देश/प्रदेश

युक्रेनमा छोरो भेटिँदा पञ्चकुमारीमा जाग्यो आशा

By खबरहब

March 17, 2024

विराटनगर – मोरङको लेटाङ निवासी पञ्चकुमारी राईलाई विगतमा अन्तर्राष्ट्रिय समाचारप्रति कुनै चासो र मतलब थिएन । अचेल रुस युक्रेन युद्धको खबर सुन्दा उनका कान ठाडा हुन्छन् । मन आत्तिन्छ ।

रुसी सेनामा भर्ना भएका नेपालीले ज्यान गुमाएको खबर सुन्दा त पञ्चकुमारीको मुटु नै ढुकढुक गर्न थाल्छ । यसको एउटै कारण हो– उनका छोरा विकास राई यतिबेला युक्रेनमा बन्दी अवस्थामा छन् । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँका क्रममा विकासलाई युक्रेनले बन्दी बनाएको पञ्चकुमारीले तीन महिना अघि नै खबर पाएकी हुन् । त्यसयता घरपरिवारसँग विकासको सम्पर्क भएन ।

युक्रेनले आफ्नो कब्जामा रहेका पाँच नेपालीको नाम शनिबार सार्वजनिक गर्‍यो । जसमा लेटाङका बजारका विकास राईसमेत छन् ।

दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने आशा बोकेर रुसी सैनिकमा भर्ना हुन पुगेका र युद्धकै क्रममा युक्रेनले नियन्त्रणमा लिएका पाँच नेपाली सार्वजनिक हुँदा विकासलाई पनि युक्रेनले सार्वजनिक गरेको हो ।

मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती भएका ३३ वर्षीय विकास युक्रेनविरुद्धको युद्धमा खटिने क्रममा युक्रेनले बन्दी बनाएको खबर पाएपछि पञ्चकुमारीको परिवारको भोक निद्रा हराएको थियो । बन्दी बनाइएका छोरालाई तीन महिनापछि युक्रेनले सार्बजनिक गरेपछि भने आमा पञ्चकुमारी र उनको परिवारको मन केही दरिलो भएको छ ।

सार्वजनिक हुने नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन्। अर्का एक नेपालीको पहिचान नखुलेको बीबीसीले प्रकाशित गरेको समाचारमा लेखिएको छ।

यो पनि-

युक्रेनले बन्दी बनाएका विकास राईको बयान :  ‘रुसी सेनामा भर्ती भएर तपाईँको सपना पुरा हुनेवाला छैन’

शनिबार सार्वजनिक गरिएका विकास राईसहित पाँच नेपाली

युक्रेनले पाँच नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका ८ जना रुसी सैनिक सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सार्वजनिक गरेपछि युक्रेन मिडिया सेन्टरमा उनीहरुलाई बोल्ने अवसरसमेत दिइएको थियो ।

युक्रेनले सार्वजनिक गरेपछि मिडिया सेन्टरमा बोल्दै लेटाङका विकासले नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् । रुसी सेनामा भर्ती भएर कसैको सपना पूरा नहुनेसमेत उनले भिडियो मार्फत बताएका छन् । रोयटर्सले सार्बजनिक गरेको भिडियोमा विकासले भनेका छन, ‘म सबै नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गर्छु । त्यहाँ तपाईँहरूको सपना पूरा हुनेवाला छैन।’

उनले आफूले टिकटकमा भिडियो हेरेर रुस जाने निर्णय लिएको समेत सो भिडियोमा खुलासा गरेका छन् । उनले युद्धको अग्रमोर्चामा जानु नपर्ने सुनेपछि आफू रुसी सेनामा भर्ती हुन भिजिट भिसामा रुस पुगेको समेत प्रष्ट पारेका छन् ।

पञ्चकुमारीको पीडा

‘तीन महिना बढी समय फोन सम्पर्क नहुँदा मन आत्तियो, युक्रेनले बन्दी बनाएको खबरले जतिबेला जे पनि हुन्छ सक्छ भन्ने मनमा जरा गाडेको थियो,’ विकासकी ५४ बर्षीया आमा पञ्चकुमारीले खबरहबसँग भनिन्, ‘बन्दी बनाएको छोरा तीन महिनापछि बल्ल सकुशल भएको सुन्न र भिडियोमा देख्न पाएका छौं, मन केही दरिलो भएको छ तर यत्तिमै सन्तोष गर्ने अवस्थामा छैन।’

पञ्चकुमारी भन्छिन्, ‘छोरालाई जतिसक्दो छिटो नेपाल ल्याइदिन सरकारसँग अनुरोध गर्दछु।’

विकासकी श्रीमती एलिशा चेम्जोङले पनि श्रीमान तीन महिनासम्म बाँचे मरेको खोजखबर नहुँदा गहिरो पीडामा दिन बिताउन बाध्य भएको सुनाइन्। बन्दी बनाएको तीन महिनापछि युक्रेनले आफ्नो श्रीमानलाई सार्वजनिक गरेपछि भने मन केही दरिलो भएको एलिशाले बताइन् ।

विकासका आमा, श्रीमती, भाइ र एक नाबालक छोरा छन् ।

विकास राईका भाइ र नाबालक छोरा 

लहैलहैमा लागेर……

वैदेशिक रोजगारीका क्रममा यसअघि विकास करिब पाँच बर्ष दुबईमा बसेर फर्किएका थिए । उनी गाउँमा लामो समयदेखि ठेक्कापट्टाको काम गर्दै आएका थिए ।

कोभिडपछि उनले गर्दै आएको ठेक्कापट्टाको काम असहज भएको भन्दै पुनः विदेश जाने योजना बनाए । उनी गत भदौमा गाउँकै साथीको सम्पर्कबाट रूस पुगे ।

विकास रुस जानुभन्दा पहिला नै लेटाङका धेरैजना युवा राम्रो कमाइ हुने भन्दै अबैध बाटो हुँदै रुस पुगेका थिए । रुसमै रहेका गाउँले साथीले राम्रो कमाइको लोभ देखाएपछि विकास रुस गएको श्रीमती एलिशा बताउँछिन् । विकास एजेन्टलाई साढे ८ लाख रुपैयाँ बुझाएर दुबई हुँदै मस्को पुगेका हुन् । त्यसयता उनले घरपरिवारलाई एक पैसा पठाउन सकेका छैनन् ।

‘सबैतिर दशैंको रौनक छाइरहेको थियो, फूलपातीका दिन परिवारलाई छाडेर काठमाडौंबाट दुबई र त्यसपछि मस्को गएको जानुभएको थियो, एलिशा भन्छिन्, ‘तीन महिनादेखि खोजखबर नै पाउन सकेका थिएनौं।’ एलिसाका अनुसार श्रीमानसँग गएको मंसिर २५ मा छोटो कुराकानी भएको थियो । कुराकानीका क्रममा उनले आफुलाई युक्रेनी सेना बन्दी बनाएको बताएका थिए ।

विकास राई

छोटो बाटोबाट धेरै कमाइ गर्ने सोच बोकेर अबैध बाटो हुँदै रुस पुगेर फस्ने विकास जस्तै लेटाङबाट मात्र करिब एक दर्जन युवा छन् ।

लेटाङ नगरपालिका कार्यालयका मेयर भूपेन्द्रकुमार लावतीले आफूहरुलाई प्राप्त सूचना अनुसार लेटाङका १० जना युवा रुसी सेनामा गएर फसेको बताए ।

मेयर लावतीका अनुसार नगरपालिकाले रुसी सेनामा भर्ना भएकाहरुका आफन्तलाई लिखित जानकारी दिन सुचना पटक÷पटक सार्बजनिक गरे पनि एकजना बाहेक अरु सम्पर्कमा नआएको बताए ।

लेटाङ–३ का टीका गुरुङको परिवारले मात्र नगरपालिकालाई जानकारी दिएकाले उनको शकुसल उद्धारका लागि नगरपालिकाले परराष्ट्र मन्त्रालय समक्ष लिखित आग्रह गरेको लावतीले बताए ।

मेयर लावतीका अनुसार गाउँलेको लहैलहैमा लागेर अबैध बाटो हुँदै रुसी सेनामा भर्ती हुने लेटाङका युवामध्ये हालसम्म एक जना भागेर सकुशल स्वदेश फर्किएका छन् । एक जनालाई युक्रेनले बन्दी बनाएको र थप एक जना घाइते भएका छन् । अन्य युवाहरु भने परिवारको सम्पर्कमै छन् ।

यो पनि-

लेटाङका युवा रुसमा, परिवारको रुवाबासी

रुसी सेनाबाट उम्केका पूर्वप्रहरीको बयान : नयाँ जुनी पाइयो