अन्तर्वार्ता

‘गठबन्धन आफैं टुट्छ, कांग्रेसले कुर्नुपर्छ’

By कृष्ण तिमल्सिना

March 26, 2024

काठमाडौं – नेपालीका कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले बनेको नयाँ सत्ता गठबन्धन आफ्नै आन्तरिक झगडाका कारण टुट्ने दाबी गरेका छन्। कांग्रेसले केही समय धैर्य गरेर बस्नुपर्ने र कांग्रेस नभई सरकार बन्न नसक्ने उनको दाबी छ।

कांग्रेस नेता केसीले भने, ‘यो गठबन्धन आफैं असफल हुन्छ। प्रक्रियागतरूपले उहाँहरूकै आन्तरिक द्वन्द्वले आफैं गठबन्धन भत्किने स्थितिमा पुग्छ। नेपाली कांग्रेसमा धैर्यता हुनुपर्छ।’

रेडियो क्यानडिडसँग कुरा गर्दै कांग्रेस नेता केसीले थपे, ‘अहिले त्यहाँभित्र जुनखालका द्वन्द्वात्मक भाषाहरू सुनिरहेका छौँ, त्यसलाई कांग्रेसले कुर्नु र हेर्नुपर्छ। हामीले यो सत्ता विमुख भएपछि गठबन्धन तोड्ने हैन, त्यो आफै टुट्छ र हामी नभई अर्को सरकार बन्न नसक्ने स्थिति बन्छ।’

नेता केसीले गृहमन्त्री रवि लामेछानेसँग नेपाली कांग्रेसको दुश्मनी नरहेको र कांग्रेसले सुशासन तथा प्रक्रियागत कुरा मात्र उठाएको बताए। केसीसँगको कुराकानीको सम्पादित अंश-

नेपाली कांग्रेसले प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा नै माग्यो। संसदीय छानविन समिति बनाउन माग गर्यो। कांग्रेस र रास्वपाको दुश्मनी किन?

यसलाई दुश्मनी भन्नुहुँदैन। किनकि लोकतान्त्रिक पद्दति भनेको नै विचारको प्रतिस्पर्धा हो, जहाँ कहिलेकाहीँ व्यक्तित्वको द्वन्द्व पनि देखिन्छ। तर, अहिले भएको घटनामा व्यक्तिगतरूपबाट कसैले कसैलाई चुनौती दिएर सार्वजनिक बहसमा आउँ भन्नु भन्दा प्रक्रियागत रूपबाट जानुपर्छ। यो प्रक्रियामा कसैले चुनौती दिन्छ भने प्रक्रियागत रूपबाट नै समाधान गर्नुपर्छ।

गृहमन्त्रीमाथि जनमानसमा प्रश्न उठिसकेपछि नेपाली कांग्रेसले त्यस सम्बन्धमा संसदीय समिति गठन गरेर छानबिन गरौँ भनेको छ। त्यसमा प्रमाण जुटाउने र भएका प्रमाण नष्ट नहुन् भन्ने दृष्टिकोणले संसदीय समिति गठन गर्दा सत्तामा बसेकाले त्यति धेरै डराउनुपर्ने अवस्था म देख्दिनँ। किनकि संसदीय समितिको परम्परामा सत्ताशीन पक्षकै सभापति हुन्छ र बहुमत पनि उनीहरूकै हुन्छ। संसदीय समितिसँग तर्सिनुको अर्थ आफैं यो इस्युबाट भाग्न खोजेको हो जस्तो देखिन्छ।

यो दुस्मनी हैन। कुनै एउटा नयाँ शक्ति जन्मेको हुँदा त्यो शक्ति लोकतान्त्रिक पद्दति आचरण र व्यवहारमा खारिएर स्थापित भयो भने त्यसले लोकतन्त्रलाई फाइदा गर्छ।

हिजोका दिनमा कांग्रेस सरकारमा रहँदा यो कुरा किन नउठेको त ? सरकारमा हुँदा पनि नेतृत्व कांग्रेसको थिएन। सरकारमा हुँदा पनि यो कुरा उठेको हो। त्योबेला सबै दलहरूमा समझदारी भएर भ्रष्टाचारविरुद्ध सबै एक हुनुपर्छ भन्ने कुरा मैले जो सरकारमा हुँदा पनि उठाएको हुँ। सुनकाण्ड र एनसेल काण्ड त देशकै ठूलो भ्रष्टाचारको काण्ड हुन्।

समिति कति बने तर त्यसले उल्लेख गरेका कुराहरू सिंहदरबारमा थन्किए, प्रधानमन्त्रीकहाँ थन्किए भन्ने छ। यसअघि सुन काण्डमा पनि छानबिन गरेर विस्तृत विवरण गृहमन्त्रीले प्रधानमन्त्रीलाई प्रस्तुत गर्नुभयो। तर केही अघि बढेको छैन।

भोलिका दिनमा नयाँखालको सत्ता समीकरण वा गठबन्धन कति सम्भव छ ? नेपाली कांग्रेस अस्थिरताको कारक बन्नु हुँदैन। हिजो चुनावमा हामीले नेपाली जनतालाई पाँच वर्षसम्म स्थायित्व, शान्ति र विकास दिन्छौँ भनेर आएका हौँ। यसमा माओवादीले कांग्रेसलाई धोका दिएको भन्दा पनि हामी दुवैले धोका दिएको जस्तो भयो। त्यसैले गठबन्धन फेर्ने चक्करमा देशलाई अस्थिरता र अन्यौलतिर धकेल्ने पक्षमा नेपाली कांग्रेस छैन। यो गठबन्धन आफैं असफल हुन्छ।

प्रक्रियागतरूपले उहाँहरूकै आन्तरिक द्वन्द्वले आफैं गठबन्धन भत्किने स्थितिमा पुग्छ। नेपाली कांग्रेसमा धैर्यता हुनुपर्छ। भ्रष्ट्राचार विरोधी अभियान, जनसरोकारका विषय, विधिको शासन र द्वन्द्वहीनताको पक्षमा कांग्रेस सशक्तरूपले अगाडि बढ्नुपर्छ।

सुशासन र भ्रष्टाचारको सन्दर्भ हेर्दा तपाईंहरूको पार्टीको एउटा तहतिर प्रश्न तेर्सिन्छ। विगतमा प्रधानमन्त्रीको असन्तुष्टि पनि त्यही रह्यो। अहिले संसदमा उठिराखेको आक्रोश पनि त्यही छ। सुशासनका लागि त तपाईँहरूकै पार्टीको एउटा तहको नेतृत्व बाधक बनेको हो त ? बाधक जहाँ, जुनसुकै पार्टी बने पनि यो सरकारले हिम्मतका साथ छानविन गरोस् न। यो मान्छे, यो पार्टी नभनी जनता र राष्ट्रलाई क्षति हुनेखालका निर्णयलाई उछिनेर निष्पक्ष भएर काम गर्दा कांग्रेसले त्यसलाई समर्थन गर्नुपर्छ।

अहिले जति पनि राजनीतिक रूपबाट नेतृत्वमा पुगेका मान्छेहरू छन्, ती सबै भ्रष्ट छन् भन्ने भाष्यआम जनतामा निर्धारण भएको छ र जनता अन्योलमा छन्। जनता अन्योलमा हुँदा नै त्यो भाष्य स्वीकार गर्नेतिर जाउँ, तबमात्रै विकास, सुशासन र समृद्धि छाउँछ।

सधैँभरि पार्टीको ह्विप एउटा पक्ष होला, तर विवेक त हरेक जनप्रतिनिधिको हुनुपर्छ र सत्यको साथ दिनु पर्छ। अहिले पनि भ्रष्टाचार विरोधी अभियान जुन ढंगले अगाडि बढाउन खोजिएको छ, यसमा पूर्ण संरक्षण हुँदाहुँदै पनि आफैंमाथि उभिएका प्रश्नहरूको जवाफ दिन सरकारमा रहेकाहरू तयार हुनुपर्छ। यसको निम्ति छानविन समिति गठन गर्नु आपत्ति हुँदैन।

अहिले जनतामा निराशा र असन्तुष्टि छ। यो तोड्न २३८ वर्षको राजाको निरंकुशता तोड्ने र १३/१४ वर्षको हिंसात्मक अवस्थाबाट देशलाई उन्मुक्ति दिएर शान्तिपूर्ण अवस्था सिर्जना गरेर अगाडि बढ्नु पर्छ। समूहगत रूपबाट गल्तीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ। कांग्रेस लोकतन्त्रको रक्षक पार्टी हो। जुनबेला कांग्रेस कमजोर भएको छ, त्योबेला यो देशमा लोकतन्त्र सिद्धिएको छ।

कांग्रेसले परिवर्तन गर्छ, परिवर्तनको लागि नेतृत्व पनि गर्छ तर कांग्रेसकै कारण ती परिवर्तन सधैँ संकटमा पर्छन् भन्ने पनि छन् नि ? प्रतिपक्षका नेताले पनि भन्नुभयो, २०१७ सालमा बीपीको कमजोरीले संसद् विघटन भयो। इतिहासको अध्ययन नगरेर, त्यो बेलाका राजाको निरंकुश प्रवृत्ति र उहाँको लोकतान्त्रिक पद्दति स्थापित गर्ने प्रक्रियामा भएको संघर्ष शक्ति एकातर्फ थुप्रिएको र अर्कोतर्फ भर्खर प्रजातन्त्र प्राप्तिको अवस्थालाई विश्लेषण नगरेर भन्ने हो भने त कांग्रेसलाई दाग लगाउने ठाउँ होला। तर, स्वतन्त्र विचार अभिव्यक्त गर्ने अधिकारको संवाहक पनि कांग्रेस नै हो। त्यसैले हामीलाई कसैबाट डर छैन। हामीलाई डर भनेको हाम्रै प्रवृत्तिबाट, कालोपनको डर हो। त्यसलाई चिर्न सक्यौँ र हामीभित्रै गठबन्धन गर्न सक्यौं भने हामीलाई कुनै गठबन्धनको आवश्यकता छैन।

कांग्रेसलाई छाडेर गठबन्धनभित्रै अर्को गठबन्धन किन भयो जस्तो लाग्छ ? अहिले त्यहाँभित्र जुनखालका द्वन्द्वात्मक भाषाहरू सुनिरहेका छौँ, त्यसलाई हामी कांग्रेसले कुर्नु र हेर्नुपर्छ। हामीले यो सत्ता विमुख भएपछि गठबन्धन तोड्ने हैन, त्यो आफै टुट्छ र हामी नभई अर्को सरकार बन्न नसक्ने स्थिति बन्छ।

अहिले व्यवस्थाको विरोधभन्दा पनि हामीभित्रै जन्मेको विकृतिले जनता निराश छन्। अहिले देखिएको आम असन्तुष्टिलाई यही संविधानभित्रबाट सम्बोधन गर्नुपर्छ। अन्यथा यसले गलत बाटोतिर देशलाई लैजान सक्छ।

अहिले संघमा भएको समीकरण परिवर्तनको बाछिटा प्रदेशमा पनि देखिराखेका छौँ, अब ०८४ सालसम्म मुलुकले कसरी थाम्ला ? अहिले व्यवस्थाको विरोधभन्दा पनि हामीभित्रै जन्मेको विकृतिले जनता निराश छन्। यो निराशार असन्तुष्टिलाई विद्रोहमा परिवर्तन गर्न विभिन्न पक्षको चलखेल चलिरहेको छ। नेपालले ७६ वर्षको अवधिमा ७ वटा संविधान प्रयोग गरेको छ। संविधान नै मात्र प्रयोग गर्नेरूपमा देशलाई नराखौँ। अहिले देखिएको आम असन्तुष्टिलाई यही संविधानभित्रबाट सम्बोधन गर्नुपर्छ। अन्यथा यसले गलत बाटोतिर देशलाई लैजान सक्छ।

यो पनि- ‘देउवामा निरंकुशता देखियो, बोल्न नसक्नेहरु दास हुन्’