स्टोरी

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

By ज्ञानु घिमिरे

April 29, 2024

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी २ सय ६७ मतले विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्न सफल भए । कांग्रेसका युवा नेता सिंहविरुद्ध जित निकाल्दा भण्डारीले कडा चुनौती सामना गर्नुपर्यो‍ ।

भण्डारीले नतिजा आफ्नो पक्षमा आएपछि एमालेको योगदान र जनतामाझ सेवाभावका कारण भण्डारी विजयी भएको युवा नेता नरेशबहादुर सिंह बताउँछन् ।

२०२४ जेठ १५ गते बझाङको पाथिभेरा गाउँपालिकामा बुबा चक्रदेव भण्डारी र आमा हिरादेवी भण्डारीको कोखबाट जन्मिएका उनी २०५४ सालदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् ।

एमाले बझाका जिल्ला अध्यक्ष भण्डारी अनेरास्ववियुको राजनीतिबाट उदाएका नेता हुन् । उनी ०४५ बाट नै एमालेनिकट अनेरास्यवियुको राजनीतिमा प्रवेश गरेका थिए । त्यहीबेला उनी काठमाडौंमा अध्ययन गर्थे ।

सामान्य किसान परिवारका छोरा भण्डारीलाई पढाइमा कुनै रोक थिएन । तर देशमा ०४६ सालमा भएको पञ्चायातविरुद्धको आन्दोलनले उनलाई कम्युनिस्ट पार्टीमा डोर्‍यायो ।

युवा नेता सिंहका अनुसार उनी काठमाडौंमका बीएल गर्दैगर्दा २०५४ सालमा एमालेले टिकट दिएर मटेला गाविसको अध्यक्ष बनाएको थियो । भण्डारी राजनीतिबारे सानैबाट चासो राख्थे । पढेलेखेका युवा भएकाले समाजमा परिचित थिए ।

उनी वर्तमान युवा संघ तत्कालीन पाइभ संघको अध्यक्षसमेत थिए । २०६० पछि लामो समय एमाले जिल्ला सदस्य भएका उनी २०६९ मा जिल्ला सचिव थिए । २०७४ सालमा नेकपा हुँदा पनि उनी जिल्ला सचिव नै थिए ।

दुई वर्षअगाडि भएको एमाले जिल्ला अधिवेशनबाट उनी जिल्ला अध्यक्ष भए । कानुन अध्याय गरेका भण्डारीले समाजशास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

भण्डारी एक छोरीका बाबु हुन् । भण्डारीकी श्रीमती शिक्षक छिन् । छोरो नजन्मिएपछि बुवाले अर्को बिहे गर्न दबाब दिँदा पनि उनले अस्वीकार गरेर बसेको आफन्तको भनाइ छ ।

उनका परिवार सदस्यले भने, ‘बुबाले अन्तिम समयमा पनि छोरो जन्माइनस् भनेर गाली गरेको सुनेका थियौँ । तर हाम्रा दाजु इमानदार र महिलालाई भेदभाव गर्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । उहाँले बुवालाई सम्झाउनु भयो ।’

पितृको आशीषले जनताको विश्वास पाएँ क्रान्तिकारी स्वभावका भण्डारीले समाजका हरेक क्षेत्रमा काम गर्ने अवसर पाएका छन् । त्यहीकारण सबैलाई समेटेर लान सक्ने कौशल उनीसँग छ ।

उनले खबरहबसँग भने, ‘पार्टीभित्र र बाहिर मेरो कुनै गुट छैन । म त सबैको उम्मेदवार थिएँ । त्यही भएर जनताले जिताए ।’

मौनअवधि सुरु हुनु एक दिनअगाडि बाबु बितेपछि उनी सेतो लुगा लगाएर मतगणनामा बसे । ‘बुबालाई गाह्रो भएपछि भोट माग्न पनि गइनँ, तर साथीभाइले मलाई माया गर्नुभयो’, उनले भने ।

हाल उनी एक छाक खाएर बुवाको जुठो बारिरहेका छन् । उनी विजयोत्सव नमनाउने पक्षमा छन् । सिंहका दाजुभाइले कोरामा बसेर बाबुको काजकिरिया गरिरहेका छन् ।

‘मैले जीवनमा कसैको चित्त दुखाइनँ, त्यही भएर पितृको आर्शीवाद र जनताको माया पाएँ । यो मेरालागि ठूलो चुनौती र अवसर हो’, उनले भने ।

उनी आफूलाई जनताको सेवक बताउँछन् । अब बझाङको विकास, समृद्धि र सेवामा लाग्ने प्रतिबद्धता जनाए । ‘मेरा भगवान् जनतालाई धन्यवाद दिन्छु । मलाई विश्वास गर्नुभएको छ । त्यो विश्वासका एक इन्च पनि तलमाथि हुन दिन्न । मेरो पार्टी र नेतृत्वलाई पनि उत्तिकै आदर गर्छु’, उनले भने ।