स्टोरी

दिल्लीमा आरजुलाई ‘प्रधानमन्त्रीसरह’ सम्मान, एमाले बिच्किएकै हो त ?

By खबरहब

August 23, 2024

काठमाडौं- पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्किएकी छन् । भारतमा मन्त्री राणाले सम्मानजनक आतिथ्य पाएसँगै नेपालमा यो भ्रमणबारे विशेष चर्चा परिचर्चा शुरु भएको छ ।

भारतीय समकक्षी (विदेशमन्त्री) एस. जयशंकरको निमन्त्रणामा मन्त्री राणा गत आइतबार नयाँ दिल्ली पुगेकी थिइन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय समकक्षी एस जयशंकरसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता गरेकी छन् । सोमबार दिउँसो जयशंकरसँग भेट गरेकी परराष्ट्रमन्त्री राणाले बेलुकी भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

भ्रमण तालिकामा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता पूर्वनिर्धारित भए पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट तय भइसकेको थिएन । उनी भ्रमणमा जानुअघि नयाँदिल्लीमा मोदीसँग भेटवार्ता हुन सक्ने सम्भावनामात्रै बताइएको थियो ।

तर, भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणासँग हैदरावाद हाउसमा झण्डै ४५ मिनेट लामो भेटवार्ता गरे । राणा–मोदीको भेटवार्तालाई काठमाडौंमा चासोका साथ हेरिएको छ भने अनेक प्रश्नहरु पनि उब्जिएका छन् ।

यो पनि- कांग्रेस बैठकमा आरजुको ब्रिफिङ- मोदीले उपयुक्त समयमा नेपाल आउँछु भन्नु भएको छ

यसअघि नेपालका सीमित परराष्ट्रमन्त्रीहरुलाई दिएको महत्वजस्तै राणालाई पनि महत्व दिएपछि काठमाडौंमा वर्तमान सत्ता गठबन्धनको भविष्यदेखि सत्तारुढ नेकपा एमाले चिढिएकोसम्मका अनेक प्रश्नहरु उठेका छन् ।

‘एमाले बिच्किएको’ चर्चा

मन्त्री राणाको भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको बागमती प्रदेश कमिटीमा व्यक्त गरेको विचार अहिले चर्चामा छ । पार्टीको आन्तरिक कार्यक्रममा प्रचण्डले परराष्ट्रमन्त्रीलाई भारतले दिएको सम्मानबाट एमाले बिच्किएको प्रतिक्रिया दिएको कतिपय मिडियाले लेखेका छन् ।

तर, ‘एमाले बिच्किएको’ भन्ने पदावली प्रचण्डले प्रयोग नगरेको माओवादी सांसद माधव सापकोटाले खबरहबलाई बताए । ‘यो अलिकति अपव्याख्या भएर आयो, अध्यक्षले बागमतीको आन्तरिक बैठकमा त्यस्तो बताउनुभएको होइन ।’

तर, बैठकमा सहभागी अर्का एक माओवादी नेताका अनुसार त्यहाँ प्रचण्डले आरजुको भारत भ्रमणबारे छोटो प्रतिक्रिया दिएका थिए । उनले खबरहबसँग भने,‘अध्यक्षज्यूले बैठकको सुरुमा विश्व परिस्थिति र दक्षिण एशियामा बंगलादेशको घटनाबारे संक्षिप्त सम्बोधन गर्नुभएको थियो, त्यसक्रममा उहाँले परराष्ट्रमन्त्रीलाई भारतले प्रधानमन्त्रीसरहकै उच्च सम्मान दिएको र यो कुरा सरकारलाई जानकारी नै होला भन्ने मात्र बताउनुभएको हो ।’

कतिपय मिडिया र सोसल मिडियामा चर्चा भएजस्तो के भारतले परराष्ट्रमन्त्री राणालाई महत्व दिएर वर्तमान गठबन्धन भत्काई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई जोड्न लागेको हो त ?

परराष्ट्र मामिलाका जानकार एवम् पूर्वराजदूत विजयकान्त कर्ण भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री राणालाई दिएको सम्मानले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताउँछन् । ‘परराष्ट्रमन्त्रीलाई भारतमा राम्रो स्वागत भएको छ । भ्रमण धेरै राम्रो भएको छ । यो एक्सलेन्ट भ्रमण हो,’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘तर यति कारणलेमात्रै ओली र देउवाको सम्बन्ध बिग्रिन्छ भन्ने मलाई लाग्दैन ।’

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका नेता विष्णु रिजाल काठमाडौंमा उब्जिएका प्रश्नहरुलाई लघुताभाषको संज्ञा दिन्छन् । ‘हाम्रो लघुताभाष केही गरे पनि कम नहुने भयो । परराष्ट्रमन्त्री डा. आरजु राणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्दा फेरि एक पटक त्यो छताछुल्ल भएको छ,’ उनको भनाइ छ, ‘हाम्रा परराष्ट्रमन्त्रीलाई छिमेकी भारतका प्रधानमन्त्रीले भेटेर राम्रो भएको छ, यस्तो भेटघाट पहिलेका परराष्ट्रमन्त्रीहरुले पनि गर्नुभएको छ ।’

काठमाडौंमा यस्तो प्रश्न उब्जिरहेका बेला राणा र मोदीबीच भएको भेटवार्तामा सहभागी स्रोतका अनुसार भने वर्तमान सत्ता गठबन्धन भत्काएर कांग्रेस–माओवादी जोड्ने चाहना भारतीय पक्षमा तत्काल देखिँदैन।

यो पनि- दिल्लीमा जब आरजु र प्रचण्डपुत्रीको जम्काभेट भयो…

‘नेपाल–भारतबीचको सम्बन्धलाई जसरी टीका–टिप्पणी गरिन्छ, त्यसलाई बिर्साउने गरी उहाँहरु (राणा-मोदी) बीच हसमुख कुराकानी भएको थियो,’ भेटवार्तामा सहभागी स्रोतले खबरहबसँगको कुराकानीमा भने, ‘हामी त्यहाँ रहेका सबै (नेपाली र भारतीय पक्ष) अचम्म प¥यौं । कांग्रेस–एमालेको गठबन्धन र सरकारको स्थायित्व दिनका लागि भारतीय प्रधानमन्त्रीज्यूले शुभकामना दिनुभयो ।’

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको निम्तो भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेकी थिइन् ।

प्रधानमन्त्री ओली स्वयंले राजकीय भ्रमणका लागि निमन्त्रणा पत्र पठाउनु, उपचारका लागि नयाँ दिल्ली जाने परराष्ट्रमन्त्रीको तयारीलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर औपचारिक भ्रमणको रुप दिनुले ओली र राणाबीच सरसल्लाह भएरै भ्रमण भएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी परराष्ट्रमन्त्री राणाको भारत भ्रमण विशुद्ध कूटनीतिक देखिएको बताउँछन् । ‘माननीय विदेशमन्त्री आरजु राणाको भारत भ्रमण विशुद्ध कूटनीतिक देखियो । पहिलेका भ्रमणहरुजस्तो राजनीति र मिडियाबाजी देखिएन,’ सुवेदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘सवल सरकार ओझिलो कूटनीति भारतको प्रस्तुति र प्राथमिकतामा प्रष्टियो ।’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले ‘बिच्किएको’ भनेर पार्टीमा ‘बिफ्रिङ’ गरेको भन्दै एमालेका नेताहरुले खण्डन गरेका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री राणाको भ्रमणका क्रममा भारतीय पक्षले दिएको सम्मानपछि प्रचण्डले गरेको भनिएको ‘ब्रिफ्रिङ’ लाई ‘मुख मिठ्याएको’ टिप्पणी गरेका छन् ।

‘नेपालमा भर्खरै दुई दलको बलियो सरकार बनेको छ, सक्षम व्यक्ति परराष्ट्रमन्त्री हुनुहुन्छ । भारतले यति नबुझ्ने कुरै भएन । यतिका भरमा फूलबुट्टा भरेर ‘प्रधानमन्त्री सरहको सम्मान’ भनेर अतिरञ्जित गर्नु र मोदीले कहिल्यै नगरेको काम गरेझैं चित्रित गर्नु हाम्रो लघुताभाष मात्र हो,’ उनले एक्समा बिहीबार बिहान लेखेका छन्, ‘मानौं, मोदीले हाम्रा परराष्ट्रमन्त्रीलाई नभेटेको भए (जुन अनिवार्य मानिन्न) यतिबेला नेपालमा विश्लेषण हुन्थे होला– भारतले नयॉ सरकार रुचाएन, अब नेपालमा समीकरण परिवर्तन हुन्छ, आदि–इत्यादि । एकजना पूर्वप्रमले त यतिमै मुख मिठ्याइहाल्नु भएछ ।’

एमाले नेता रिजालले भनेजस्तै भारतीय पक्षले परराष्ट्रमन्त्री राणालाई गरेको सम्मानले नेपालको वर्तमान सत्ता गठबन्धन भत्किने अथवा एमाले बिच्किने टिप्पणी गर्नुअघि गत असार १७ गते मध्येराति बालकोटमा भएको भित्री समझदारीलाई सम्झिनु पर्छ ।

परराष्ट्र मामिलाका जानकार कर्ण पूर्वप्रधानमन्त्री प्रचण्डको भनाइलाई प्रधानमन्त्री ओलीलाई जिस्क्याएको रुपमा मात्र लिन्छन् । ‘प्रचण्डजी अपोजिसमा हुनुहुन्छ । उहाँले ओलीजीलाई जिस्काएर मजा लिनुभएको होला,’ उनले भने, ‘परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले त्यत्रो सम्मान दिँदा प्रचण्डलाई कतै–कतै ओलीजीलाई झस्काऔं न त भन्ने लाग्यो होला ।’

नेपाली राजनीतिज्ञहरुमा आफूभन्दा तल्लो तहको नेतालाई कुनै पक्षले सम्मान गर्दा दुःखी हुनुपर्ने अनेक कारणहरु रहेका उनको तर्क छ । ‘यो ठूलो कुरो होइन । नेपालका नेताहरुमा आफूभन्दा मुनिको नेतालाई कसैले सम्मन गर्दियो भने दुःखी हुनुपर्ने धेरै कारणहरु छन्,’ पूर्वराजदूत कर्णले भने ।

परराष्ट्रमन्त्री राणासँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर रहेको बताएका थिए । उनले नेपाल र भारतबीच सभ्यताको घनिष्ठ सम्बन्ध रहेको समेत उल्लेख गरेका थिए ।

‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी छ,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘हाम्रो विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर छौँ ।’ उनले परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको समेत उल्लेख गरेका थिए ।

यस्तै राणाले पनि परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको बताएकी थिइन् ।

‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो,’ उनले फेसबुकमा लेखेकी थिइन्, ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।’

त्यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी जयशंकरसँगको भेटपछि भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने बताएकी थिइन् । ‘भारतीय विदेशमन्त्री श्री एस. जयशंकरसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भयो । यस भ्रमणबाट सदियौँ पुरानो नेपाल-भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’ उनले फेसबुकमार्फत् भनेकी थिइन् ।

जयशंकरले पनि परराष्ट्रमन्त्रीका रूपमा राणालाई पहिलो औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए । द्विपक्षीय बैठकमा उर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकास लगायतका बहुआयामिक नेपाल–भारत सहकार्यबारे छलफल भएको उनको भनाइ थियो ।

‘नेपालले भारतलाई एक हजार मेगाबाट विद्युत् निर्यात गर्ने भएकाले खुसी लागेको छ । यो एउटा नयाँ कोसेढुंगाको रूपमा रहेको छ,’ राणासँगको भेटपछि जयशंकरले एक्समा लेखेका थिए, ‘हाम्रो छिमेकी पहिलो नीति र विशिष्ट जनता–जनताबीचको एवं सांस्कृतिक नाताले हाम्रो सम्बन्धलाई अघि बढाएको छ ।’

परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएकै दिन भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय सार्वजनिक गरेको थियो । नेपालले भारतमा विद्युत निर्यात गर्ने प्रक्रिया केही अघिदेखि नै अगाडि बढाएको भए पनि भारतले राणाको भ्रमणको अवसर पारेर सार्वजनिक गरेको थियो ।

भ्रमणका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दै द्विपक्षीय कुराकानी गरेको पनि भारतीय पक्षले उल्लेख गरेको थियो ।

‘उहाँ (राणा-जयशंकर) हरूले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरबारे पनि छलफल गर्नुभयो,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।

नेपाल फिर्ता भएपछि परराष्ट्रमन्त्रीको प्रेस नोट