राजनीति

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद 

By ज्ञानु घिमिरे

February 27, 2024

काठमाडौं– वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले जिल्ला सभापति डम्बरबहादुर खड्कालाई दोहोर्‍याउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफ्नो निवास बुढानिलकण्ठ बोलाएर खड्कालाई जिल्ला गएर आफ्नो सम्पूर्ण तयारी गर्न भनेका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार डम्बरलाई साेमबार बिहान देउवाले टिकट नै दिएका हुन । स्रोतले भन्यो, ‘डम्बर जिल्ला सभापति भएको र २०७९ को निर्वाचनमा कम्पाट पाएको हुनाले फाइनल सभापतिले टिकट नै दिनुभएको हो ।’

खड्का भने देउवालाई भेटेर साेमबार नै जिल्ला फर्किएका छन् । यसबारे खड्काले खबरहबलाई भने, ‘म त घाइते मान्छे हो । यहाँ चार पाँच चोटि हारेकाले टिकट पाएका छन् । मैले त २०७९ मै निर्वाचन जितेको हो तर धाँधली भयो । यो पटक जो उठे पनि  मेरो जित स्वाभाविक छ ।’

उनले टिकट नै लिएर गएको कुराको बारेमा भने बोल्न चाहेनन् । उनले भने, ‘घाइते मान्छेलाई निको पार्ने बचन पाएको छु । यो मेरो अधिकार पनि हो ।’

कांग्रेसमा डम्बरसँगै आंकाक्षा राख्नेमा नगेन्द्र कुमाल, भेषराज आचार्य, केशव थापा लगायत छन् । यसमध्ये कुमाल खड्का भन्दा जुनियर हुन् । केशव थापा भने ०७४ को निर्वाचनमा ११ हजारले एमालेका नेम्वाङसँग हारेका व्यक्ति हुन् । भेषराज आचार्य पनि २०७० को निर्वाचनमा ७ हजार मतले नेम्वाङसँग हारेका थिए । उनीहरू पनि आफूले टिकट पाउनुपर्ने दाबी गरिरहेका छन् ।

डम्बर बाहेक अन्य नेताहरू भने पार्टीभित्र नै ‘प्राइमरी इलेक्सन’ हुनुपर्ने माग रेका छन् । पार्टीभित्र पनि प्रत्यक्ष निर्वाचन गरेर आन्तरिक लोकतन्त्रको अवसर दिनुपर्ने उनीहरूको तर्क छ ।

एमालेले दिवंगत नेता सुवास नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई नै उम्मेदवार बनाउने भएको छ । एमाले इलाम अध्यक्ष महेस बस्नेत भने यसको कुनै औपचारिक निर्णय नभएको बताउँछन् । उनले भने, ‘अरू सिनियर पनि हुनुहुन्छ छलफल हुन्छ । युवाको कुरा आउनु स्वाभाविक हो ।’

बस्नेतले अगाडि थपे,  ‘पार्टी अध्यक्ष र सचिवालयबाट कुनै आदेश आएको छैन । मलाई जिल्लामा निर्णय गर्नु पनि भन्नु भएको छैन । अहिले यही हो भन्ने अवस्था नै छैन ।’

महेशका अनुसार एमालेले बुधबार भोलीका लागि जिल्ला कमिटी बैठक बोलाएको छ । बैठकमा अगिल्लो जिल्ला कमिटी बैठकले लगाएको उपनिर्वाचन ‘हिप’ खोलिने बताइएको छ । एमालेले जथाभाबी उम्मेदवार घोषणा नगर्न र सामाजिक सञ्जालमा पनि उम्मेदवारीबारे नलेख्ने ‘हिप’ जारी गरेको थियो । यदि लेखे पार्टीले आचारसंहिता उल्लङ्घनका कारबाही गर्ने भनेको थियो । भोली त्यो सबै फुकुवा हुने र उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

तर एमाले सचिवालयका नेताले खबरहबलाई दिएको जानकारी अनुसार सुहाङलाई नै एमालेले टिकट दिने निश्चित छ । ती नेताले भने, ‘कुनै पनि नाटकीय परिवर्तन नभए सुहाङ फाइनल हो ।’

यता सुहङलाई एमाले अध्यक्ष ओलीले तयारी गर्न भनिसकेको ती नेताको भनाइ छ । सुहाङ कानुन व्यवसायी भएकाले बाबुको जस्तो बिँडो थाम्ने र एमालेलाई पनि ठुलो राहत हुने भएकाले ओलीले सुहाङलाई नै रोज्न सक्ने ती नेताको भनाइ छ ।

टिकट पाए ‘खुट्टा नकमाउने’ बताउँदै आएका उनी भित्री तयारीमा लागिसकेको बताइन्छ । सुहाङलाई अहिले टिकट दिँदा पार्टीको माहोल बिग्रने भएकाले ओली चुप बसेको र अरूलाई पनि जथाभाबी उम्मेदवार घोषणा गर्न नदिएको बुझिएको छ  । एमाले इलामका एक नेताले भने, ‘सुहाङले टिकट पाए भने एमाले  नै हराउन लाग्छन् ।’

उसो त एमालेबाट सुहाङ नेम्वाङसँगै नरेन्द्र भट्टराई, गणेश बराल, उदय राई, बुद्धि खनाल, रवीन्द्र सुवेदी लगायतले पनि इच्छा जाहेर गरेका छन् । सुहाङभन्दा पार्टीमा बढी योगदान गरेका मान्छे भएको भन्दै आफूहरुले टिकट पाउनुपर्ने जिकिर गरिरहेका छन् । खनाल दिवंगत नेम्बाङको सचिवालयमा समेत काम गरेका नेता हुन् ।

यस्तै इलाममा गठबन्धनले कांग्रेसलाई सहयोग गर्ने देखिएको छ । यता नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि चर्चा चलेको थियो तर गठबन्धनबाट कांग्रेसले उनलाई समर्थन नगर्ने भएपछि उनी उठ्ने सम्भावना छैन । यसबारे उनले खबरहबलाई भने, ‘यतातिर सोच छैन । आवश्यकता महसुस पनि भएको छैन ।’

खनालको भनाइले उनलाई गठबन्धनले साथ नदिएपछि उठ्ने आँट नगरेको हुनसक्ने बताइएको छ ।

यस्तै कोशी प्रदेश पहिचानको पक्षधरले पनि आफ्नो उम्मेदवार उठाउने भएका छन् । उनीहरूबाट पनि आआफ्नो उम्मेदवारको नाम अगाडि आएको छ । यसमध्ये पत्रकार मिलन लिम्बूलाई पहिचान पक्षधरका केहीले साथ दिने बुझिएको छ । हुन त लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग पनि छलफल भइरहेको बताएका छन् । लिम्बू माओवादी निकट व्यक्ति हुन । तर उनले केही दिनमा नै पार्टी छाड्ने बताएका छन् ।

लिम्बूले भने, ‘म त्यही माटोमा हुर्किएको र पहिचानको पक्षमा खरो रूपमा उत्रिरहेको हुनाले म त्यहाँको स्वतन्त्र उम्मेदवार हुँ । जनताले मलाई आशीर्वाद  दिनुभएको छ ।’

उनले आफू कुनै पार्टी विशेष नभएर स्वतन्त्र उम्मेदवार हुने बताएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाएको छ । पार्टीले स्थानीयसँग जनगुनासो सुन्ने भन्दै इलामको माहोल बुझ्न पठाएको हो । रास्वपाका अनुसार सहमहामन्त्री बुर्लाकोटीलाई एक साताका लागि इलाम २ को निर्वाचन क्षेत्र अध्ययनका लागि पठाएको हो । बुर्लाकोटीले खबरहबलाई भने, ‘हाम्रो आफ्नै उम्मेदवार उठ्नु हुन्छ । पहिचान पक्षसँग र अन्यसँग पनि हामी वार्ता गर्छौं । पुरानो उम्मेदवार नआउन पनि सक्नु हुन्छ ।’

रास्वपाले प्रकाश सापकोटालाई २०७९ को निर्वाचनमा उठाएको थियो । उनले हजार मत मात्र कटाएका थिए  ।

यस्तो इलाम–२ को अंकगणित

प्रतिनिधि सभा निर्वाचन २०७९ मा एमाले भर्सेस गठबन्धनले चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एमालेका उम्मेदवार नेम्बाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता खड्काले २९ हजार ९०६ मत पाएका थिए । इलामका दुईवटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेद्वारहरु विजयी बनेका थिए । अहिले कांग्रेस एक्लैको मत ३१ हजार भएको दाबी गरेको छ ।

गत निर्वाचनको तथ्यांकलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ । गठबन्धनतर्फ कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत २९ हजार ९ सय छ । गत चुनावमा यहाँबाट मंगोल नेशनल अर्गनाइजेशनले १ हजार ३८० र  रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ३६३ मत पाएको थियो । त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार २६२ पाएको थियो ।

जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङक अनुसार २०७९ को निर्वाचनमा यहाँ १ लाख १५ हजार ३४२ मतदाता थिए । त्यसमध्ये ५९ हजार १३६ मत खसेको थियो । यहाँ १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालय इलामका सूचना अधिकारी कृष्णबहादुर लिम्बूका अनुसार पछिल्लो मतदाता नामावली विवरण नवीकरणको काम सुरु भएको छ ।

याे पनि…

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

इलामको उपचुनाव : सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत