आर्थिक

अर्थसंक्षेप : बाढीपहिरोले जलविद्युत आयोजनामा २ अर्बको क्षति, नेप्सेमा दोहोरो अंकको गिरावट

By खबरहब

September 29, 2024

काठमाडौं– बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण १५ आयोजनामा दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । साताको पहिलो दिन आइतबार शेयर बजार २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।

यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरु : 

बाढीपहिरोबाट १५ जलविद्युत आयोजनामा दुई अर्ब रुपैयाँ बढी क्षति

बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोबाट देशभर कम्तिमा २१ जलविद्युत आयोजना प्रभावित भएका छन् । ती मध्ये १५ आयोजनामा मात्रै दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) ले दाबी गरेको छ ।

ईप्पानका अनुसार; निजी क्षेत्रले बनाएका २० आयोजनामा क्षति बाढीपहिरोले क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको हो । सबै विवरण आउन बाँकी रहेको ईप्पानले जनाएको छ । मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले जनाएको छ ।

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से 

शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ । आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

काठमाडौं भित्रिनेसहित देशभरका ५८ राजमार्ग ठप्प

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागका अनुसार, लगातारको वर्षाका कारण बाढी, पहिरो र अन्य कारणले सडक अवरुद्ध हुँदा यातायात सञ्चालन ठप्प भएको हो ।

लगातारको वर्षाले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका पृथ्वी राजमार्ग, कान्ति राजमार्ग र बीपी राजमार्गसमेत अवरुद्ध भएका छन् । विभागका अनुसार वर्षाले अवरुद्ध हुने राजमार्गहरुमा तमोर करिडोरअन्तर्गत चतरा–गणेशचोक सडकखण्ड, कान्ति राजमार्गअन्तर्गत हेटौंडा–एकान्तकुना सडकखण्ड, त्रिभुवन राजपथ, अरनिको राजमार्गको सिम्ले, कोदारी, मध्यपहाडी राजमार्गको सिन्धुलीका धेरै ठाउँमा पहिरो र भेरी करिडोर, भेडेटार रबि राके सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध छन् ।

बाढीपहिरोका कारण चीनतर्फका दुवै नाका बन्द

दशैं नजिकिँदै गर्दा चीनतर्फबाट सामग्री आयात गर्ने मुख्य तातोपानी नाका बन्द हुन पुगेको छ । पछिल्लो समयमा आएको बाढीको कारण पहिरोले सडकमा क्षति पुर्‍याएको र बेलिब्रिज पुल बगाएपछि सवारी साधनको आवतजावत बन्द हुन पुगेको हो । जसले गर्दा दशैं लक्षित सामग्रीको आपूर्तिमा समस्या सिर्जना भएको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीका अनुसार तातोपानी नाका नजिकको तिपिङदेखि लार्चा बिचमा पर्ने तिपिङ खोलामा पुल र सडकबीचकोको सम्बन्ध विच्छेद भएकाले सवारी साधन ओहोरदोहोर गर्न नसक्ने अवस्था छ । साथै बाढीले भन्सार कार्यालय भएको लार्पा नजिकको भोटेकोशीको बेलिब्रिज पुल पनि बगाएको छ । जसले गर्दा अहिले सडक यातायात पूर्णरूपमा सम्बन्ध विच्छेद भएको अवस्था भएको उनले बताए ।

सडक अवरुद्धका कारण हवाई टिकट पनि पाउनै मुस्किल

देशभरी आएको बाढी पहिरोका कारण सडक यातायात अवरुद्ध बनेपछि हवाई टिकट पनि नपाइने अवस्था बनेको छ । हवाई टिकटको बुकिङ बढेपछि अधिकांश उडानको आज र भोलिको टिकट नपाइने अवस्था देखिएको हो । सम्बन्धित कम्पनी तथा विभिन्न वालेट एपहरूबाट हवाई उडानको टिकट बुकिङ गर्न सकिनेमा काठमाडौंबाट कतिपय स्थानसम्म हुने आन्तरिक उडानमा आइतबार र सोमबारलाई टिकट पूर्णरूपमा बुकिङ भइसकेकाले टिकट नपाइने अवस्था देखिएको छ ।

काठमाडौंबाट भरतपुर, जनकपुर र धनगढीसम्मको लागि आज र भोलिको हवाई टिकट पूर्णरूपमा बुकिङ भैसकेका छन् । त्यस्तै, यो समाचार तयार पार्दासम्म काठमाडौंबाट भैरहवा, विराटनगर, पोखरा र नेपालगञ्जको लागि सोमबारको लागि मात्रै सीमित टिकट उपलब्ध भएको पाइएको छ ।

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति गरेपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ । टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।

आजबाट सुकिला नोट साट्न पाइने

दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला नोट साट्न पाइने छ । राष्ट्र बैंकका अनुसार सुकिला नोट आजदेखि असोज २२ गतेसम्म साट्न पाइनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र सबै प्रदेशका कार्यालयहरूमा साट्न पाइने जनाइएको छ । साथै, सबै बैंक तथा वित्तीय कार्यालयहरूमा पनि नोट साट्न पाइने व्यवस्था मिलाइएकाले पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।

एनसेलको विवरण अद्यावधिक गर्दै उद्योग विभाग

एनसेल आजियाटा प्रालि (एनसेल)को शेयर लगत अद्यावधिक गर्ने प्रक्रिया उद्योग विभागले अगाडि बढाएको छ । झण्डै एक वर्षदेखि रोकिएको एनसेलको शेयर लगत अद्यावधिक गर्ने प्रक्रिया विभागले अगाडि बढाएको हो ।

मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डले ट्याक्स हेभन मुलुक सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड होल्डिङ्समा रहेको आफ्नो स्वामित्वको एनसेलको सम्पूर्ण शेयर गत डिसेम्बर १ मा बिक्री गरेको घोषणा गरेको थियो । जुन शेयर आजिायाटाले सिंगापुरका नागरिक शतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको थियो ।