आर्थिक

अर्थसंक्षेप : चुहावट नियन्त्रण गरी राजस्व लक्ष्य भेट्ने सरकारी निर्णय, १४ अर्ब तल झर्‍यो नेप्सेको कारोबार 

By खबरहब

August 28, 2024

काठमाडौं– हुलाकी सडक बनेसँगै दक्षिणी भेगमा रहेका बासिन्दाहरूलाई सहज भएको छ । यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्षताको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ ।

यता आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने भौतिक संरचनाले मझुवागढीको प्राकृतिक स्वरूप हराउँदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज –नेप्से)को प्रांगणमा बडेमानको साँढे ठडिँने भएको छ ।  उता बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ ।

यसरी नै कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको शेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ ।

आजका प्रमुख आर्थिक समाचारहरू :

दक्षिणका बासिन्दाको वरदान बन्यो हुलाकी सडक !

मोरङको पुरानो सदरमुकाम रंगेली बजारको रङ हराएको धेरै वर्ष भइसकेको थियो। अहिले हुलाकी राजमार्गको स्तरोन्नतिसँगै रंगेलीको काँचुली फेरिएको छ ।

विसं १९७१ सालमा मोरङको सदरमुकाम रंगेलीबाट विराटनगर सारिएपछि रंगेली बजारको रौनक घट्न थालेको थियो।

सदरमुकाम रहँदासम्म सुनसरी, झापासँगै र भारतदेखिका मानिस सामान किन्न रंगेली आउँथे । यहाँबाट तोरी, जुट भारततिर पठाइन्थ्यो । नेपालको चामल भारतीय बजारमा जान्थ्यो । रंगेली अर्थतन्त्रको चलायमान केन्द्रका रूपमा रहेको थियो । कालान्तरमा रंगेलीका व्यापारीहरू विराटनगर, वीरगन्ज त कोही काठमाडौंतिर पलायन हुन थाले । रंगेलीको रंग हराउँदै गयो ।

रंगेलीका पुराना बासिन्दा ७८ बर्षीय सुुरेश मिश्रका अनुसार उनी जवान छँदा रंगेली बजार भर्भराउँदो थियो । अहिले भग्नावशेष जस्तै देखिने घरमा टनाटन पसलहरू थिए । ग्राहकको चहलपहल हुन्थ्यो । व्यापारमा भ्याई नभ्याई थियो।

विरानटरमा भन्दा ठूला–ठूला घर यहीँ थिए । तामाका भाँडा, माछा, नुन, मट्टीतेल खुब बिक्री हुन्थ्यो। भारतका जोगवनी र रक्सोलसम्मका व्यापारी रंगेलीमा भेटिन्थे ।

मोरङको लेटाङ, पथरी वयरवन, मधुमल्लाका मानिस जुट बिक्रीका लागि लिएर रंगेली आउँथे । नुन–तेल, कपडा, खाद्यान्न किनेर फर्कन्थे ।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार नुनदेखि सुनसम्म पाइने रंगेली साविक जिल्ला सदरमुकाम समेत रहेको मोरङकै सबैभन्दा ठूलो बजार थियो । यहीँ थिए, छोटी भन्सार कार्यालय, नेपाल बैंक लिमिटेडको शाखा । विभिन्न देशका पैसा साट्ने काउन्टर, कर कार्यालय, कारागार र अस्पतालहरू थिए ।

चुहावट नियन्त्रण गरी राजस्व लक्ष्य भेट्ने सरकारी निर्णय

अर्थमन्त्री विष्णुप्रसाद पौडेल अध्यक्षताको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ । साथै, लक्ष्य भेट्न करमैत्री सेवा विस्तार गर्ने पनि जनाएको छ ।

समिति बैठकमा गृहमन्त्री रमेश लेखकसहित राजस्व सङ्कलनमा महत्त्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरू सहभागी थिए । राजस्व सङ्कलनको लक्ष्यलाई राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको कार्यसम्पादन मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यसै गरी बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ । राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्य योजनालाई कार्यान्वयन गर्ने, कानुनसम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको दुःख नपुग्नेतर्फ सजग रहने तर गैरकानूनी आर्थिक गतिविधि गर्ने कसैलाई पनि छुट नदिने निर्णय गरेको हो ।

राजस्व चुहावटलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूबीच प्रभावकारी रूपमा समन्वय गरी अघि बढ्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट गर्ने कसैले छुट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुनसक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोष्टिङ गर्न निर्देशन दिए ।

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?   

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हाल सम्मकै उच्च मूल्य हो । यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भौतिक संरचनाले मझुवागढीको प्राकृतिक स्वरूप हराउँदै

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ ।

उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ ।

किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ भने गढी वरिपरि बङ्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ ।

बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ ।

तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण

बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ ।

राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिए । ‘करिब दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ’, संयोजक बस्नेतले भने ।

गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र सोमध्ये सबैभन्दा राम्रो कोदो किसानलाई रोप्न प्रेरित गरिने उल्लेख गर्दै उनले पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको परीक्षण सुरु भएको बताए ।

राष्ट्रिय जिन बैङ्का प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण भएको उल्लेख गरे  । परीक्षण गरिएका नौमध्ये पाँच जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई किसानका जात रहेका छन् ।

नेप्सेको भवनमा ठडिँदै बडेमानको साँढे 

नेपाल स्टक एक्सचेञ्ज –नेप्से)को प्रांगणमा बडेमानको साँढे ठडिँने भएको छ । शेयर बजारमा बुल –बढेको बजार)लाई साँढेले र बियर (घटेको बजार)लाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्रांगणमा बन्ने भएको हो । उक्त साँढेको ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको साँढे नेप्सेको भवनमा ठडिन्दैछ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार साँढेको मुक्ती पूर्ण रूपमा दशैँ अगाडिसम्ममा ठडिने बताउँछन् । ‘अहिले साँढे ठडिने क्रम जारी छ’, पराजुलीले खबरहबसँग भने, ‘दशैँ अगाडिसम्ममा पुरै फिनिसिङ हुन्छ ।’

उक्त साँढे ६०० केजी धलोट (पहेँलो देखिने धातु) को बन्दै गरेको पराजुलीले बताए । ‘यसको(साँढे) हामीले ६०० केजीको ठेक्का दिएको हो’, पराजुलीले भने, ‘तर यो १२ सय केजीको जति बनेको हुनसक्ने हाम्रो अनुमान छ ।’

साँढे सहित नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाईहुने इलोट्रिसिटिको सामान र ज्यानेरेटर लगायतको काम गरेर १ करोड ४८ लाखमा ठेक्का लागेको हो । साँढे पनि तेही अन्तरगत परेकाले १ करोड ४८ लाख भित्रै उक्त काम परेको पराजुलीले जानकारी दिए ।

अहिले नेप्से अगाडिको साढे ठडाउने काम ललितपुरका कालिगणले गरिरहेका छन् । त्यहाँ काम गर्ने कालिगणका अनुसार साँढेको ७० प्रतिशत काम सम्पन्न भएको छ । काम अगाडि नै सकिनु पर्ने भए पनि साँढे बनाउने काम निकै कठिन भएकाले त्यो काम पुरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए ।

बाँदर नियन्त्रण गर्न कृषि मन्त्रीको ‘वनमा फलफूलका बिरुवा रोप्ने अभियान’

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाँदरलगायत वन्यजन्तु नियन्त्रण गर्ने भन्दै ‘दीर्घकालीन योजना’ अघि सारेका छन् ।

मन्त्री अधिकारीले कृषिक्षेत्र सुधारका लागि मन्त्रालयले दीर्घकालीन सोच बनाएर सामुदायिक वनमा फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम अभियानकै रूपमा सुरु गर्ने बताए । वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सामुदायिक वनहरूमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने उनको भनाइ छ ।

मन्त्री अधिकारीले फलफूल नर्सरी र बेर्ना रोप्ने अभियानलाई व्यापक बनाइने घोषणा गरे । ‘पछिल्लो पटक मध्यपहाडी जिल्लाका किसानको मूख्य समस्या, बाँदरलगायतका जङ्गली जनावरको आतङ्क बढेको गुनासो छ,’ मन्त्री अधिकारीले भने, ‘किसानको उक्त गुनासो सम्बोधन गर्न हामीले वनमा फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई देशव्यापी विस्तार गर्नुपर्नेछ ।’

त्यस्तै, कृषिमन्त्री अधिकारीले कृषियोग्य बाँझो जमिन एकीकरण गरी सामूहिक खेती, करार खेती एवम् सहकारी खेती प्रवर्द्धन गर्ने दीर्घकालीन योजनासहितको कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

लगानीकर्ता पछाडि हटे, नेप्सेमा १४ अर्ब तल झर्‍यो कारोबार रकम

कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण हुने प्रक्रियासँगै कारोबार बढेको सेयर बजारमा पछिल्लो केही दिनयता भने कारोबार घट्दै गएको छ ।

मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार भने जम्मा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार बराबरको कारोबार भएको हो ।

बुधबार दिनभर उतारचढाव भएर नेप्से अन्तिम समयमा ३.८० अंकले बढेर २७८६.४० अंकमा पुगेको छ । बुधबारको शेयर कारोबारमा ९७ वटा कम्पनीको मूल्य बढ्यो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ४ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

बुधबार नेप्सेमा ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयरको कारोबार भएको छ । जसमध्ये बैंकिङ समूह, होटेल तथा पर्यटन समूह, हाइड्रो समूह, लगानी समूह, उत्पादन तथा प्रशोधन समूह, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

तर, आज नेप्सेमा भएको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्यमा भने गिरावट आयो । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.६८ र फलेट इन्डेक्स ०.२१ अंकले बढ्यो भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ ।