आर्थिक

अर्थसंक्षेप : २७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै, शेयर बजारमा पुनः फर्कियो रौनक

By खबरहब

September 25, 2024

काठमाडौं– सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ ।

आजका प्रमुख आर्थिक समाचार :

२७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको २७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित १११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमलव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । क्यानडियन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेको बताए ।

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ ।

‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान र उत्पादित फोहर आफैँले लिएर आउन पर्यटकलाई आग्रह गरेका छौँ’, आयोजना प्रमुख डा. रवीन कडरियाले भने, ‘पदमार्ग र बस्ती क्षेत्रमा भएको फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गरिएको छ ।’

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।

सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र भक्तपुरको जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ ।

पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। उनले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताए। आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए।

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व संकलन गरेको छ । यो आव २०७९–८० को तुलनामा छ करोडले बढी हो ।

गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संकलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ संघीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारिसाधन समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारिसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारिसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् ।

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकासमुनि वर्षौँदेखि राखिएका सवारी साधनमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारिसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’ नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता संघसंगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो समस्याको तत्काल छानबिन माग गरिएको छ ।

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक लामालाई नगदसहित सम्मान 

एनएमबी बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत बोनस दिने 

सुपरमादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीका सचिव निश्चल खरेलका अनुसार १० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ५५ लाख २६ हजार रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त बोनस १५औँ वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई दिने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब १० करोड रुपैयाँ बराबर रहेको छ ।

शेयर बजारमा पुनः फर्कियो रौनक, ४९ अंकले बढ्यो नेप्से  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुनः रौनक फर्किएको छ । आज एकै दिन नेप्से ४९.१८ अंकले बढ्दा  बजारमा रौनक देखिएको हो । मंगलबार २४०० विन्दुमा पुगेको नेप्से आज बढेर २५१९.५७ विन्दुमा पुगेको छ । आज नेप्से १.९९ प्रतिशतले बढेको हो । आज ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच भएको छ ।  प्रि–ओपन सेसनमा साढे २ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा थोरै माथि गएको थियो ।

तर ११ः३२ मिनेटमा भने बजार न्यूनतम २४४३.२८ विन्दुमा पुगेको थियो । त्यसपछि उठेको बजार निरन्तरजसो माथि गएको थियो । बजार ११ः४५ पछाडि पनि ५ पटकसम्म बजार तल झर्न खोजेको थियो । तर, खरिदकर्ता हाबी भएका कारण बजार तल झर्न सकेन ।