काठमाडौं- तीन निजी क्षेत्रले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझावहरू राष्ट्र बैंकलाई दिएका छन् । यता बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
यस्तै, आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ भने नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।
यसरी नै सरकारले मनसुनजन्य विपदबाट ज्यान गुमाएका बागलुङका तीन जनाका परिवारलाई राहतस्वरुप ६ लाख ५० हजार नगद प्रदान गरेको छ ।
आजका प्रमुख आर्थिक समाचारहरू :
मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैंकलाई सुझाव
नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ ।
साउन पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति ल्याइसक्ने तयारीमा राष्ट्र बैंक लागिरहँदा निजी क्षेत्रका छाता संस्थाहरूले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विभिन्न सुझाव दिइसकेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाहरूले मौद्रिक नीतिबाट सम्बोधन गरिनुपर्ने विषयमा राष्ट्र बैंकलाई सुझाव दिइसकेका हुन् ।
मुख्यगरी, अहिले बाह्य क्षेत्र सन्तुलनमा रहेको, बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको जस्ता सकारात्मक सूचकहरू वित्तीय क्षेत्रमा रहे पनि समग्र बजार माग घटेको, बैंक वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन नसकेको, खराब कर्जा बढेको, पुँजीकोष व्यवस्थापनमा चाप रहेकोजस्ता समस्या विद्यमान छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सघाउ पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने देखिन्छ ।
निजी क्षेत्रले पनि सरकारले लिएको वित्त नीतिलाई सघाउ पुर्याउने र समग्र अर्थतन्त्रमा देखिएको शिथिलता चिर्ने गरी मौद्रिक नीति आउनुपर्ने सुझाव दिएका छन् ।
बागमती प्रदेश प्रमुख शर्माद्वारा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले प्रमाणीकरण गरेको विधेयकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।
एकैदिन ५२.९७ अंकले बढ्यो नेप्से, ५ महिनापछि ७ अर्ब बढीको कारोबार
आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ ।
आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ बिन्दु कायम रहयो । नेप्सेको उक्त बिन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो ।
नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो । आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।
आज ३०९ वटा कम्पनीको शेयर कारोबारमा आउँदा ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
भारतबाट चिनी आयात गर्न १० उद्योगले पाए अनुमति
उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ ।
भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रूपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ ।
चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि दुहवी, सुनसरी, क्वालिटी कन्फेक्सनरी प्रालि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि भद्रपुर, झापा र सुजल फुड्स प्रालि पोखरा, कास्की रहेका छन् ।
सम्पत्ति शुद्धीकरणमा मुक्तिनाथ गौतमसहित आठजनालाई एकदेखि चार वर्षसम्म सजाय
विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुक्तिनाथ गौतमसहित ८ जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको छ ।
विशेष अदालतका न्यायाधीशहरू डा. खुशीप्रसाद थारु, तेवजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत असार। २३ मा गरेको फैसलाबाट दोषीहरूलाई आझ सजाय निर्धारण गरेको हो।
१९ करोड सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएकाहरू डेनियल ट्रेडिङ कम्पनीका सञ्चालकहरू मुक्तिनाथ गौतम र यशकुमार महर्जनलाई सजाय तोकेको हो । अदालतले गौतम र महर्जनलाई २÷२ वर्ष कैद र ७ करोड ६ लाख रुपैयाँ जनही जरिवाना तिराउने फैसाल सुनाएको छ ।
विशेष अदालतले मेरालाइन इन्टरप्राइजेजलाई पनि यो प्रकरणमा दोषी ठहर गर्दै ७ करोड ६० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । अदालतले विल्वाभूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलायन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई दोषी ठहर गर्दै जनही ४/४ वर्ष सजाय तोकेको छ ।
नेपालगञ्ज उपमहानगरको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ ।
नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गरेका थिए ।
उपमहानगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य उपमहानगरपालिकाको छ ।
त्यसै गरी, दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट पेस भएबमोजिमको आर्थिक वर्ष २०८१/८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् ।
यस्तै, नगर प्रमुख विष्टले स्वीकृतिका लागि सभामा पेस गरेको उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा सङ्घीय ऐन कार्यान्वयन पनि पारित भएको छ । नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिकासम्बन्धी ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताए ।
उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थपसम्बन्धी ‘एजेन्डा’ पनि सभाले स्वीकृत गरी पारित गरेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यस अघि शुक्रबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालीकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको थियो ।
शनिबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग प्रहरी, स्थानीय र जनप्रतिनिधिको पहलमा पहिरो पन्छाएर आज बिहानदेखि नियमित सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । ‘लेदोसहित आएको पहिरोले शनिबारदेखि राजमार्ग अवरुद्ध भएको थियो’, उनले भने, ‘डोजर लगाएर प्रहरी र स्थानीयको पहलमा आज पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।’
कर्णाली करिडोरमा वर्षायाममा बाढीपहिरोको निकै जोखिम हुने भएकाले उक्त राजमार्ग भएर सञ्चालित सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग
सरकारले मनसुनजन्य विपदबाट ज्यान गुमाएका बागलुङका तीन जनाका परिवारलाई राहतस्वरुप ६ लाख ५० हजार नगद प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई दुई लाख ५० हजार नगद प्रदान गरेको हो ।
यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो ।
विकका परिवारलाई चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो ।