ब्रेकिङ स्टोरी

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

By खबरहब

September 21, 2024

काठमाडौं – नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी ।

वैकल्पिक शक्तिका रूपमा यी दलसँगै नयाँ नेताहरू पनि उदाए । रास्वपाका संस्थापक सभापति रवि लामिछाने, जनमतका संस्थापक अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) र नागरिक उनमुक्तिका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पछिल्लो समयमा उदाएका नेता हुन् ।

रवि चितवन– २, सीके सप्तरी–२ र रञ्जिता कैलाली–१ बाट प्रत्यक्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेताहरू हुन् ।

०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा पुराना दलका उम्मेदवारहरूलाई अप्रत्याशित ढंगले पराजित गर्दै रास्वपा, जनमत र उन्मुक्ति पार्टी क्रमशः २०, ६ र ३ सिट ल्याउन सफल भए । यो सफलतासँगै नेताहरू संसदमा आइपुगे ।

भनिन्छ – नेता समाजको अगुवा र समाजका लागि उदाहरणीय पात्र हुनुपर्छ । नेताको छवि स्वच्छ, सरल जीवनशैली र असल व्यवहार समाजमा अनुकरणीय मानिन्छ । कुशल नेताले समाजमा पथप्रदर्शकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता छ ।

तर, पुराना दलरूका कारण देशको प्रगति हुन नसकेको र विकासले गति लिन नसकेको भन्दै आफूलाई विकल्पका रूपमा अघि सरेका दलकै नेताहरूको छवि धुमिल हुने पुगेको अवस्था छ ।

गत निर्वाचनबाट उदाएका नेतृत्वमाथि गम्भीर व्यक्तिगत आरोप लागेको छ । कसैको घरभित्र राजनीति पसेको छ त कसैको घरझगडा सार्वजनिक रूपमै छताछुल्ल भएको छ ।

डा. सीके राउतको घरझगडा सार्वजनिक

सप्तरी–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको घरायसी झगडा यतिबेला ‘मिडिया कन्टेन्ट’ बन्न पुगेको छ । श्रीमतीसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेपछि सीके राउतको घरझगडा छताछुल्ल भएको हो ।

सीकेले श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्धविच्छेदका लागि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । उनले श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइतमात्र जाने गरेको मुल कारण देखाउँदै सम्बन्धविच्छेदको मुद्दा दायर गरेको समाचारहरू सार्वजनिक भएका छन् ।

यो पनि-

सीके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

मुद्दामा ‘अंश सम्बन्धविच्छेद’ शीर्षक उल्लेख गरेर उनले श्रीमतीलाई अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेका छन् । अदालत स्रोतका अनुसार सीकेले आफूलाई छोडेर श्रीमती माइतीघर (भारतमा) बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटकसँगै नबस्ने भन्दै माइतीघर जाने गरेको, घर–परिवार र बच्चाको रेखदेख नगरेकोले अंश दिएर सम्बन्धविच्छेद गर्न चाहेको निवेदनमा उल्लेख गरेका छन् ।

तर, उनकी श्रीमती सोनीले भने आफूलाई सम्बन्धविच्छेद नचाहिएको बताएकी छन् । ‘म त डिभोर्स चाहँदिनँ, मलाई न्यायसङ्गत अधिकार चाहियो । कानूनी दायरामा जुन–जुन अधिकार छन्, त्यो चाहियो,’ बिहीबार ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा भेटिएकी सोनीले पत्रकारसँगको कुराकानीमा भनेकी छन् ।

सोनी बिहीबार शान्ति सुरक्षाको माग गर्दै निवेदन दिन सातदोबाटो पुगेकी थिइन् । उनले प्रहरी वृत्तमा दर्ता गरेको निवेदनमा श्रीमानले विगत केही दिनदेखि विभिन्न किसिमका डर–त्रास देखाएर सम्बन्धविच्छेद गर्न दबाब दिएको उल्लेख गरेकी छन् ।

‘सम्बन्धविच्छेद नगरेमा म जे पनि गर्न सक्छु । म अहिले निर्वाचित सांसद छु । मेरो पहुँच माथिल्लो निकाय र सरकारसम्म छ । म चाहेको खण्डमा जे पनि गर्न सक्छु । तिमी मसँग नबस,’ सोनीको निवेदनमा भनिएको छ, ‘उपत्यका छाडी गाउँघरमा जाऊ भनेर दबाब दिँदै ज्यानसम्बन्धी धाक-धम्की दिएको हुँदा म आफूलाई असुरक्षित ठानी यस वृत्तमा उपस्थित भएकी छु । विपक्षी श्रीमानलाई उपस्थित गराई आवश्यक कारबाही गरी शान्ति सुरक्षाको व्यवस्था समेत गरी पाऊँ ।’

सोनीका अनुसार उनी र श्रीमान सीके एउटै घरको फरक–फरक तला (फ्लोर) मा बस्दै आएका छन् । सोनीको भनाइ छ, ‘डिभोर्सको आवश्यकता छैन । छुट्टाछुट्टै बस्न सकिन्छ । म केटाकेटीसँग बस्न चाहन्छु । केटाकेटीको पालना गर्न चाहन्छु । उनीहरू वयस्क नहुँदासम्म आमा र बुवा दुवैको सहयोग चाहिन्छ ।’

सातदोबाटो प्रहरी वृत्तमा ‘लोकान्तर टीभी’ सँगको कुराकानीमा सोनीले जनमत पार्टीका अध्यक्ष सीकेलाई उनका दाइले सिकाएको समेत दाबी गरिन् ।

‘उहाँ (सीके) को दाइले चढाउनुभएको छ । जुन दिनदेखि उहाँको दाइ राजनीतिमा आउनुभएको छ, त्यो दिनदेखि सिकाएर, पढाएर उहाँको सम्पत्ति आर्जन गर्ने, मलाई डिभोर्स दिने, उनीहरू सबै मिलेर खाने, मलाई अलिकति अंश दिने…’ सोनीको आरोप छ ।

राउतले आफूसँग बस्न नचाहे आफू छुट्टै घरमा बस्न तयार रहेको, तर सम्बन्धविच्छेद नचाहेको पनि सोनीले बताइन् । ‘मलाई अंश चाहिएन । मेरो सबैभन्दा ठूलो सम्पत्ति मेरो श्रीमान र मेरा छोराछोरी हुन् । यी दुईवटा चाहियो,’ उनको भनाइ छ, ‘श्रीमान मसँग बस्न चाहनुहुन्न भने म उहाँले जहाँ चाहनुहुन्छ छोराछोरीसँग त्यहीँ बस्छु । उहाँ छुट्टै घरमा बस्न सक्नुहुन्छ ।’

रञ्जिताको घरभित्रै राजनीति छिरेपछि….

श्रीमान रेशम चौधरी टीकापुर हत्याकाण्डमा मुख्य अभियुक्त ठहर भई जेल जीवन बिताइरहँदा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ संघीय सरकारमा मन्त्री थिइन् । रेशमले कैद मिनाहा भएर जेलमुक्त भएपछि रेशमले जेलबाट छुटेपछि पार्टीको महाधिवेशन बोलाए ।

तर, महाधिवेशन प्रतिनिधिले रञ्जिताको साटो रेशमलाई रोजे । अध्यक्ष बन्न चाहना पूरा नहुने देखिएपछि उनी महाधिवेशनस्थलबाट बाहिरिइन् । महाधिवेशन चलिरहँदा उनी काठमाडौं फर्किन् । यसबीचमा रेशमले पत्नी रञ्जितालाई पार्टीको सहअध्यक्षका लागि मनाउन गरेको प्रयास सफल भएन ।

यो पनि-

तिमीलाई सम्झाउन सकिनँ प्रिय ! विषय जित हारको होइन : रेशम चौधरी

महाधिवेशनपछि रेशम र रञ्जिताबीच दूरी थप बढ्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)को सहयोगमा सरकार गठन गरे । उनले विश्वासको मत लिएको एकदिन पछि निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चयन कार्यसमिति खारेज गर्दै रञ्जिता कै नेतृत्वको पुरानो कार्यसमितिलाई मान्यता दियो ।

पदविहीन भएपछि रेशमले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै पत्नी रञ्जिता, तत्कालीन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सार्वजनिक रूपमै प्रश्न उठाउन सुरु गरेका थिए ।

रेशम–रञ्जिताको झगडाकै कारण उनीहरूको गृह प्रदेश सुदूरपश्चिममा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकार अप्ठ्यारोमा परेको थियो । निर्वाचन आयोगले रेशमलाई अध्यक्षका रूपमा मान्यता नदिएपछि रञ्जितासँग सत्ता समीकरणमा कसलाई समर्थन गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो ।

तत्कालीन समयमा रेशम श्रीमती रञ्जितासँगको मतभेद सामाजिक सञ्जाल फेसबुकमार्फत् बेलाबखत पोख्दै आएका थिए ।

रवि : पहिले घर बिग्रियो, अहिले राजनीति !

सञ्चारकर्म त्यागेर राजनीतिमा लागेका रास्वपाका सभापति रवि लामिछाने पछिल्लो समय सहकारी संस्थाको रकम हिनामिनामा संलग्न रहेको आरोप खेपिरहेका छन् ।

उनलाई एमाले सांसद्‌ सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको संसदीय समितिले दोषी ठहर गर्दै कारबाहीका लागि सरकारसमक्ष सिफारिस नै गरिसकेको छ ।

यसअघि बेलाबेला उनका व्यक्तिगत कुराहरू पनि सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुँदै आएका थिए । जसमध्ये बढी चर्चामा रहने विषय हो रविको वैवाहिक सम्बन्ध ! पहिलोपल्ट गृहमन्त्री हुँदा उनले पत्रकार सम्मेलन गरेर नेपाली सञ्चार माध्यमका मालिक र सम्पादकहरूप्रति आक्रोश नै पोखेका थिए ।

मिडिया मालिक र सम्पादकहरूले समाचार लेखेकै कारण आफूले गृहमन्त्री पद गुमाउने अवस्था सिर्जना भएको भन्दै रविले सबैजसो सञ्चार संस्था र सम्पादकहरूलाई विभिन्न आरोप लगाएका थिए ।

आफूले गर्दे नगरेको गल्तीलाई लिएर मिडियाले खेदेको भन्दै सभापति लामिछानेले केही सम्पादकहरूले डाक्टरको सल्लाह नै लिएर खेदेको दाबीसमेत गरेका थिए । अहिले पनि आफूलाई चारवटी श्रीमतीको पति भन्दै खेदो गरिरहेको भन्दै उनले आपत्ति जनाएका थिए ।

‘डाक्टरले नै त्यसलाई नखेदी रोग निको हुँदैन भनेका थिए । चारवटा श्रीमती बिहे गरेको मान्छे भनेर लेखेछन्, जिन्दगीभर गगनले बाख्राबाट मुक्ति पाउँदैनन् । उनले लाख पटक भनिसके, बाख्राको विषयमा गल्ती गरेको छैन भनेर तर उनले मुक्ति पाउँदैनन्,’ रविले भनेका थिए, ‘मेरो पहिलो बिहे बिग्रियो । अनि त्यसपछि अर्की युवतीसँग म प्रेममा परेँ । त्यताबाट एकजना बच्चा भयो । तर चार श्रीमती भनेर हल्ला गरिदिए । हुँदा हुँदा केटाकेटीको कुरा पनि लेखिदिन्छन् । गगनलाई बाख्रा र मलाई चार श्रीमतीले कहिल्यै छाड्दैनन् ।’

धनराजको परिवारमा धब्बा !

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा उदाएका स्याङजाली नेता धनराज गुरुङ नेपाली कांग्रेस पार्टीको उपसभापति पदमा छन् । उनी कानूनमन्त्रीसमेत भइसकेका सम्भावना बोकेका नेतामा पर्छन् ।

तर, गुरुङ पनि पछिल्लो समय श्रीमान–श्रीमतीवीचको विवादमा फसेर तनावमा परेका छन् । धनराजकी पूर्वपत्नी ज्योति गुरुङ सहकारी ठगी प्रकरणमा फरार छिन् । उनले ललितपुरस्थित मितेरी सहकारीको १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

यो पनि-

सहकारी ठगी आरोप लागेपछि धनराजको गुनासो,‘मेरो घरबार पनि कुम्भराजले बिगारे’

कांग्रेस नेता धनराजले श्रीमतीसँग सम्बन्ध बिच्छेद भइसकेको र आफूले तिर्नुपर्ने ९१ लाख रुपैयाँ तिरिहेको बताएका छन् । तर, उनीहरूबीचको सम्बन्धविच्छेद नक्कली भएको आरोप लागिरहेको छ । न्यायाधीशकै रोहबरमा भएको सम्बन्धविच्छेदमाथि नै शंका उत्पन्न भएको छ ।

नेताले आफ्नो परिवारलाई सन्तुलनमा राख्ने गलत बाटोमा जान नदिने विषयमा भूमिका खेल्नुपर्नेमा आफ्नो राजनीतिक छविलाई नै असर पर्नेगरी पारिवारिक विग्रह र विखण्डनमा लाग्दा यसले उनीहरूको राजनीतिलाई नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।