‘देउवामा निरंकुशता देखियो, बोल्न नसक्नेहरु दास हुन्’ | Khabarhub Khabarhub

‘देउवामा निरंकुशता देखियो, बोल्न नसक्नेहरु दास हुन्’

‘व्यवस्थामा समस्या छैन, व्यक्ति मात्र फेरेर हुँदैन’



काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवामा निरंकुशता हावी भएको बताएका छन् । नेतृत्वको गल्तीबारे बोल्न नसक्नेहरु दास वा अवसरवादी हुन् भन्ने बीपी कोइरालाको उक्ति अहिले स्मरणीय भएको केसीको भनाइ छ ।

आगामी महाधिवेशनमा कांग्रेसको नेतृत्व परिवर्तन हुने र अहिलेको इतर समूहले काँग्रेस हाँक्ने केसीले ठोकुवा गरे । आफू संस्थापन पक्षमै रहे पनि ‘शेरबहादुर एण्ड कम्पनी’ को उपेक्षाका कारण अहिले संस्थापन इतर पक्षमा लागेको केसीले स्पष्ट पारे ।

हाल राष्ट्रियसभाको उम्मेदवारी चयन प्रक्रियामा केसीले लिखितरुपमै असहमति राखेका छन् । निर्णय प्रक्रियामा सभापतिले विधि, प्रक्रिया र लोकतन्त्रको धज्जी उडाएको केसीको आरोप छ ।

नेपाली कांग्रेसको इतर समूहले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारप्रति असन्तुष्टि प्रकट गरिरहँदा केसी चाहिँ व्यक्ति फेर्दैमा समस्या समाधान नहुने बताउँछन् ।

खबरहबसँगको विशेष अन्तरवार्तामा केसीले भने, ‘सरकार र व्यक्ति परिवर्तनको मात्र पछि म छैन । यसबाट देशले कुनै उपलब्धि पाउँछ भन्नेमा म छैन । म गठबन्धन फुट्ने सम्भावना अहिले देख्दिनँ ।’

तर, सरकारले राम्रोसँग काम गर्न नसकेको र देशमा लुटतन्त्र चलिरहेको केसीले बताए । ठगीको पैसाबाट राजनीति चलिरहेको उनले बताए ।
प्रस्तुत छ केसीसँग समसामयिक विषयमा खबरहबले गरेको कुराकानी –

तपाईँ अहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्य हुनुहुन्छ । लेखा समितिले के काम गरिरहेको छ ?

लेखा समितिको मूल काम र दायित्व राष्ट्रिय राजस्व र नेपाली जनताको कर कहीँकतै नगुमोस् भन्नेमा केन्द्रित हुनुपर्ने हो । लेखा समिति सम्पूर्णरूपले महत्त्वपूर्ण छ र विशेष दायित्व पनि छ । बेलायतमा लेखा समितिलाई ‘क्वीन कमिटी’ भनिन्छ । किनभने, यसले जनताले तिरेको करको निगरानी गर्छ । त्यस कारण हामीले लेखा समितिमा राष्ट्रिय राजस्वको अपचलन, अनुशासनहीनता र भ्रष्टाचारलाई गम्भीर तरिकाले उठाएका छौँ ।

अहिलेको राष्ट्रिय परिवेशमा जुन ढंगको अनियमितता र भ्रष्टाचारको बिगबिगी छ, यसलाई नियन्त्रण गर्न सकियो भने आत्मसन्तोष हुन्छ भनेर मैले लेखा समिति रोजेको हो ।

समितिमा अहिले बेरुजुको सम्बन्धमा छलफल भइरहेको छ । अर्कोतिर, राष्ट्रियरूपमा वास्तविकता के हो, त्यसलाई केलाउने र सम्बन्धित पक्षसँग छलफल गर्ने काम भइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर भनेर पठाउने काम हामीले गरिरहेका छौँ ।

देशमा अहिले सुशासनको अवस्था कस्तो छ ? सन्तोष गर्ने ठाउँ छ ?

वास्तवमा, सत्तामा बसेर हामीले निरन्तर सुशासनका कुरा गर्‍यौँ । तर, समाजको चारैतिर अनियमितता, लुट र भ्रष्टाचार छ । विधिविहीनता र भ्रष्टाचार रोक्न नेतृत्वले जति प्रयास गरेको छ, यो प्रयास पहाड फोरेर मुसा निस्किएको जस्तो मात्र भएको छ । यसमा सरकार र संसद गम्भीर बन्नुपर्छ । लेखा समिति पनि गम्भीर छ ।

तपाईँकै पार्टी सरकारमा छ । ठूला भ्रष्टाचार काण्डमा यहाँकै पार्टीका नेताहरू मुछिएका छन्…..

निरन्तररूपबाट मैले कुरा उठाएको छु । कतिपय समयमा लिखितरूपमा मैले मेरो पार्टीका सभापति शेरबहादुर देउवालाई सुझाव दिएको छु ।
देशमा देखिएको असन्तुष्टि विधिविहीनता र मूलरूपले भ्रष्टाचार हो । हरेक जनमानसमा के भाष्य सिर्जना गर्न खोजिएको छ भने सरकारमा बस्ने मन्त्रीहरू सबै भ्रष्ट हुन्।

बिस्तारै जनस्तरमा हो कि क्या हो भन्ने परेको छ । सर्वोच्च अदालतका कुनै पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा देशले चिनेका कानुनविद र भ्रष्टाचारविरोधी पहिचान बनाएका तीनजनादेखि पाँच जनासम्मको उच्चस्तरीय सर्वशक्तिसम्पन्न न्यायिक आयोग गठन गरौँ । सबै समयमा भएका भ्रष्टाचार काण्डको उसले निर्ममतापूर्वक छानविन गरोस् र वास्तविकता जनतामा पुगोस्।

यो कुरा हाम्रो नेपाली कांग्रेसको प्रधानमन्त्री हुँदा प्रारम्भ गरौँ । यसले आउने चुनावलाई पनि ठूलो मद्दत गर्छ भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित प्रस्ताव पेस गर्ने अर्जुननरसिंह हुँ म । मैले यो कुरा संसदमा पनि भनेको छु र पार्टीमा निरन्तर कुरा उठाएको छु । उठाउने काममा पछि परेको छैन । यसलाई परिणाममूलक निष्कर्षमा पुर्‍याउन मेरो तागतले पनि भ्याएको छैन ।

यो संसदीय परम्परा हो । यसको मर्यादा सत्तापक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षले सबैले सोच्नुपर्ने हुन्छ । जे ल्याए पनि हामी सत्तापक्ष बोल्दा जति बोले पनि ह्विप लागेपछि हुन्छ नै भन्नुपर्ने, अनि अर्को पक्षले राम्रो कुरा सरकारले प्रस्तुत गर्दा पनि अब हुन्न भन्नुपर्ने खालको परिवेश र कार्यशैली छ । यसमा मैले भन्दै आएको छु, राष्ट्रिय महत्वका विषयमा सत्ता पक्ष प्रतिपक्षले एक भए हुन्छ । संसारमा धेरै ठाउँमा राष्ट्रिय मुद्दाहरूमा एक हुने चलन छ ।

संसदको हिउँदे अधिवेशन अझै निश्चित भएको छैन । के संसद प्रभावकारी हुन नसकेको हो ?

यो प्रश्न उठ्नु स्वाभाविक हो । लामो समय संसद बसेर एउटा मात्रै विधेयक पास भयो । संसद्को काम त विधेयक पास गर्ने, कानुन बनाउने हो तर गर्न सकेन । संसद् गुण र दोषका आधारमा भन्दा पनि ‘हुन्छ’ र ‘हुन्न’ का आधारमा, सत्ता र प्रतिपक्षका आधारमा चल्यो । विवेक र सत्य खोज्ने काम संसदले गरेन ।

यो संसदीय परम्परा हो । यसको मर्यादा सत्तापक्ष, प्रतिपक्ष र प्रमुख प्रतिपक्षले सबैले सोच्नुपर्ने हुन्छ । जे ल्याए पनि हामी सत्तापक्ष बोल्दा जति बोले पनि ह्विप लागेपछि हुन्छ नै भन्नुपर्ने, अनि अर्को पक्षले राम्रो कुरा सरकारले प्रस्तुत गर्दा पनि अब हुन्न भन्नुपर्ने खालको परिवेश र कार्यशैली छ । यसमा मैले भन्दै आएको छु, राष्ट्रिय महत्वका विषयमा सत्तापक्ष प्रतिपक्षले एक भए हुन्छ । संसारमा धेरै ठाउँमा राष्ट्रिय मुद्दाहरूमा एक हुने चलन छ ।

हामीले कार्यशैलीमा पनि परिवर्तन गर्नुपर्छ । संसदको उपादेयता नै छैन भन्ने होइन । सांसदहरुले जनताका समस्या उठाएका छन् । भूकम्पपीडितको समस्या होस् वा बाढीपहिरो, नेपाली जनताका समस्या तत्कालै सदनमा उठाउने, सरकारबाट त्यसको जिम्मेवारी लिने र प्रतिउत्तर दिने कुराहरू भएका छन् । तर, जुन ढंगले गुण र दोषको आधारमा छलफल हुनुपर्ने थियो, त्यो हाम्रो परिपाटीमै पनि गम्भीररूपले सोच्नुपर्ने अवस्था छ ।

अर्कोतिर, हामीले सफलतापूर्वक सबै काम गर्‍यौँ भन्ने होइन । जनमानसमा सबै कुरा दिन सकेनौँ भनेर प्रश्न उठ्नु स्वाभाविक हो ।

गठबन्धन सरकारको कुरा गर्दा प्रचण्ड नेतृत्वको सरकारलाई हेर्ने सवालमा नेपाली कांग्रेसभित्रै मतभेद देखिने गरेको छ । यहाँले चाहिँ सरकारको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

सरकार कतिपय ठाउँमा पाइला चाल्दै नचालेको अनुभूति हुन्छ । गर्न नखोजेको पनि होइन, केही गर्न खोजेको छ । तर, जुन ढंगको सुशासन र भ्रष्टाचार नियन्त्रण हुनुपर्ने हो, त्यो भएन । विकास र समृद्धिको यात्रामा जुन फड्को मार्नुपर्ने थियो, एक वर्षभित्र यसलाई उत्साहपूर्ण भनेर म लिन्नँ ।

यहाँको विचारमा काँग्रेस वर्तमान गठबन्धनमै बसेको ठीक कि गठबन्धनबाट बाहिरिनु ठीक ?

अहिलेको परिस्थिति न पत्रकार साथीहरूलाई बुझाउन सकेँ, न मेरो पार्टीकै नेतालाई । अहिले व्यक्तिमा समस्या होइन । अहिलेको राष्ट्रिय समस्या भनेको सुशासनमा प्रतिवद्धता जनाउने हो । सुशासन भन्नासाथ विधिविहीताको अन्त्य, दण्डविहीताको अन्त्य र भ्रष्टाचारमुक्त समाज बनाउने हो । पहिलो सुशासन हो भने दोस्रो अहिलेको आर्थिक समस्या समाधान गर्ने हो ।

अहिले यत्रो ठूलो आर्थिक समस्या भइरहेको छ । परिस्थिति हेर्ने हो भने झन्डै-झन्डै आर्थिक वर्षको आधा समय सकिँदा पुँजीगत खर्च १५ प्रतिशतभन्दा माथि छैन । अर्कोतिर १ खर्ब भन्दा बढीको घाटा खर्च छ । प्रशासनिक खर्चमा उठेको राष्ट्रिय राजस्वमा १ खर्ब भन्दा बढीको घाटा देखिएको छ ।

हरेक दिन तीन हजारसम्म नेपालीहरु विदेश गएका छन् । हरेक दिन तीनदेखि पाँचवटा शव फर्किन्छन् । गाउँघरमा जाने हो भने युवकहरू शून्य छन् । गाउँ वृद्धाश्रम जस्तो भएको छ । घरमा वृद्धवृद्धा शिवाय घर कुर्ने मान्छे छैन ।

अब आत्मनिर्भर गाउँ विकास गर्दै आर्थिक रूपले आयआर्जनको विकाश गर्न जरुरी छ । यसका लागि आर्थिक सुधार अभियान चलाउनुपर्छ । परराष्ट्र नीति र राष्ट्रिय नीतिमा राष्ट्रिय सहमतिको थिति निर्माण गर्नुपर्छ । राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति महत्त्वपूर्ण कुरा हो । सरकारमा को जाने, हामी एमालेसँग मिलेर के हुने, माओवादीसँग मिलेर के हुने भन्ने होइन ।

मिलेर नै के छ र ? नीतिगतरूपमा जोसँग मिले पनि हुन्छ । जोसँग मिल्ने मात्र होइन, म त आवश्यक पर्‍यो भने निश्चित मिसनका निम्ति सबै राष्ट्रिय पार्टीहरू एकै ठाउँमा बसौंँ भन्छु । यो भ्रष्टाचारीलाई समाइस् भने म तेरो गठबन्धन तोड्छु भन्ने धम्कीको भरमा सरकारले काम गर्नु नपरोस् । त्यो कुरा बुझौँ ।

म त व्यक्ति मात्र परिवर्तनले केही हुने देख्दिनँ । परिवर्तनको दृष्टिकोणले काम गरौँ । म व्यक्तिभन्दा पनि नीतिगतरूपले प्रष्टतासहित नयाँ यात्रा प्रारम्भ गरौँ भन्छु ।

राष्ट्रको अवस्था जटिल छ । आम जनता निराश छन् । असन्तुष्ट छन् । यो निराशा र असन्तुष्टि विस्तारै अराजकता र विद्रोहमा परिणत हुँदैछ । यहीबेला हामीले नयाँपन लिएर काम गर्नुपर्छ । म पार्टीभित्र पनि यही लडाइँ लडिरहेको छु । हामीले नयाँपन दिऔँ । नयाँ आशा भरोसा दिऔँ । टुटेको विश्वासलाई आशामा बदलौँ । र, एउटा नवीन प्राथमिकता लिएर जाउँ भन्ने पक्षमा छु । होइन भने जो आए पनि उस्तै हो । सरकार र व्यक्ति परिवर्तनको मात्र पछि म छैन । यसबाट देशले कुनै उपलब्धि पाउँछ भन्ने कुरामा म छैन ।

अहिलेको गठबन्धन फुट्ने र अर्को सरकार बन्ने सम्भावनाचाहिँ कति छ ?

म गठबन्धन फुट्ने सम्भावना अहिले देख्दिनँ ।

अब कांग्रेसभित्रको कुरा गरौँ । राष्ट्रियसभाका उम्मेदवार छनोटको विषयलाई लिएर तपाईँ र बलबहादुर केसीले पार्टीमा लिखित असहमति जनाउनुभयो । यो असन्तुष्टि किन ?

आखिर जो नेपाली कांग्रेसबाट १० जना हामीले छानेका छौँ । ती कांग्रेस नै हुन् । ती कोही परुन् या कोही नपरून् भन्ने मेरो आग्रह पूर्वाग्रह हैन । तर, केही मान्छेहरू छान्दा विभिन्न परिवेशमा बसेर कुन प्रदेशबाट के–के नाम आएको छ, केन्द्रीय समितिमा सबै नाम प्रस्तुत गरेर उनीहरूमध्ये छान्ने प्रक्रिया हो । कसैको नाम आएन । सभापतिजीले १० जनाको नाम भन्नुभयो । त्यसैलाई सही हान्नुपर्ने यस्तो पनि लोकतन्त्र हो ? यस्तो हो लोकतन्त्रको शैली ?

सभापतिले आफ्नो समूहका ७ जनाको नाम फ्याट्ट गोजीबाट निकाल्नुभएको हो त ?

कहाँबाट निकाल्या मलाई थाहा छैन । तर, जुन दिन पुस २२ गते १ बजे बैठक बोलाइयो । ठीक १ बजे म पुगेँ । एकछिन बसेपछि ४ बजेलाई सारियो । ४ बजे म पुगेँ । ४ बजेबाट रातभरि भोलिपल्ट बिहान ४ बजेसम्म पनि सबै, सातवटै प्रदेशले नाम ल्याएका एक-एक गरेर छलफल गरेर सभापतिले बहुमतले गरेको भए पनि हुने थियो ।

नाममा त छलफल गर्न सक्नुपर्छ । यस्तो पनि लोकतान्त्रिक पद्दति हुन्छ ? यही पद्दतिका लागि हामीले यत्रो संघर्ष गरेका हौं । यसकारण मेरो असहमति को व्यक्ति परेको छ, छैन भन्ने होइन । राष्ट्रियसभा भनेको विज्ञको सभा हो । पेसागत समुदाय बुद्धिजीवी तिनको प्रतिनिधित्व सम्बन्धमा हामीले आफ्नो कुरा त राख्न पाउनुपर्ने थियो ।

अर्काे कुरा, यत्रो मधेस प्रदेश छ । मेचीदेखि महाकालीसम्म मधेसी, मुस्लिम छन् । आदिबासी जनजाति छन् । तिनलाई सन्तुलित ढंगले वौद्धिक प्रतिनिधित्व गराउने कुरामा छलफल त हुनुपर्छ नि । कुनै छलफल भएन ।

बैठक त बस्यो नि हैन ?

म तपाईँलाई इमानदारतापूर्वक भन्छु, ४ बजेसम्म बस्दा बस्दा हैरान भइयो । अस्वस्थ्य पनि थियौँ । समस्या थियो । ४ बजे बल्ल-बल्ल सभापतिले बोलाउनुभयो, उहाँले नाम प्रस्तुत गर्नुभयो । त्योभन्दा अगाडि संसदीय बोर्ड अहिलेसम्म गठन भएको छैन । नेपाली कांग्रेसको विधानअनुसार संसदीय बोर्ड गठन हुनुपर्छ । बोर्डले पहिले निर्णय गर्ने हो । बोर्डले गरेको निर्णय अनुमोदन केन्द्रीय कार्यसमितिले अथवा केन्द्रीय कार्यसमितिको अनुपस्थितिमा कार्यसम्पादन समितिले गर्ने हो ।

कार्यसम्पादन समितिको बैठक ४ बजे बिहान बोलाइयो । अब तपाई नै सोच्नुहोस्, दिउँसो ४ बजे बोलाएको, भोलिपल्ट ४ बजेसम्म को बस्छ ? सबै सही गरेर हिँड्नुभयो । बहुमत त सही गरेको पुग्यो होला । तर, हामी ३८/३९ जनामा १४/१५ जना मात्र थियौं । मैले सोधेँ, यो संसदीय समितिबाट पूर्ण सहमति छ कि छैन भन्दा महामन्त्री गगन थापाले मेरो असहमति छ भन्नुभयो । त्यसपछि म बोल्न खोज्दै थिएँ, बलबहादुरजीले बोल्नु भयो । त्यसपछि मैले बोलेँ र असमति जनाएर हामी हिँड्याैँ ।

मेरो सबैभन्दा ठूलो आपत्ति अहिले भएका कोही व्यक्तिमा होइन । बौद्धिक, पेसागत समुदायका व्यक्तिहरुलाई समेटेर सन्तुलित ढंगबाट जानुपर्छ भन्ने हाम्रो विचार हो ।

नेपाली कांग्रेसले उम्मेदवार छान्नेबारे एउटा मापदण्ड बनाएको थियो, त्यो अनुसार उम्मेदवार तय गरिएन भन्ने यहाँको भनाइ हो ?
मापदण्डभित्र कति पर्‍यो कति परेन भन्दा पनि नाम त सबैको छलफल गर्न सकिन्थ्यो नि त । नाममा नै छलफल भएन । १० जना जसको नाम आयो, त्यो नै पारित भयो । त्यसमा मैले असहमति जनाएँ । महामन्त्रीहरुले पहिला नै संसदीय समितिमा असहमति जनाइसकेका थिए । भएको त्यही हो ।

अब बाँकी रह्यो, नेपाली कांग्रेसका उम्मेदवारहरु जो–जो जहाँबाट उठ्नुभएको छ, कांग्रेसको एउटा जिम्मेवार व्यक्तिको नाताले उहाँहरुलाई जसरी पनि जिताउनुपर्छ भन्ने अर्को अभियान हो । तर, जुनखालको शैली अपनाइयो, मैले यस्तो लोकतन्त्र चाहिँ बुझेको छैन । नाममा त छलफल गर्न सकिन्छ नि । प्रक्रिया नै मलाई दिक्क लाग्यो । त्यसैले मैले असहमति जनाएको हुँ ।

नेपाली कांग्रेसभित्र विभिन्न समूह छन् । खासमा तपाईं कुन समूहमा हुनुहुन्छ ? संस्थापन पक्ष कि संस्थापन इतर ?

म संस्थापन पक्षकै हुँ तर संस्थापन पक्षका शेरबहादुर एण्ड कम्पनीले मलाई कहिल्यै संस्थापन समूह भन्दैन । तर, अहिले म के देख्दैछु भने– जुनखालको जनतामा आम निराशा छ र जुन खालको राष्ट्रिय परिस्थिति निर्माण हुँदैछ, मुलुकमा जुन अन्तर्राष्ट्रिय परिस्थिति विकास हुँदैछ, पुराना पार्टीमाथि आक्रमण हुने जुन भाष्य निर्माण हुँदै छ, यसको सामना कांग्रेसले एकीकृत ढंगले गर्नुपर्छ । यसका लागि सभापति शेरबहादुरजीले कार्यशैली परिवर्तन गरेर सबै एकै ठाउँमा नीतिगत परिवर्तन गरेर नयाँ अभियानमा जाउँ भन्ने मेरो प्रयास हो । तर उहाँहरु जान चाहनुहुन्न । त्यसकारण म इतर नै हुँ ।

उसोभए तपाईँ अब संस्थापन इतर समूहमा हो ?

संस्थापनले मान्दै नमानेपछि त यो विचार राख्ने इतर समूह बनेर अगाडि बढौँ भन्ने मेरो प्रयास त हुन्छ नि ।

पार्टीभित्र संस्थापन इतर पक्षका नेताले हस्तक्षेपकारी भूमिका खेल्न किन नसकेको ? आफ्नै समूहभित्र एकता नभएर हो कि ?

हामीले व्यक्तिमा हस्तक्षेप गर्न खोजेको होइन, प्रक्रियामा हस्तक्षेप गर्न खोजेको हो । अझ मैले त जहिले पनि गरेको छु, लोकतन्त्र भनेको पद्दतिको मात्र नाम होइन, यो प्रक्रियाको नाम हो । यो विधिसम्मत सञ्चालन गर्ने संस्थागत प्रक्रियाको र प्रवृत्तिको नाम हो ।

यही कुरालाई सभापतिले चारबजे सबैलाई राखेर नाम यो–यो आएको छ, तपाईंहरुको के विचार हो भनेर सोधेको भए अहिले नाम आएकोमा केही परिवर्तन हुन्थे होला । सम्भवतः यिनै हुन्थे । किनभने, उहाँसँग बहुमत पनि छ । त्यसमाथि उहाँ सभापति पनि हो । तरिका त अत्यन्तै निरंकुश देखियो नि उहाँको ।

हाम्रो गण्डकी प्रदेशको उम्मेद्वार अर्को उपयुक्त मान्छे हुन सक्दैन थियो र ? मैले नै कि कोशी प्रदेशको जस्तो पुरानै मान्छेलाई दोहोर्‍याउँ कि शुक्रराज शर्मा जस्तो व्यक्तित्व हुनुहुन्छ, भनेको थिएँ । बैठक नै बसेन । छलफल हुने त कुरै भएन ।

अब के छ भने, हामीलाई दिने भनेको ठाउँमा पनि आफूले भनेको मान्छे भए हुने, नभए नहुने रे । त्योखालको चरित्रले त पार्टीभित्र एकता कायम हुँदैन । मचाहिँ पार्टीभित्र सम्पूर्ण एकताको पक्षधर हुँ । मैले व्यक्तिगतरुपमा पनि सभापतिलाई धेरै भनेँ कि– शैलीगतरुपले र व्यवहारिक दृष्टिकोणले सबैलाई समेटेर जाउँ ।

आखिर के भएको थियो र ? उहाँले बोलाएको समयमा सबैजना आएका थिए । त्यहीँ बसेर ‘कुन प्रदेशबाट को–को सिफारिस भएर आएको छ भन’ भनेको भए सबैले आफ्नो हिसाबको सिफारिस गर्थे होला । अन्त्यमा उहाँले भनेकै नाम सुनाएको भए पनि हामीले के गर्न सक्थ्यौँ ? उहाँसँगै बहुमत छ ।

राष्ट्रियसभा उम्मेदवारकै कुरा गर्दा संस्थापन पक्षको भनाइ थोरै सिटमा धेरै आकांक्षी भएर व्यवस्थापन गर्न सकिएन भन्ने छ नि ?

मलाई त्यो थाहा छ । म पनि जिम्मेवार मान्छे हुँ । अहिले कुनै पनि पदमा बसेका मानिसहरु सभापतिकै समकालीन हुन्, अरुको कुरा छोडिदिनु । मलाई थाहा छ त त्यो परिस्थिति । तर, कम्तीमा पनि सबैको नाम राखेर एउटै बास्केटमा बसेर छलफलसमेत नगरी १० जनाको नाम लिएर बहुमतका आधारमा पास गरेर हुन्छ ?

हामीले भनेको पुग्दैन भनेर थाहा छ सबैलाई । हामी हदमा एउटा पेसागत रुपबाट कोही पत्रकार, बुद्धिजीवी, कलाकारिता क्षेत्र आदिबाट लिनुपर्छ भन्थ्यौँ । मैले त बागमती प्रदेशबाट कलाकारिता क्षेत्रको लिनुपर्छ पनि भनेको थिएँ । अहिले भएका उम्मेद्वारहरु पर्नुहुँदैनथ्यो हामीले भनेको होइन ।

तर, छलफल त हुनुपर्छ नि । यस्तै गर्ने हो भने देखाउनका लागि किन कार्य सम्पादन समिति राखेको ? किन अहिलेसम्म संसदीय बोर्ड गठन नगरेको ? तरिका भएन क्या । काम गर्ने शैली भएन ।

संस्थापन पक्षकै नेताहरुले पनि कहिलेकाहिँ सभापति देउवाको एकलौटी हुन थाल्यो भनेको सुनिन्छ । आगामी दिनमा देउवाले आफ्ना निकटस्थलाई नेतृत्व हस्तान्तरण गर्ने सम्भावना कति छ ?

हस्तान्तरणको कुरा १५ औँ महाधिवेशनले सम्पूर्ण कुरा परिवर्तन गर्छ । अहिलेको जनमानसिकता, युवामा रहेको चेतना र पार्टीभित्रको कुरा सबैले बुझेका छन् । कसैले आफ्नैमा हस्तान्तरण गर्ने प्रयास त गर्लान्, के हुन्छ त्यहीबेला हेरौँला ।

सभापति देउवाले तपाईं जत्तिको पार्टीमा योगदान गरेको व्यक्तिको कुरा पनि सुन्न छाड्नुभएकै हो त ? किन यस्तो ?

अब तपाईं नै भन्नुस् । बेलुका ४ बजे बोलाएको बैठक सभापतिले बिहान ४ बजे बोलाउने हो त ? के त्यहाँ बस्ने अरु सदस्यको मूल्य नै छैन ? स्वास्थ्यको कुरा पनि होला । सदस्यहरुले औषधि खानुपर्ने होला नि । त्यसकारण योखालको जुन शैली छ, यो निरंकुश भयो ।

को व्यक्ति पर्‍यो, परेन त्यो आफ्नो ठाउँमा छ । मलाई कोही इच्छा थियो होला, अर्कोलाई कोही इच्छा थियो होला । सिट सीमित थियो । अहिलेका भन्दा केही व्यक्ति फेरिन्थे होला । नभए पनि यही अहिलेका पनि पर्ने नै व्यक्ति हुन् । तर जुन शैली अपनाइयो, यसमा मेरो गम्भीर खेद र दुःख छ ।

दुबै महामन्त्रीले सभापतिको कार्यशैली तीव्र असन्तुष्टि नै जनाउँदै आउनुभएको छ । उहाँहरुको समग्र भूमिकालाई तपाईं कसरी हेर्नुहुन्छ ?
उहाँहरुले कोशिस गर्नुभएको छ, दुवै महामन्त्रीले ।

आफ्ना विचार प्रष्टरुपले राख्नुभएको छ । तपाईंलाई मैले भनिहालेँ नि, त्यो दिन एउटा महामन्त्री निस्किसक्नुभएको थियो । अर्को महामन्त्री हामीसँगै हुनुहुन्थ्यो, साढे ३ सम्म । गगनजी हामीसँगै हुनुहुन्थ्यो । सभापतिजीले हामीलाई विचरा बनाउने कोशिस गर्नुभयो, त्यो समय आएपछि कार्यकर्ताले मूल्यांकन गर्छन् ।

योभन्दा अघिल्लो महाधिवेशनमा तपाई र गगन थापाबीचमै महामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो । अहिलेचाहिँ तपाईहरु सँगै हो ?
अहिले पार्टीभित्रको यथास्थितिवाद, परम्परावादी शैली र निरंकुश प्रवृत्तिका विरुद्धमा जो–जो आउँछन्, म ती सबैसँग छु ।

राम्रा र विज्ञ भनिएका डा. स्वर्णिम वाग्लेजस्ता मानिसहरुले नेपाली कांग्रेस छाडिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?

यसबाट हामी पनि चिन्तित छौँ । त्योखालको स्थिति नदोहोरियोस् । आउनुहोस्, सँगै बसेर यहाँ रहेको धमिलोलाई सङ्लो बनाऔँ र नविन कांग्रेसको सिर्जना गरौँ । पार्टीलाई रुपान्तरण गरौँ । पार्टीलाई वैचारिक पुनर्जागरण गरौँ । पार्टीभित्र आवश्यक भयो भने पुस्तान्तरण पनि गरौँ । जे गर्नुपर्छ, एउटा नयाँ विचारका साथ गरौँ भन्ने जुन जमात छ, जुन पार्टी इतर पक्ष छ, यसैले का‌ग्रेसलाई थाम्छ ।

कांग्रेसलाई बीपीले देखेको बाटोमा हिँडाउन अझै कति समय लाग्ला ?

बीपीले देखाएको बाटोमा आंशिक रुपबाट हामी हिँडिरहेका छौँ । आंशिकरुपमा उहाँले त्यस समयमा भन्नुभएका कुराहरुमा समय सापेक्ष आफैँ परिवर्तन गर्नुपर्ने आवश्यकता पनि छ ।

तपाईको समाचार संस्थामार्फत म फेरि पनि साथीहरुलाई भन्न चाहन्छु– नेतृत्वले मनपरि गर्दा, जो टुलुटुलु हेरेर बस्छन्, कि ती दास हुन्, कि अवसरवादी हुन् । गलत नेतृत्वलाई गलत भन्ने आँट कार्यकर्ताले गरेन भने लोकतन्त्र जीवित हुँदैन र पार्टी जीवित हुँदैन भन्ने बीपीको जुन भनाइ थियो, त्यसलाई मात्रै हामी सबैले सम्झियौँ भने धेरै ठूलो परिवर्तन हुन्छ ।

विकास निर्माणका थुप्रै काम भएका छन् । तपाई मसँग भिडियो अन्तरवार्ता गरिरहनुभएको छ, यो पनि ०४७ को प्रजातन्त्रपछिकै योगदान हो । त्यसपछि नै प्रिन्टिङ मिडियादेखि इलेक्ट्रोनिक मिडियाहरु सबै ओपन भएर आएका हुन् । त्यसकारण यी उपलब्धीहरुलाई त्योबेलासँग तुलना गर्नै सकिँदैन ।

संस्थापन इत्तर पक्ष नेपाली कांग्रेसभित्र कमजोर छ, बहुमतमा छैन । संसदीय दलको निर्वाचन होस् या महाधिवेशन, दुबैमा बहुमत जुट्ने गरेको छैन । के कारणले यस्तो भइरहेको छ ?

यसमा धेरै चिजले काम गरेको छ । अहिले राजनीतिलाई भ्रष्टाचार, तस्करी र ठगीबाट कमाएको पैसाले राजनीतिलाई कन्ट्रोल गरेको छ । अब आउने १५ औँ महाधिवेशन त्यसले पनि सक्दैन, मलाई त्यो विश्वास छ । हेरौँ ।

अहिले कांग्रेसका महामन्त्रीद्वय एउटै खेमामा उभिनुभएको हो ?

हामी एउटै खेमामा छौँ, भोलि पनि रहन्छौं ।

विश्वप्रकाश र गगनका बीचमा पनि मनमुटाव छ भन्छन् नि ?

स्वाभाविक कुरा हो, द्वन्द्व त परिवारभित्र पनि भइराखेको हुन्छ । कसैको कुनै कुरा कसैसँग चित्त बुझ्दैन होला । कुनै कुरामा अलिकति फरक विचार आउन सक्छ । तर, जहाँसम्म मौलिक विचारको कुरा छ, हामी सबै एकै ठाउँमा छौँ ।

आगामी महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरण साँच्चै हुन्छ ?

पुस्तान्तरणभन्दा पनि पहिलो कुरा त वैचारिक पुनर्जागरण हो । पार्टीको संस्थागत, नेतृत्वगत र नीतिगत रुपले रुपान्तरण । त्यसपछि जो जनप्रियरुपमा स्थापित हुन्छ, उही नेता हुन्छ । प्रभावकारी रुपले जनतामा भरोसा र विश्वास भएको नेतृत्व जो देखिन्छ, उही अगाडि आउँछ । अहिलेको नेतृत्वको विकल्पमा वैचारिक पुनर्जागरणसहित जो आए पनि त्यो नयाँ नेतृत्व हो ।

यहाँहरुले भर्खरै राष्ट्रिय मेलमिलाप दिवस मनाउनुभयो । तर, नेपाली कांग्रेसभित्रै मेलमिलाप छैन है ?

नेपालमा १०४ वर्षको राणा शासनको जंजिर तोड्ने, २३८ वर्षको निरंकुश राजतन्त्रको अन्त्य गर्ने, १२ वर्षसम्म रक्तरंजित रहेको हिंसात्मक अवस्थालाई शान्तिमा परिणत गर्ने नेपाली कांग्रेसले अन्तर्राष्ट्रियरुपमा पनि लोकतान्त्रिक छवि बनाएको छ । यो पार्टी नै एक हो, जसले राष्ट्रिय एकता र सन्तुलन कायम गर्न सक्छ । यो काम हामी नै गर्छौं । १५ औं अधिवेशनबाट नयाँ नेतृत्व आउँछ र हामी नयाँ ढंगबाट अगाडि बढ्छौं ।

तपाईँ नेपाली कांग्रेसमा लाग्नुअघि पञ्चायतकालमा सूर्यबहादुर थापाको मन्त्रिमण्डलमा मन्त्री हुनुभएको थियो । त्यसबेलाको शिक्षा नीति र अहिलेकोमा के तात्विक भिन्नता पाउनुभएको छ ?

मैले त के देखिरहेको छु भने मौलिक रुपबाट यत्रो ठूलो परिवर्तन आएको छ । जुनसुकै ढंगले नकारात्मक भाष्य निर्माण गरे पनि २०४७ साल पछि नै हरेक क्षेत्रमा विकास भएको हो । गाउँ–गाउँमा स्वास्थ्य संस्था पुगेका छन् । एउटा भएको मेडिकल कलेजबाट २०/२५ वटा भइसके ।

पुल्चोकमा एउटा इञ्जिनियरिङ इन्स्टिच्युट थियो, अहिले चार दर्जन छन् । गाउँगाउँमा मोटरबाटो पुगेको छ । खानेपानी पुगेको छ । सिँचाइँ पुगेको छ । विदेशी पुँजी नेपाल भित्रिएको छ । आधुनिकीकरणका थुप्रै काम भएका छन् ।

विकास निर्माणका थुप्रै काम भएका छन् । तपाई मसँग भिडियो अन्तरवार्ता गरिरहनुभएको छ, यो पनि ०४७ को प्रजातन्त्रपछिकै योगदान हो । त्यसपछि नै प्रिन्टिङ मिडियादेखि इलेक्ट्रोनिक मिडियाहरु सबै ओपन भएर आएका हुन् । त्यसकारण यी उपलब्धीहरुलाई त्योबेलासँग तुलना गर्नै सकिँदैन ।

तर, एउटा कुराचाहिँ के छ भने त्योबेला डर थियो । डरका कारण यति भ्रष्टाचार थिएन । अहिले भ्रष्टाचारको सीमाचाहिँ त्योभन्दा नाघेको छ । त्योबेलामा पनि भ्रष्टाचारै नहुने होइन, हुन्थ्यो । तर, दरबारको वरिपरि बसेका तीन/चारजना थिए, अहिले म नाम लिइराख्दिनँ, तिनीहरुलाई हामी ‘भूमिगत गिरोह’ भन्थ्यौँ ।

त्यो शक्तिबाहेक अरु थरथर काँप्थे, मन्त्री होस् कि सचिव होस् । अहिले जता सक्यो, त्यहीँ लुट छ ।

जनताले सोचेको परिवर्तन भयो त ?

सोचेको परिवर्तन त लोकतान्त्रिक ढंगले भएको पनि हो । विकासको ढंगले भएको पनि हो । तर, अहिलेको मूल असन्तुष्टि भनेको भ्रष्टाचार, विधिविहीनता र दण्डहीनतामा हो । अपराधीहरु लर्को लागेर छुटेका छन् अदालतबाट । कसैलाई लाज पनि छैन, घीन पनि छैन । त्यसैले केही पक्षहरु चाहिँ त्योबेला (पञ्चायतकाल) मा मैले केही अनुशासन देखेको थिएँ ।

कुनै दिन भन्नुपर्‍यो भने राम्रैसँग तुलनात्मक विश्लेषण गरौँला ।

एकथरि मानिसहरु राजतन्त्र फर्काउने भन्दै हिँड्न थालेका छन् । के अहिले व्यवस्था नै संकटमा पर्न लागेको हो ?

व्यवस्था संकटमा आउन लागेको होइन । तर, अहिलेको अवस्था यथास्थिति रह्यो भने यो अवस्थाको विरोधले जन्मेको नेपालीको निराशा जतातिर पनि लाग्न सक्छ ।

अहिलेको असन्तुष्टि र निराशासँगै जुन अराजकता र विद्रोह देखिएको छ, अहिलेको अवस्थामा यो कुनै तन्त्रको पक्षमा पनि होइन, विपक्षमा पनि होइन । । भ्रष्टाचार, अनियमितता, विधिविहीनता, मनपरीतन्त्र, बेथिति, अव्यवस्थाको विरोधमा हो । यसलाई सुधार्न कांग्रेसले नेतृत्व गर्नुपर्छ । हाम्रो अभियान पार्टीभित्र यही हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ५८ बजे

ट्रम्पले बनाए जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई

श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए : मेयर बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक

पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ– आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि

खेलकुदमा फर्किएको स्पेनको शान

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१०

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

सुर्खेत– रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको