समाचार

आजका समाचार : माओवादी र रास्वपामाथि खनिए ओली, कुलमानले काटे उद्योगको बिजुली, अमेरिकामा वाकयुद्ध

By खबरहब

October 27, 2024

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका बिषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानमा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् ।

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड

प्रचण्डलाई ओलीको जवाफ : माटोमुनिका हतियार खिया लागिसके, अब धम्की नदिनू

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको लाइन काट्यो । प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रङ्कलाइन महसुल बुझाउन दिएको समयसीमाभित्र उद्योगीहरूले महसुल नबुझाएपछि लाइन काटिएको हो ।

बिजुलीको बक्यौता प्रिमियम महसुललाई लिएर प्राधिकरणले उद्योगमा जोडिएको लाइन काटेको यो पहिलोपटक भने होइन । यसअघि पनि प्राधिकरणले महसुल तिर्न ताकेता गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरी उद्योगहरू लाइन काट्ने र उद्योगीको ‘आग्रह’मा सरकारले निर्देशन दिएपछि बक्यौता भुक्तानी गर्ने नयाँ समय दिएर जोड्ने गर्दै आएको थियो ।

उद्योगमन्त्री भण्डारीको दाबी – लगानी वातावरण बनाउन सरकार प्रतिबद्ध

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध रहेको दाबी गरेका छन्‌ ।

आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को ‘ग्लोबल’ सम्मेलन तथा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीसँगको सहकार्य मजबुत बनाउन नेपाल सरकार सदैव तयार रहेको बताएका हुन्‌ ।

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिकामा रहेको अवस्थामा नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मन्त्री पौडेलले मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरेका हुन् ।

रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन्

हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि पार्टीका लागि विश्वासका पात्र नरहेको निष्कर्ष निकालेको छ ।

सभापति लामिछाने आठ दिनअघि पक्राउ परेपछि सत्ता पक्षीय दल र आफूहरूसँग दोहोरो भूमिका खेलेकाले प्रचण्डको कुरामा फस्न नहुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालबाट भ्रम छरेको जनाएको छ ।

अनुसन्धानका लागि हिरासत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमै प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाइएको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

सहकारी ठगीमा प्रश्न उठेका कांग्रेस-एमाले नेता पनि तानिन्छन् : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुनमार्फत् विधिसम्मत ढंगले कारबाही हुनुपर्ने बताएका छन् ।

एमाले काठमाडौं ३१ नम्बर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नदिई कारबाही गनुपर्छ भन्नेमा पार्टी दृढ रहेको बताए।

माओवादीसँग पार्टी एकता हुँदैन : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टी एकता नहुने दाबी गरेका छन् ।

एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले माओवादीसँग पार्टी एकता नहुने बताएका हुन् । यस्तै उनले एमालेसँग पनि पार्टी एकताको सम्भावना नभएको जिकिर गरे ।

अनुमतिबिना आएको आएको थाई एयर एसियालाई कारवाही

उडान अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

आइतबार थाइल्याण्डबाट काठमाडौं आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो ।

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा आइतबार बिहान सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच पाँच बुँदे समझदारीपत्र आदानप्रदान गरिएको हो।

शैक्षिक तथा प्राज्ञिक उन्‍नयनका लागि दुई विश्‍वविद्यालयबीच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्‍चिम विश्‍वविद्यालयका उपकुलपति प्रा. डा. पन्तले जानकारी दिए ।

अन्तर्राष्ट्रिय …

ट्रम्पविरुद्ध मिचेल ओबामा आक्रामक : मानसिक स्वास्थ्यमा समस्या आएको आरोप

ट्रम्पलाई किन खोज्दैछन्‌ नेतन्याहू ?

इरानी सर्वोच्च नेता खामेनीले भने- इजरायलले गलत कदम चाल्यो

खेलकुद…

भारतविरुद्धको खेलमा दर्शकले भरिभराउ दशरथ रंगशाला (तस्बिरहरू)

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनल खेल हेर्न पुगेका नेपाली दर्शकले दशरथ रंगशाला भरिएको छ।

भुटानलाई हराएर बङ्गलादेश फाइनलमा पुगिसकेको अवस्थामा दोस्रो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग अबको केहीबेरमा प्रतिस्पर्धा गर्दैछ ।

महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक