काठमाडौं– नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री विष्णु पौडेलले आफूले शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरेको बताएका छन् । ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन भएको छ । साथै सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड राखेको छ ।
आजका प्रमुख आर्थिक समाचार :
अर्थमन्त्री बने एमालेका विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन् । पौडेलले आज उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिएका छन् । यस अघि ओली पहिलो पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलले राम्रो अर्थमन्त्रीको छवि बनाएका छन् ।
उनी यस अघि २०७२ सालमा अर्थमन्त्री बनेका थिए भने त्यसपछि २०७७ मा पुनः अर्थमन्त्री बनेका थिए । पौडेल २०५३ सालमा नै पहिलो पटक मन्त्री बनेका थिए । उनी पहिलो पटक २०५३ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका थिए ।
नयाँ अर्थमन्त्री आएकै दिन घट्यो नेप्से
साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन । आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० को विन्दुमा पुगेको हो । आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर भाउ घटेको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
निफ्राको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भयो ।
अर्थमन्त्रीले भने : सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा हेरेको छु
नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने बताएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो बताएका हुन् ।
पौडेल अर्थमन्त्री हुने चर्चाबीच पछिल्ला दिन सेयर बजार बढिरहेको छ । यस्तोमा उनले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा हेरेर अघि बढ्ने बताएका हुन् । उनले सरकारको कार्यक्रम लागू गर्ने क्रममा बजेट बाधक नबन्ने पनि बताएका छन् । पौडेलले निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी सरकारले आफ्ना काम अघि बढाउने पनि बताए ।
यसैबीच पौडेलले सार्वजनिक ९विकास० वित्तका नयाँ विकल्प खोज्नका लागि अध्ययन गर्न समिति नै बनाउने पहिलो निर्णय गरेका छन् ।
‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन्, सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ,’ पौडेलले भने, ‘अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका रूपमा अघि बढ्छ। त्यसैले मैले विकास र वित्तका नयाँ विकल्प खोज्न अध्ययन समिति बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेको छु ।’
पौडेल यससहित ८ पटक मन्त्री भइसकेका छन् । उनी पाँचौँ पटक अर्थ मन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ कात्तिक, दोस्रो पटक २०७७ असोज, तेस्रो पटक २०७८ जेठ र चौथो पटक २०७९ पुसमा अर्थमन्त्री भएका थिए ।
ट्राफिक प्रहरीद्वारा बागलुङमा एक करोड बीस लाख राजस्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा संकलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व संकलन बढ्दो क्रममा छ ।
आव २०७८र७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व संकलन गरेकामा गत आवमा एक करोड १८ लाख १० हजार संकलन भएको थियो । चालु आवमा ट्राफिक प्रहरीले सबैभन्दा धेरै कार तथा जिप र सबैभन्दा कम बस चालकलाई कारबाही गरेको छ । सात हजार दुई सय ९५ कार तथा जीप र एक हजार एक सय ५६ बस चालकलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय प्रमुख सुमन निउरेका अनुसार यो अवधिमा पाँच हजार ११ मोटरसाइकल, एक हजार चार सय आठ ट्रयाक्टर, एक हजार दुई सय ६६ ट्रक तथा ट्रिपर र एक सय ५५ अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
एक वर्षमा जिल्लामा १६ वटा दुर्घटना भएको निउरेले जानकारी दिए । एक बस, आठ जीप तथा कार, ट्रयाक्टर, टेम्पो एक९एक, मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । एक वर्षमा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । गत वर्ष २४ सवारिसाधन दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रमुख निउरेले दुर्घटना न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा यसवर्ष दुर्घटना कम भएको बताए।
राजश्व संकलन वृद्धि गर्दै ढोरपाटन सिकार आरक्ष
ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व संकलनमा वृद्धि हुँदै गएको छ । विशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन शिकार आरक्षमा प्रत्येक वर्ष सिकार खेल्नेको संख्या वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो ।
ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ । दुई सिजनमा हन्टिङको निम्ति टेन्डर आह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । विदेशीका निम्ति सिकार सोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका वन्य जन्तुको सिकार हुँदै आएको छ । गत आर्थिक वर्षमा कुल ३ करोड ४८ लाख राजश्व संकलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक वर्ष २०८०र०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो ।
चालु आर्थिक वर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट, पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख संकलन भएको छ । त्यस्तै काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेलिकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजश्व संकलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पँगेनीले जानकारी दिए ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा लैजाने उद्योगमन्त्री भण्डारीको निर्णय
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् । सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रस्ताव पारित भएमा नेपाली उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।
मन्त्री भण्डारीले उद्योग मन्त्रालयले प्रदान गर्ने सेवा र यस क्षेत्रको विकासका लागि नेतृत्व तहबाट आफूले सम्पूर्ण सहयोग गर्ने भन्दै कर्मचारीलाई दत्तचित्त भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। यसअघिको सरकारमा पनि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए। भण्डारी योसहित चारपटक मन्त्री बनेका हुन् ।
पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछु : मन्त्री दाहाल
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, ‘पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका छन्, ती गुनासा सम्बोधन गर्ने काम गर्नेछु ।’
यातायात क्षेत्रको सुधारका लागि मन्त्री दाहालले राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने समेत उल्लेख गरे। उनले पछिल्लो समय सडक दुर्घटनाका घटना बढिरहेको भन्दै त्यसलाई कम गर्ने गरी नीति बनाउने प्रतिबद्धता जनाएका छन् ।
‘सडक दुर्घटना बढिरहेका छन्, दुर्घटना न्यूनीकरणका लागि नीतिगत व्यवस्था तय गर्ने योजना बनाएको छु’, उनले भने, ‘ठप्प भएका विकासका कामलाई अगाडि बढाउने छु, निर्माण व्यवसायीहरूको बाँकी भुक्तानीका लागि प्रयास गर्नेछु ।’
लुम्बिनी प्रदेशको खर्च ६६ प्रतिशत मात्र
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकामा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।
पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार विनियोजन भएकामा रु १६ अर्ब तीन करोड सात लाख १७ हजार आठ सय ४७ खर्च भएको प्रदेश कोष नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए । प्रदेश सरकारले आव २०८०र८१ मा ४० अर्ब ४७ करोड ९७ लाख विनियोजन गरेको थियो ।
विनियोजन भएकोमध्ये ६६ दशमलव १४ प्रतिशत अर्थात २६ करोड ७७ करोड ३५ लाख ११ हजार दुई सय तीन मात्र खर्च गरेको कोष नियन्त्रक ज्ञवालीले बताए। उनका अनुसार चालु आवमा चालु खर्च भन्दा पुँजीगत खर्च बढी भएको छ । सबैभन्दा बढी खर्च खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ७७ दशमलव ४० प्रतिशत गरेको छ भने सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ दशमलव ६९ प्रतिशत मात्र खर्च गरेको छ ।
पुँजीगत खर्चतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नौ दशमलव शून्य नौ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको प्रदेशसभाका लागि ३३ करोड ८८ लाख ३८ हजार बजेट रहेकामा सोको ६६ दशमलव ३४ प्रतिशत मात्र खर्च भएको छ ।
पोखरामा सुन्तला बगैँचा व्यवस्थापनबापत किसानलाई अनुदान
पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रमअन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
उनका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो ।
महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उनले जानकारी दिए।
अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्रांगारिक मल अनिवार्य हाल्न ५०, बोडो पेष्ट गरेबापत ४०, बोडो मिक्सचर स्प्रेबापत ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत ३० गरी एक सय ५० प्रदान गरिएको हो ।
किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिए । सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१र०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ ।