काठमाडौं– अग्रिम बुकिङ नखुल्दै बसको टिकटमा पहुँचवालाले कब्जा जमाएका छन । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.८१ अंकले घटेको छ । उपभोक्ता मूल्य सूचकाङ्क निर्माण गरी नियमित प्रकाशन गर्ने गरेको नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ ।
यस्ता छन आजका प्रमुख आर्थिक समाचारहरुः
अग्रिम बुकिङ नखुल्दै बसको टिकटमा पहुँचवालाको कब्जा
सप्तकोशी नगरपालिका स्थायी घर भएका उमेश गिरी काठमाडौंमा बसोबास गर्छन् । दशैँतिहार लगायत चाडबाडका बेला उनी घर जाने गर्छन् । हाल एक निजी विद्यालयमा शिक्षण पेसा गरिरहेका गिरीलाई सोमबार यातायात मजदुरले फोन गरे । सोधे, ‘दशैँ मनाउन घर कुन दिन जाने हो ?’ एक्कासी फोन आउँदा गिरी अलमलमा परे ।
फोन गर्नेलाई सोधे, ‘दशैँका लागि अग्रिम टिकट बुकिङ त खुलेको छैन, होइन ?’ उताबाट जवाफ आयो, ‘सबै सिट बूक भइसक्यो, तपाईं सधैँ हाम्रो गाडी चढेर जाने भएकाले फोन गरेको, कति गतेको टिकट बूक गरिदिऊँ ?’ गिरीले असोज २३ मा जाने गरी टिकट बूक गरिदिन भने । तर, भनेको मितिअनुसार टिकट पाएनन् । ‘अग्रिम टिकट बुकिङ खुल्ने टुङ्गो नलाग्दै बूक गर्दा त सुमोमा अगाडीकै सिटको टिकट पाइन्छ भन्ने लागेको थियो’, गिरीले भने, ‘तर, २३ गतेको लागि त ४ नम्बरको सिटमात्र खाली छ भन्यो, मैले त्यही भए पनि बुकिङ गरिदिनू भनेँ ।’
एक दिन पनि टिकेन शेयर बजारको हरियाली
शेयर बजारको हरियाली एक दिन पनि टिक्न सकेन । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुनः घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१ अंकले घटेको हो ।
बिहिबार नेप्से १.३० प्रतिशतले घटेर २४८६.७६ विन्दुमा पुगेको छ । दिनभरमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार भएको छ । आज ३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२२ वटा कम्पनीको शेयर कारोबार हुँदा ६५ हजार २५८ पटक शेयर किनबेच भएको छ ।
फेरियो उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष
उपभोक्ता मूल्य सूचकाङ्क निर्माण गरी नियमित प्रकाशन गर्ने गरेको नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क मुलुकको मुद्रास्फीति गणना गर्न प्रयोग हुन्छ । यसअघि मुद्रास्फीति गणनामा केन्द्रीय बैंकले आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्ने गरेको थियो । एक दशकपछि त्यसलाई अध्यावधिक गर्दै आर्थिक वर्ष २०८०/८१ बनाएको हो । बैंकले आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखि यो छैटौँ आधार वर्ष परिवर्तन हो ।
नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरुलाई अनुशरण गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ । उपभोक्ता मूल्य सूचकाङ्क अर्थतन्त्रको संरचनागत परिवर्तनसँग जोडिएको हुन्छ । समय बित्दै जाँदा अर्थतन्त्रको संरचनामा हुने परिवर्तनसँगै उपभोक्ताको खर्च प्रवृत्ति पनि बदलिन्छ । बजारमा नयाँ वस्तु तथा सेवाहरू बजारमा देखापर्छन् ।
आयात–निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात–निर्यात दुबै खुम्चिएको छ । आयात ०.६ र निर्यात ९.६ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह भने नेपाली रुपैयाँमा १८ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको हो ।
साउनमा सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेपको कूल योग अर्थात् विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ ।
विदेशी मुद्राको सञ्चिति २१ खर्ब नजिक
नेपालमा विदेशी मुद्राको सञ्चिति २१ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै गत आर्थिक वर्षको असार मसान्तको तुलनामा २.५ प्रतिशतले वृद्धि भएर विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको जनाएको हो ।
२०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २०९२ अर्ब २२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८८३ अर्ब ४२ करोड पुगेको छ । बैँक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वृद्धि भई २०८ अर्ब ७९ करोड कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
साउनमा सरकारले ४० अर्ब २१ करोड खर्च गयो
आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा नेपाल सरकारले ४० अर्ब २१ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा उल्लेख गरीएको छ । सरकारले साउनमा चालु खर्च १२ अर्ब ३८ करोड रुपैयाँ, पुँजीगत खर्च ८ अर्ब ५५ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९४ अर्ब ७४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । यस अन्तर्गत कर राजस्व ७७ अर्ब ४१ करोड रुपैयाँ र गैर कर राजस्व १७ अर्ब ३३ करोड रुपैयाँ परिचालन भएको केन्द्रीय बैंकले जनाएको छ ।
साउन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १९७ अर्ब ८२ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९९ अर्ब २७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
विदेश पढ्न जाने विद्यार्थीले लगे झन्डै १५ अर्ब
साउन महिनामा नेपाली विद्यार्थीहरूले विदेश अध्ययनको नाममा झन्डै १५ अर्ब रकम विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा नेपाली विद्यार्थीहरूले विदेश अध्ययन गर्नको लागि १४ अर्ब ९२ करोड रुपैयाँ लगेको जनाएको छ ।
समीक्षा अवधिमा शिक्षा र भ्रमण शीर्षकमा ३०.४ प्रतिशतले वृद्धि भई २२ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शीर्षकमा १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा नेपालमा भ्रमण बापतको आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएर ४ अर्ब ७६ करोड भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा भ्रमण बापतको आय ४ अर्ब ४० करोड रहेको थियो ।
खाद्य र पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढ्यो
२०८१ साउन महिनामा वार्षिक खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.१७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धि क्रमशः ८.९० प्रतिशत रहेको थियो ।
समग्रमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७.५२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत रहेको थियो भने अघिल्लो वर्ष सोही अवधिमा ६.६२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।
साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर सूचीकृत
चालु आर्थिक वर्ष २०८१–८२ को एक महिनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप बोनस शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो ।
२०८० साउन मसान्तमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउन मसान्तमा ३०००.८१ कायम भएको तथ्यांकमा उल्लेख छ । २०८१ साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । २०८० साउन मसान्तमा बजार पूँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रुपैयाँ रहेको केन्द्रिय बैंकले जनाएको छ ।
२०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० साउनमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५४ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार सात सयमा कारोबार भइरहेको छ । यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
दशैँ तिहारका लागि च्याङग्राको माग उच्च
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमापालेको च्याङग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् ।
‘वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,’ उनले भने ‘घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।’ ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् ।
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशैँ तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।
कालीगण्डकी कोरिडोर : चराङ–छोसेर खण्ड आठ वर्षमा पनि पुरा भएन
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरु भएको आठ वर्षमा पनि पुरा भएको छैन् । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दुरीको सडक निर्माणको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीहरूलाई सास्ती भएको छ ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाईका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए । ‘वि.स. २०७३ मा शुरु भएको सडक निर्माणको कामले अझै पूर्णता पाएको छैन,’ उनले भने ‘डेढ वर्षपछि गत आर्थिक मसान्तमा कार्यक्षेत्रमा आएका व्यवसायीले सडक निर्माणको कामलाई गति दिन सकेका छैनन् ।’
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न वि.स.२०७३ मा तामाङ–गौरी–पार्वति–कोशी एण्ड न्यौपाने जेभीले २६ करोडमा ठेक्का लिएको थियो । सडकमा धुलोमा गाडी फस्ने, उकालो, साँघुरो ठाउँमा सवारी साधन वारपार गर्न समस्या भएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ ।
पोखरा महानगरले सुपथ मूल्य पसल सञ्चालन गर्दै
पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा–८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए । सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ ।
टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र
जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी स्वरोजगार बनेका हुन् ।
टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए । महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताए ।
‘दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु । अहिले महिनामा एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ’, उनले भने । दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रुपमा रोजगारी पनि दिएको उनले जानकारी दिए ।पात टिप्ने परिवारले प्रतिकिलोको ४० लिने गरेका छन् ।