विश्व स्वास्थ्य संगठनका अनुसार १० वर्ष देखि १९ बर्षसम्मको उमेर समुहलाई किशोरावस्था भनिन्छ । किशोरावस्थामा हर्मोन परिवर्तनको कारणले शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन भइरहेको हुन्छ ।
किशोरावस्थाका मानिसको मनस्थिति धेरै समय एकनासको रहन सक्दैन र मानसिक चञ्चलता तिब्र हुन्छ । दुःख, सुख, रिस, ईर्स्या जस्ता कुरा अभिव्यक्त गर्न, परिवार, समाज र साथीहरुसँग आफ्नो परिचय र स्थान खोज्न तथा सामाजिक, धार्मिक रितिरिवाजका नीति नियम नमान्ने स्वभाव देखाउन थाल्छन् ।
यस्तो स्वाभाव र प्रतिक्रियालाई परिवार तथा समाजले नकारात्मक रूपमा मात्रै लिने गरेको पाइन्छ । तर, यो सामान्य मानवीय अनुभूतिको ब्यक्त गरिएको अवस्था मात्र हो । उनीहरूले विषयवस्तुलाई फरक तरिकाले अध्ययन गरिरहेका हुन्छन र यस्ता व्यवहारले उनीहरूको जीवन भोगाइ र सिकाइ हुन्छ । उनीहरूले प्रकट गर्ने संवेदनाहरूलाई अभिभावकले सकारात्मक रुपमा उचित र आवश्यकताअनुसार सम्बोधन गर्न जरुरी छ ।
किशोरावस्थामा प्रजनन अंगहरुमा आएको परिवर्तनले शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ र यसले मन अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यान केन्द्रित नहुने, अरुलाई सजिलै विश्वास गर्ने आदि व्यवहार देखाउँछन् ।
बाल्यावस्था भन्दा पनि किशोरावस्था बढी संवेदनशील हुन्छ । किनभने यो उमेर यौन तथा प्रजनन अंगको विकासले विपरीत लिङ्गप्रतिको आकर्षण बढ्ने र उचित निर्णय लिन नसक्ने अवस्था हो । यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वास्थ्य, भावना, विचारबारे विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
यो उमेर समूहका कतिपयले स-साना कुरामा झर्किने, बुबाआमासँग सधैँ विवाद गरिराख्ने, घरमा सधैँ कोठाभित्र चुकुल लगाएर मात्रै बस्ने, आफ्नो सामान स्याहार नगर्ने, हदैसम्मको हेलचेक्र्याइँ गर्ने व्यवहार पनि देखाउने गर्छन् । यस्तो व्यवहारले घरपरिवारमा अभिभावकको र छोराछोरीको दुरी बढ्ने गरेको देखिन्छ ।
किशोरास्थामा अभिभावकले प्रयोग गर्ने अभिभावकीय शैलीलाई छोराछोरीको विचार, स्वाभाव र व्यवहार अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ र यसका लागि अभिभावकको निम्न अनुसारको भूमिका हुनु जरुरी छ ।
निर्णायक शैली
यसप्रकारको अभिभावकीय शैलीमा छोराछोरी र अभिभावकको जिम्मेवारी बराबर हुने हुनाले उनीहरुमा आएको परिवर्तनलाई सामान्य महसुस गराउन अभिभावकले सँगै बसेर कुरा गर्ने, समस्या सुन्ने र समस्या समाधान गर्न सल्लाह दिने गर्नुपर्छ ।
यो अवस्थामा उनीहरुमा सकारात्मक तथा नकारात्मक मिश्रित किसिमको विचार विकसित हुने हुँदा अभिभावकको सल्लाह निकै महत्वपूर्ण हुन्छ ।
उनीहरूलाई घरको महत्वपूर्ण सदस्य हुँ भन्ने भावनाको विकास र क्षमताअनुसारको जिम्मेवारी प्रदान गराउनुपर्छ । अभिभावकलाई मन नपर्ने धेरै गल्ती दोहोरिरहेका हुन सक्छन् सक्छ । तर, उनीहरूको मानसिक अवस्था बुझेर सल्लाह र सहयोग गरी स्वतन्त्रतासहित उनीहरूलाई उचित समय र ठाउँ पनि दिनुपर्छ ।
साथीजस्तो किशोरकिशोरी मैत्री व्यवहार
समय, प्रविधि, उमेर, ज्ञान र भोगाइका कारणले उनीहरूको विचार अभिभावकको विचार भन्दा निकै फरक हुन्छ । उनीहरूको विचार र भावना जस्तो भए पनि ध्यान दिएर, शान्त भएर सुन्ने र समय सान्दर्भिक सकारात्मक भएमा स्याबासी दिँदै समर्थन गर्ने तर फरक विचार आएमा सामान्य ढंगबाट सम्झाउनुपर्छ ।
अभिभावकको स्वभाव र उनीहरुलाई दिएको प्रतिक्रियाले निकै ठूलो प्रभाव पार्ने हुँदा प्रतिक्रिया दिँदा सजग हुन जरुरी हुन्छ ।
एआई निर्मित तस्बिर
किशोर–किशोरीले राखेका विचार र भावनालाई अभिभावकले ध्यानपूर्वक सुन्ने र तत्कालै प्रतिक्रिया नदिई यस्ता विषयमा उनीहरू स्वयंलाई सोच्ने, विश्लेषण गर्ने र निर्णय लिने समय उपलब्ध गराउनु पर्छ । जसले उनीहरूमा विस्तारै समस्या समाधान गर्ने सीप, निर्णय गर्ने सीप तथा विषयवस्तुको विश्लेषण गर्ने सीप विकास हुँदै जान्छ । अभिभावकको साथीजस्तो व्यवहारले किशोरावस्थामा शारीरिक र मानसिक विकास सहज हुने गर्छ ।
छोराछोरीलाई बनाउन होइन बन्न प्रोत्साहित गर्ने
अभिभावकले छोराछोरीलाई उनीहरुको रुचि र क्षमतालाई बेवास्ता गर्दै आफन्त, छिमेकी र साथीभाइका छोराछोरीजस्तो पढाउन एवं बनाउन खोज्छौं र उनीहरुसँग तुलना गरी उ जस्तो भएनौ भनी गाली गर्ने गर्छौं । यसले उनीहरूमा हीनतावोध, निराशा र आत्मविश्वासको कमी गराउँछ र गलत बाटो रोज्न सक्छन् ।
अभिभावकले सन्तानसँग अपेक्षा राख्दा उनीहरुको रुचि र क्षमता अनुसारको बन्ने वातावरण सिर्जना गराई त्यस्तो बन्नका लागि प्रोत्साहन गराउनु पर्छ ।
कतिपय अभिभावकले यो उमेर अनुशाशित, अध्यनशील र अरुको भन्दा फरक बनाउने भन्दै दमनात्मक शैलीको प्रयोग गरी नियन्त्रणमा राखेका हुन्छन् भने कतिपयले अनुमतिशील शैलीको प्रयोग गरी आवश्यक भन्दा बढी स्वतन्त्रता प्रदान गरेका छन् । तर, यी दुवै शैली तत्कालका लागि ठिक भए पनि दीर्घकालका लागि अभिभावक र बालबालिकाका लागि घातक हुन् ।
छोराछोरीलाई होस्टेल, स्कूल र ट्युसन सेन्टरमा बोडर्स गरी चियापसल, मोबाइल वा टीभीमा समय बिताउँदै म त व्यस्त छु भन्दै उनीहरुको जीवन अस्त व्यस्त बनाइरहेका छौं । हामीले जे दिन्छौं फिर्ता त्यही पाउँछौ । त्यसैले छोराछोरीलाई समयले भ्याएसम्म समय दिएमा भविष्यको दुर्घटनाबाट बच्न सकिन्छ ।
(शिक्षा विषयमा कलम चलाउने लेखक माधवमणि खनाल शिक्षण पेशामा आवद्ध छन् । यस लेखमा व्यक्त विचार लेखकका निजी हुन्, जसले खबरहबको सम्पादकीय नीतिको प्रतिनिधित्व गर्दैनन् )
लेखकबाट थप-
स्थानीय तहलाई कसले बुझाइदिने शिक्षाको मर्म ?
शिक्षामा सुधार : स्थानीय सरकारले यहाँबाट शुरु गर्ने कि !