स्टोरी

राष्ट्रियसभाले पायो १९ सांसद, कोशीमा एमालेलाई चिठ्ठा, माओवादीलाई धक्का

By ज्ञानु घिमिरे

January 25, 2024

काठमाडौं – राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ । १९ पदका लागि भएको निर्वाचनमा १८ जना गठबन्धनबाट र एकजना एमालेबाट विजयी भएका छन् ।

गठबन्धनबाट विजयी हुनेमा १८ मध्ये नेपाली कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २ र जसपाका एकजना छन् ।

योसँगै राष्ट्रियसभामा माओवादी पार्टी पहिलो दल बनेको छ । माओवादीबाट हाल राष्ट्रियसभामा उपाध्यक्षसहित १५ जना छन् । अब उसको प्रतिनिधित्व २० पुगेको छ । तथापि कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीमाथि गठबन्धनबाटै अन्तरघात भएका कारण सो सिट एमालेको भागमा पर्न गएको छ ।

कोशीमा कांग्रेस र एमाले विजयी

कोशी प्रदेशमा गठबन्धनबाट माओवादी महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुकमणि कोइराला अप्रत्याशित रुपमा विजयी भइन् । गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशसभामा भएको हल्का ‘क्रस भोटिङ’ का बावजुद राष्ट्रियसभामा पुग्न सफल भए ।

कोशीमा एमालेकी रुकमणि कोइरालाले ५ हजार ८६ मतभार ल्याएकी छन् भने गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

कोशीमा गठबन्धनबाट खस आर्यतर्फका उम्मेदवार कृष्णप्रसाद सिटौला ५ हजार २ सय ९२ मतभारका साथ विजयी भए । राप्रपाका उद्धव पौडेलले ४ हजार ५ सय ६२ मत भार ल्याए । प्रदेशसभामा गठबन्धनका दुई भोट तलमाथि पर्दा सिटौलालाई पौडेलले उछिनेका थिए । तर स्थानीय जनप्रतिनिधिले सिटौलालाई साथ दिँदा राप्रपा नेता पौडेल राष्ट्रियसभामा उक्लन सकेनन् र सिटौलाको राजनीति सुरक्षित बन्यो ।

राप्रपालाई सघाउँदै उम्मेदवारी फिर्ता लिएका एमालेका पर्शुराम अधिकारीको पक्षमा समेत १४८ मतभार खसेको थियो । एमालेका अधिकारीलाई एकजना प्रदेश सांसद र ५ जना स्थानीय जनप्रतिनिधिले मत दिएका थिए । यसको अर्थ एमालेका ६ जनाले राप्रपालाई सघाउन अस्वीकार गरे ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको निर्वाचन आयोगको भनाइ छ ।

कोशी प्रदेशमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७४ मतदाता रहेकोमा २७१ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशतर्फ भने ९३ जना मतदातामा सबैले मतदान गरेका छन् ।

मधेसमा कांग्रेस र जसपा विजयी

मधेस प्रदेशमा गठबन्धनका दुबै उम्मदेवार विजयी भए । राष्ट्रियसभा निर्वाचनमा मधेसबाट गठबन्धन उम्मेदवार आनन्द प्रसाद ढुङ्गाना र पूजा चौधरी विजयी भए । ढुंगाना कांग्रेस हुन् भने पूजा जसपा ।

ढुङ्गानाले प्राप्त गरेको मतभार ७ हजार ३७० छ भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मत भार प्राप्त गरेकी छन् । यस्तै जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ ।

महिलातर्फ निर्वाचित पूजा चौधरीको मतभार ७ हजार ९२३ छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ छ ।

मधेसमा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए ।

बागमतीमा गठबन्धनका चारैजनाको जीत

बागमती प्रदेशबाट गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट जीतजंग बस्नेत र विष्णुकुमारी पुडासैनी विजयी भएका छन् भने एकीकृत समाजवादीका घनश्याम रिजालले जितेका छन् ।

गठबन्धनबाट कांग्रेसकी महिला उम्मेदवार पुडासैनीले ६ हजार ६२६ मत भार ल्याइन् । एकीकृत समाजवादीका घनश्याम रिजालले ६ हजार ५१२ मतभार ल्याए । कांग्रेसका जीतजंग बस्नेतले ६ हजार ५३१ मतभार ल्याए । माओवादी केन्द्रका श्रीकृष्ण अधिकारीले ६ हजार ३८३ मतभार ल्याएर जिते ।

गठबन्धनका सबै उम्मेदवारको मतभार फरक–फरक देखियो । बागमतीमा ५ जना मतदाता अनुपस्थित थिए ।

बागमतीमा एमालेका विवेक देवकोटा, रोजकुमारी चौलागाई, ध्रुव विश्वकर्मा र त्रिलोचन निर्मल पौडेलले जित निकाल्न सकेनन् ।

कोशीमा एमाले र राप्रपावीच गठन्धन भए पनि बागमतीमा राप्रपाबाट बेग्लै उम्मेदवार थिए । यहाँ नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवार उठाएको थियो ।

बागमतीमा प्रदेश सभाका १०७ सदस्यमध्ये १०६ जनाले मतदान गरे । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरे ।

कूल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

गण्डकीमा पनि एमालेले खाता खोलेन

नेकपा एमालेको प्रभाव क्षेत्र मानिने गण्डकी प्रदेशमा पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार विजयी बनेका छन् भन् माओवादीबाट मनरुपा शर्मा विजयी बनेकी छिन् ।

कांग्रेसका श्रेष्ठले ३ हजार ८०८ मतभार पाउँदा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए ।

त्यस्तै, पदमबहादुर परियारले ३ हजार ७७९ मतभार पाउँदा एमालेका महेन्द्र शेरचनले २ हजार ४५८ मतभार पाए । माओवादीबाट उठेकी मनरुपा शर्माले ३ हजार ६६० मत पाइन् भने एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार ल्याइन् ।

यहाँ एमालेले पाएको मतभार हेर्दा सबै उम्मेदवारले गठबन्धनको मत क्रस गरेको देखिन्छ । तर, एमालेले जित निकाल्न भने सकेन ।

गण्डकी प्रदेशमा प्रदेश र स्थानीय तहमा सत्ता गठबन्धनको ३ हजार ८२७ मतभार थियो । प्रदेशतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरे । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरे । यो प्रदेशमा जम्मा २३० मतदातामध्ये २२९ जनाले मतदान गरेको आयोगको भनाइ छ ।

लुम्बिनी प्रदेशमा पनि एमाले शून्य

एमालेको अर्को प्रभाव क्षेत्र रहेको लुम्बिनी प्रदेशबाट पनि सत्ता गठबन्धनका दुबैजना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट कांग्रसकी विष्णुकुमारी सापकोटा विजयी भइन् भने माओवादीका झक्कु प्रसाद सुवेदी पनि राष्ट्रियसभामा आउन सफल भएका छन् ।

प्रदेश सभाका ८७ सदस्यमध्ये सबैले मतदान गरेका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता मध्ये २१६ जनाले मतदान गरे ।

लुम्बिनीमा कुल मतादा ३ सय ५ जना थिए जसमा ३०३ जनाले मतदान गरेकोको निर्वाचन आयोगको भनाइ छ ।

कर्णाली प्रदेशबाट गठबन्धनका तीनैजना विजयी

कर्णाली प्रदेशबाट पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, एकीकृत समाजवादीकी सावित्री मल्ल र माओवादीका विष्णुबहादुर विश्वकर्मा विजयी बनेका छन् ।

कर्णाली प्रदेशमा शतप्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यहाँ प्रदेश सदस्यतर्फ ४० जना र स्थानीय तहका १५६ मतदाता थिए ।

सुदूरपश्चिमबाट पनि गठबन्धनका तीनैजना विजयी

सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट विजयी बनेका छन् भने माओवादीबाट रेणु चन्द विजयी बनेका छन् ।

 

सुदूरपश्चिम प्रदेशसभाको अन्यतर्फको २ वटा मत गठबन्धनबाट एमालेलाई क्रस भएको छ । यहाँ प्रदेशसभातर्फ ५२ जनाले र स्थानीय तहका १७५ मध्ये १७३ जनाले मात्र मतदानमा भाग लिएका थिए ।

सातै प्रदेशको तथ्यांक हेर्दा प्रदेशसभामा ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरेका छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ कुल १४ सय ९७ जना मतदाता रहेकोमा १४ सय ८६ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो पनि…

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी

बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिस्कार