दिनभरका समाचार : फिल्ममा केपी ओलीको अभिनयदेखि धरहरामा पार्किङसम्म

By खबरहब

January 28, 2024

दिनभर आजमा वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न अध्यक्ष नेपालको, निर्वाचनको, कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाउपर उच्चस्तरीय छलफल, ‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय, प्रहरी समायोजनबारे सङ्घीय र प्रदेशका गृहमन्त्रीबीच छलफल, आजदेखि धरहरा र काठमाडौँ टावरमा पार्किङ

वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने बताए । “मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ”, अध्यक्ष नेपालले भने ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।

कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाउपर उच्चस्तरीय छलफल

कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाउपर उच्चस्तरीय छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्ष्यतामा आज भएको छलफलमा कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक अर्जुनप्रसाद पोखरेलले कार्यप्रगति प्रस्तुत गरे ।

विज्ञका तर्फबाट डा सोमलाल सुवेदीले कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदाको प्रस्तुत गर्दै कार्यविस्तृतीकरणका लागि अवलम्वन गरिएका प्रमुख सैद्धान्तिक मापदण्ड एवं सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रबारे जानकारी गराए । उनले सुरक्षा तथा शासकीय क्षेत्र, कानुन, सामाजिक एवं आर्थिक क्षेत्रका विषयमा सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गरे

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिए ।

कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक : मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले कानुन अनुसार विकास निर्माणका योजनाको अनुगमन गर्न विधेयक ल्याइएको बताएकी छिन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी हुन् ।

‘नमेटिने घाउ’ मा केपी ओलीको अभिनय

एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ ।

चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरुबीच कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

प्रहरी समायोजनबारे सङ्घीय र प्रदेशका गृहमन्त्रीबीच छलफल

प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र सम्पन्न गर्ने सम्बन्धमा सङ्घीय गृहमन्त्री र प्रदेशका गृहमन्त्रीबीच छलफल भएको छ । सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रदेश गृहमन्त्रीबीच भएको छलफलले प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय गरेको हो ।

बैठकले मुलुकको शान्तिसुरक्षालाई थप सुदृढ बनाउने निष्कर्ष निकाल्दै सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षासँग सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णयसमेत गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आजदेखि धरहरा र काठमाडौँ टावरमा पार्किङ निःशुल्क

काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ ।

महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिन लागिएको छ ।

काठमाडौंका शिक्षा शाखा प्रमुखसँग बालेनले मागे स्पष्टीकरण

काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ ।

प्रहरीको जिम्मेवारी हेरफेर

त्रिभुवन विमानस्थलको अध्यागमनमा कर्मचारीसँग विवाद गर्ने प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यागमनका कर्मचारीलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीको जिम्मेवारी हेरफेर गरिएको हो ।

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा पर्‍यो

गायिका रचना रिमाल सडक दुर्घटनामा परेकी छिन् । आज नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेका हो ।

गायिका रिमाल सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा रिमाल सवार गाडी क्षति पुगेको छ ।

नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागिपरेको बताएकी छिन् ।

काठमाडौँमा राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको उनको आरोप छ ।

कुष्ठरोग दिवस

आज विभिन्न कार्यक्रमको आयोजना गरी कुष्ठरोग दिवस मनाइएको छ । दिवसका अवसरमा स्वास्थ्य सेवा विभागद्वारा आज आयोजित कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताए ।

अन्तर्राष्ट्रिय…

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । बिहारमा राजनीतिक उथलपुथलसँगै मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका हुन् ।

जनता दल युनाइटेडका नेता नितिश कुमारले राष्ट्रिय जनता दल आरजेडी र कांग्रेस सम्मिलित ‘महागठबन्धन’ मा आबद्ध भइ बिहारको सरकार चलाइरहेका थिए ।