एक समय जुनसुकै सत्तागठबन्धनमा पनि घुलमिल भई लगातार मन्त्री हुने गरेका राजेन्द्र महतो यतिखेर सत्ताका ‘स्वःघोषित नरम बागी’ हुन् । मानविकीमा स्नातक र कानूनमा स्नातकोत्तर महतो देशको मूल कानून संविधानप्रति नै तारन्तार असन्तुष्टि पोखिरहेका छन् । एक समय तराई-मधेश बाहेकका समुदायप्रति निकै इतर बनेका महतो अहिले देशका सबै क्षेत्र उत्पीडनमा रहेको ठहर गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ नामबाट सङ्गठन बनाउँदैछन् । राष्ट्रिय पार्टीको नेता बन्ने इच्छा पूरा गर्न महतोले काठमाडौंको नेवार समुदाय पृष्ठभूमि भएका केही व्यक्ति र लिम्बू समुदायकेन्द्रित पहिचानवादी मोर्चाको एउटा हिस्साबाट सहयोग खोज्दैछन् । वि.सं. २०४६ मा नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गरेका महतो ०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा सर्लाही-४ बाट विजयी भए ।
प्रतिनिधि सभा निर्वाचन, २०७४ मा धनुषा-३ बाट विजयी भएका उनी संसदीय निर्वाचनमा चाहिँ २०४८ देखि नै निरन्तर उम्मेदवार छन् । चारपटक मन्त्री हुँदा उनले उपप्रधानमन्त्रीसम्मको सत्ताभोग गरिसकेका छन् । प्रतिनिधि सभा विघटन गरी कामचलाउ हैसियतमा पुगेका तत्कालीन (हालका पनि) प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा उनी २० दिन उपप्रधानमन्त्री भएका थिए । उपप्रधानमन्त्रीकै हैसियतमा हेलिकोप्टर चढेर सिन्धुपाल्चोकतर्फ लाग्दै गर्दा सर्वोच्च अदालतको आदेशका कारण २०७८ असार ८ मा आकाशमै पद गुमाएका थिए ।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भएपछि संसद् र सरकारमा सहभागी हुने महतोको महत्वाकाङ्क्षामा ‘ब्रेक’ लाग्यो । पछिल्लो निर्वाचनबाट साविक लोकतान्त्रिक समाजवादी पार्टीकै अवस्था कमजोर बनेपछि वरिष्ठ उपाध्यक्ष महतो पदाधिकारी मनोनयनप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष महन्थ ठाकुर अध्यक्षताको पार्टीबाट बाहिरिएका थिए । गत फागुन १४ गते ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेयता महतो खासै सार्वजनिक चर्चामा छैनन् । यसबीच यही कात्तिक ९ गते निर्वाचन आयोगले उनको पार्टीको नामाकरण ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ गरिदिएको छ ।
नागरिकले लडेर स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको झन्डै १९ वर्षमा राज्य विहीनताको अनुभव भन्दा बाहेक केही नभएको महतोको दाबी छ । उनी देशमा औपनिवेशिकताको झल्को कायमै रहेको तर्क पनि गर्छन् । संविधानप्रति असन्तुष्टि राख्नुको कारण, पछिल्लो राजनीतिक अभियान र समसामयिक राजनीतिबारे महतोसँग कृष्ण तिमल्सिनाले गरेका कुराकानीको सम्पादित अंशः
राष्ट्रिय मुक्ति पार्टी नेपाल गठनसँगै तपाईंको पछिल्लो राजनीति अब अभियानमा मात्रै सीमित रहेन, तपाई एकल राष्ट्रिय राज्य समृद्धिको बाधक भएकाले अब बहुल राष्ट्रिय राज्य चाहियो भन्दै हुनुहुन्छ, बाधा चाहिँ कहाँनेर भयो ?
राष्ट्रिय मुक्ति क्रान्तिको लागि गठन गरिएको हाम्रो पार्टीले तीन चरणमा यो काम गर्नेछ। अभियानको सुरुको चरणमा ज्ञान र सङ्घर्ष गर्छौं । विद्रोहको चरणमा यो पार्टीले आफ्नो लक्ष्य पूरा गर्छ। ज्ञान, सङ्घर्ष र विद्रोह – यो तीनवटै प्रक्रिया चलिरहन्छ ।
एकल राष्ट्रिय राज्यकै कारण देशमा अधिकार र पहिचानदेखि समृद्धिसम्म हासिल हुन नसकेकाले बहुलवादी राज्यको एजेन्डा चाहिएको हो । मैले यो कुनै नयाँ कुरा गरेको होइन । अहिलेको नेपाल निर्माण भएको २७० वर्षको इतिहासमा विभिन्न कालखण्डमा हामीले विभिन्न व्यवस्थाहरू पनि हामीले ल्यायौँ ।
पृथ्वीनारायण शाहले भनेका थिए – ‘यो देश चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।’ तर दुर्भाग्य – यहाँका शासकहरूलाई कुनै पनि चेतना भएन । न बहुल राष्ट्रिय राजनीतिको मूल्यमान्यता अनुसार देशको संविधान बनाए, न त देशको शासन सञ्चालन गरे
अहिलेको त लोकतान्त्रिक अवस्था हो, गणतान्त्रिक अवस्था हो । ३५ वर्षदेखि हामी लोकतन्त्ररगणतन्त्रमा बाँचिरहेका छौँ । यो बीचमा सातवटा संविधान पनि बनायौँ । यति गर्दा पनि देशमा जनताले अधिकार पाएनन्, पहिचान पाएनन् भनेर सवाल उठिरहेकै छ । त्यसको लागि सङ्घर्ष भइरहेकै छ । देश समृद्धितर्फ जानुपर्ने, विपन्नतातिर गयो । देशमा नौजवानहरू टिक्न सकेनन् । यसको कारण त केही होला नि ! देशको अवस्था किन यस्तो भयो त ? नागरिकले अधिकार पहिचान नपाउने, सुशासन समृद्धि नहुने, देश कङ्गाल भएर जानुको मुख्य कारक तत्व राजनीति हो ।
ठीक हिसाबले राजनीति अघि बढेन भने त्यसको परिणाम कहिल्यै राम्रो आउँदैन । यो देशमा पनि त्यही भएको हो । देश निर्माण भएको २७० वर्ष भयो । १०४ वर्षको राणा शासनलाई त के गाली गर्ने होला ! राजतन्त्रलाई के गाली गर्नु ! ३५ वर्षदेखि हामी बहुदलीय प्रजातन्त्र मान्नेहरू, लोकतन्त्र र गणतन्त्र मान्नेहरूले नै शासन गरेका हौँ नि ! यसमा पनि समृद्धि नपाउने तथा जनता दिनदिनै निराश र आक्रोशित हुँदै जाने अवस्था बन्यो । अब यो आक्रोश र निराशा चिर्नैपर्छ ।
यो अवस्था निम्तनुमा तपाईंहरूको पनि हिस्सेदारी होला नि !
३५ वर्षमा हामीले राजनीति गर्यौँ, त्यसको जिम्मेवार हामी पनि हौँ । यहाँनेर व्यक्तिलाई होइन, विचारलाई इङ्गित गर्नुपर्छ । विचारबाटै राजनीति र शासन हुने हो । विचारमा नै त्रुटि छ, यो बुझ्नुपर्छ ।
तपाईंले प्रणालीलाई दोष दिनुभएको कि संविधानलाई ?
संविधानलाई पनि दोष दिन्छु । विचारबाट संविधान बन्ने हो ।
अन्तरिम संविधान बनाइसकेपछि तपाईंहरूले विद्रोह गरेर पहिलो संशोधन गरी ‘यो मुलुकमा संघीयता चाहियो’ भन्नुभयो, संघीयतासहितको व्यवस्था गरेर चुनाव भयो, नयाँ संविधान जारी गर्नुअघि र पछि पनि सत्तारोहण गरी तपाईंहरूले सबै चक्र पूरा गर्नुभयो । त्यति बेला किन त्रुटि औँल्याउनुभएन ? अहिले चुनाव हारिसकेपछि राजेन्द्र महतो छट्पटाएका हुन् भन्ने टिप्पणी छ, के भन्नुहुन्छ ?
७२ सालमा संविधान सभाबाट बनेको संविधान आशाको नाममा, दुई तिहाइको नाममा जनतामाथि लादिएको हो । जुन जनताको लागि संविधान निर्माण हुन्छ – त्यही जनतामाथि गोली ठोकेर जारी गरेको हैन र ? दुनियाँमा ७० वर्षमा सातवटा संविधान बनाउने त नेपाल मात्रै हो ।
त्यत्रो संविधान त बनाउने, तर देश र जनताले पहिचान तथा अधिकार नपाउने कस्तो संविधान बनाएको त ? संविधान जहिले पनि शासकले आफ्नो लागि बनाउँछ ।
पहिलो – यो राष्ट्रको निर्माण जुन जगमा भएको हो, त्यसअनुसार देशमा शासन चल्यो कि चलेन, यो मुख्य सवाल हामीले बुझ्नुपर्छ । पृथ्वीनारायण शाहले २७० वर्षअघि नेपाल बनाए, नेपाल एकीकरण गरे । नेपाल एकीकरण गर्ने प्रक्रियामा विवाद होला, केही पुगेन होला, कहीँ त्रुटि भयो होला, तर नेपाल त बन्यो नि ! हामीले नेपाली स्वाभिमान र पहिचान पायौँ । यो सबै पहिचान मिलेपछि मात्रै नेपाल बनेको हो ।
यो संविधान जारी हुने बित्तिकै कांग्रेस, एमाले र माओवादीका नेताले संसद्मा गएर ‘जनताको माग अनुसार संशोधन हुन्छ’ भनी वचन दिए । तर, हालसम्मको नौ वर्ष त्यसै बित्यो । त्यो संशोधन होला, अघि बढ्ला भनी साथ दियौँ । सरकारमा पनि गएकै हौँ
नेपाल बन्नुभन्दा पहिला नै यहाँ पहिचान थियो । सबै भाषाभाषी, जातजाति र राष्ट्रियता मिलेर नेपाल बनेको हो । एकल पहिचानबाट नेपाल बनेको हैन । त्यसैले पृथ्वीनारायण शाहले भनेका थिए – ‘यो देश चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।’ तर दुर्भाग्य – यहाँका शासकहरूलाई कुनै पनि चेतना भएन । न बहुल राष्ट्रिय राजनीतिको मूल्यमान्यता अनुसार देशको संविधान बनाए, न त देशको शासन सञ्चालन गरे ।
१०४ वर्ष राणाले एकल शासन गरे । त्यो शासन सबै राणाले पनि गरेन । ए ग्रेडले एकल जहानियाँ शासन गरे । यो त राजेन्द्र महतोले भनेको हैन, इतिहासले बोलेको कुरा हो ।
आधुनिक नेपालको निर्माणसँगै २०४६ सालको राजनीतिक परिवर्तन पछिको तपाईंहरूको राजनीतिक पुस्ताले चाहिँ के गर्यो त ?
४६ सालको बहुदलीय व्यवस्थामा पनि एकल शासन भएको छ । एकलमा पनि बाहुनवाद प्रवृत्तिको ! त्यो प्रवृत्तिको कुरा गरेको हो । यो कुनै जाति, समुदाय या व्यक्तिको कुरा गरेको हैन । विचारको कुरा गरेको हो मैले ।
यो देशमा एकल विचारबाटै संविधान निर्माण भयो । २०४७ सालपछि पनि त्यही प्रवृत्ति अपनाइयो । २०७२ सालको संविधान बनाउँदा पनि त्यही प्रवृत्ति अपनाइयो । यो देशमा आदिवासी जनजाति लड्दै गरे, सङ्घर्ष गर्दै गरे, मधेशीले सङ्घर्ष गर्दै गरे । तर, एकल चिन्तन सोचबाट ओली प्रवृत्तिले संविधान बनाए ।
कांग्रेस एमाले माओवादीका नेतृत्व एकल चिन्तनबाट प्रभावित भएर ७२ को संविधान बनाए । जुन देशमा राजनीतिक सम्झौता हुँदैन, त्यो देशको गतिविधि यस्तै हुन्छ । राजनीतिक सम्झौता भनेको आफ्ना देशका जनताको सही पहिचान र राष्ट्रियतालाई मिलाएर देशको संविधान बनाउने हो । विश्वमा प्रकृतिले त हामीलाई अघि जान वरदान दिएको थियो, तर अहिले कङ्गाल भएर, देश छोडेर युवा पलायन हुनुपर्ने अवस्था आएको छ ।
लडेर अन्तरिम संविधान संशोधन गराएका तपाईंहरूले जनमतबाट अनुमोदित भएर आएको संविधानमाथि प्रश्न गरिरहनुभएको छ, संविधानले त समावेशी चरित्रको राज्यसत्ता परिकल्पना गरेकै छ, त्यसलाई तपाईंहरू आफैँले दुरुपयोग गरेको आरोप छ, समग्र राष्ट्रिय राजनीतिक चरित्र बोकेका राजनीतिक पार्टीले कसरी संविधानलाई बोके भनेर समीक्षा गर्नुपर्दैन ?
नेपालको अन्तरिम संविधान नै लगभग राजनीतिक सम्झौता भएको संविधान थियो । सबै संविधानको मर्म र भावना लगभग समेटेर बनाइएको संविधान थियो । तर, नेपालको अन्तरिम संविधानको जुन गाइडलाइन थियो – यो संविधान सभाबाट बन्ने संविधानको लागि थियो । तर, संविधान सभाबाट कांग्रेस, एमाले र माओवादीले संविधान बनाए ।
यहाँको सभ्यता र संस्कृति जोगाउनुपर्छ । हाम्रो सनातन वैदिक सभ्यता सबैभन्दा पुरानो सभ्यता हो । अब पुँजीवाद या साम्यवाद पुरानो भइसक्यो
९० प्रतिशत जनमत यी तीन पार्टीले पाएका थिए । संविधान सबैको साझा दस्तावेज हुने भनेका थिए । सोहीअनुसार संविधान बन्छ भनी ती दलले जनतासँग भोट पनि मागेका थिए । ‘संविधान त हामी बनाउँछौँ, साना पार्टीले के संविधान बनाउँछन् ?’ भनी जनतालाई विश्वास दिलाएका थिए । तर, नेपालका पछिल्ला तीनवटा संविधान चार नेताले बनाए ।
त्यसमा पनि मुख्यतः एमाले, कांग्रेस र माओवादीका तीन टाउकेले जे निर्णय गरे – त्यही अनुसार संविधान सभामा मतदान भएको हो । त्यसलाई ढाकछोप गरेर काम छैन । संविधान बनाउने बेला अन्तरिम संविधानलाई सोझै इन्कार गरियो ।
अनि तपाईंहरू त्यही संविधानमा टेकेर चुनाव, त्यही संविधानमा टेकेर सत्ता र त्यही संविधानमा टेकेर राजनीति भोग गर्नुभयो, संविधानलाई लिएर तपाईंहरूको भूमिका दोहोरो भएन ?
यो संविधान जारी हुने बित्तिकै कांग्रेस, एमाले र माओवादीका नेताले संसद्मा गएर ‘जनताको माग अनुसार संशोधन हुन्छ’ भनी वचन दिए । तर, हालसम्मको नौ वर्ष त्यसै बित्यो । त्यो संशोधन होला, अघि बढ्ला भनी साथ दियौँ । सरकारमा पनि गएकै हौँ । संविधान जनताको मागअनुसार परिवर्तन हुने दस्तावेज हो । यसलाई गीता या महाभारत बनायो भने टिक्दै टिक्दैन ।
अब त देशका जनता निराश भएका छन् । देशमा काण्ड नै काण्ड भएको छ । यो काण्डमा त तीनै तीन पार्टीका नेता छन् । काण्ड नै काण्ड मच्चाउने, जनतालाई विकास नदिने, समृद्धि नदिने, अधिकार, पहिचान केही नदिने र एकल चिन्तन सोचबाट देशलाई भड्खालोमा लैजाँदा ‘यो भएन, सबै नेपालीको लागि बनाउनुपर्छ’ भनेर मैले भनेको हुँ ।
अहिलेको संसद्भित्र दुईतिहाई नजिकका दुई ठूला राजनीतिक पार्टीले संविधान संशोधन गर्छौं भनेका छन् नि ! अब त्यतातिर गएर आफू अनुकूलको संविधान संशोधनका लागि परामर्श गर्ने, सुझाव दिने, सङ्घर्ष गर्ने, दबाब दिने गर्न सकिँदैन ?
यो तीनवटा पार्टीले त संविधान बनाएको नौ वर्ष भइसक्यो नि ! संशोधन गर्छु भनेको पनि नौ वर्ष भइसक्यो। यिनीहरूलाई भ्रष्टाचार गर्न फुर्सद छैन, जनतालाई धोका दिन फुर्सद छैन, दुई हातले देश लुट्ने फुर्सद छैन । शासन भनेको कुर्सीको लागि मात्रै हो, देश र जनताको लागि हैन भन्ने हिसाबले गरेको हो ।
राष्ट्रवाद पैदा गर्ने राजा महेन्द्र हो । पृथ्वीनारायण शाहले नेपाल निर्माण गर्दा ‘यो एउटा जातको नेपाल हैन, सबैको हो’ भनेको थिए । त्यस्तै साझा फूलबारी बनाउनुपर्छ अब । सभ्यता र संस्कृति जोगाउनुपर्छ
जनताले जहिल्यै विश्वास गरेका थिए । यिनले जहिल्यै पनि विश्वासघात गरेर यो ठाउँमा पुर्याए । त्यसैले अब यसरी कुरा गरेर हुँदैन । हामीले देशको परिवर्तन गर्न तीन एजेन्डा अघि सारेका हौँ । एउटा – यो देश सबै नेपालीका लागि बनाउनुपर्छ । यसको लागि बहुल राष्ट्रिय राजनीतिको रूपमा यहाँको सुशासन र संविधान सोहीअनुसार बनाउनुपर्छ । संविधान संशोधन र परिमार्जन गर्नुपर्छ ।
अर्को – यहाँको सभ्यता र संस्कृति जोगाउनुपर्छ । हाम्रो सनातन वैदिक सभ्यता सबैभन्दा पुरानो सभ्यता हो । अब पुँजीवाद या साम्यवाद पुरानो भइसक्यो । अर्को – यो देशमा राष्ट्रवाद छैन । यहाँ त कसैलाई साम्राज्यवादी, कसैलाई विस्तारवादी भनेर महान् राष्ट्रवादी भइन्छ । राष्ट्रवाद भनेको आफ्नो जनता र देशलाई माया गर्ने हो ।
अब पृथ्वीनारायण शाह र राजा महेन्द्रहरूलाई केन्द्र भागमा राखेर अघि बढ्नुपर्यो ?
राष्ट्रवाद पैदा गर्ने राजा महेन्द्र हो । पृथ्वीनारायण शाहले नेपाल निर्माण गर्दा ‘यो एउटा जातको नेपाल हैन, सबैको हो’ भनेको थिए । त्यस्तै साझा फूलबारी बनाउनुपर्छ अब । सभ्यता र संस्कृति जोगाउनुपर्छ ।
यो देश दुनियाँकै विपन्न देश भइसक्यो । नेपाली जनता कङ्गाल राष्ट्रको नागरिक भएर बाँच्नुपर्ने भनेर जन्मेको हैन । प्रकृतिले दिएको वरदानको सही प्रयोग भएको भए दुनियाँको सम्पन्न राष्ट्र हुन्थ्यो । पानी र पर्यटनलाई मात्रै राम्रोसँग सदुपयोग गरे पनि हाम्रा युवा पलायन हुनु पर्दैनथ्यो .
तपाईंले अहिले अभियान चलाइरहनुभएको छ, अन्त्यमा विद्रोह गर्छौं भन्दै गर्दा त्यस्तो विद्रोहको स्वरूप कस्तो हुनेछ ?
विचारको विद्रोह हो । शान्तिपूर्ण सङ्घर्ष र विद्रोह हो । वैचारिक परिवर्तनका लागि विद्रोह हो । हामीले अनुहारको परिवर्तन खोजेका होइनौँ ।
यो पनि –
राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी
सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति
संविधानको विरोधमा सडकमै सुते राजेन्द्र महतो
नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ : राजेन्द्र महतो
राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)