । उनीमाथि प्रहरीले सहकारी ठगी र संगठित अपराधको अभियोग लगाएको छ र अनुसन्धान जारी राखेको छ । कास्की जिल्ला अदालतले पछिल्लो पटक उनलाई १३ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

यो अवस्थामा दोषी प्रमाणित नभएसम्म रविलाई नै सभापतिमा यथावत राख्ने, उपसभापति डीपी अर्यालको अध्यक्षतामा बैठक सञ्चालन गर्ने र अदालतबाट छुटकारा पाएर बाहिर आएपछि रविले पार्टी सम्हाल्ने, यो पहिलो विकल्प हो ।

अदालतले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएन र उन्मुक्ति दियो भने यो विकल्प कार्यान्वयनमा आउने छ र रास्वपाको नेतृत्व संकट स्वतः टर्नेछ । तर, रविलाई अदालतले कारागारमा पठायो भने कानूनतः रास्वपाले सभापतिको विकल्प खोज्नैपर्ने हुन्छ ।

रविलाई कारागार नै नपठाए पनि अदालतले अभियोगबाट फर्सद नदिई धरौटीमा या सादा तारेखमै छाड्यो भने पनि मुद्दाको अन्तिम किनारा नलागुञ्जेल सभापति पदमा रहने कि नरहने भन्ने नैतिक प्रश्न उठ्न सक्छ । त्यस्तो अवस्थामा पनि कार्यवाहक सभापति खोज्नुपर्ने हुन सक्छ ।

रास्वपा नेताहरुले भन्दै आएका छन्– ओली नेतृत्वको सरकारले रविमाथि पूर्वाग्रह र प्रतिशोध साँध्यो । तर, उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गरिनुपर्ने माग भइरहेकै बेला अदालतले आइतबार एकमुष्ट १३ दिन हिरासतमा राख्न अनुमति दियो । उता रुपन्देहीबाट समेत उनीविरुद्ध पक्राउपूर्जी जारी भएको छ । यी सबै परिघटनालाई हेर्दा रविको बन्दी जीवन अझ लम्बिने जस्तै देखिएको छ ।

दोस्रो विकल्प : डोलप्रसाद अर्याल

रास्वपाको स्थापनादेखि नै रवि लामिछानेको साथमा रहँदै आएका बरिष्ठ उपसभापति डोलप्रसाद (डीपी) अर्याल रास्वपाका संस्थापक उपसभापति हुन् । रास्वपाको स्थापना ०७९ असार ७ गते काठमाडौंमा भएको हो ।

पूर्वमन्त्रीसमेत रहेका बरिष्ठ उपसभापति डीपी अर्याल रास्वपाको उपसभापति बन्नुअघिसम्म राजनीतिमा चर्चित अनुहार भने होइनन् । उनी व्यवसायी पृष्ठभूमिबाट आएका नेता हुन् । उनले ‘फस्ट म्यान’ भएर पार्टी हाँक्न सक्छन्, सक्दैनन्, त्यो परीक्षण हुन बाँकी छ । तर, बैधानिक हिसाबले हेर्दा उनी पार्टीको पहिलो उपसभापति भएको हुनाले उनलाई कार्यवाहक सभापति बन्ने अधिकार रहन्छ । उनी रवि लामिछानेको नजिकका मान्छेका रुपमा समेत परिचित छन् ।

उपसभापति अर्यालमाथि केही प्रश्नहरु पनि उठ्ने गरेका छन् । जस्तो– उनी म्यानपावर व्यवसायी रहँदा कतिपय विवादमा फसेको र पनि श्रममन्त्री रहँदा म्यानपावर व्यवसायीको स्वार्थमा कतिपय निर्णयहरु गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

कांग्रेस सांसद रामकृष्ण यादवले प्रतिनिधिसभामा बोल्दा अर्याल ‘हाम्रो नयाँ कृषि नयाँ सहकारी संस्था’ को उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नपाएको गुनासो सुनाएका थिए ।

यसो हुँदा अर्याल कार्यवाहक सभापति भएपछि उनीमाथि पनि थप निगरानी हुने र त्यसले पार्टीको लोकप्रियतालाई असर पार्न सक्ने केही नेताहरूको आकलन छ ।

यति हुँदाहुँदै पनि संस्थापन पक्षको नेता भएको हुनाले रास्वपाभित्र डीपी अर्यालको सांगठनिक पकड बलियो रहेको छ । किनभने, उनलाई सभापति लामिछानेको पूर्ण साथ छ ।

यसैवीच, आइतबार रास्वपा उपसभापति अर्यालले जिउँदो रहँदासम्म रवि नै सभापति हुन्छन् भनेर दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरसमेत तरंग ल्याएको छ ।

यो पनि-

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डीपी अर्याल

रास्वपाले कार्यवाहक सभापतिको मापदण्ड बरिष्ठतालाई बनायो भने डीपी निर्विवाद रुपमा स्वतः कार्यबाहक सभापति बन्ने छन् र पार्टी हाँक्नेछन् । तर, लोकतन्त्रको नयाँ अभ्यास गर्ने बताइरहेको रास्पवाले ‘जान्नेलाई छान्ने’ नीति लियो भने डीपीको साटो अर्का उपसभापति डा. स्वर्णिम वाग्लेका लागि पनि कार्यबाहक सभापतिको ढोका खुल्न सक्छ ।

अझ, निर्वाचनमा उम्मेदवार छनोट गर्दा नै ‘प्राइमरी इलेक्सन’ को नयाँ अभ्यास थालेको रास्पवाले केन्द्रीय सभापतिको विकल्प पनि केन्द्रीय सदस्यवीचको लोकतान्त्रिक प्रतिस्पर्धाबाटै खोज्यो भने त्यसले अन्य केन्द्रीय पदाधिकारी वा सदस्यलाई समेत मार्ग प्रशस्त गर्न छ । तर, तर, पुराना दलहरुमा जस्तै पार्टी सभापतिले रोजेको बरिष्ठतम् व्यक्तिलाई नै टीका लगाउने काम भयो भने त्यो अवस्थामा डीपी अर्यालबाहेक अन्य नेताहरुको सम्भावना खुम्चिन सक्छ ।

तेस्रो विकल्प : डा. स्वर्णिम वाग्ले

नेपाली कांग्रेसमै रहँदा अर्थविज्ञको अन्तर्राष्ट्रिय छवि बनाएका डा. स्वर्णिम वाग्ले ०७९ चैत १६ गते रास्वपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्दासाथ तनहुँबाट लोकप्रिय मतसहित उपनिर्वाचन जितेर प्रतिनिधिसभामा पुगेका वाग्ले बौद्धिक नेताका रुपमा चर्चित छन् ।

रास्वपाभित्र स्वर्णिमको पकड डीपीको भन्दा बरियतामा कमजोर भए पनि लोकप्रियताको हिसाबले उनलाई रविपछिको नेताकै रुपमा हेर्ने गरिएको छ । यस्तो अवस्थामा रास्वपाले ‘बरियता’ को परम्परालाई भत्काउँदै स्वर्णिमलाई कार्यबाहक उपसभापति बनायो भने त्यसले रास्वपाको साख बढाउने र नयाँ तरंग ल्याउन सक्ने कतिपय विश्लेषकहरुको दाबी छ ।

अर्थविदका रुपमा चर्चित व्यक्तित्व एवं राजनीतिक पृष्ठभूमिबाटै उदाएका नेता हुनाले वाग्लेलाई पार्टीभित्र वैकल्पिक धारका वैचारिक नेताका रुपमा लिइन्छ   

तनहुँबाट ०८० वैशाख १० मा उपनिर्वाचन जितेका वाग्लेले पछिल्लो समय रास्वपमा प्रभाव बढाउँदै लगेका छन् । ०८० मंसिर १३ गते महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट विभान संशोधन भयो र दुईजना उपसभापति राख्ने प्रावधान थपियो । सोही बैठकबाट वाग्ले पार्टीको उपसभापति बने ।

त्यही जलेश्वर बैठकमा स्वर्णिमको अध्यक्षतामा सहकारीसम्बन्धी अध्ययन समिति बन्यो, जसले तयार पारेको रिपोर्ट पार्टीले सरकारलाई बुझाइसकेको छ । वाग्लेको उक्त रिपोर्ट कार्यान्वयन हुनुपर्ने रास्वपाले सरकारसँग माग गर्दै आएको छ ।

अर्थविदका रुपमा चर्चित व्यक्तित्व एवं राजनीतिक पृष्ठभूमिबाटै उदाएका नेता हुनाले वाग्लेलाई पार्टीभित्र वैकल्पिक धारका वैचारिक नेताका रुपमा लिइन्छ । पार्टीभित्र ‘हस्तक्षेपकारी’ भूमिका खेल्ने नेताका रुपमा समेत वाग्लेलाई लिइन्छ ।

अब पार्टी संकटको घडीमा भएकाले रास्वपालाई हाँक्न स्वर्णिम उपयुक्त पात्र भएको रास्वपाका केही नेताहरु बताउँछन् ।

तर, स्वर्णिम वाग्ले लोकप्रिय युवा नेता भइकन पनि उनी रास्वपाका संस्थापन नेता भने होइनन् । त्यसर्थ मूल नेतृत्वको प्रश्नमा पुराना, योगदान भएका नेताहरुको दाबी रहनु अस्वाभाविक होइन । तथापि, स्वर्णिम आफैंले पनि कार्यवाहक सभापति बन्ने इच्छा नगरेको नेताहरु बताउँछन् ।

के भन्छन् विश्लेषक ?

यसैवीच, रास्वपाभित्र देखिएको नेतृत्वको संकटबारे खबरहबले पार्टी बाहिरका राजनीतिक विश्लेषकको समेत मत बुझ्ने प्रयास गरेको छ ।

संकटको घडीमा नेताको परीक्षण हुनुपर्ने बताउँदै राजनीतिक विश्लेषक इन्द्र अधिकारी रास्वपाले अब वैचारिक हिसाबले पार्टी हाँक्न सक्ने नेतृत्व निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिन्छिन् ।

अधिकारी भन्छिन्, ‘रास्वपा पार्टी संकटमा छ । अन्य नेता तथा कार्यकर्ता पनि क्षमतावान् हुनुहुन्छ । पार्टी संकटको अवस्थामा त्यस्ता नेताले जिम्मेवारी लिनुपर्छ ।’ रास्वपाको आन्तरिक जीवनमा संकट आएको नेताहरूले नबताए पनि अहिलेको अवस्थामा पार्टी हाँकेर लान सक्ने नेता चुन्नुपर्ने राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन् ।

रास्वपाको आन्तरिक जीवनमा संकट आएको नेताहरूले नबताए पनि अहिलेको अवस्थामा पार्टी हाँकेर लान सक्ने नेता चुन्नुपर्ने राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्   

रवि पक्राउ परेपछि पार्टीले कार्यवाहक सभापति नतोकेका कारण कतिपय निर्णय गर्न, सरकारसँग छलफल र ‘एक्शन’ मा जान रास्वपामाथि चुनौती थपिएको उनले बताए ।

रास्वपा नेता भन्छन्– नेतृत्वमा समस्या छैन

रास्वपाका नेताहरुले आन्तरिक रपमा चुनौतीको सामान गरिरहे पनि नेतृत्वमा कुनै विवाद वा संकट नरहेको दाबी गरेका छन् ।

सभापति लामिछानेको मुद्दामा अदालतले दोषी ठहर गरेको अवस्थामा दुई उपसभापतिमध्ये एकजनालाई कार्यवाहक दिइने रास्वपा सांसद गणेश पराजुली बताउँछन् ।

रास्पवाका संस्थापक नेतासमेत रहेका पराजुली पार्टीमा कार्यवाहक सभापतिको विषयमा कुनै विवाद नरहेको बताउँछन् । त्यस्तै, उपसभापति अर्याल पनि अहिले कार्यवाहकको विषयमा छलफल जरुरी नरहेको भन्दै बाहिर आएका हल्ला सतप्रतिशत झुट रहेको बताउँछन्।

रास्वपाका अर्का नेता विराजभक्त श्रेष्ठ पनि पार्टी संकटमा जान लागे त्यसलाई बचाउन सक्षम नेताहरु रास्वपामा रहेको दाबी गर्छन् ।

श्रेष्ठ खबरहबसँग भन्छन्, ‘सभापतिमाथि केही भएछ भने पनि हामी अगाडि जान्छौँ । उपसभापतिहरूको परिकल्पना त्यसकै लागि गरिएको हो । यसमा मेरो कुनै यसमा ‘इन्ट्रेस्ट’ छैन । म त पार्टी विधि र सिद्धान्तमा चलोस् भन्ने धारको मान्छे हो ।’

यो पनि–

अब रास्वपा ‘रिकभर’ हुँदैछ : विराजभक्त श्रेष्ठ